logo
२०८१ बैशाख १३ बिहीवार



‘कुमाता’ भित्र नारी संवेदना

पुस्तक

शनिवार |


‘कुमाता’ भित्र नारी संवेदना


कथाकार वसन्त पराजुलीको नवीनतम कथासङ्ग्रह ‘कुमाता’ भर्खरै बजारमा आएको छ । उक्त कथासङ्ग्रहले पाठकको मन तरङ्गित पारेको छ । आखिर के छ त कुमाता कृतिभित्र ? सबैको खुलदुलीको विषय बनेको छ । शीर्षकले एकातिर नारीवादी दृष्टिकोणमाथि पटाक्षेप गरेको देखिन्छ भने अर्कातिर पाठकमा उत्सुुकता पैदा गराएको छ । संस्कृतमा एउटा उक्ति छ, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ अर्थात् पुत्र कुपुत्र हुनसक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । यो कथनलाई भत्काएर हाल समाजमा विद्यमान विकृति, विसङ्गति एवं अवैधानिक रूपमा गर्भधारण गरेका कारण कैयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरू भन्ने तथ्यलाई कथामा प्रस्तुत गरिएको छ । फक्रिन नपाउँदै कोपिलामै निमोठिन्छ । थाहा छैन सायद देशका कैयौँ भविष्यका होनहार नागरिक यसरी मृत्युवरण गर्न विवश हुन्छन् । आफू र आफ्नो अस्तित्वलाई समाजमा कायम राख्न गरिने यस्ता कर्तुतहरू दिनप्रतिदिन बढ्दैछन् । जुन कुरा सभ्य र समुन्नत समाजका लागि तगारो बन्ने गर्छन् ।
नारी संवेदनाका दृष्टिले ‘कुमाता’ कथासङ्ग्रह सशक्त देखिन्छ । यसमा सङ्ग्रहित प्रायः कथाहरूमा नारीका संवेदना कुनै न कुनै रूपमा प्रस्तुत भएका छन् । सहमतिमै भए पनि कथाका पात्रहरूबीचको अवैध यौनसम्पर्कका कारण झेल्नुपरेको दुर्दशाले नारी संवेदनालाई उत्कर्षमा पु¥याएको छ । यसरी सर्सर्ती हेर्दा कथाका नारी पात्रहरू सजिलै पुरुषसँग प्रेममा फस्ने अनि सम्बन्ध बसिसकेपछि शरीर सुम्पन पनि पछि नपर्ने भएका कारण उनीहरूले विभिन्न परिस्थितिसँग सिँगौरी खेल्नुपरेको देखिन्छ । यसकै ज्वलन्त उदाहरण हो कुमाता कथा । कुमाताकी कान्छीले साहिँलो भन्ने चिरपरिचित ट्रक ड्राइभरको विश्वास गरी प्रेममा फसेर गर्भवती भएकी तर गर्भवती भएपछि साहिँलो फरार भएका कारण बच्चा जन्मेपछि आफैँले घाँटी थिचेर मार्न र स्वघोषित कुमाता बन्न विवश भएकी छ । पुरुषले जेजसो गरे पनि हुने सामाजिक संरचनाका कारण पुरुषहरू कहिल्यै कुपिता नबन्ने तर नारीहरू कुमाता बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
त्यसैगरी परिबन्द कथामा नाटकीय प्रेममा फसेकी मङ्गलीको उस्तै दुर्दान्त अवस्थाको चित्रण छ । आफ्नो औँला चिरेर निस्केको रगतले मङ्गलीको सिउँदो भरेर कथित लोग्ने बन्ने नाटक गरेको सन्तेको विश्वासका भरमा शरीर सुम्पेकी मङ्गलीले गर्भवती भएपछि उसको झुटो आश्वासन बुझ्छे र पश्चात्तापको अग्निमा जल्न पुग्छे । अस्मिता कथाकी पात्र अस्मिता अमितसँगको अन्तर्जातीय प्रेममा फस्छे तर अवैधानिक रूपमा गर्भवती भई सकेपछि भ्रूणहत्या गराउन बाध्य पार्ने अमितले हत्यापछि अस्मितालाई छाड्छ । अमितले छाडेपछि रबिनसँग वैवाहिक जीवनमा बाँधिएकी अस्मिता रबिन विदेश गएपछि परस्त्रीसँग यौनसम्पर्क गरेकै कारण उतै जेल पर्छ । श्रीमान् जेल परेपछि खर्च धान्न धौधौ परेकाले यौनधन्दामा लाग्न विवश हुन्छे । सामूहिक बलात्कारमा परेर दुर्दान्त अवस्थामा पुगेकी अस्मिता आफूले अत्यन्तै विश्वास गरेको यौन पार्टनरले ‘मलाई पनि दिन्छ्यौ कि ?’ भनी माग गरेपछि अत्यन्त आक्रोशित भएर भन्छे ,“हो म वेश्या हो ! वेश्या ! वेश्या भन्दैमा जहाँ पायो त्यहीँ जतिजना पायो उतिजनासँग सम्बन्ध राख्न सक्छे ?” (पृ .८०)
‘नियति’ कथामा तेह्रवर्षे बालिकालाई गर्भवती बनाएर वैभव भागेको छ । आफ्नो गर्भपतन गराउन अस्पताल पुगेकी ती बालिकाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको घटना प्रस्तुत गरिएको छ ।
‘दोषी को ?’ अर्को नारी संवेदनाले भिजेको कथा हो । नारीको यौनमनोविज्ञानलाई कथामा देखाइएको छ । विवाह गरेपछि, श्रीमान् श्रीमतीले वैधानिक रूपमा यौनसम्पर्क गर्न सक्छन् तर यस कथाकी सरितालाई बिहेपछि पनि लोग्नेले यौनप्रति कुनै चासो नदेखाएको हुनाले उनलाई अचम्म लाग्नु स्वाभाविकै हो । एकातिर साथीहरूले सुहागरातको वर्णन गरेका अर्कोतिर लोग्नेले सुहागरातमा पनि आफूलाई वास्ता नगरेका कारण उसमा लोग्नेप्रतिको वितृष्णा बढ्दै जान्छ । आखिर किन...? भन्ने प्रश्नले उसलाई कोपरिरहन्छ । बिहे गरेको तीन वर्षसम्म पनि श्रीमान्ले सम्पर्क गर्न नखोजेपछि ऊ परपुरुष (आकाश)सँग लहसिन्छे । आखिर प्राकृतिक रूपमा नारीका पनि त इच्छा चाहना हुन्छन् नि तर भन्ने कसलाई ? केही सिप नलागेपछि उसले आकाशकै गर्भधारण गर्छे र त्यसबाट जन्मेको बच्चा जबर्जस्ती श्रीमान्लाई स्वीकार गर्न लगाउँछे । “यो मेरो सम्बन्धको निसानी हो । सक्छौ मेरो पेटको बच्चा तिमीले मेरो हो भनेर स्वीकार्नु । हैन भने यसलाई कसरी जन्माउनुपर्छ मलाई थाहा छ ।” (पृ.११० ) यहाँनेर सरिताको माध्यमबाट नारीलाई सक्षम र सबल देखाउन कथाकार सफल भएको देखिन्छ । नारीका इच्छा, चाहनालाई प्रस्फुटित हुन नदिने पुरुषप्रधान समाजलाई चुनौती दिँदै आफ्नो आमा बन्न पाउने नैसर्गिक अधिकार प्राप्त गर्न सफल भएकी छे यस कथाकी पात्र सरिता । आफू तेस्रो लिङ्गी भएकै कारण पनि समाजमा आफ्नो अस्तित्व कायम गर्नका लागि बच्चा स्वीकार्न उसको लोग्ने मञ्जुर भएको छ । यहाँनेर नारीको मनसाय स्वीकार गरेर होइन कि समाजमा आफ्नो पुरुषत्व कायम राख्न उसले स्वीकृति दिएको मान्न सकिन्छ ।
यसरी ‘कुमाता’ कथासङ्ग्रहमा सङ्ग्रहित प्रायः कथाहरूमा नारी संवेदना प्रचुर मात्रामा पाउन सकिन्छ । पितृसत्तात्मक सामाजिक संरचनामा जकडिएको नेपाली समाजमा हुनसक्ने थुप्रै यस्ता घटनालाई टपक्क टिपेर काल्पनिकताको जलप लगाउन सक्नु कथाकारको प्राप्ति देखिन्छ । पाठकलाई आन्दोलित बनाउने खुबी कथाकारमा प्रशस्त देखिन्छ । कथा पढ्दै जाँदा पाठक आफ्नो सम्पूर्ण कुरा बिर्सेर कथामा डुब्न सक्छ । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रूप लिन सक्छ । कुमाता बन्न विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ यस सङ्ग्रहका कथाहरूले । नारीले सजिलै पुरुषको विश्वास गर्न पुग्दा कसरी दुःखको सागरमा डुब्नुपर्छ भन्ने सचेतना कथामा प्रशस्त पाइन्छ । समग्रमा नदी झैँ सलल बगेको कथावस्तु, भाषामा सरलता र बोधगम्यताका कारण कथासङ्ग्रह उत्कृष्ट बन्(नपुगेको छ ।
शान्ति शर्मा
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?