logo
२०८१ बैशाख ६ बिहीवार



जति नै टाढा भए पनि (कविता)

शनिवार |


जति नै टाढा भए पनि (कविता)


दिनेश अधिकारी

असाध्यै माया गर्नुको कारण
तिमीलाई कतै छोइएला कि भनेर
अहिले म अलग्गै बसेको छु

अदृश्य रूपमा घुमिरहेछ
हाम्रो वरिपरि एउटा काल
थाहा छैन–
त्यो तिम्रो हात वा मेरो ओठमा बसेको छ कि
अथवा
त्यो तिम्रो सास वा मेरो पहिरनमा अल्झेको छ कि
म चाहन्नँ हाम्रो स्पर्श मृत्युका लागि अवसर बनोस्
आलिङ्गन त एउटा माध्यम मात्र न हो अभिव्यक्तिको
बँचाइराख्न
परस्पर भरोसा र यो सौन्दर्यको सम्बन्धलाई
आवश्यक परे
अझै धेरै टाढिन तयार छु म तिमीबाट

जत्ति नै टाढा भए पनि
चन्द्रमासँग सूर्यको प्रेम
अहिले पनि उस्तै छ !
पृथ्वीसँग आकाशको सम्बन्ध
अहिले पनि जस्ताको तस्तै छ !!  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?