logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु

मुख्य समाचार |
फिचर |


उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु


नगेन्द्र सापकोटा

काठमाडौँ, साउन ९ गते । काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो ।
काठमाडौँ र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । हाल काठमाडाँैमा महानगरसहित ११, ललितपुरमा महानगरसहित तीन र भक्तपुरमा चारवटा नगरपालिका छन्् । छवटा स्थानीय तह भएको ललितपुरमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकालाई एकीकृत विकासमा समेटिएको छैन ।
काठमाडौँ र ललितपुर महानगर भौगोलिक रूपमा सानो भए पनि बाक्लो बस्तीले व्यवस्थित सहरीकरणमा समस्या छ । दुई महानगरबाहेक अन्य १६ वटा नगरपालिकामा खेतीयोग्य जमिन, खुला क्षेत्र, वन लगायतका भूगोल धेरै भएकाले ती क्षेत्रमा व्यवस्थित सहरीकरण निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण आर्यालले जानकारी दिनुभयो ।
उपत्यकाका सबै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा एकीकृत योजना निर्माण गर्न समिति निर्माण गरिएको जानकारी अर्यालले दिनुभयो । उपत्यकाको पूर्वाधार विकास र सुविधा वितरण, समान मापदण्डका आधारमा गर्ने, यसको राजनीतिक नेतृत्व उपत्यका नगरपालिका फोरमले गरे पनि प्रशासनिक नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी कार्ययोजना तयार गर्न लागिएको छ ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा उपत्यकाको फोहोर र ट्राफिक लाइट व्यवस्थापनको काम गर्ने बताउनुभयो । अनियन्त्रित सहरीकरणको व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, रङ्गशाला, विमानस्थल, पार्क, हरियाली प्रवद्र्धन गर्ने, सेवा प्रवाह र सुशासनमा एकरूपता कायम गरी नागरिकमैत्री स्थानीय सकार निर्माण गर्ने उद्देश्यले अन्तरनगर सहयोग र साझेदारी अगाडि बढाउन लागिएको हो । उपत्यकाको एकीकृत विकासमा केही नगरपालिकाले एक्लै मात्र नीति बनाई कार्यान्वयन गर्न सम्भव नभएकाले एकीकृत विकासनिम्ति अन्तरनगर साझेदारी योजना सुरु गर्न लागिएको उहाँले स्पष्ट गर्नुभयो ।
कार्यदल गठन
१८ वटै नगरपालिकाको एकीकृत विकास र अन्तरसहयोग साझेदारीका लागि काठमाडाँैं महानगरका सहसचिव राजेश्वर ज्ञवाली र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ ।
बृहत् अवधारणा
तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगले उपत्यकालाई एउटै एकाइ मानी एकीकृत विकास गर्न उपत्यका मेट्रो सिटीको अवधारणा सार्वजनिक गरेको थियो । आयोगले उपत्यकामा एकीकृत विकास गर्न मेट्रो सिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको पाँच वर्ष भइसक्दासम्म मेट्रो सिटीको काम अगाडि बढ्न सकेको थिएन । उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले बनाएको विभिन्न समितिले मेट्रो सिटीको अवधारणा कार्यान्वयन हुने अपेक्षा नेपाल नगरपालिकाले सङ्घले गरेको छ ।
सङ्घीय राज्य भएका अधिकांश देशमा सङ्घीय र प्रादेशिक राजधानीबीच समन्वय र सहकार्य गर्न मेट्रो सिटी निर्माण गरिएको छ । नेपालमा सोही प्रकृतिको मेट्रो सिटीको अवधारणा अगाडि सारिए पनि कार्यान्वयनमा अहिलेसम्म आउन सकेको थिएन । सङ्घीय राज्य भएका मुलुकहरू अमेरिका, भारत, अर्जेन्टिना, जापान, फिलिपिन्स लगायतका देशमा मेट्रो सिटी राजधानी सहरको व्यवस्थापन गरिएको नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?