logo
२०७७ श्रावण २८ बुधवार

जहरिलो (अ)जीव (कविता)

शनिवार |


2020-08-01-19598


प्रा.डा. भूपप्रसाद धमला

विपुल आकाशमुनिको
विराट् धर्तीमाथि
पराले छानाको झुपडीभित्र
एक मुठी कपासको खास्टोमा
निर्दोष लट्पटिएको छु म
अस्तित्वविहीन झैँ लाग्ने
एक सूक्ष्मतर सचेत जीव ।

टाढा कतै नेपथ्यबाट अनायास
एक मुठी हावा हुन्हुनाएर आउँछ
बोकेर लाखौँ करोडौँ सूक्ष्म (अ)जीव
कति सूक्ष्म तर फेरि कति जहरिलो ?
आँतै हरहरी बाल्ने ताप फालेर
हृदय नै फुटाल्ने गरी
गहिरो चोट फालेर जान्छ ।

अनि
करोडौँ रोदन र क्रन्दन
चोक्टा–चोक्टा बनेर बिलाउँछन्
फेरि पर कतै नेपथ्यमा
चोटिलो एक अँजुली बतास
अश्रुधाराले लत्पतिएको गालामा
बन्दुके थप्पड हानेर जान्छ
भन्छन् कोही–
कसरी सहनु यी असह्य चोटहरू ?
लाग्छ बरु च्वाट्ट चुँडेर लगे हुँदैन ?
निरीह एक फाँको सास !

म भने अझै गर्छु आश
आउला नि त (अ)जीवको प्रतिविष
जसले फेरि छिनाइलान्छ निर्मम
जहरिला (अ)जीवका श्रीपेचहरू
अनि
फेरिएला नि धर्तीको निन्याउरो मुहार
मुस्काउला नि फेरि आमाको अनुहार ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?