logo
२०७७ जेष्ठ १४ बुधवार

लेकसाइडमा सान्तामोनिकाको सम्झना

शनिवार |


2020-03-21-10526


रमेश खनाल

अचानक कार्यक्रम बनायौँ हामीले पोखरा घुम्ने । किन हो किन पोखरासँग मेरो मोह छ । पोखरामा जल रङ्गीय कलाकारहरू दुर्गा बराल (वात्सायन), बुद्धि गुरुङ, भुर्तेलजी, विश्वजी, पदमजीलगायत थुप्रै कलाकार छन् पोखरामा । सरुभक्त श्रेष्ठजीलगायत अरू थुप्रै साहित्यकार पनि हुनुहुन्छ । पोखरामा माछापुच्छ«े, अन्नपूर्ण, फेवाताल, वेगनास ताल छ । पोखरामा प्याराग्लाइडिङ हुन्छ । प्याराग्लाइडिङले गएको एसियन गेममा रजत पदक जितेर राष्ट्रिय गौरव बढाएको थियो । अतः पोखराले निकै गति लिएको छ । पोखरामा विकास भएको छ । पोखराको विकास हेर्ने पनि मेरो धोको छ ।
दमौलीबाट लमतन्न परेको सडकमा एकनास कुदेको हाम्रो गाडीको झ्यालबाट माच्छापुच्छ«े, अन्नपूर्ण हिमाल देख्न सकिन्थ्यो । माच्छापुच्छ«ेलाई देख्नेबित्तिकै मेरी नातिनीले उत्साहित हुँदै भनी ‘बाबा ऊ माछापुच्छ«े हिमाल ।’ तर बाबा माच्छापुच्छे«मा हिँउ त छैन नि भनेर उसले सोधी । मैले उसको प्रश्नको जवाफ बडो सहज ढङ्गबाट दिँदै भनेँ, ‘अहिले हिउँ परेको छैन । केही दिनमा हिउँ पर्छ’ भनी उत्तर दिएँ । मेरो कुरामा विश्वास गरेर उसले ‘हो’, मात्र भनी ।
गाडी गुडिरहेको छ । मसँग मेरी कान्छी छोरी पनि छ । कलेज पढ्दा ‘प्रोजेक्ट वर्क’ गर्न ऊ पोखरा आइसकेकी छ । उसका लागि पोखरा पुरानै हो तर पनि पोखरासँग मितेरी साइनो लगाउन मसँग आएकी हो ।
‘बस जहाँ रोकिन्छ, त्यहाँ हाम्रो कार तपाईंहरूलाई लिन आइपुग्छ ।’ मोबाइलमा ट्राभल्स कम्पनीबाट खबर आयो । नभन्दै बसबाट ओर्लनेबित्तिकै हामीलाई पर्खिएर बसेको कार देख्यौँ । कारमा बस्यौँ । कारले फेवाको तीरैतीर लैजाँदा ‘उ फेवाताल’ भनेर नानी उत्साहित हुँदै ताल देखाउँदै थिई । ‘भाइ लेकसाइडको फन्को लगाउँ न’ ड्राइभरलाई मैले भनँे । उसले लमतन्न परेर बसेको लेकसाइडको यात्रा गराउँदा मलाई अमेरिकाको लस एन्जल्सस्थित प्रशान्त महासागरका छेउमा रहेका ‘बीच’ मध्ये सान्तामोनिकाको स्मरण भयो । महासागरको टुप्पैसम्म फैलिएको ‘बीच’ जस्तै लाग्यो फेवाको लेकसाइडको विस्तृतीकरण । रमणीय, आनन्ददायक लेकसाइड धेरै परसम्म फैलिएको पाएँ । जताततै होटेल, रेस्टुँरा, बनेका छन् । होमोजेनिक (उस्तै–उस्तै) पसल प्रशस्त छन् । तर पर्यटक नगण्य ।
‘हामी यता अल्झियौँ भने विश्वशान्ति स्तूप हेर्न भ्याउँदैनौँ । त्यसैले होटेल पुगेर सामान राखेर हिँडिहाल्नुपर्छ’, भने ड्राइभरले ।
‘तपाईंहरूलाई हाम्रो यस रिसोर्टमा स्वागत छ, भन्दै स्वागतार्थ बसेकी युवतीले मुस्कुराउँदै रातो टीका निधारमा लगाइदिइन् । अर्का एकजना स्वागतकर्ताले एक–एक गिलासमा जुस दिएर स्वागत गरे । ‘सरको कोठा नं. ४०२ । अब माथिको कोठामा लिफ्टबाट जानोस् वेटरले सामान पु¥याइदिनेछ’, भनिन् अर्की स्वागतकर्ताले । हामी लिफ्ट चढेर चौथो तलामा पुग्यौँ । कोठाको सफाइ भएकै रहेनछ । कोठा जताततै फोहोर थियो । कोठाको फोहोर देख्नेबित्तिकै हामीले ‘रिसेप्सन काउन्टर’मा पुगेर गुनासो ग¥र्यौं । त्यहाँ समन्वयको अभाव देखियो । कोठा पूर्णरूपले ठीक नभई हामीलाई पठाउनु ठीक थिएन । सरहरू माथि रेस्टुराँमा गएर चिया खाँदै गर्नुहोस्, कोठा ठीक भएपछि हामी खबर गर्नेछौँ भन्दै काउन्टरका भाइले माफी मागे ।
त्यसबखत रिसोर्टको रेस्टुराँको झ्यालबाट माछापुच्छ«े चियाउँदै थियो । नानी दङ्ग परी । त्यही दिन साँझ ४ बजे हामीलाई ड्राइभरले कारबाट ‘विश्वशान्ति स्तूप’ हेर्न पोखराको पुम्दीभुम्दी गाविस–अनदु मीन थुम्की पु¥याए । ११५ फिट उचाइ भएको स्तूपको गोलाइ ३४४ फिट रहेछ । २१ रोपनी, ८ आना, १ पैसा २ दामको क्षेत्रफल ओगटेर बसेको स्तूप हेर्न पर्यटकहरू थिए त्यहाँ । थुप्रै खुड्किला भ¥याङ उक्लेर माथि पुग्दा प्राण नै जाला जस्तो भयो । तर जब माथि पुग्यौँ । त्यहाँको रमणीयता देखेर थकाइ सबै बिर्सियौँ । शान्त वातावरणमा पर्यटकहरू सेल्फी खिच्न व्यस्त देखिन्थे । हामीले पनि माच्छापुच्छे«, अन्नपूर्ण र फेवाताल पोखराको भव्य दृश्यलाई मोबाइलमा कैद ग¥र्यौं । स्तूपबाट पोखरा साँच्चै नै भव्य देखिएको थियो ।
‘विश्वशान्ति स्तूप’ निर्माणको आफ्नै कथा रहेछ । २०३० साल भदौ २७ गते निप्पोन जान म्योहोजीका श्रद्धेय गुरु निचिदान्सुफुजीइले यसको पहिलोपटक शिलान्यास गर्नुभएको रहेछ । त्यसैगरी २०३० साल मङ्सिर १३ गते सिद्धार्थको जन्ममूर्ति नवनिर्मित प्रार्थना हलमा स्थापना गरिएको रहेछ । निर्माण भइरहेको विश्वशान्ति स्तूप ३५ फिट उचाइ पुगिसकेपछि तत्कालीन सरकारले पोखरा नगरयोजनाको कारण देखाई २०३१ साल साउन १३ गते विश्वशान्ति स्तूप प्रार्थना हल र विहार कक्ष, सबै भत्काइदिएको रहेछ ।
दोस्रोपटक २०४९ साल जेठ ८ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विश्वशान्ति स्तूप निर्माण गर्न पुनः शिलान्यास गर्नुभयो । २०५६ साल कात्तिक १३ गते नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समुपस्थितिमा उद्घाटन स्वरूपको प्रतिष्ठा पूजा भएको रहेछ । विश्वशान्ति स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राको बुद्धको विशाल मूर्ति छ । यसैगरी पश्चिम दिशामा श्रीलङ्काबाट प्राप्त ध्यान मुद्राको बुद्धको मूर्ति छ । उत्तर दिशामा थाइल्यान्डबाट प्राप्त ढलोटका ६ फिट लामो महापरिनिर्वाण बुद्ध मूर्ति छ । दक्षिण दिशामा सुनको मोलम्बा लगाइएको त्रयोदश भुवनको प्रतीक, १३ तले २० फिट उचाइको गजुर छ । त्यस गजुरको पनि माथिल्लो भागमा श्रीलङ्काबाट प्राप्त ठूलो स्फटिक राखिएको रहेछ ।
यो प्रसिद्ध र भव्य विश्वशान्ति स्तूपको निर्माण चाहिँ निप्पोनजान म्योहोजी (जापान) र नेपालका विशेषतः पोखराका बौद्ध उपासकहरू मिलेर गर्नुभएको रहेछ । यस विश्वशान्ति स्तूप निर्माणको श्रेय गुरु निचिदान्सु फुजीई (जापान), गुरुमा अनागारिका धर्मशीला र मीनबहादुर गुरुङ हुनुहँुदोरहेछ । शान्त र सुन्दर स्थलमा निर्माण गरिएको स्तूप अग्लो ठाउँबाट पश्चिमपट्टि सूर्य अस्ताएको हेर्न पर्यटकहरू उत्सुक देखिन्थ्यो । डुब्न लागेको गोधुली किरणले अन्नपूर्ण हिमाल रङ्गिँदा हामीले पनि थुप्रै तस्बिर खिच्यौँ । केहीबेरमा साँझ प¥यो । अरूसरह हामी पनि फर्किने क्रममा ओराला खुड्किलाहरू पछ्याउँदै गयौँ । आखिर हामीले हेर्नु नै पर्ने विश्वशान्ति स्तूप हेरेका रहेछौँ । हामीले आफूलाई धन्य ठानिरहेका छौँ ।
साँझ ढल्दै गए पनि गुप्तेश्वर महादेवको गुफा र डेभिड फल्स हेर्न भ्यायौँ । गुप्तेश्वर महादेवको गुुफा साँच्चै नै हेर्न लायक रहेछ । गुफाभित्र भव्य शिवलिङ्ग रहेछ । दर्शन गर्नेहरूको भीड थियो । डेभिड फल्स पनि शालीन भएर छङ्छङ् गर्दै बगिरहेको थियो । ‘वर्षामा डेभिड फल्स माथिमाथि उर्लिएर आउँछ । त्यसबेला एकदमै रमाइलो हुन्छ’, हाम्रो ड्राइभरले भने ।
त्यसपछि हामी रिसोर्ट फर्कियौँ । नानी र छोरीले तातोपानीको पौडी पोखरीमा पौडी खेले । रातको खाना खान थकाली होटेल पुग्यौँ । भोलिपल्ट बिहान सराङकोट पुग्दा माच्छापुच्छ«ेलाई बादलले छोपेर निराश पा¥यो । सबै पर्यटक निराश भएर फर्कियौँ । बाटोमा विन्ध्यवासिनी मन्दिरको दर्शन ग¥यौँ रिसोर्ट पुगेर बिहानको खाना खायौँ । बिहानको खानापछिको कार्यक्रममा हामीले सेती नदी, महेन्द्र गुफा, चमेरे गुफा र अन्तर्राष्ट्रिय सङ्ग्रहालय अवलोकन ग¥यौँ । माउन्टेन सङ्ग्रहालय चाहिँ एकपटक हेर्नु नै पर्ने रहेछ । अनि वेगनास ताल गयौँ । पानी परेर दिनुसम्म दुःख दियो । तैपनि हे¥यौँ । तस्बिर खिचेर फेवाताल फर्कियाँै । अनि हामी फेवातालमा रमाउन पुग्यौँ । फेवा शालीन देखिन्थ्यो । तीनजनाले १ हजार ६ सय रुपियाँमा डुङ्गा लियौँ । फेवामा एक घण्टा घुम्यौँ । राति थकाली खाना खाएर सुत्यौँ । निकै थाकिएछ । भोलिपल्ट बिहान बस चढेर काठमाडाँै फर्कियौँ, पोखरा यात्रा रमणीय रह्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?