logo
२०८१ बैशाख ७ शुक्रवार



उल्लङ्घन (लघुकथा )

शनिवार |


उल्लङ्घन (लघुकथा )


देवेन्द्र अर्याल ‘आँसु’

सरकारले घरबाहिर ननिस्कन सूचना जारी गरेको छ, ‘‘तपाईंहरु सुरक्षित तवरले आ–आफ्नै घरभित्र बस्नुहोस् । घरबाहिर ननिस्कनुहोस् । सामाजिक दूरी कायम राख्नुहोस् । कसैले पनि सामाजिक दूरीरुपी रेखा मेट्ने काम नगर्नुहोस्, लकडाउनलाई पूर्णरुपमा सफल पार्न मद्दत गर्नुहोस् ।’’लकडाउनको बेला माधव काकाको परिवार रामायण सिरियल हेर्न जम्मा भएका थिए । रामलाई खोज्न जानुपूर्व सम्भावित खतराको अन्दाज गरेर सीताको सुरक्षाका लागि लक्ष्मणले रेखा खिच्दै भनेका थिए ‘‘तपाईं यो रेखा नाघेर बाहिर नजानुस् है । तपाईंको सुरक्षाका लागि नै मैले यो रेखा कोरेको हुँ ।’’ सिरियल हेर्दाहेर्दै रावणले सीताहरण गरेर लग्यो । सबैको अनुहार दुःखी देखिन्थ्यो । त्यति नै बेला टेलिभिजनमा महामारीबाट सङ्क्रमित हुने र मर्नेको सङ्ख्या थपिँदै गएको समाचार प्रसारण भइरहेको थियो । त्यो समाचारले त झन् सबै सदस्यको मुख मलिन भएको थियो ।
त्यो देखेर सानी छोरीले बुबाको अगाडि गएर भनी, ‘‘यी दुवै घटना सीमा उलङ्घन गर्दाको परिणाम हो बुबा । सीताले लक्ष्मणरेखा उलङ्घन गरेका कारण रावणद्वारा हरण हुन पुगेकी हुन् भने मानिसहरु पनि सामाजिक दूरी अवज्ञा गर्दा महामारीबाट सङ्क्रमित हुन पुगेका हुन् ।’’
छोरीको तार्किक जवाफ सुनेर माधव काकाको मुहारमा खुसी छायो । परिवारका सबै सदस्यले एकै स्वरमा लकडाउनलाई पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जाहेर गरे ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?