logo
२०७७ श्रावण २८ बुधवार

रङ्गमञ्चको स्वाद

शनिवार |
मनोरञ्जन |


2020-08-01-19593


सुकृत नेपाल

दर्शक आउने प्रतीक्षामा यतिखेर केही रङ्गकर्मीहरू नाटक हलभित्रको कुर्सी मिलाउने तर्खर गर्दै छन् । यो तर्खरले धेरैपछि रङ्गमञ्च र दर्शकको पुनर्मिलन हुने लक्षण पनि देखिँदै छ । त्यसैले १५० भन्दा बढी सिट भएका हल अब आधामा झर्दै छन् । मण्डला थिएटरका सचिव विजय बराल भन्दै हुनुहुन्थ्यो, ‘अब बिस्तारै रङ्गमञ्च तङ्ग्रिन्छ कि भन्ने आसमा त छौँ । तर अहिले खासै त्यस्तो कार्ययोजना केही बनाएका छैनौँ । भौतिक दूरी कायम गरेर दसैँअघि एउटा नाटक मञ्चन गर्ने कि भन्ने सोचचाहिँ बनाएका छौँ । तर, यो नाटक मञ्चन पनि परिस्थिति हेरेरमात्र तय हुनेछ ।’
केही वर्षअघि भूकम्प गएको समयमा पनि नाटक मञ्चनमा धेरै तगारा थिए । धेरैको मनमा डर थियो । हलमा प्रवेश गर्दा सबैजनाको मन ढुकढुक हुन्थ्यो । पछि बिस्तारै सबै कुरा सामान्य हुँदै गयो । अहिले कोरोनाले पनि सबैलाई त्यस्तै बनाएको छ । बन्दाबन्दी खुलेसँगै रङ्गमञ्च पनि आफ्नै लयमा फर्किनेमा रङ्गकर्मीहरू आशावादी छन् । तर, यो कति सम्भव छ ? त्यो भने समयले नै बताउला ।
थिएटर भिलेजका निर्देशक विमल सुवेदी भन्नुहुन्छ, ‘भौतिक दूरी बनाउन सिट सङ्ख्या घटाउने र स्यानिटाइज गरेर नाटक देखाउन सकिन्छ कि भन्नेमा छौँ । थिएटरमा यस्तो समस्या पहिले पनि आएका थिए र आइरहन्छन् ।’ थिएटर मानव सभ्यतासँग जोडिएको विषय हो । जबसम्म मानव सभ्यता रहन्छ, तबसम्म थिएटर रहन्छ । मेरा लागि जबसम्म जीवन रहन्छ, तबसम्म थिएटर रहन्छ । यस्ता चीज आउँछ, जान्छ । यसमा अल्झेर बस्न नहुने सुवेदी बत(ाउनुहुन्छ ।
कीर्तिपुरस्थित थिएटर मलका सञ्चालक केदार श्रेष्ठले नाटक मञ्चन नहुँदा नाटकघरमा शून्यता त छाएको छ तर यो समयमा नाटकघर सञ्चालन गर्ने हो भने धेरै कुरामा होश पु¥याउनुपर्ने बताउनुभयो । तर, नाट्य क्षेत्र पुरानै अवस्थामा आउन भने केही समय लाग्ने उहाँकोे ठम्याइ छ । सामाजिक दूरी कायम गरेर थिएटर मलले नेपाल भाषाका दुईवटा नाटक मञ्चन गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘यो समय भनेको सल्लाह गर्ने, नाटकहरूको रिहर्सल गर्ने समय हो । थिएटर मलले पनि भदौ १ पछि के–कसरी अगाडि बढ्ने भनेर कार्ययोजना बनाउनेछ ।’ यसभन्दा अघि भूकम्पको समयमा पनि यस्तो अवस्था आएको थियो । त्यो समयमा पनि दुई महिना रङ्गमञ्च ठप्प भएको यतिबेला उहाँ पनि सम्झनुहुन्छ । त्यो बेला भूकम्पका असर कम हुँदै गए तर अहिले यो महामारी कहिले जान्छ भन्न सकिँदैन ।
बन्दाबन्दीले धेरै मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गरेको छ । श्रम गरेर गुजारा गर्ने समूहलाई काम नपाउँदा छाक टार्न नै धौ–धौ परेको छ । यो समस्याले रङ्गमञ्च क्षेत्रलाई पनि गाँजेको छ । अबका नाटकले त्यस्ता मानिसका पीडा बोल्नुपर्ने छ ।
नाटक मञ्चन गर्दा दर्शकको ठूलो भूमिका हुन्छ । समुदायको सहभागितामा समुदाय र कलाकारबीच अन्तरक्रिया नभएसम्म नाटक मञ्चनले कुनै अर्थ राख्दैन भन्दै हुनुहुन्थ्यो शिल्पी थिएटरका रङ्गकर्मी मोहनप्रकाश । भाइरसबाट बच्न शारीरिक दूरी कायम गर्नुपर्ने मापदण्डलाई अपनाउनुको विकल्प छैन । त्यसैले नाटक घरमा दर्शकको प्रवेशदेखि यहाँको व्यवस्थापन तथा स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ‘कोरोना भाइरसको महामारीपछि मानिसका आनीबानी तथा आचरणमा अवश्य परिवर्तन आउँछ । महामारी र बन्दाबन्दीका कारण थिएटरको नियमित आम्दानीमा पनि धेरै असर गर्छ,’ उहाँले भन्नुभयो ।
‘यस्तो परिस्थितिमा कसरी नाटक सुरु गर्ने केही थाहा छैन । अब रङ्गमञ्चलाई कसरी अगाडि बढाउने भन्ने कुरामा नै हामी केन्द्रित छौँ,’ रङ्गमञ्चबारे शिल्पी थिएटरका सञ्चालक घिमिरे युवराज भन्नुहुन्छ ।
दैनिक रोजगारीको काम गर्ने हरेक व्यक्तिलाई अहिलेको समय धेरै नै कष्टकर भएको छ । झन् त्यसमाथि रङ्गमञ्चमा त धेरै बाधा, कष्ट छन् । रङ्गमञ्च यसै पनि आर्थिक रूपले सबल क्षेत्र होइन । यसले गर्दा स्वतन्त्र रङ्गकर्मी हुन् या रङ्गकर्मका संस्थामा आबद्ध रङ्गकर्मी वा यससँग सम्बन्धित् कर्मचारी तिनले आफ्नो दैनिक गुजारा कसरी गर्छन् भन्ने प्रश्न खडा भएको छ ।
कोरोनाको असर रहुञ्जेल रङ्गमञ्चको गतिविधि सामाजिक सञ्जालबाटै अगाडि बढ्ने बताउनुहुन्छ नाट्यशिल्पी अनुप बराल । उहाँ भन्नुहुन्छ, ‘पुराना नाटकको लाइभ स्ट्रिम गरिनेछ । स–साना ठाउँमा खेल्न सकिने मोनोलग या स–साना नाटक प्रस्तुत गर्नुको साथै नाटकका विषय, रूप, शैलीमाथि बहस, विमर्श आदि पनि यसैबाट गर्न सकिन्छ । एकान्तवासमा बसेका अलग–अलग र एक्लो व्यक्ति नै यसको दर्शक हुने बरालले बताउनुभयो । ती व्यक्ति बसोवास गर्ने घर या स्थानले नै प्रेक्षालयको काम गर्नेछ । उहाँ भन्नुहुन्छ, ‘जुन दिन प्रकोपको असर सकिएला, त्यो दिन फेरि थिएटर घरमा नाटक खेलिनेछ ।’ यसको विपरीत भौतिक दूरी कायम गरेर भए पनि नाटक सुरु गर्नुपर्नेमा जोड दिनुहुन्छ– रङ्गकर्मी आशान्त शर्मा । उहाँ भन्नुहुन्छ, ‘कम खर्च लाग्ने नाटक गर्नुपर्छ । यसरी नाटक गर्ने ठाउँ खुला क्षेत्र पनि हुनुपर्छ ।’ अब थिएटर सुरु हुँदा नेपाली रङ्गमञ्चले अलि फरक बाटो लिन्छ कि भन्ने पनि उहाँको अनुमान छ ।
बिस्तारै स्थिति सामान्य हुँदै गयो भने शारीरिक दूरी कायम गरेर काम गर्न सकिने बताउनुहुन्छ पोखरास्थित पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की । ‘नाटक बन्द ठाउँमा दर्शकसँग साक्षात्कार गरेर देखाइन्छ,’ उहाँले भन्नुभयो, ‘बन्दाबन्दीको अन्त्यपछि केही आशा पलाएको त छ ।’
बन्दाबन्दीपछि रङ्गमञ्च लयमा आउन समय लाग्ने नै छ । बन्दाबन्दी खुले पनि दर्शक निर्धक्क भएर नाटक हेर्न आउन मुस्किल छ । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी भन्नुहुन्छ, ‘हामी अहिले ‘पर्ख र हेर’को अवस्थामा छौँ ।’ थिएटर सञ्चालन गरुँ सरकारको अनुमति छैन । अहिलेको अवस्थामा रङ्गमञ्चको विकल्पका रूपमा भर्चुअल माध्यमलाई प्रयोग गरिरहेको उहाँले बत(ाउनुभयो । थिएटर खुले पनि दर्शक आउने ग्यारेन्टी छैन । थिएटरलाई ठप्पै पार्न हुँदैन भन्ने हेक्काले पनि ‘विश्व बालकविता महोत्सव’, ‘शैली संवाद’ जस्ता थोरै मान्छे भेला भएर गर्न सकिने काम थिएटरले गरिरहेको उहाँले जानकारी दिनुभयो ।
बन्दाबन्दी खुलेपछि पनि थिएटरलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर विभिन्न थिएटरका रङ्गकर्मी अहिले एकै थलोमा जम्मा भएर छलफल गर्न थालेका छन् । थिएटर हबका संयोजक देव न्यौपाने भन्नुहुन्छ, ‘हामीले देशभरिकै थिएटरको समस्याबारे सङ्गीत नाट्य एकेडेमीलाई ध्यानाकर्षण पत्र पनि बुझायौँ । तर, एकेडेमीले यसमा केही पनि गरेन । एकेडेमीबाट केही हुने नदेखिएपछि हामी सबै रङ्गकर्मी अब के गर्ने, कसरी अगाडि बढ्ने भनेर छलफलमा जुटेका छौँ । अहिले नाटक गर्नुभन्दा पनि सबैभन्दा ठूलो कुरा हाम्रो स्वास्थ्य हो,’ उहाँ भन्नुहुन्छ, ‘पहिला भूकम्पको समयमा पनि लगभग स्थिति यस्तै थियो तर त्यतिबेला मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था थिएन ।’ अहिलेको अवस्थामा थिएटर सञ्चालन गर्दा सामाजिक दूरीदेखि लिएर सबैकुराको योजना बनाएर गर्नुपर्छ ।
कोरोना रहुञ्जेल रङ्गमञ्चको गतिविधि हुन गाह्रो छ । सामाजिक सञ्जालको माध्यमबाट अगाडि बढे पनि स्टेजमा जस्तो रमाउन सकिँदैन । जुन दिन प्रकोपको असर सकिन्छ, त्यो दिन अवश्य फेरि नाटकघरमा नाटक मञ्चन हुनेछ । रङ्गमञ्चको स्वाद सामाजिक सञ्जाल वा अनलाइनको माध्यमबाट चलचित्र हेरेजस्तो लिन सकिँदैन । नाटकलाई प्रत्यक्ष रूपमा हेर्नुको मज्जा नै बेग्लै हुन्छ । यो एउटा रङ्गमञ्चकोे चरित्र पनि हो । तत्कालै नेपाली रङ्गमञ्चको अवस्था कस्तो होला, के थिएटरहरू फेरि जुरमुराउँछन् त भन्ने कुराको अनुमान गर्न अझै गाह्रो छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?