logo
२०७७ जेष्ठ १६ शुक्रवार

कोरोनाबीच चलायमान जापान

शनिवार |


2020-05-23-14907


प्रकाश पौडेल ‘माइला’

पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन् । यो प्रसङ्ग केही दिनअघि स्याटालाइटबाट आएको चित्र हेरेपछि अनुभूति भयो । कुनै सौखिन व्यक्तिले आफ्नो व्यक्तिगत वेबसाइटमा राखेको उक्त चित्रलाई मैले ध्यान दिएर हेरेँ । कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त विश्वका ती पछिल्ला चित्र थिए, जहाँ संसार पूर्णरूपमा ठप्प थियो । सडकमा गाडी थिएनन्, आकाशमा जहाज थिएनन् । समुद्रमा चलिरहने जहाज बन्दरगाहमा लामबद्ध थन्किएका थिए । उद्योग, कलकारखाना चलेका थिएनन् । मानिसको ठूलो भीड हुने पर्यटकीय केन्द्रहरू सुनसान थिए । पृथ्वी पूर्ण शान्त र स्थिर थियो ।
यस्तो अवस्थामा पृथ्वीको पूर्वी गोलाद्र्धको ससाना दुई देश जापान–कोरिया तथा छिमेकी देश चीनका चित्र भने थोरै चलायमान देखिन्थे । त्यहाँ गाडी गुडेका, उद्योग चलेका र फाट्टफुट्ट आन्तरिक जहाजसमेत उडेका देखिन्थे । ती चित्र हेर्दै जाँदा लाग्यो, पक्षघात भएको पृथ्वी क्रमशः हातगोडा चलाएर आफू स्वस्थ भएको जनाउ दिन खोज्दैछ ।
कोरोना भाइरसको उद्गम थलो चीनका धेरै राज्य तीन महिनापछि बिस्तारै चलायमान हुन थालेका छन् । कोरियाले पनि बन्दाबन्दी खुकुलो पार्दै भर्खर–भर्खर आफ्नो गतिविधि सुचारु गर्न थालेको छ तर सूर्योदयको देश जापान कहिल्यै पनि पूर्ण बन्दाबन्दीमा गएन । चीनको वुहानमा कोरोना सङ्क्रमण तीव्र भएलगत्तै जापानको योकोहामा टर्मिनलमा आएर रोकिएको डायमन्ड क्रुजसिप पूर्णरूपमा त्यसको चपेटामा प¥यो । त्यसयता लगातार जापान कोरोनाको ‘हट स्पट’ हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनबाट चेतावनी आइरह्यो । धेरैतिरबाट र जनस्तरबाट समेत पूर्णरूपमा बन्दाबन्दी गर्न अनुरोध तथा दबाब आए पनि जापान सरकारले त्यसो गरेन अथवा आवश्यक नै ठानेन । कोभिड–१९ बाट हजारौँ व्यक्ति सङ्क्रमित भइसक्दा सरकारले सुरुमा सात प्रान्तमा र पछि जापानभरि लागू हुनेगरी सङ्कटकालीन अवस्था लागू गरे पनि धेरैजसो पसल खुला रहे । सबैभन्दा भीड हुने बस र रेल सेवा पनि नियमित तालिकाअनुसार चलिरहे । अत्यावश्यक सेवा साविककै अवस्थामा सक्रिय भए । केवल जापानी नागरिकले सरकारको अनुरोध मानेर हिँड्डुललाई पातलो बनाएका मात्र हुन् । त्यहाँ कुनै पनि किसिमको जबर्जस्ती आजसम्म भएको छैन । सायद यही कारण संसार ठप्प हुँदा पनि स्याटालाइटबाट जापानी क्षेत्र थोरै भए पनि चलायमान देखिन्छ । द्वन्द्वकालमा नेपालमा एक किसिमको सङ्कटकाल भोगेका हामी नेपालीलाई जापान सरकारले घोषणा गरेको सङ्कटकालीन अवस्था देख्दा र भोग्दै गर्दा अनौठोचाहिँ लाग्ने रहेछ ।

जापान किन यस्तो ?
भनिन्छ, अप्ठ्यारो अवस्थामा व्यक्ति र समुदायले आफ्नो चरित्र देखाउँछ । जापान पूर्णतः प्रजातान्त्रिक मुलुक हो । सरकारले कुनै पनि नागरिकलाई कुनै पनि कुरामा जबर्जस्ती नियम थोपर्न सक्तैन भन्ने यहाँको घोषित मान्यता हो । यसपटक यो व्यवहारमै देखियो । विश्वव्यापी आपत्कालीन अवस्थामा पनि जापानले यसलाई पूर्णरूपमा पालन ग¥यो । सरकारको यो नियत बुझेकै कारण हुनसक्छ, विश्व स्वास्थ्य सङ्गठन, विभिन्न कूटनीतिक नियोग र कतिपय छिमेकी मुलुकले पनि जापानलाई पटक–पटक बन्दाबन्दी गर्न अनुरोध गरे । स्वयं जापानी नागरिकले समेत सरकारले लिएको फितलो नियमको विरोध र असन्तुष्टि व्यक्त गरे तर सरकारले संविधानले निर्दिष्ट गरेका कुनै पनि कुरालाई एक इन्च पनि मिच्न दिएन । बरु काम गर्न सहजताका लागि ऐन–कानुनमा सामान्य संशोधन गरियो । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै जनतालाई सामाजिक दूरी कायम राख्न अनुरोध भने निरन्तर गरिरह्यो । जनताले सामाजिक दूरी कायम राखुञ्जेल देशका सबैजसो प्रान्तमा कोरोना फैलिसकेको थियो । यसले साना–ठूला व्यवसायमा ठूलो धक्का पुग्न थालिसकेको
थियो । लाखौँको रोजगारी खोसिनु स्वाभाविक नै थियो तर तुरुन्तै सरकारले आर्थिक राहतको घोषणा ग¥यो । आपत्कालीन अवस्थामा कुनै पनि नागरिकलाई बाँच्न गाह्रो नहोस् भनेर व्यक्तिगत खातामा पैसा आउने र साना व्यवसायीहरूलाई निब्र्याजी ऋण सुविधाको व्यवस्था गरिदियो । विभिन्न किसिमका अनुदान र सुविधा घोषणा गर्दा स्वदेशी र विदेशीमा कुनै भेदभाव गरिएन । सरकारले कसो गर्दा नागरिकले घर बाहिर निस्कनुपर्दैन, त्यसको पहिचान गरी त्यसैअनुसारको व्यवस्था ग¥यो । यसका साथै कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको खोजी, परीक्षण र स्वास्थ्य सुविधाको तयारीमा पनि जुटिरह्यो । सायद यही कारण जनता आज पनि ढुक्कसँग सामाजिक दूरी कायम राख्दै आ–आफ्नो काममा कुदिरहेकै देखिन्छन् ।

जापानीहरूले सिकेको पाठ
एउटा प्रसिद्ध भनाइ छ, ‘मानिसले जीवनभर सिक्छ तर लागू गर्दैन’ तर जापानीहरूमा यो नियम लागू हुँदैन । उनीहरू इतिहासबाट सिक्छन् र त्यसलाई पूर्णरूपमा लागू गर्छन् । यही कारण उनीहरूको बुझाइलाई चुनौती दिन सकिँदैन । कुनै बेला जापानीहरूलाई युद्ध नै सबैथोक हो भन्ने लाग्थ्यो । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी ध्वस्त हुनुअघिसम्म उनीहरू सङ्घर्षशीलका अतिरिक्त कति क्रूर र अराजक थिए भन्ने कुरा दक्षिण कोरिया र चीनमा गरिएको गतिविधिबाट थाहा हुन्छ । उनीहरूले कोरियालाई ३५ वर्षसम्म उपनिवेश बनाए । त्यो बेला जापानी सेनाका यौनदासीहरूबाट जन्मिएका मानिस आज पनि कोरियामा प्रशस्त छन् ।
चीन, कोरिया हुँदै बर्मासम्म कब्जा गरेका जापानीहरूले दोस्रो विश्वयुद्धमा नराम्ररी हार खाए । यो उनीहरूका लागि ठूलो सबक थियो । त्यसयता जापानले पूर्णरूपमा युद्धनीति र अराजकता त्याग्यो । सुरक्षा र सेनाका लागि छुट्याउने बजेट पूर्णरूपमा विकासमा लगायो । जापानीहरूको विशेषता नै मान्नुपर्छ, जुन शक्ति उनीहरूले पहिले युद्ध र सैन्य क्षमतामा लगाएका थिए, पछि विकासमा लगाए । संसारको सुपर हिरो अमेरिकालाई पछ्याउँदै लामो समयसम्म जापान विश्वको दोस्रो आर्थिक शक्तिराष्ट्र थियो । अहिले जापानलाई चीनले आर्थिक क्षमतामा पछि पारे पनि के बिर्सनुहुन्न भने जापान चीनभन्दा भूगोल र जनसङ्ख्याको हिसाबले निकै सानो मुलुक हो । सानो जनसङ्ख्या र सानो भूगोलका आफ्नै सीमा भए पनि जापानले जसरी आफूलाई आर्थिक रूपमा शक्तिशाली मुलुकका रूपमा उभ्याएको छ, त्यो हेर्दा कोरोना कहरबीच पनि उनीहरू काममा जुटिरहनुलाई सामान्य मान्न सकिन्छ ।
दोस्रो विश्वयुद्ध सन् १९४५ मा सकिए पनि उनीहरूलाई आर्थिक लयमा फर्कन र भद्रगोल व्यवस्थापन गर्न झण्डै डेढ दशक लागेको थियो । जब उनीहरूले १९६४ को ओलम्पिक खेलकुदको आयोजना गर्ने अवसर पाए, त्यसलाई उनीहरूले आर्थिक शक्ति हासिल गर्ने महत्वपूर्ण औजार बनाए । नभन्दै उक्त ओलम्पिकपछि जापानले पछाडि फर्केर हेर्नुपरेको छैन । सन् २०२० मा हुने ओलम्पिक खेललाई पनि जापानीहरूले यस्तै अवसरका रूपमा लिँदै थिए तर कोरोनाका कारण हाललाई सन् २०२१ को जुलाइका लागि सारिएको छ । वर्तमान विषम परिस्थितिका कारण जसरी यसले आर्थिक अवस्थालाई अप्ठ्यारो पारेको छ, त्यसबाट यो खेल पनि अनिश्चित देखिएको छ । यद्यपि जापानीहरू निराश देखिएका छैनन् भन्ने कुरा ओलम्पिक कमिटीका संयोजक यासुहिरो यामासिताको पटक–पटकको अभिव्यक्तिबाट चाल पाउन सकिन्छ ।

कला–संस्कृतिमा पनि अब्बल
अमेरिकासँग जापानको विशेष किसिमको सम्बन्ध छ । युरोपमा जापानी उत्पादन र सामग्रीहरू लोकप्रिय छन् । पश्चिमासँग निर्भरता बढ्ने क्रममा धेरै देशले उताको डलर, युरोसँगै संस्कृति पनि आयात गरेको उदाहरण विश्वभरि देखिन्छ तर जापानले आफूलाई पश्चिमा संस्कृतिबाट पृथक् राखेको छ । अनुसरणयोग्य केहीे प्रभाव देखिए पनि जापानीहरू संस्कृतिलाई पूर्णरूपमा रक्षा गर्छन् । सन् ६४५ मा बनेको आसाकुसा टेम्पल मात्र हैन, सन् १३९७ मा बनेको गोल्डेन टेम्पल पनि पटक–पटक मर्मत सम्भार गर्दै जस्ताको तस्तै सुरक्षित राखेका छन् । यस्ता उदाहरण जापानमा अनगन्ती भेटिन्छन् । आफ्नो संस्कृतिप्रति अन्धभक्त भएकै कारण कतिपय अवस्थामा उनीहरूमा रुढिवादी सोच पनि झल्कन्छ । यहाँका बालबालिका पनि आफ्नो भाषा र संस्कृतिप्रति यति भक्त बन्छन् कि ठूलो भएपछि सिकेको अङ्ग्रेजीलगायतका भाषा पनि सकेसम्म बोल्न चाहँदैनन् । धर्म र संस्कृतिप्रतिको यही मोहकै कारण जापानमा अहिले पनि एक सय २६औँ पुस्ताको आलङ्कारिक राजतन्त्र चलिरहेको छ ।
केही दिनअघिको कुरा हो, योकोहामास्थित मेरो रेस्टुराँमा एकजना जापानीले फोन गरेर खाना अर्डर गरे । हामीले उनको अर्डरअनुसारको तयारी गर्न लाग्यौँ । झण्डै १५ मिनेटपछि उनको पुनः फोन आयो । उनले भने, ‘आकस्मिक रूपमा म खाना लिन आउन असमर्थ भएँ । मलाई रेस्टुराँको बैङ्क एकाउन्ट पठाइदिनु होला, म पैसा हालिदिन्छु ।’ प्राविधिक कारणले उनले खाना लैजान नसकेपछि पैसा लिनु हाम्रो धर्मको कुरा भएन । हामीले पैसा लिन प्रेमपूर्वक अस्वीकार ग¥यौँ तर तीन दिनपछि हुलाकबाट एउटा पत्र आयो । पत्रसँगै उनले अर्डर गरेको खानाको पैसा र एउटा पत्र थियो । पत्रमा लेखिएको थियो, ‘मेरो कारणले तपाईंको खाना खेर जाने भयो । ग्राहक धर्म निर्वाह गर्न पाएकोमा खुसी छु ।’
पत्रमा उनले आफ्नो ठेगाना उल्लेख गरेका थिएनन् । कारण, स्पष्ट थियो, उनी आफूले अर्डर गरेको खानाको पैसा तिर्न प्रतिबद्ध थिए । व्यवसाय गर्ने क्रममा उनीहरूको इमानदारीको यस्ता दर्जनौँ उदाहरण मैले भेटेको छु । हरेक नेपालीसँग यस्ता कैयौँ किस्सा सुरक्षित छन् । यसको एउटै कारण के हो भने उनीहरू सानो छँदा जे कुरा सिक्छन्, जीवनभर पालन गर्छन् । मिलनसार, इमानदारी र सहिष्णुता यिनीहरूको जीनमै घुलमिल भएको अनुभूति हुन्छ । अधिकांश जापानीमा छलकपटको नामोनिसान भेटिँदैन । साना–साना गल्तीमा पनि सहज रूपमा माफी माग्ने र जति सानो हुन सक्यो, उति आफ्नो उचाइ बढ्छ भन्ने उनीहरूको बुझ(ाइ छ । यो गुण हाम्रा लागि चाहिँ विशेष अचम्मको लाग्दोरहेछ ।
यति हुँदाहुँदै पनि उनीहरूमा सानैदेखि एक्लै बस्ने बानीको विकास भएको देखिन्छ । एक्लो हुनु भनेको एकोहोरो हुनु पनि हो र आत्मकेन्द्रित पनि । यसले उनीहरूमा सामाजिक भावनाको विकास भएको पाइँदैन । एक्लोपना र कामप्रति लगावपूर्ण खटाइ कहिलेकाहीँ घातक पनि बन्न सक्छ । सायद यही कारण हुनसक्छ, विश्वमा धेरै आत्महत्या गर्ने मुलुकका नागरिकमा जापानीहरू पर्दछन् । माउन्ट फुजीको छेवैमा रहेको एउटा जङ्गल नै आत्महत्याको जङ्गलको रूपमा चिनिएको छ । यो लेख लेख्दालेख्दै पनि एकजना जापानी युवाले आत्महत्या गरेको खबर जापानी अनलाइनमा आइरहेको छ । काम गर्न नपाएका कारण उनले आत्महत्या गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ । हामीमा बढी काम गर्नुप¥यो भनेर चिन्तित हुने प्रवृत्ति छ । यता जापानीहरू कोरोनाका कारण काम गर्न पाइएन भनेर आत्महत्या गरेको खबर सुनिन्छ । सायद यही काम गर्ने बानीले नै जापानीहरू अरूभन्दा फरक छन् । अरूभन्दा विशेष लाग्छन् ।

(लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?