logo
२०७७ असार २९ सोमवार

औषधिमा वनस्पति

शनिवार |


2020-06-27-17347


डा. पुनेश्वर केशरी

वानस्पतिक सम्पदाका दृष्टिले नेपाल एसियाको नवौँ स्थानमा पर्छ । यहाँ लगभग नौ हजार प्रजातिका फूल फुल्ने वनस्पति पाइन्छन् । यीमध्ये एक हजार ७९२ देखि दुई हजार ३३१ प्रजातिका औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पति रहेको अनुमान छ । घरेलु उपचार, परम्परागत चिकित्सा पद्धति, जीवनयापन, आयआर्जन आदिमा यस्ता वनस्पतिको उपयोग हुँदै आएको छ । औषधिजन्य वनस्पति उपचार वा रोग प्रतिरोधि शक्ति बढाउन र सुगन्धित तेलयुक्त वनस्पति औषधिका साथै सौन्दर्य प्रसाधनका वस्तु बनाउन उपयोग गरिन्छ ।
औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पतिहरूमा अहिले विश्वकै ध्यान आकृष्ट भएको छ । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार विकासशील देशमा करिब ८० प्रतिशत जनसङ्ख्या प्राथमिक उपचारका लागि औषधिजन्य वनस्पतिको प्रयोग गर्छन् । आयुर्वेद, युनानी, होमियोप्याथी, आम्ची तथा परम्परागत चिकित्सा पद्धतिमा औषधिका रूपमा वनस्पतिको प्रयोग गरिन्छ । आधुनिक चिकित्सा पद्धतिमा पनि औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पतिको प्रयोग बढ्दो छ । विकसित देशहरूमा लगभग पच्चीस प्रतिशत वानस्पतिक औषधि चिकित्सकले सिफारिस गर्ने गरेका छन् ।
औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पतिको वैश्विक बजार लगभग २० देखि ४० अर्ब अमेरिकी डलर रहेको आँकलन गरिएको छ । जुन प्रतिदिन १० देखि २० प्रतिशतको दरले बढ्दैछ । सन् २०१३ मा लगभग एक करोड ७० लाख अमेरिकी डलर बराबरको औषधजन्य तथा सुगन्धित तेलयुक्त वनस्पति नेपालबाट निर्यात भएको आँकडा छ । यसरी विश्व बजारमा खपत हुने औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पति ९० प्रतिशत वनबाटै नै सङ्कलन गर्ने गरिन्छ । जथाभावी सङ्कलन, वनविनाश, चरिचरन, भूस्खलन आदि कारणले प्राकृतिक रूपमा रहेका औषधिजन्य तथा तेलयुक्त वनस्पति लोप हुने अवस्थामा पुगेका छन् । यस्ता वनस्पतिको संरक्षणका लागि सरकारले पाँचऔँले, ओखरको बोक्रा, कटुकीको सङ्कलन र निर्यातमा रोक लगाएको छ । जटामसी, सर्पगन्धा, सुगन्धकोकिला, सुगन्धवाल, तालिशपत्र, लौठसल्ला विना प्रशोधन निर्यातमा रोक लगाइएको छ । यस्तै चम्प, खयर, साल, सिमल, सतिसाल, विजयसाल, ओखर काट्न वा ढाल्न, ओसारपसार गर्न र निर्यात गर्न रोक लागाइएको छ । आधुनिक चिकित्सा पद्धतिमा पनि वनस्पतिको सारतत्व वा तिनीहरूमा रहेको सक्रिय तत्व झिकेर जीवाणुप्रतिरोधी, विषाणुप्रतिरोधी, ढुसीप्रतिरोधी, अर्बुदनाशक, मधुमेहनाशक आदिका लागि प्रयोग गरिन्छ । पोषकयुक्त खाद्यपदार्थमा पनि यी वनस्पति प्रयोग गर्ने गरिएको छ ।
वैज्ञानिक अध्ययनले पनि वनस्पतिहरूमा रहेको ‘फाइटोकन्स्टिच्युएन्ट’ वा सक्रिय तत्व मधुमेह, उच्च रक्तचाप, अर्बुदरोग, मोटोपना आदि नसर्ने रोगमा प्रभावकारी देखाएको छ । साथै व्याक्टेरिया, भाइरस, फङ्गस आदिबाट हुने÷सर्ने खालका रोगमा पनि यो ‘फाइटोकन्स्टिच्युएन्ट’ वा सक्रिय तत्व प्रभावकारी सिद्ध भएको छ । महामारीको रूपमा फैलिने डेङ्गु, मलेरिया, चिकनगुनिया, स्वाइन फ्लू आदि रोगमा पनि औषधिजन्य वनस्पतिको यो तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ । अहिले विश्वभर त्रास फैलाइरहेको कोरोना सङ्क्रमणविरुद्ध शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन गुर्जो, अदुवा, बेसार, तुलसी, जेठीमधु, सोमलता आदि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि गुर्जोमा ‘बरबेरिन’, ‘टिनोस्पोरिन’, ‘कर्डिफोलिन’ आदि तत्व पाइन्छ । जसले ज्वर कम गर्न, रोग प्रतिरोधात्मक शक्ति बढाउन, कलेजोलाई जोगाउन मद्दत गर्दछ । औषधिजन्य वनस्पतिमा पाइने ‘टैनिन’, ‘अल्कल्वाइड’, ‘फ्लेवोन्वाइड’, ‘ग्लाइकोसाइड’,
‘एन्थ्राक्वानिन’, ‘सेपोनिन’, ‘फेनोलिक कम्पाउण्ड’ आदि तत्वले औषधीय प्रभाव उत्पन्न गर्दछ ।
नेपालबाट जडीबुटी निकासी हुने प्रमुख देश भारत र चीन हो । अमेरिका, जर्मनी, बेलायत र अन्य युरोपेली देशमा पनि थोरै मात्रामा औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पतिको सारतत्व निकासी हुन्छ । भारतमा औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पति जस्ताको तस्तै निर्यात हुन्छ । एक आँकडा अनुसार भारतमा लगभग १० हजारदेखि १५ हजार टन जडीबुटी निर्यात हुन्छ । यी जडीबुटी सय प्रजातिभन्दा बढी छन् । चीनमा चाहिँ यार्सागुम्बा बाहेक लगभग पाँच सयदेखि एक हजार टन औषधिजन्य वनस्पति निर्यात हुने गरेको छ ।
जडीबुटी वा औषधिजन्य तथा सुगन्धित तेलयुक्त वनस्पतिको संरक्षण तथा दिगो व्यवस्थापनका लागि तत्काल कदम चाल्न आवश्यक छ । यसका लागि संरक्षित क्षेत्रको घोषणा, भौगोलिक विविधता अनुसारका वनस्पति उद्यान निर्माण, जनचेतना जगाउने, सङ्कलकलाई तालिम र जडीबुटीबारे शिक्षा दिने, खेती हुनसक्ने प्रजातिको पहिचान गरी खेती गर्ने, सामुदायिक सहभागिता गराउने, जडीबुटीको बीउबिजन बैङ्क आदि स्थापना गर्न सकिन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?