logo
२०८० चैत्र १६ शुक्रवार



पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने  

राष्ट्रिय |


पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने  


  
काठमाडौँ, फागुन १० गते । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।    
    
 तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ । अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।    
    
 हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौँसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताउनुभयो । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।    
    
 मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ । सबैभन्दा धेरै डडेलधुरामा ५१ दशमलव नौ र दिपायलमा ४७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा छ दशमलव चार मिलिमिटर वर्षा भएको छ । वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?