logo
२०८१ बैशाख ७ शुक्रवार



बेलुका रमाइलो गर्ने सर ?

नियात्रा

शनिवार |


बेलुका रमाइलो गर्ने सर ?


भीष्म उप्रेती


२०७६ असोज ११ गते शनिबार । अध्यागमनमा झमेला भएन । नेपाली राहदानी देखेपछि कुनै कुनै मुलुकमा त निकै सोधपुछ गर्छन् र दुःख दिन्छन् तर यहाँ केही भएन । मैले नेपालबाटै भिसा लिएर आएको थिएँ । विमानस्थल धेरै ठूलो नभएकाले आफ्नो सामान पाउन पनि गाह्रो भएन । म बाहिर निस्केँ ।
बाहिर निस्कँदै गर्दा एक जना मानिस मेरो नामको ‘नेमप्लेट’ लिएर उभिएको थियो । त्यो देखेपछि घर पुगेजस्तै धेरै आनन्द लाग्यो । ऊ भएपछि यस नयाँ ठाउँमा कुनै झण्झट बेहोर्नुपरेन । मलाई सोभैm मैले बुक गरेको होटेल अलोहामा ल्याएर छाडिदियो ।
पेन इन्टरनेसनलको विश्व सम्मेलनमा भाग लिन म फिलिपिन्स आएको थिएँ तर उक्त सम्मेलनको औपचारिक शुभारम्भ हुन अझै दुई दिन बाँकी रहेकाले मैले यी दुई दिन मनिलालाई पढ्ने विचार गरेँ आफ्नै किसिमले । अलोहा होटेल समुद्री किनारमै रहेछ । समुद्रको लालसा बोकेर धेरै टाढा गइरहनुपरेन तर होटेलमा २ बजेपछि पस्न पाइने रहेछ । अहिले बिहानको आठ मात्र बजेको थियो । हिजो बिहानदेखिको यात्रा, अनिँदो शरीर, पसिना र अलिअलि भोक– धेरै असजिलो भइरहेको थियो । काउन्टरको मान्छेसँग एकछिन अनुरोध गरेपछि दिउँसो एक बजे पठाइदिन्छुु भन्यो । अहिले कोठा खाली छैन पनि भन्यो । मैले उसकै जिम्मामा सुटकेस राखेँ । बाथरुम गएर हातमुख धोएँ । एकछिन आराम गरेपछि बाहिर निस्केँ ।
बाहिर निकै कडा घाम थियो । हावा खासै थिएन । हाम्रोमा घाम लागेपछि यति चिरिक्क पोल्ने हुँदैन । साथमा हावा पनि बहेकै हुन्छ । यहाँ त्यस्तो थिएन तर समय बिताउनु थियो, केही न केही खानु पनि थियो । म समुद्रको किनारको बाटोमा समुद्रको छातीमा खेलिरहेका मसिना लहरहरू हेर्दै हिँड्न थालेँ । अलिअलि मानिस थिए त्यहाँ । नयाँ जोडीहरू पनि थिए दुनियाँ बिर्सेर बसेका । उनीहरूलाई चर्को घामको मतलब भएजस्तो देखिएन । केही प्रहरी सफाइको काममा लागेका थिए हाम्रो शनिबारे बागमती सफाइ अभियानजस्तै ।
केही महिला तथा पुरुष पैसा माग्न बसेका थिए । भोकै छु,, केही पैसा देऊ भन्थे । यसैगरी केही मानिस बाटोको किनारमै एउटा खाली कुर्सी राखेर बसेका थिए । उनीहरू बाटोमा हिँड्नेलाई मसाज गर्न आग्रह गर्थे । मलाई अनौठो लाग्दैथियो, कस्तो मसाज गर्दा हुन् एउटा सानो टुलमा बसाएर यिनले भन्ने । तर अलि मास्तिर पुगेपछि एउटा भुस्तिघ्रेलाई एउटा कुपोषण लागेको जस्तो पातलो मान्छेले सकिनसकी ढाडमा मालिस गर्दै थियो । उनीहरूको आँखा छलेर एकछिन हेरेँ । गरिबीको ताप यहाँ पनि आकाशको घाम जत्तिकै कडा रहेछ ।
बाटैमा थियो अमेरिकी दूतावास । एकदम कडा व्यवस्थासहित खडा । मैले जति पनि देशमा अमेरिकी दूतावास देखेको छु, एकदमै धेरै सुरक्षा व्यवस्थासहित खडा भएको देखेको छु । जसलाई धेरै भय हुन्छ, उसैलाई धेरै सुरक्षा चाहिन्छ भन्ने कुरा मेरो बोधो दिमागले भन्छ । यसभन्दा अलि माथि एउटा सङ्ग्रहालय थियो ‘म्यूजियो पम्बाता’ नामको । म्यूजियो भनेको सङ्ग्रहालय र पम्बाता भनेको केटाकेटी रहेछ फिलिपिनो भाषामा । बालबालिकाको सङ्ग्रहालय । मैले मेरो जीवनमा पहिलोपटक बालबालिकाका लागि बनाइएको सङ्ग्रहालय देखेँ । मन खुशीले फर्पmरायो । मनमनै भनेँ– आहा ! पाइला मोडिए त्यतै । सङ्ग्रहालयमा एकजना कर्मचारी थियो । ऊसँग एकछिन कुरा गरेँ । दुई तला रहेछ । सङ्ग्रहालयका चारवटा भाग रहेछन् । एउटामा फिलिपिन्सको इतिहासलाई रोचक किसिमले प्रस्तुत गरिएको । अर्कोमा फिलिपिन्सको विभिन्न संस्कृति र भाषाको प्रस्तुति । अर्कोमा बालबालिकाका लागि हुने सङ्गीत, पुस्तक र चित्रकला । सङ्गीत कक्षमा बालबालिकाले नै सङ्गीत सुनाउँदारहेछन् । त्यहाँ आउने विभिन्न बालबालिकाले विभिन्न कलात्मक चित्र एवं विभिन्न वस्तु पनि बनाउँदारहेछन् । त्यस्तो बनाउन सिकाउने सुविधा पनि रहेछ । बा(लबालिकाको किताबमा चित्र बनाउने चित्रकारका अनुभव सुन्न पनि पाइने रहेछ । अर्को कक्ष भने बालबालिकाका लागि विभिन्न खेलका सामग्री राखिएको रहेछ । बालबालिकाले यहाँ मज्जाले मनोरञ्जन लिन पाउने रहेछन् । सङ्ग्रहालय ट्रस्टले चलाउँदोरहेछ र ट्रस्टका अध्यक्ष मनिलाका मेयर रहेछन् । यो सङ्ग्रहालय हेरेपछि मलाई हाम्रो नेपालका पनि काठमाडौँलगायत विभिन्न सहरमा यस किसिमको सङ्ग्रहालय आवश्यक छ भन्ने लाग्यो । हाम्रो सङ्ग्रहालयमा हाम्रा बालबालिकाले पनि हाम्रो संस्कृति एवं इतिहास उनीहरूकै किसिमले सिकून्, साहित्य, कला र सङ्गीतमा लाग्ने प्रेरणा पाऊन् । स्वस्थ मनोरञ्जनात्मक खेल खेलून् र आफूलाई स्वस्थ एवं सामाजिक बनाऊन् ।
यतिन्जेल सम्ममा म भोक र थकाइले गल्न थालेको थिएँ । बाटोछेउको एउटा रेस्टुराँमा पसेँ र भोकलाई मारेँ । त्यसपछि पसिना बगाउँदै होटेलमा फर्केँ । बाटोमा रामोन म्यागासेसे ट्रस्टको विशाल भवन थियो । यो एसियाकै नोबेल भनेर चिनिने प्रतिष्ठित पुरस्कार बाँड्ने संस्था हो । यसको कार्यालय भवन देखेपछि यसको हैसियत पनि निकै ठूलो र बलियो रहेछ भन्ने लाग्यो ।
दिउँसो साह्रै थोरै मान्छे हिँड्ने रहेछन् सडकमा । अधिकांश मान्छे निजी सवारी, भाडाका सवारी र ट्याक्सी प्रयोग गर्दारहेछन् तर मलाई चाहिँ एकछिन हिँड्न नै मन लाग्यो । म बिस्तारै हिँड्दै र रमिता हेर्दै होटेल पुगेँ । दिउँसो प्रकाश ए. राज दाइ र उहाँका छोरा आउनुभयो म बसेको होटेलमा । हामीले निकैबेर कुरा ग¥यौँ । एक बजे होटेलभित्र पसेँ । हिजोदेखिको पसिना र थकानलाई पखालेँ र अर्को सुकिलो लुगा लगाएर बाहिर निस्केँ उहाँहरूसँगै ।
हामी ट्याक्सीमा बस्यौँ । ट्याक्सी गुड्यो मकातीमै रहेको रबिन्सन सेन्टरतिर । यो फुर्सदको समयलाई हामीले राम्रो मलमा घुमेर बिताउने विचार गरेर ट्याक्सी लिएका थियौँ । त्यसो त म बसेको मनिला बे को अलोहा होटेलबाट पैदलै पनि आउन सकिने दूरीमा हो यो मल, तर दिउँसोको कडा घाम सम्झँदा मात्रै पनि जीउ गलेर लल्याकलुलुक भइहाल्ने । यस्तोमा पचहत्तर वर्ष नाघेका प्रकाश ए. राज दाइलाई आधा घन्टा हिँडाउनु पनि पापै हो । त्यसैले ट्याक्सी समात्यौँ ।
‘आज बेलुका रमाइलो गर्ने हो सर ?’ ट्याक्सी ड्राइभर । ‘कस्तो रमाइलो भनेको ?’ मैले सोधेँ ।
‘ड्रिङ्किङ, डान्सिङ, केटीहरू र अरू पनि ।’ उसले भन्यो । ‘टाढा छ रमाइलो गर्ने ठाउँ ?’ मलाई उसँग एकछिन कुरा गर्न मन लाग्यो ।
‘छैन । दुई मिनेटमा पुगिन्छ ।’ उसले भन्यो ।
हामीले केही भनेनौँ । हामी रबिन्सन सेन्टरमा पुग्यौँ । प्रकाश दाइलाई फिलिपिनी पेसो चाहियो अलिकति । मैले अहिले मसँग सापटी लिनुस् र भोलि साटेपछि दिनुस् भनेँ तर उहाँले आफूसँग पैसा भएकोले अमेरिकी डलरलाई फिलिपिनी पेसोमा बदल्न मात्र चाहेको भन्नुभयो । हामी मलबाट बाहिर निस्केर बायाँतर्पmको बाटो नाप्न थाल्यौँ ।
सडकपेटीमा हाम्रोमा जस्तै प्लास्टिक ओछ्याएर पसल थापेका थिए मानिसले । तिनकै आडमा केही युवकयुवती र अधबैँसे त हातै थापेर माग्न आउने । सडक, बिजुली, अग्ला र राम्रा घर, इन्टरनेटको सुविधा आदि उन्नत किसिमको देखिए तापनि गरिबी भने हाम्रो नेपालकै जस्तो रहेछ भन्ने सोचेँ । त्यही बेला पुलिसको भ्यान आयो । ती सडकपेटीका व्यापारीले हत्तनपत्त सामान पोको पारिहाले । त्यसपछि उनीहरू भाग्नलाई तम्तयार भए । मैले हाम्रो सुन्धारा, खिचापोखरीतिर देखिने गरेका यस्तै दृश्य सम्भेmँ ।
साँझ परेसँगै मनिलामा अनौठो किसिमले गति बढेको देखिन्थ्यो जसरी मनिला बेमा लहरले साँझ पर्दै जाँदा जीवन पाउँदै गएका थिए, त्यसरी नै त्यस मनिला बेको किनारमा मानिसको सलबलाहट र चहलपहल बढेको थियो । दिउँसोको प्रचण्ड घाम यहीँ आएर घोप्टिएको थियो भन्ने भानसम्म पनि हुँदैनथ्यो साँझमा ।
म बसेको होटेलभन्दा अलि मास्तिरको विशाल खुला पार्कमा बिहान सेतो पानीको फोहोरा देखेको थिएँ । अहिले त बिजुलीबत्तीले एकदम रङ्गीन बनाएछ त्यस पानीको फोहोरालाई । रङ पनि सुन्दर संयोजन गरिएको । मलाई यो फोहोरा हेरिरहँदा पूर्वस्मृतिले तानेर बितेको समयमा पु¥यायो । म एकछिन नोस्टाल्जिक भएँ । यो फोहोरा हेर्दै गर्दा भारतको अक्षरधाम र दुबईको पानीको फोहोरा आए मेरा सम्झना भएर । मैले हेरेका यी तीन वाटर फाउन्टेनमध्ये सबैभन्दा राम्रो अक्षरधामकै थियो किनभने त्यसमा कथा थियो । कथा अनुसारको गतिविधि पानी र रङबाट आकार सिर्जना गरेर देखाइन्थ्यो । त्यो कथा यहाँ र दुबईको वाटर फाउन्टेनमा थिएन ।यसैगरी दिन ढल्केर साँझ नजिक आउन थालेपछि सडक पनि झन्झन् रङ्गीन बन्न थाल्दारहेछन् । केटी सडकमा निस्कने रहेछन् । केटीहरूसँगै विभिन्न रङ र गतिशीलता पनि निस्कने नै भए सडकमा । त्यसले सडकमा जीवन्तता थप्ने रहेछ । कतिपय केटीका आँखामा त लोभ, भोक र अपेक्षासमेत देखिन्थ्यो । उनीहरू थुप्रै पैसा कमाउन चाहन्थे चाँडै । त्यसै रात पनि निकै पैसा कमाउन चाहन्थे । त्यसैले हेर्थे लोभिएर, इसारा पनि गर्थे कोहीकोही । यो पनि गरिबीको अर्को सङ्केत नै हो फिलिपिन्सको ।
म आफू बसेको र दिनभरि हिँडेको क्षेत्र मकाते मनिलाको भीआईपी क्षेत्र हो । यहाँ सरकारी अफिस, दूतावास, विश्वविद्यालय, केन्द्रीय बैङ्क, एसियाली विकास बैङ्क, म्यागासेसे फाउन्डेसन, ठूला होटेल आदि छन् । यहाँ पनि ठाउँठाउँमा माग्ने, साँझ परेपछि ठाउँठाउँमा कलगर्ल र ठाउँठाउँमा ठुस्स गन्हाउने फोहोर रहेछ । यो क्षेत्रभन्दा अलि टाढा त पक्कै योभन्दा बढी नै दुर्दशा हुनुपर्छ । सडक, बिजुली, इन्टरनेटको राम्रो सुविधा, अग्ला र सुन्दर घर, पार्कहरू हुँदाहुँदै पनि ठाउँठाउँमा फोहोर बाटो । अर्कै किसिमको अमिलो गन्हाउने पाउँदा यहाँ पनि केही न केही त नमिलेकै छ भन्ने पनि लाग्यो । यस्ता नमिलेका कुरालाई मिलाउन नसक्दा नै मान्छेको सपनाले राम्ररी आकार ग्रहण गर्न नसक्दा हुन्, मान्छेका आकाङ्क्षा र सपनाले रङ्गीन पङ्ख हालेर नीलो अनन्त आकाशमुनि उड्न नसक्दा हुन् । फिलिपिन्स पनि गरिबी, भ्रष्टाचार र हिंसाले ग्रस्त मुलुक हो । यी मानवीय सभ्यताका दुश्मनसँग लडेर विजय पाएपछि मात्रै मान्छेको समुन्नत जीवनको कामनाले आकार ग्रहण गर्दो हो र शरदको घमाइलो दिनमा फुलेका विभिन्न रङले प्रकृति उज्यालिए जसरी मान्छेको सभ्यता पनि उज्यालिँदो हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?