logo
२०८१ बैशाख ६ बिहीवार



अनुभूति उडान

निबन्ध

शनिवार |


अनुभूति उडान


माधव काफ्ले

सतहमा जीवनका बारेमा सहस्र व्याख्या, विश्लेषण गरिएका छन् । धेरै स्थापित मत मतान्तर पनि छन् । धेरै बयान र परिभाषा पनि गरिएका छन् । मान्छे नै पिच्छेका धारणा पनि छन् । म पनि प्राणी प्रजातिको मान्छे हुँ । मान्छे हुँ भन्ने झिनो दम्भ ममा पनि मौजुद छ । आकारका दृष्टिले, बनोटका दृष्टिले, रूपका दृष्टिले मान्छेसँग मिल्ने केही सारभूत साझा सामञ्जस्य भएको नाताले गर्दा व्यापकतामा भन्दा पनि सार र एकाइको रहनीमा केही सादृश्य तन्तुहरू वासलातमा मौज्दात रहेकाले मान्छे नै हुँ भन्ने जब्बर अहङ्कार मैले पनि बोकेको छु । बानी, व्यहोरा पशुवत् भए पनि मान्छे नै हुँ भन्न रुचाउँछु र निर्धक्क मान्छे नै हुँ भन्दै आएको पनि छु ।
मान्छे हुन के के कुरा चाहिन्छन् र कुनकुन कुरा हुँदा मान्छे मान्छेजस्तो हुन्छ भन्ने गहकिलो ज्ञान मसँग छैन । के हुँदा मान्छे होइने हो र के नहुँदा मान्छे नहोइने हो त्यो पनि थाहा छैन । सास त अरू जीव, जनावरले पनि फेर्छन् । खान त अरूले पनि खान्छन् । खानु, बोल्नु र फगत सास फेर्नु मात्र मान्छे हुनुको सजीव लक्षण नहुनु पर्छ । अहिले सतहमा जेजस्ता मान्छे देखिएका छन् ती सबै मानिस नहुन पनि सक्छन् र ती सबै मानिस हुन पनि सक्लान् । यसको बहस गरेर फस्र्याउन खोज्ने मनसाय मेरो होइन ।
म औतारी शक्ति भएको अन्तर्यामी मान्छे होइन क्यारे !
मात्र देखेको कुरा भन्दैछु । मान्छे भएपछि धेरथोर उसमा चेतना हुन्छ नाइँ ! त्यसको नापो गर्ने सर्वव्यापी साधन आफूसँग मौज्दात नभएको हुनाले चेतना मसँग छ कि छैन यसै भन्न सक्तिनँ तर धारणा मेरो पनि छ । मैले पनि राखेको छु ।
धेरै मानिस जीवनलाई वैश्विक सम्पदाको ठूलो पुँजी मान्दछन् । मलाई त्यस्तो लाग्दैन । जीवन सम्पत्तिको अथाह स्रोत नभएर अनुभूतिको विषद् सङ्ग्रहालय हो । जीवन सधैँ चोइटिने, चिरिने, कोपरिने गर्छ । अनुभूति भने सधैँ सग्लो हुन्छ । त्यसैले जीवन कुनै आर्थिक सङ्कायको सञ्चित पुँजी नभएर अनुभूति आवेगको एकाइ ठान्दै आएको छु । रूपमा, दृश्यमा, आकारमा, एकाइमा, गुणमा, विचारमा, बुद्धिमा, पाइनमा, पुरुषार्थमा, उचाइमा, अर्थमा परिभाषित गरेर देखाउन सक्ने आधार सञ्चित पुँजीमा भन्दा अनुभूतिमा बेसी देखिने हुनाले पनि मेरो मानसिकता यसैको प्रभावमा तिरोहित भएर छङछङाइरहेको छ ।
जीवनको रङ हुन्छ टिप्न सकिन्न । बास्ना हुन्छ सँगाल्न सकिन्न । सौन्दर्य हुन्छ साँच्न सकिन्न । गति हुन्छ पक्रिन सकिन्न । उचाइ हुन्छ नाप्न सकिन्न । स्वाद हुन्छ चाख्न सकिन्न । लय हुन्छ समाउन सकिन्न । झङ्कार हुन्छ बजाउन सकिन्न । मूच्र्छना हुन्छ समेट्न सकिन्न ।
यस अर्थमा पनि जीवन सटही बजारको चुक्ता पुँजी नभएर अनुभवको विरासतमा पुष्पित र पल्लवित हुँदै आएको आकर्षणको सापेक्ष धरोहर हो । प्रेरणाको स्रोत हो र प्रभावको अलङ्कार हो ।
पुँजी सञ्चयनको व्यापक र विराट् अर्थ वर्तमानमा भन्दा पनि भविष्यमा निर्भर हुँदै आएको छ र त्यसैको जगमा टेकेर यसले मानिसलाई आफ्नो वैभवशाली अटोमन साम्राज्य स्थापित गर्न अभिप्रेरित गर्दै आएको छ । यो प्रायशः मृतकाय महत्वाकाङ्क्षाको अघोरी कडी हो । मृत ठोटरीको खबटोजस्तै । वर्तमानमा साँध हुन्छ, सिमाना हुन्छ, परिधि हुन्छ । प्राप्ति र पुरुषार्थको प्रभावशाली स्रोत हुन्छ । वैयक्तिक सान्निध्य र संवेग सादृश्यको उर्बर तपोभूमि हुन्छ । वर्तमानमा नटेकी भविष्य कहिल्यै पनि देख्न सकिन्न । वर्तमानलाई नभोगी भविष्य कहिल्यै पनि भोग्न सकिन्न । छुन सकिन्न । पुग्न सकिन्न । वर्तमान मान्छेको हातमा रहेको हुन्छ । भविष्य कहिल्यै मान्छेको हातमा भएको देख्न सकिएको छैन । वर्तमान भोग्यको झङ्कार सञ्जीवनी हो भने भविष्य आशाको अन्योलग्रस्त अनियन्त्रित उडान हो । वर्तमान प्राप्तिको मीठो परिकार हो भने भविष्य आहारिसको अपानवायु हो । वर्तमान भोगाइको न्यानो सपना हो भने भविष्य अतिरञ्जित आकाङ्क्षाको काँचो वायु हो । जजसले जजस्तो जलप लगाएर टल्काउँदै प्रदर्शन गर्न खोजे पनि भविष्य सधैँ खोटो र खबटो हुन्छ । कालातीत सन्दर्भका धेरै प्रकम्पनले यसको अन्तर्यमा सन्निहित आवेगको उडानलाई थेत्तरो र थोत्रो पारेर दगल्च्याउँदै जाने हुनाले भविष्यप्रति आशा त गर्न सकिन्छ तर दिगोसँग भर पर्न सकिन्न ।
भविष्यलाई सिँगारेर समुन्न्नत बनाउने मृगतृष्णा बोकेर हिँडेका शक्तिशाली राजा महाराजाहरूले कालान्तरमा धूलो चाटेर भष्मीभूत हुन पुगेका धेरै आला नजिरहरू हामीले देखेका पनि छौँ, पढेका पनि छौँ, सुनेका पनि छौँ । कैयौँ साम्राज्यहरू ढलेका छन् । उखेलिएका छन् । उजाडिएका छन् । उनीहरूले भविष्यलाई समुन्नत बनाउन खोज्नुभन्दा वर्तमानलाई सिँगार्न खोजेका भए केही समय तङ्ग्रिएर अरू टिक्न सक्ने थिए होलान् । भविष्यको तुइनमा चढेर समृद्धिको वैतरणी तर्न खोजेका हुनाले उनीहरूको हविगत ‘हम तो डुबेङ्गे सनम तुझ को भी ले डुबेङ्गे’ जस्तै हुन पुगेको यथार्थ सर्वत्र व्याप्त भएको हामीले देखेका पनि छौँ । भविष्यको कुरा उठ्नासाथ जहिले पनि म संस्कृतका यशस्वी कवि अम्बिकादत्त व्यासको एउटा कविता सम्झन पुग्छु । उनले एकठाउँमा यसो भनेका छन्–

रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम्
भाष्वानुदेष्यति हसिष्यति पङ्कजश्रीः
इत्थं विचिन्तयति कोशगते द्विरेफे
हा हन्त ! हन्त ! नलिनीं गज उज्जहार ।
कमलको फूलमा बसेको भँवरोले रसको तिर्सना हठात् त्याग्न नसकी सोचेछ रात गएपछि त उज्यालो भइहाल्छ । उज्यालो हुनासाथ सूर्यको प्रकाश धर्तीमा फिँजिन्छ । साँझ पर्नासाथ खुम्चिन पुगेको कमलको फूल सूर्यको स्पर्श हुनासाथ फक्रिहाल्छ । अनि म फुत्त उडेर जानेछु भनेर कमलको फूलमा नै रात बिताउने विचार गरेछ । संयोग राति एउटा मदमत्त हात्ती पोखरीमा पसेर भएभरको कमल माडेर पोखरीलाई नै उजाड पारिदिएछ ।
‘अनि त कता जुठे, कता जुठेको बाउ’को जस्तै हविगत हुनपुगेछ कमलको फूल फक्रिएपछि उड्न खोज्ने भँवराको गति ।
मलाई जीवन पनि त्यस्तै लाग्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?