logo
२०८१ बैशाख १३ बिहीवार



कालजयी गीतका गायक

शनिवार |


कालजयी गीतका गायक


नगेन्द्रराज रेग्मी

मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाइहिँड्छु लडाइँ र पिरतीको व्यथा
फूल रोए शीत बन्छ मैले रोए गीत
सारङ्गीको धुनमात्र गाइनेको जित ।
यस्ता कालजयी गीत गाउने कुमार सुब्बाको घर कुन होला ? हामीहरू तल–माथि निकैबेर भौँतारिरह्यौँ । अहँ कसैले बताउन सकेन । कोही यता भन्ने, कोही उता । अन्त्यमा एकजना अलि प्रौढ व्यक्तिले इसारा गर्दै भने, ‘उ त्यहीँनिर पर्छ ।’ इसारा गरेतर्फ हामी लाग्यौँ । मनमनै सोचेँ– काठमाडौँदेखि हामी खोज्दै आएका छौँ, यहाँ भने उहाँको बारेमा छिमेकीहरूलाई समेत पत्तो छैन, यो कस्तो विडम्बना ? कुमार सुब्बा किन यतिसारो गुमनाम ? दार्जिलिङभन्दा केही तलको बस्ती लेबोङको हर्सिङहट्टा भन्ने स्थानमा उहाँको बसोवास रहेछ ।
‘तपाईंहरू सबैलाई मेरो घरमा स्वागत छ’ सारेगमझँै कर्णप्रिय लाग्छ– कुमार सुब्बाको यो आवाज । उहाँप्रति आभार प्रकट गर्दै कुराकानी म स्वास्थ्यस्थितिबाटै आरम्भ गर्छु । उहाँ भन्नुहुन्छ, ‘मुटुमा पेसमेकर लगाएको आठ वर्ष भयो । पाँच÷सात वर्षदेखि गीत गाउन छाडिसकेँ । स्वास्थ्य कमजोर भए पनि आत्मबल बढाउँदै बसेको छु । मेरो त आवाज नै थिएन नि हौ भाइ ! हात माथिसम्म चल्दैनथ्यो, खुट्टा पनि घिस्रिन्थ्यो । तर, अहिले हेर्नाेस् त, यसरी हिँडिरहेको छु (देखाउनुहुन्छ) । कहिलेकाहीँ त गीत पनि पो गाइदिन्छु (हाँस्तै) । बुढेसकालले गाँजेको छ तर हरेश खाएको छैन र आजकाल निकै राम्रो हुँदै छ ।’ उहाँले यसो भनिरहँदा लाग्छ– हामी वर्षाैंपछि भेट भएका पारिवारिक सदस्य हौँ । ‘बारम्बार रोकिरहनुपरेको छ, मैले उहाँलाई’ सँगै बसिरहनुभएकी उहाँकी श्रीमतीले बताउनुभयो । ‘डाक्टरले मनाही गरेको छ, तर उहाँ यसलाई त्यति वास्ता गर्नुहुन्न, बेला–कुबेला गीत गाउन तम्सिनुहुन्छ’ कति आत्मीय जोडी ! म मनमनै सोच्छु । ‘अहिले मेरो डाक्टर उनै भएकी छन्’ आफ्नी श्रीमतीतर्फ इङ्गित गर्दै कुमार दाइ मन्दमुस्कान फ्याँक्नुहुन्छ ।
‘एक श्रीमती, दुई छोरी र एक छोराको बाउ हँु म । मेरा चारजना दिदीबहिनी हुन् । त्यसमा पनि दुईवटी दिदी र दुई बहिनी बीचको म । एकजनामात्र दाजुभाइका रूपमा यस धर्तीमा पदार्पण हुन आइपुगेको हुँ,’ उहाँले सविस्तार आफ्नो पारिवारिक जानकारी प्रदान गर्नुभयो । म विषय(भित्र प्रवेश गर्न चाहन्छु, अनि उहाँलाई एकाएक सोध्न पुग्छु, ‘तपार्इंले एकातिर ‘सारङ्गीको तार’, ‘हे फूल चुँडेर लाने हो’, ‘मेरो सानो मुरलीमा’ जस्ता गम्भीर गीत गाएर एउटा राम्रो परिचय स्थापित गराइसक्नुभएको मान्छे फेरि ‘देउरालीका ठिटी हो, नक्कल पार्नुपर्दैन’ जस्ता केही उच्छृङ्खल गीत पनि गाउनुभयो नि किन ?
विगत सम्झँदै उहाँ भन्नुहुन्छ, ‘मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटक एउटा आवर्णनीय कृति हो । यसैभित्रका दुईवटा गीत हुन् ‘देउरालीका ठिटी’ र ‘हे फूल चुँडेर लाने हो’ । तत्कालीन राजाको राज्याभिषेकको समयमा म काठमाडौँ गएको थिएँ । त्यतिखेर रत्न रेकर्डिङको अध्यक्षमा बच्चुकैलाश हुनुहुन्थ्यो । ‘हे फूल चुँडेर लाने हो’ गीत सुनाइसकेपछि बच्चुकैलाशले ज्यादै राम्रो छ, यो गीत रेकर्ड गर्नुपर्छ भन्नुभयो र त्यतिखेरै रेकर्ड भयो । त्यसैगरी नाच्ने गीत पनि आवश्यक परेको कुरा गरेपछि ‘देउरालीका ठिटी हो नक्कल पार्नुपर्दैन’ भन्ने गीत रेकर्ड भएको हो । कुरा यत्ति हो, यो गीतलाई उच्छृङ्खल नमान्दा राम्रो होला । अनि ‘सारङ्गीको तार’ पनि त्यतिखेरै रेकर्ड भएको हो । यसरी यी तीनवटै गीतले रत्न रेकर्डिङबाट रेकर्ड हुने अवसर पाएका हुन् । त्यसपछि हाताहात ‘सेल’ पनि हुन थाल्यो, चर्चा र प्रसिद्धि पनि मिल्यो । जहाँसम्म किन फरक–फरक प्रकृतिका गीत गाउनुभएको भन्ने तपाईंको आसय छ– एउटा गायकले जस्तो प्रकारको पनि गीत गाउन सक्नु नै उसको खुबी हो भन्ने मलाई लाग्छ ।’ ‘सारङ्गीको तार’ नामक गीत झन्डैझन्डै प्रतिबन्धमा परेर रेकर्ड नै नहुनेसम्मको अवस्था आएको भन्ने पनि सुनका छौँ ।
यसको वास्तविकता जान्ने उत्सुकता मलाई निकै अघिदेखि नै भइरहेको थियो । यो गीत रेकर्ड गर्न त यहाँहरूले निकै सङ्घर्ष गर्नुपरेको थियो क्यारे
होइन ? कुराको उठान मैले यहीँबाट गरेँ । उहाँले भन्नुभयो, ‘रत्न रेकर्डिङबाट यो गीत रेकर्ड हुँदै थियो । म स्वाभाविक रूपमा गीत गाउँदै थिएँ । ‘फूल रोए शीत बन्छ मैले रोए गीत, खुकुरीको खियामात्र नेपालीको जित’ भनिसक्न नपाउँदै एकाएक नातिकाजी दाइले लौ भाइ त्यो एक लाइन दोहो¥याउनुहोस् त भन्नुभयो । पुनः मैले दोहो¥याएँ । त्यसपछि कर्म योञ्जन र मलाई सम्बोधन गरेर तपाईंहरू यता आउनुहोस् भनेर नातिकाजीले भन्नुभयो । हामी छक्क प¥यौँ । के
भयो ? किन बोलाउनुभएको होला भन्ने लाग्यो ? गीतको खुकुरी शब्दप्रति आपत्ति रहेछ । यो शब्द सुहाउँदैन, हामीलाई दरबारबाट ‘कम्प्लेन’ आउँछ, यो शब्द हटाउनुपर्छ भनेर त्यहाँ चर्काचर्की प¥यो । यो गीत न त कुमारले लेखेको हो न त मैले, त्यसैले हामी हटाउन सक्दैनाँै । मनबहादुर मुखियाले लेखेको गीत हुँदा उसैलाई सोध्नुपर्छ भनेर कर्मले भने । यो गीत रेकर्ड गर्नु नै हुँदैन, केबल एक शब्दमात्र हटाएर हुन्न भन्नेहरू पनि त्यहाँ थिए ।’
गीतकार मनबहादुर मुखिया पनि त्यतिखेर काठमाडौँमा नै हुनुहुन्थ्यो त ? मैले प्रतिप्रश्न गरेँ ।
‘कति मीठो संयोग परेछ नि भाइ ! त्यतिखेर मनबहादुर मुखिया पनि काठमाडाँैमै । उनलाई बोलाएर सबै बेलिविस्तार लाइयो । उनी त्यो गीत लिएर एकछिन म परतिर गएर सोच्छु है भनेर हिँडेँ । तत्कालै केही लेखेर ल्यायो र सुनायो, ‘सारङ्गीको धुनमात्र गाइनेको जित ।’ यति भन्नासाथ सबैले स्वीकृति दिएपछि मात्र यो गीत रेकर्ड हुन पुगेको थियो । कुरा यत्ति हो । यसलाई लिएर धेरैले धेरै कुरा भनेका छन् । तर, वास्तविकता यही नै हो ।’
हे फूल चुँडेर लाने हो
यहाँ माली रुएको देखेनौँ कि...
यो गीतको पनि निकै रमाइलो र मार्मिक प्रसङ्ग छ । कुमार सुब्बाको आवाज र कर्म योञ्जनकै सङ्गीतमा आएको यो गीत यति चर्चित बन्यो कि कुनै विवाहबटुलोमा यो गीत नबजे नबजाइए रौनक नै आएको महसुस हुँदैनथ्यो रे, विवाह नै अधुरो भएजस्तो लाग्थ्यो रे । त्यतिखेर बेहुली लिन गएका जन्तीसमेत यो गीत सुनेर रुने गर्थे रे । यो गीतका बारेमा पनि केही बताइदिनूस् न । उहाँले भन्नुभयो, ‘यसको रेकर्ड गर्दा अरू त्यस्तो केही भएन । तर, यति डुबेर गाइए छ कि एकै टेकमा ‘ओके’ भयो । योचाहिँ रमाइलो लाग्छ ।’ त्यो भन्दा बढी कुरा लम्ब्याउनेतर्फ उहाँ लाग्नुभएन ।
आफूलाई मन पर्ने एउटा गीत कुन होला भन्ने जिज्ञासामा उहाँले भन्नुभयो । ‘मलाई सबै गीतहरू मन पर्छन् तर एउटा होइन, दुईवटा गी(तचाहिँ असाध्यै मन पर्छ । एउटा हो– गोपाल योञ्जनले लेखेको, कर्मले सङ्गीत भरेको, मैले गाएको र रेडियो नेपालले रेकर्ड गरेको गीत ‘जुनीभरि आर्जेको कमाइहरूलाई’ । त्यस्तै अर्काे हो– ईश्वर बल्लभको रचना, शान्ति ठटालको गायन र सङ्गीतको ‘तेरो माटोभरि म फालेर जान्छु’ । यी दुई गीत मलाई असाध्यै मन पर्छ ।’
धेरै लेखक कवि, कलाकारहरू दार्जिलिङबाट नेपाल आएका छन् । यही बसेर थुप्रै नाम, दाम र यश कमाएका पनि छन् । ‘दार्जिलिङका लेखक, कवि, कलाकारलाई कि कालले लान्छ कि नेपालले’ भनेर एउटा कहावत नै बनाइएको रहेछ यहाँ । कुमार दाइ नेपाललाई कसरी सम्झनुहोला भन्ने मलाई लागिरहेको थियो । मेरो मन बुझेझैँ उहाँले भन्नुभयो, ‘मैले स्वयम् आफ्नै जन्मस्थान दार्जिलिङबाट पनि यत्तिको माया, स्नेह पाउन सकिनँ जति नेपालबाट पाएँ ।’ यसो भनिरहँदा उहाँ अत्यन्त भावविह्वल पनि बन्नुभयो ।
यसैगरी अचेलका गीतबारे उहाँ भन्नुहुन्छ,
‘गीत–सङ्गीत पनि अरू क्षेत्रजस्तै परिवर्तन भइरहने कुरा हो । यो समयको माग पनि हो । हाम्रा जमानाका गीत, भाका र लयहरू मात्र आइरहनुपर्छ, बजिरहनुपर्छ भन्ने छैन । अहिलेका गीत–सङ्गीतहरू पनि म सुन्छु । राम्रो लाग्छ– ठिकै छ । मलाई रिमिक्स पनि मन पर्छ ।’
कुराकानीकै क्रममा नारायण गोपालले गाउनुभन्दा अगाडि नै केही गीत गाइसक्नुभएको जानकारी पनि उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘तिम्रोजस्तो मुटु मेरो पनि’, ‘म मुर्दा भएको’, ‘बिहान नभई बतासले शीत किन’ गीत नारायण गोपालले भन्दा अगाडि गाएको थिएँ ।’उहाँले सबैभन्दा बढी गोपाल योञ्जन र कर्म योञ्जनकै शब्द र सङ्गीतका गीतहरू गाउनुभएको छ । यति धेरै मिल्ने सहकर्मी कर्म योञ्जनसँग कुमार सुब्बाको भेटघाट, गफगाफहरू अचले कत्तिको हुन्छ त ? ‘त्यत्ति हुन्न हामी टाढा भएकाले । बूढो भएकाले त्यति हिँडडुल गर्न पनि सक्दैनौँ । प्रत्यक्ष नभए पनि फोनमा कहिलेकाहीँ बातचित भइरहन्छ ।रहरले सुरुसुरुमा केही गीत उहाँले लेख्नुभयो, सङ्गीत पनि भर्नुभयो तर ती गीत रेकर्ड भएनन् ।
सन् १९६८ देखि वरिष्ठ गायकका रूपमा उहाँले आकाशवाणी खर्साङमा काम गर्नुभयो । उहाँले थुप्रै महिलासँग सहगायन पनि गर्नुभएको छ । दिलमाया, अरूणा लामा, डेजी बराइली, हीरा रसाइली, सङ्गीता सुब्बा, दावा ग्याल्मो आदिसँग गाउनुभएको छ । कर्म योञ्जनसँग पनि उहाँले एउटा गीत गाउनुभएको छ ।
गोपाल योञ्जनका रेकर्ड नगरिएका गीत पनि उहाँसँग रहेको प्रसङ्गमा उहाँले भन्नुभयो, ‘किन नहुनु । अझै पनि मैले गाइरहेको छु । ‘खुकुरीले लेखिएको इतिहास रातो हुन्छ’, ‘कलमले कोरिएको स्वर्गै खरानी हुन्छ’, ‘स्वदेशको माटो माथि पसिनाले लेखिदेऊ’, ‘पसिनाको रङजस्तो माटो सुनौलो हुन्छ’ बोलको उहाँका गीत मसँग रहेका छन् ।’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?