logo
२०७७ जेष्ठ १६ शुक्रवार

जिन्दगीको शून्यता (कविता)

शनिवार |


2020-05-23-14905


सुमन सङ्गम

यौवनको बिहानी घामलाई जसै
अँगालेर उक्लिरहेथेँ म
आफ्नै यौवनको उकालो
टपक्क टिप्यौ
आकाशको कोखबाट

झा¥यौ आफ्नै सतहीमा
अनि खेल्यौ कैयौँपटक
मुठ्ठीभित्र बाँधिएको जिन्दगीसँग

मेरा सपनाहरू निचोरेर साट्यो
जिन्दगीले शून्यतासँग

निस्फिक्री हुस्सु लागेको बिहान होस् या
जून लागेको मध्यरात
तिम्रो चाहनाको समयमा
यो छातीलाई बिसौनी बनाएर
तिम्रो थकाइ मेट्ने चौतारो बनेँ म

प्रत्येक समय तिम्रा चाहनाका
सुगन्धित बास्नाबाट जब म भिज्थेँ
कोठाका भित्ताहरू सिलिङ्
अनि झ्यालहरू
हुँदै पर्खिरहेको बिछ्यौनाले घृणा गर्थे मलाई

पलपल घृणित मेरो अनुहार
ज्वालामुखीका लाभा बनेर बग्थ्यो

तिम्रा चाहनाले गोड्मेल गरेका बिरुवा
सिँच्दै नसिँची सैकडौँ
मानिसको भीडमा
तिमी फुक्का भएर हिँड्यौ
तर कसैको प्रश्न बनेन
तिमी समाजको दाबेदार जो थियौ

म निरीह बनेर पनि
आँसुको भेलमा डुब्दै उत्रिँदै
भूगोल जत्रै मुटु लिएर
तिमीले रोपेका बिरुवाहरूको
सह्यार गर्दै रहेँ

तिमीले छोडेका बिरुवा
कोपिला भएर हाँस्न थाले
र फक्रिए सुन्दर फूल भएर
अनि
सजिएका छन् घरका मूलगेटहरू

केही छैनन् तिमीसँग
शीतलताले बिझ्ने मनका मझेरी
जिन्दगीका प्रत्येक भ¥याङहरूमा
तिमीसँग सम्झन लायक
सम्झनाहरू के नै छ र ?

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?