logo
२०८० चैत्र १६ शुक्रवार



त्यो समय, ती अनुभूति

शनिवार |


त्यो समय, ती अनुभूति


राजकुमार दिक्पाल

साहित्यकारका पुराना र रमाइला प्रसङ्गहरू कोट्याउने मन भयो, त्यसमा पनि भूपी शेरचन (विक्रम संवत् १९९२–२०४६) का सम्बन्धमा । भूपीका सङ्गातिमध्येका एक रत्नशमशेर थापा (विसं १९९४–२०७७)लाई फोन गरेँ । एक सञ्चारकर्मीको नाताले पनि कवि तथा गीतकार थापासँगको भेट सहजै सम्भव भइहाल्यो । कमलपोखरीस्थित उनको घरमा पुग्दा उनी घरको आँगनमा पर्खिरहेका रहेछन् ।
यहाँहरूलाई त आफ्नो नाममा ‘शमशेर’ लेख्न पनि राणाहरूले अनुमति दिएरमात्रै सम्भव भएको रहेछ हगि ? बैठक कोठामा पुगी सोफामा टुसुक्क बस्नासाथ मैले जिज्ञासा राखिहालेँ ।
‘हो त, हाम्रा बाबुबाजेले राणालाई रिझाएका कारण हामीले पनि शमशेर लेख्न पायौँ नि,’ उनले मलाई तृप्त बनाउन खोजे । कुनै समय खासगरी युवकयुवती युधिर थापाका उपन्यास भनेपछि हुरुक्कै हुन्थे । दुई÷तीनवटा त मैले पनि पढेँ । रत्न दाइलाई सोधेँ, उपन्यासकार युधिर अर्थात् युधिरशमशेर थापाचाहिँ साइनोमा दाइको के पर्नुहुन्छ ?’
‘उहाँ मेरो अङ्कल हुनुहुन्छ,’ युवामाझ लोकप्रिय तर समालोचकको आँखामा नपरेका उपन्यासकारसँगको साइनो सम्बन्धबारे रत्न दाइ खुलेका थिए । आफ्नो समयमा रत्नशमशेर थापाले भूपीसँग गज्जबैले सङ्गत गरेका थिए । सम्झनाका कैयौँ पाना छन्, पल्टाएर साध्य छैन, केही घण्टाको बसाइमा । त्यसैले केही सम्झनाका पाना पल्टाउन आग्रह गरेँ, मैले ।
विद्यार्थी युनियनको आयोजनामा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको अडिटोरियम हलमा कविता गोष्ठीको आयोजना गरिएको थियो । भूपी, रत्नशमशेरलगायत कवि निम्त्याइएका थिए । साथमा साहित्यकार पुण्यप्रसाद सुवेदी (विसं १९९०–२०४२) पनि थिए । कविता गोष्ठी चल्दै थियो, केहीले वाचन पनि गरिसकेका थिए । केही क्षणमै त्यहाँको साहित्यिक माहोल अनपेक्षित हुन पुग्यो । कविता वाचन र श्रवण गर्न भनी आयोजित कार्यक्रमको हलबाहिर विद्यार्थीबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना हुन पुग्यो । ‘गोबर समूह’ र ‘खरानी समूह’ नामले प्रचारित विद्यार्थी समूहबीच ढुङ्गा हानाहानको अवस्था थियो । गोबर समूह भनेको प्रजातन्त्रवादी विद्यार्थीको समूह र खरानी समूह भनेकोचाहिँ वामपन्थी विद्यार्थीको समूह ।
यी जोशिला विद्यार्थी समूहबीच कुन विषय र प्रसङ्गमा विवाद प¥यो कुन्नि ? तर, त्यहाँ नयाँ सर्ट लगाएर चिटिक्क परी कविता वाचन गर्न पुगेका भूपी अनि साथमा रत्न र पुण्यजस्ता सुधा साहित्यकारहरू नराम्रो घानमा पर्ने भए ।
अब त्यहाँ बसिरहन उचित थिएन । ‘ए साथी हो, हिँड जाऊँ,’ भूपीले अत्तालिएको स्वरमा साथीहरूलाई उर्दी जारी गरे । त्यो भाँडभैलोमा कविहरूलाई ज्यान जोगाउनै मुस्किल प¥यो ।
बिथोलिएको साहित्यिक कार्यक्रमस्थलबाट भूपी, रत्न र पुण्य अलि तल पुगे । अबचाहिँ ढुङ्गा प्रहारबाट जोगिने निश्चित भएपछि भूपीको बोली फुट्यो । उनले भनेँ, ‘आजचाहिँ एउटा उपाय फु¥यो साथी हो ।’ के हो त्यस्तो उपाय ? साथीहरूले सोधे ।
‘अबदेखि कविता वाचन गर्न जाँदा हेल्मेट पनि लगाएर जानुपर्ने भयो,’ भूपीले आफूमा फुरेको नयाँ उपाय सुनाए । साथीहरू हाँसे, हा...हा...हा...।
कीर्तिपुरमा भएको गोलमालबाट ज्यान बचाएर आएका कवि असन–इन्द्रचोकतिर आइपुगे । साँझको समय, भूपीको नयाँ सेसन सुरु हुन लागेको थियो । त्यतिखेरै त्यहाँ कवि हरिभक्त कटुवाल (विसं १९९२–२०३७) देखापरे । भूपी परे, आफूमात्रै होइन, साथीहरूलाई पनि पिलाउन पाउँदा खुब सुख सन्तुष्टि अनुभूति गर्नेखालका । तर, रत्नशमशेर हरिभक्तदेखि अलि सतर्क भए । भूपी र हरिभक्तसँग रत्नको साहित्यिक र मित्र सम्बन्ध थियो । यी दुवै कवि रत्नशमशेरका न ‘क्लास फ्रेन्ड’ थिए, न त ‘ग्लास फ्रेन्ड’ नै ।
रत्नले भूपीलाई अलि पर्तिर लगेर भने, ‘ए भूपी, यो हरिभक्त खाएपछि निहुँ खोज्न थालिहाल्छ, यसलाई आज नलैजाऊँ ।’
‘हैट, रत्न तिमी के भन्छौ, यार ! पोखरामा म क्रिकेट खेल्दा उनले मेरो क्रिकेटका सबै सामानको हेरविचार गरिदिन्थ्यो । म भएपछि तिमीहरू फिकर नमान’, नजिकैको पसलबाट रमको बोतल किनिसकेका भूपीले सहजै उत्तर दिए । त्यसपछि भूपीको साँझको सेसन सुरु भयो । रत्न र पुण्य परे, सुराको थोपो नखाने । दुई ‘ग्लास फ्रेन्ड’ भूपी र हरिभक्तचाहिँ जमिरहेका थिए । दिउँसो कीर्तिपुरमा भएको गोलमालकै विषयले समय खाँदै थियो, भूपी बडो रउसेपाराले घटनाको समीक्षा गरिरहेका थिए । हरिभक्तलाई सुराले समाउँदै गइरहेको थियो ।
त्यसपछि हरिभक्त पुण्यतिर खनिन सुरु गरे । त्यस्तो खास निहुँ केही थिएन । पुण्य चुपचाप बसिरहेका थिए । हरिभक्त जति खनिँदै जान्छन्, पुण्य उति नै शालीन मुद्रामा मौन थिए । पुण्य कसैलाई नबिझाउने, बौद्धिक र भद्र व्यक्ति थिए ।
दिउँसो कीर्तिपुरमा भएको लफडाबाट बचेर आएको साँझ फेरि अर्को लफडा हुन थालेपछि रत्नलाई अलि झोँक चलेछ । उनले हरिभक्तलाई घुरेर हेर्न थाले । तर, हरिभक्तले रोकिने छाँट ल्याएनन् । त्यसपछि साँझका सेसनको आयोजकले नै सम्झाउँदा केही लाग्छ कि भनेर रत्नले भूपीतिर याचना गरेछन् । भूपीले ‘ए हरिभक्त, के भनेको यो’ मात्र के भनेका थिए, हरिभक्त भूपीमाथि जाइलागिहाले । हरिभक्तले भूपीको सर्टको कलरमा समाते र त्यहाँबाट यसरी ताने कि उनको नयाँ सर्ट ध्वार्रै च्यातियो ।
दिउँसो कविता सुनाउन जाँदा ढुङ्गामुढाबाट बालबाल बचेर आएका कवि महोदयहरू साँझ अर्को लफडामा परे । भूपी च्यातिएको सर्टमा ‘हैट यहाँ पनि बस्न नसकिने भयो’ भन्दै घरतिर गए । रत्न र पुण्य पनि घरतिर नै लागे । हरिभक्तलाई भने उनीहरूले त्यहीँ छाडेर हिँडेछन् । नेपाली साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका अविस्मरणीय घटना सुनाउने रत्नशमशेर थापा पनि जेठ १५, २०७७ सालदेखि स्मृतिमा सीमित रहे । माथि नाम लिइएका चारैजना सर्जक भौतिक रूपमा हामीसँग छैनन्, यतिखेर ।
संयोग पनि कस्तो अनौठो जेठ १५ गते रत्नशमशेर थापाले भौतिक संसार त्याग गर्नु र त्यसको पर्सिपल्ट जेठ १७ गते मोरङको बेलबारी नगरमा रहेको एउटा सालिक केही उरन्ठेउलाबाट लडाइनु । त्यो सालिक उनै पुण्यप्रसाद सुवेदीको थियो, जसको भद्र र शालीनताका बारेमा माथि उल्लेख गरिसकिएको छ ।
नेपालीजनले अहिले पनि गुनगुनाइरहने एउटा गीत छ–
साँगुरीवारि नि हौ त्यो धारापानी
गड्तिरको है हजुर बालुवा
खरो नि सुर्ती नि हौ बाडुली लाग्यो
खानुहोस् है हजुर मलुवा...
यो कालजयी गीतका रचनाकार÷सङ्कलकको नाम हो, पुण्यप्रसाद सुवेदी । उनी भूपी, रत्नशमशेर र हरिभक्त कटुवालभन्दा उमेरमा थोरै जेठा थिए, त्यसैले त्यो समयको साहित्यिक जमातका सदस्य उनलाई ‘ठूल्दाइ’ सम्बोधन गर्थे । केही वर्षअघि बेलबारी साहित्य विकास समितिले बेलबारी नगरको वडा नम्बर ३ मा उनको अर्धकदको सालिक प्रतिष्ठापित गरेर उक्त चोकको नाम पनि ‘पुण्यचोक’ राखी उनको योगदानलाई चीरस्मरण गराउने कार्य गरेको थियो । तेह्रथुमको साब्ला गाउँमा १९९० साल फागुन २० गते जन्मेका पुण्य उच्च शिक्षाका लागि काठमाडौँ आएका थिए । त्रिभुवन विश्वविद्यालयको साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको नेतृत्व पनि उनी गर्थे । बौद्धिक र शालीन यी प्रतिभाले २०४२ साल असोज ६ गते बेलबारीमा अन्तिम सास फेरे । उनले ‘दलमुखी’ कथासङ्ग्रह (२०१५) र ‘धूँवाका चक्काहरू’ कथासङ्ग्रह
(२०२८) लेखेर नेपाली साहित्यलाई समृद्ध बनाउन महŒवपूर्ण भूमिका खेलेका छन् ।
कुनै बेला तारादेवीलगायत कलाकार उनीकहाँ गीत माग्न पुग्थे । उनका केही गीतहरू रेडियोमा रेकर्ड भएका छन् । तर, उनी पहाड–मधेस गर्दा उकाली–ओह्राली गरेको साँगुरीगढी र धारापानीको गीत नै उनलाई चिनाउने मुख्य गीतका रूपमा स्थापित हुन पुग्यो ।
समाजबाट उनले केही लिएनन्, सकेको दिएर अल्पायुमै निधन भए । थाहा छैन, यस्ता शालीन सर्जकको सालिकलाई चोट पु¥याएर, ढालिदिएर ती उरन्ठेउलाहरूले कुन्नि के पाए ? न जीवित हुँदा पुण्यले आफ्नो सालिक ठडिनुपर्ने माग नै गरेका थिए । सर्जकको सम्मान गर्ने सिर्जनाप्रेमीहरूले उनको सालिक ठड्याए त के बिराए ?
हुन त हामीले कवि हरिभक्त कटुवालले रक्सी खाएकोमात्रै देख्यौँ । रक्सीको रन्कोले उठाएको झोँकमा उनले केही सानोतिनो झागडा गरे होलान्, जो पानीको फोका बराबर थिए । तर, गीत र कवितामा पोखिने उनका झरिला सिर्जनाहरू आज कालजयी बनेर हामीमाझ लोकप्रिय हुन पुगेका छन् । प्रवासमा रहेर नेपाली भाषासाहित्यको मायाले भुतुक्क हुँदै उनी नेपाल आएका थिए । उनले नेपालमै रहेर धेरै लेखे । साहित्यमार्फत मानवतावादको प्रखर वकालती गरे । तर उनलाई रक्सीले नै लग्यो, उनी ५० पनि कट्न पाएनन् ।
नौ वर्षअघि यो लेखकले भारतको असममा आयोजित असम साहित्यिक महोत्सवमा सहभागी हुने अवसर पाएको थियो । असमको पनि उत्तरी भागको लिडुमा तत्कालीन नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यहरू भाउपन्थी, विष्णु प्रभात, डा. बेञ्जु शर्मा, प्रा.डा. टङ्क न्यौपाने, कवि कृष्णभूषण बल, शशी लुमुम्बूका साथ त्यहाँसम्म पुग्दा मलाईचाहिँ नजिकैको डिगबोइमा पुगी हरिभक्त कटुवालको घरसम्म पुग्ने इच्छा जाग्यो । यदि उनको घरमा पुग्न नपाइए पनि उनको कुनै सन्तानलाई भेट गरेरमात्र नेपाल फर्कन मन लाग्यो । मैले यो इच्छा हामीलाई त्यहाँ स्वागत गर्ने नेपालीभाषीजनमा हार्दिकतासाथ राखेँ ।
उनीहरू फोन गर्न थाले । अब हामीले केही क्षणका लागि भए पनि हरिभक्तकी जेठी छोरी कविता शर्मालाई मार्गरिता नामको ठाउँमा भेट्न पाउने भयौँ । त्यो भेटमा उनका कवि बुवाका बारेमा केही प्रसङ्गहरू चले । हरिभक्त कटुवालले उनलाई नेपालबाट लेखेका केही चिट्ठीहरू (जो पछि छापिएर आए) पढ्ने अवसर पाएको थिएँ । तीमध्ये एउटामा लेखिएको थियो, ‘छोरी, यो अभागी बुवाले तिमीलाई केही पनि पठाउन सकेन । केही क्याक्टसका बिरुवा पठाइदिएको छु, यिनीहरूलाई आफ्ना भाइबहिनीलाई जस्तै गरी स्याहार गर्नू है...।’ यो प्रसङ्ग पनि त्यो भेटमा कविता शर्मासँग निकालेँ । उहाँले भन्नुभयो, ‘बुवा फूलको पनि खुब सोखिन हुनुहुन्थ्यो ।’ उहाँले छुट्ने बेलामा बुवाले डायरी पनि लेख्ने गर्नुभएको थियो भनेर सुनाउनुभयो । नेपालबाट असम फर्कने बेला कोठाबाट डायरी गायब भएको बुवाले सुनाउनुभएको बताउँदै उहाँले भन्नुभयो, ‘रातो कपडाले बेरिएको डायरी नेपालमै छाडेको र त्यसको खोजी गर्नू है भनी बुवाले भन्नुभएको थियो । त्यो डायरी कतै फेलापरिहाल्छ कि, तपाईंहरूले पनि खोजी गरिदिनु होला है ।’
हामीले हरिभक्तको समयमा घटेका घटनाहरूलाई अरूको आँखाबाट मात्र हेर्ने, पढ्ने अवसर पाएका छौँ । उनको डायरी नै फेला पार्न सकिए त उनले देखेको त्यो समय र भोगेका घटनालाई उनकै आँखाबाट पढ्न पाउने थियौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?