logo
२०८० चैत्र १५ बिहीवार



सरोगेट मदरको कथा

शनिवार |


सरोगेट मदरको कथा


विश्वविद्यालय सेवामा अध्यापन कार्यमा संलग्न भएर लामो समय व्यतित गरिसक्नुभएका, नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट निबन्धकार, सुप्रसिद्ध समालोचक तथा सम्पादकका रूपमा ख्याति कमाइसक्नुभएका साहित्यकार प्रा. राजेन्द्र सुवेदीको सिर्जनाको अर्को पाटो आख्यान पनि हो । हालै प्रकाशनमा आएको उहाँको नवीनतम कृति हो ‘धितो कोख’ । आख्यानको क्षेत्रमा हाल देखापरेको यो कृतिबाहेक तीसको दशकमा नै उहाँका उपन्यास र केही कथा प्रकाशित भइसकेका थिए भन्ने कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक नै होला ।
विगत एक दशकअघिसम्म हाम्रो संस्कृति र परम्परामा सामान्य प्रचनलमा नरहेको तर पश्चिमी जनजीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ– सरोगेट मदर अर्थात् भाडामा सन्तान जन्माइदिने आमा । पछिल्लो समय कुनै न कुनै रूपमा नेपाली समाजमा समेत सरोगेट मदरले प्रवेश पाइसकेको छ । यसैको अन्तरकथासित सम्बन्धित कार्यलाई मूल विषयवस्तु बनाएर निर्माण भएको छ ‘धितो कोख’ ।
उपन्यासकी प्रधान पात्र ऋतम्भरा र ‘शैक्षिक दर्पण’ पत्रिकाको सम्पादकबीचको वार्ताका माध्यमबाट अगाडि बढेको उपन्यासको प्रारम्भतिर नै हामी वडा कार्यालयले आमाको नामबाट जन्मदर्ता गराइदिएर व्यवहारमा नै एउटा क्रान्तिकारी कदम अवलम्बन गरेको देख्छौँ । निर्मल अर्याल तथा सविता अर्यालजस्ता हाम्रो परम्परागत जातीय तथा सामाजिक संरचनाको उपरीतहमा रहेका बाबु–आमाकी सन्तानले जीवनका अनेक मोड पार गर्दै गुमनाम अवस्थामा पुग्छन् । एक बारको जुनीलाई त्यत्तिकै तिलाञ्जलि दिन नसकेपछि बाँच्ने चाहनालाई भरथेग गर्न जे परिआउँछ त्यो काम स्वाभिमानपूर्ण किसिमले आफ्नो इच्छामा गर्ने हिम्मत बटुलेर उसको कोख धितो राख्न तयार हुन्छे । सन्तानको आवश्यकता र इच्छा भएको, तर आफ्नी पत्नीबाट त्यो कार्य सम्भव नभएपछि सुलभ र सुरक्षित स्थानको खोजी गर्दै युरोपबाट नेपाल छिरेको डेभिडका लागि उसले प्रत्यक्ष रूपमै यौन सम्पर्कबाट छोरो जन्माइदिन्छे । तर आवश्यकताभन्दा बढी शङ्कालु र सङ्कोची डेभिडले उसको छोरो निर्मल डेभिड शारीरिक र बौद्धिक रूपमा युरोपेली मान्यता अनुरूपको छैन कि भन्ने आशङ्का गर्छ र अन्तिम घडीमा छोरालाई ऋतम्भरासित नेपालमा नै छोडेर युरोप जान्छ । यसरी अनिच्छित छोरालाई पालन–पोषण गर्न, हुर्काउन बढाउन ऋतम्भरा एक प्रकारले विवश हुन्छे । त्यही क्रममा ऊ निर्मललाई स्कुल भर्ना गर्न पुग्छे । कतै फ्यासब्याक शैलीको पनि प्रयोग गरिएको यस उपन्यासमा ऋतम्भरालाई पचासको दशकमा चलेको माओवादी जनयुद्धकी सक्रिय योद्धाको रूपमा समेत चित्रण गरिएको छ । त्यतिबेला आम मानिसले भोगेका अनेक किसिमका चित्रको फेहरिस्त पनि उपन्यासमा देखाइएको छ ।
उपन्यासकी मूल पात्र ऋतम्भरा छेउटुप्पो फेला पर्न निकै कठिन पर्ने खजमजिएको धागाको डल्लोजस्तै लाग्छे, समस्यै समस्याले घेरिएकी, तथापि निडरपनले ओतप्रोत भएकी एउटी सङ्घर्षशील र स्वाभिमानी नारी । यसरी हेर्दा प्रस्तुत कृति एउटा समस्याप्रधान उपन्यास पनि बन्न पुगेको छ । द्वन्द्वका समयमा जिउँदा मानिस पनि परिबन्दमा परेर कसरी आफ्नो अस्तित्व कानुनले नै समाप्त गरेको अकल्पनीय अवस्था हेरेर बस्न बाध्य थिए भन्ने कुरा यस कृतिले देखाएको छ । यसका अतिरिक्त, नेतृत्वतहमा भएका मानिसहरू देश, काल र स्थान विषेशमा कसरी आफूलाई रूपान्तरित गरेर राजनीतिक जीवन व्यतित गरिरहेका छन् भन्ने कुरा पनि यसले देखाउन प्रयत्न गरेको पाइन्छ । अनि अनेक बहानामा विदेश पलायन भएका नेपाली युवाको दर्दनाक अवस्थाको फेहरिस्त पनि यस कृतिले प्रस्तुत गरेको छ । मानिसका आ–आफ्नै अनेक समस्या हुन्छन् र उनीहरू ती समस्याबाट कसरी पीडित हुन पुगेका छन् भन्ने कुराको सङ्क्षेपीकृत वर्णन पनि कृतिमा पाइन्छ ।
अनौठो त के लाग्छ भने यति धेरै समस्याले घेरिएकी ऋतम्भराको जीवन अलिकति बिन्दास किसिमको छ र मानौँ कि उसका समस्याबारे सबैलाई जानकारी भएको शैलीमा ऊ आफ्ना कुरा अरूहरूसित गर्दै ऊ निरन्तर अगाडि बढ्छे । मूलरूपमा ऋतम्भराको जीवनको वरिपरि फन्को मारिरहेको उपन्यासले अनेक सपना बोकेर बिदेशिएका नेपाली युवा कसरी यौनदासजस्तो तुच्छ जीवन बिताउन विवश हुन पुगेका छन् भन्ने कुरातिर पनि उपन्यासले सङ्केत गरेको छ । अग्रभागका अतिरिक्त ६ पृष्ठलगायत २५६ पृष्ठको आयतनमा फैलिएको यस कृतिमा २३ उपशीर्षक छन् र कतिपय अवस्थामा आख्यानात्मकतालाई निबन्धात्मक शैलीले थिचेको पनि महसुस हुन्छ । मिहिन तरिकाले केलाएर राखेका चामलमा पनि कताकति भेटिने बियाँजस्तै मुद्राराक्षसका एकाध उपियाँले पुस्तकका पानामा घर जमाएको देख्न सकिन्छ, तर यथार्थमा ती गम्भीर समस्या भने होइनन् । सुप्रसिद्ध लेखकको कलमबाट नयाँ विषयवस्तुको आलोकमा निर्मित यो उपन्यास, पुस्तकको संसारमा रमाउन इच्छुक जिज्ञासु पाठकमाझ अवश्य नै पठनीय सामग्री सिद्ध हुने छ भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

 

हरिहर खनाल 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?