logo
२०८० चैत्र १६ शुक्रवार



सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

१६

अन्तर्राष्ट्रिय |


सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए


अङ्कारा, फागुन १६ गते । सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् ।

टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । सिरियाको इड्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो ।

इड्लिबमा केही हप्तादेखि टर्की समर्थित लडाकू र मस्को समर्थित सिरियाली सेनाबीच जारी भिषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले तत्कालै हस्तक्षेप नगरिए इड्लिबमा अझ बढी जनधनको क्षति हुन सक्ने बताउनुभयो । महासचिव गुटेरेसले तत्काल युद्धबिराम गर्न आग्रह पनि गर्नु भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले आफूहरु नेटोको सदस्य राष्ट्र टर्कीको पक्षमा रहेको बताउँदै सिरियाली सेना, रसिया र इरान समर्थित लडाकूलाई इड्लिबमा जारी कारबाही रोक्न आग्रह गर्नु भएको छ । नेटो प्रमुख जेन्स स्टोलटेन्बर्गका प्रवक्ताले पनि हिंसात्मक कारबाही तत्काल रोक्न र शान्तिको वातावरण बनाउन आग्रह गर्नु भएको छ ।

टर्कीले इड्लिबमा रहेका आफ्ना सैनिक निरीक्षण पोस्टबाट सेना फिर्ता गर्न सिरियाली सरकारलाई आग्रह गरेको छ । तर रसियाले सिरियाभित्रका आतंकवादीलाई टर्कीले सहयोग गरिरहेको आरोप लगाएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा ठूलो संख्यामा आफ्ना सेना मारिएलगत्तै आपतकालीन बैठक डाक्नु भएको थियो । राष्ट्रपतिका प्रेस सल्लाहकार फाहरेटिन आल्तुनले टर्कीको सेनाले पनि प्रतिरक्षात्मक कारबाही गरेको बताउनुभयो ।

यसै महिनाभित्र टर्कीका सेनालाई लक्षित गरी भएका आक्रमणबाट ५३ जना टर्केली सेनाको मृत्यु भइसकेको छ । इड्लिब संकटका बारेमा टर्कीले कूटनीतिक सक्रियतालाई तिब्र पारेको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई टेलिफोन गरी पछिल्लो परिस्थितिका बारेमा अवगत गराउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?