logo
२०८१ बैशाख १४ शुक्रवार



बाघको वैभव

शनिवार |


बाघको वैभव


पूर्णहरि अमात्य

बाघको कल्पना गर्नासाथ हाम्रो मन मस्तिष्कमा एउटा हिंस्रक जङ्गली जनावरको तस्बिर आउँछ । तर, वास्तविकता त्यस्तो होइन । बाघ सौन्दर्य र शक्तिको प्रतीक (आइकन) तथा जादुमय (म्याजिकल) श्रेष्ठता भएको जनावर हो । धार्मिक मान्यता तथा लोककथामा पनि बाघको व्यापक प्रभाव परेको पाइन्छ । तर, दुःखका साथ भन्नुपर्छ, जङ्गलको राजा भनिने बाघको सिकार रौँ–भुत्ला (फर), हड्डी तथा अन्य अङ्गका साथै रोमाञ्चकताका लागि समेत गरिएको पाइन्छ ।
बाघको अनेकौँ मिथकीय चर्चा सुन्न पाइन्छ । दुर्गाको वाहन बाघ, भगवान् शिवको वस्त्र बाघको छाला, काठमाडौँ उपत्यका तथा मुलुकका विभिन्न ठाउँमा रहेका मन्दिरको प्रवेशद्वारमा बाघका मूर्ति र चित्र रहेकाले यसको महŒव कति छ भन्ने बुझ्न सकिन्छ । जीव वैज्ञानिकहरूका अनुसार सात लाख वर्षअघि बाघको उत्पत्ति साइबेरियामा भएको थियो । समयक्रममा साइबेरियाबाट दक्षिणतर्फ बाघ बसाइँ सर्दै आएको हो । २०औँ शताब्दीसम्म यो आठ प्रजातिमा रहेको विज्ञ बताउँछन् । तीमध्ये बङ्गलादेश, भारत, नेपाल, भुटान र उत्तर पश्चिम म्यानमारमा पाइने रोयल बैङ्गाल टाइगर (प्यानथेरा टिग्रिस टिग्रिस) प्रजातिका हुन् ।
विश्वमा पाइने बिरालो समूहका ३७ प्रजातिमध्ये बाघ एक हो । अफगानिस्तान, इरान, टर्की, चीन (दक्षिण क्षेत्र), थाइल्यान्ड, भियतनाम, लाओस, मलेसिया, कम्बोडिया, इन्डोनेसियाका जङ्गलमा यसको वासस्थान छ । तर, यसलाई सङ्कटावस्थाको जन्तुमा वैज्ञानिकले सिरानमा नै राखेका छन् । वैज्ञानिकको कथनअनुसार २०औँ शताब्दीको प्रारम्भमा बाघको सङ्ख्या एक लाखभन्दा बढी नै थियो । हाल तीन हजार ५०० मा झरेको छ । एक शताब्दीको दौरानमा बाघको मुख्य वासस्थानमा पनि ९५ प्रशितले ह्रास आएको वन्यजन्तुविज्ञ हेमन्त मिश्रले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार आठ प्रजातिका बाघमध्ये तीन प्रजातिले मात्र आफ्नो अस्तित्व जोगाउन सकेको छ । स्मरण रहोस् समयको प्रवाहमा डाइनोसोरसको अस्तित्व नै लोप हुन पुग्यो । बाघको सङ्ख्या तीव्र गतिमा ह्रास आएको अवस्थालाई ध्यान दिँदै विश्व संरक्षण सङ्घले सन् १९९० मा यसलाई सङ्कटावस्थामा रहेको भनी सूचीकृत ग¥यो ।
बाघले ग्रीक सभ्यताका साथै पूर्वीय सभ्यता तथा संस्कृति र लोककथामा गहिरो प्रभाव पारेको पाइन्छ । २६०० बीसीतिर सिन्धुघाँटी सभ्यताको मोहनजोडारो (पाकिस्तान)को सभ्य समाजको प्रतीकका रूपमा यसलाई मानिन्थ्यो । प्राचीनकालमा भारतमा मात्र होइन, सम्पूर्ण एसियामा बाघलाई उत्पादनशीलता तथा समृद्धिका रूपमा लिइन्थ्यो । पश्चिमाहरू बाघलाई शाही जनावर (म्याजेस्टिक म्यामल्स) भन्न रुचाउँछन् । त्यसैगरी, हामी पनि बाघलाई जङ्गलको राजा भनी सम्बोधन गर्छौं ।
नेपाल र भारतका राजा महाराजाहरूको मनोरञ्जनका लागि बाघलगायत अन्य वन्यजन्तुको सिकार गर्नु केही दशकअघिसम्म सामान्यझैँ थियो । राणा प्रधानमन्त्री जुद्धशमशेर तथा चन्द्रशमशेर सिकारको ठूलो सोखिन थिए । हरेक वर्ष हिउँदमा तराईका घनाजङ्गलमा ठूलो लावालस्करसाथ सिकार खेल्न जान्थे । त्यसबेलाको शक्तिशाली बेलायती शासकलाई रिझाउन पनि राणाहरू शाही सिकार (रोयल हन्टिङ)को आयोजना गर्थे । चन्द्रशमशेरको निम्तामा बेलायती पाहुनाले चितवनमा शाही सिकार गरेका थिए र उक्त सिकारमा १२० वटा बाघ मारिएको थियो । त्यसैगरी, सन् १९११ मा बेलायती राजा जर्ज पञ्चम र सन् १९६० मा बेलायतकी महारानी एलिजावेथ द्वितीयाले पनि चितवनमा शाही सिकार गरेकी थिइन् । यो तत्कालीन शासकहरूको एउटा कूटनीतिक रणनीति नै थियो ।
समयअनुसार मानिसको सोचमा परिवर्तन आउँछ । सोखमा पनि परिवर्तन आउँछ । राजा महेन्द्र सिकारका अत्यन्त सोखिन थिए । तर, त्यही राजा महेन्द्र वन्यजन्तुको संरक्षण गर्नतर्फ पनि उन्मुख भए । राजा वीरेन्द्रको राज्यारोहणपछि त विधिवत रूपमा नै सन् १९७३ मा शाही चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । भौतिक विकासमात्रै सबै कुरा होइन भन्ने चेत समाजमा पैmलन थाल्यो । राष्ट्रिय निकुञ्ज तथा आरक्ष भनेको कसैको सनकमा नभई, मानव जातिको अस्तित्व रक्षाका लागि आधारभूत आवश्यकता हो भन्ने महसुस गर्न थालियो ।
विगतमा वन–जङ्गल भनेको काठ, दाउराका लागि हो भन्ने मानसिकता थियो । यो ठाउँ राजा, महाराजा, सामन्त र ठालुहरूको क्रीडास्थलमा मात्र सीमित थियो । तर, त्यो अवधारणालाई जन कोपम्यानले कसरा (चितवन)मा सन् १९६५ मा टाइगर टप्स लज खोलेर बदलिदिए । लजले पूर्वी अफ्रिकाको केन्यामा गराइने जङ्गल सफारीको तरिका अपनाएको थियो । सन् १९६० अघिसम्म औलोग्रस्त र रैथाने थारूको मात्र बसोवास भएको यो ठाउँमा पछिल्लो समय जति चहलपहल हुन्छ, यस्तो चहलपहल भएको अन्य स्थान नेपालमा छैन । यो क्षेत्र यसरी चहलपहल हुनुमा यहाँको सुन्दर प्राकृतिक सम्पदा तथा बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तुकै कारणले गर्दा हो । यही कारण यहाँ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुन्छ ।
बाघ एउटा जङ्गली जनावरमात्र होइन, यससित अनेकौँ कुरा जोडिएका हुन्छन् । बाघको बसोवास भएको जङ्गललाई जीव वैज्ञानिकहरू उच्चकोटीको पर्यावरणीय क्षेत्र मान्छन् । बाघको भोजन भनेकै मृग, चित्तल र बँदेल हुन् । ती जनावरका लागि आवश्यक आहार राम्रो घाँसेमैदान हुन् । यसरी सन्तुलित पर्यावरण चक्र प्रणाली कायम राख्न पनि बाघका साथै अन्य वन्यजन्तुको संरक्षण गर्न आवश्यक हुन्छ । प्राचीनकालमा बाघले मानिसको घरलाई चोरी, क्षति तथा सबै कुभावनाबाट जोगाउँछ भन्ने जनविश्वास थियो । आधुनिक विज्ञानले पनि उक्त परिकल्पनालाई सही ठह¥याउँदै वन–जङ्गलमा बाघ संरक्षण गर्नाले स्वच्छ वायु, पानी तथा माटो संरक्षण गर्न पनि मद्दत पुग्छ । जुन मानिसलाई बाँच्नका लागि नभई नहुने कुरा हुन् । विशेषगरी तराईमा रहेका राष्ट्रिय निकुञ्जवरपर तीव्र जनसङ्ख्या वृद्धि, वनविनाश, वन्यजन्तुको चोरी सिकार, नदीजन्य पदार्थ (बालुवा, ढुङ्गा, गिटी)को अनियन्त्रित दोहन र राजमार्गले बाघलगायत अन्य वन्यजन्तुको संरक्षणमा चुनौती देखिएका छन् । झन् विश्वव्यापी उष्णताको समस्याले वन्यजन्तुको जीवनलाई दुरुह बनाएको छ । बाढी, सुख्खा, डढेलोले वन्यजन्तु प्रभावित हुनेक्रम बढ्दो छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा यी पाँचवटा राष्ट्रिय निकुञ्जमा सन् २०१८ को बाघ गणनाअनुसार २३५ रहेको र सन् २०२२ सम्म २४० देखि २५० सम्म पुग्ने सम्बन्धित निकायको अनुमान छ ।
सन् २०२२ सम्ममा १२ वटा बाघ भएका मुलुकले यसको सङ्ख्या दोब्बर पु¥याउने लक्ष्यमा नेपाल अग्रपङ्तिमा हुनु हामी सबैका लागि गौरवका कुरा हो । तर, त्यसका लागि रष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रवरिपरिका वासिन्दाको बालीनाली नाशमात्र होइन, कैयौँले बाघ, जङ्गली हात्ती, गैँडा तथा अन्य जनावरको आक्रमणबाट ज्यानै गुमाउनुपरेको छ । राष्ट्रिय निकुञ्जको स्थापना खासमा जैविक विविधता संरक्षण हेतु गरिएको थियो । पर्यटन गतिविधि त क्रमशः बढ्दै गएका हुन् । बाघको संरक्षणले गर्दा नै चितवन राष्ट्रिय निकुञ्ज विश्वभरि प्रख्यात भएको छ । विश्व प्राकृतिक सम्पदामा समेत यो निकुञ्ज सूचीकृत हुन पुगेको छ । जङ्गल सफारीका सोखिन अफ्रिका (केन्या)पछि चितवनलाई नै सम्झन्छन् ।
छिमेकी भारतको सरिक्सा, रनथाम्बोर र बान्धवगढजस्ता ठाउँमा पर्यटकको ओइरो यही जङ्गलको राजा बाघको अवलोकनका लागि हुन्छ । भारतमा हाल ताजमहलले भन्दा बाघले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको कुरा मुकेश कपुर (प्रबन्धक, ह्वाइट टाइगर लज, बान्धवगढ)ले उल्लेख गरेका छन् । (हेर्नुहोस् सन्डे टाइम्स, अप्रिल ११,१९९३) । अन्तर्राष्ट्रियस्तरमा बाघको महŒव कति छ भन्ने बुझ्न सन् २०१२ मा काठमाडौँमा इन्टरनेसनल टाइगर सिम्पोजिमलाई विश्व बैङ्कका अध्यक्षले वासिङ्टनबाट शुभकामना सन्देश दिएबाट पुष्टिन्छ । अन्तर्राष्ट्रिय वित्त संस्थासँग बाघको के नाता भन्ने प्रश्न पनि उठ्न सक्छ । त्यस्तै मोबाइलका बहुराष्ट्रिय कम्पनीले समेत बाघ संरक्षणमा सहकार्य गरेबाट यसको महŒव झल्काउँछ । टाइटानिकका नायक लियोनार्दो डिक्याप्र्रियोले केही वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्दा खिचेको डमरुसहित बाघको फोटो निकै चर्चामा आएको थियो । यो फोटोले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रचार राम्रैसँग ग¥यो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?