logo
२०८० चैत्र १६ शुक्रवार



महिला रेस्लर जुरेली

शनिवार |


महिला रेस्लर जुरेली



विनोद ढकाल

मेर कलिलै । व्यवहार शालीन । स्कुटर चढेर काठमाडौँका गल्ली चोकमा हिँड्दा ऊबेला काठमाडौँ उत्रिँदाको स्मरण पनि हुन्छ उहाँलाई । साधारण परिवारकी छोरी । खोटाङ जिल्लाबाट काठमाडौँ झर्दा ‘प्रोपर पाखे’ जस्तो ठान्थिन्, आफूलाई । साँघुरो सोच भएको समाजबाट केही खुल्न सक्ने सहर लाग्यो, काठमाडौँ ।
नाम अस्मिता सुनार । स्थापित परिचयचाहिँ अस्मिता जुरेली । पेसागत हिसाबमा उहाँ एक कुशल रेस्लिङ खेलाडी । नेपालमा त्यति व्यापक छैन, यो विधाको खेल । तर, विश्वबजारमा होमिएकाको नाम, दाम र इज्जत यस खेलले ठूलै दिएको छ । मान्छे–मान्छे भएको भीडमा ‘जुरेली’ स्थापित हुनु थियो । ‘यति धेरै मान्छेका भीडमा कसरी नाम कमाउने, कसरी काम गर्ने भन्ने विषयमा पक्कै चिन्ता हुन्थ्यो,’ उहाँ स्मरण गर्नुहुन्छ, ‘१४ वर्षको उमेरमा काठमाडौँ आइयो, एकातिर उच्च अध्ययन, अर्कातिर मनमा अनेक अपेक्षा ।’
खोटाङमा अध्ययन गर्दा उहाँमा खेल, नृत्य, नाटक सबैमा सहभागिता जनाउने र पुरस्कार जित्ने बानीजस्तै परेको थियो । त्यो काउकुती काठमाडौँको भीडमा पनि चल्नु अस्वाभाविक थिएन । उहाँले आफूलाई अब्बल देखाउन सक्ने क्षेत्र, मार्ग र सम्पर्कको कमी भने थियो । तर, आधा दशकमा नै उहाँले काठमाडौँमा आफूलाई स्थापित गर्न सफल हुनुभयो । यसका लागि केही संयोग भए, धेरै उहाँको लगनशीलता ।
उहाँका दाजु दिनेश सुनार (पार्कर खेलमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा चारपटक नाम लेखाउन सफल) ले चलचित्रको ‘स्टन्ट’ गर्नुहुन्थ्यो । उहाँ पनि सुटिङ हेर्न पुग्नुभयो सेटमा । त्यही सेटले उहाँको रेस्लिङ यात्रा तय ग¥यो । ‘एक्सन सिन’को सुटिङ भइरहेको त्यो सेटमा जुरेलीको भेट भयो– नेपालको पहिलो महिला रेस्लर भगवती थापासँग । चिनजान भयो । साधारण कुराकानीसँगै रुचिका विषय पनि आदान–प्रदान भयो । स्कुलदेखि नै तेक्वान्दोलगायत खेलमा अब्बल जुरेलीले आफ्ना रुचि सुनाउनुभयो । थापाले सोध्नुभयो, ‘रेस्लिङ खेल्छौ त ?’ काठमाडौँमा अल्मलिने बाटो केही नभएको बेला आँटिली जुरेलीले केही नसोचेर भन्नुभयो, ‘खेल्छु । मज्जाले खेल्न सक्छु ।’
नेपालका पहिलो रेस्लर भरतबहादुर विसुराल (हिमालय टाइगर)ले भर्खरै प्रशिक्षण केन्द्र खोल्नुभएको थियो । थापाले जुरेलीलाई त्यहीँ पु¥याउनुभयो । बिसुरालले कलिली मान्छे देखेपछि पत्याउन कठिन भयो । थापा ज्यान भएकी रेस्लरजस्तो देखिनुहुन्थ्यो, जुरेली, जुरेलीजस्तै । त्यसैले त उहाँले तुरुन्तै भन्नुभयो, ‘जुुरेलीजस्ती छौ, कसरी रेस्लिङ खेल्छ्यौ ?’ उहाँको उत्तर थियो, ‘रेस्लिङ शरीरले मात्र होइन, दिमागले पनि खेल्ने खेल हो । म सक्छु ।’ ‘मैले यति भनेपछि गुरु (बिसुराल) खुसी हुनुभयो । त्यसपछि मलाई प्रशिक्षणमा आबद्ध गराउनुभयो । मलाई मौका चाहिएको थियो, नाम कमाउनु थियो,’ उहाँ सुनाउनुहुन्छ, ‘मलाई मन परेर मेरो नाम जुरेली पनि त्यहीँबाट रह्यो ।’ बिसुरालले नेपालका विभिन्न ठाउँ र भारतका विभिन्न सहरमा उहाँलाई बिस्तारै रेस्लिङ रिङमा उतार्नुभयो । जुरेलीले जित्दै जानुभयो । उहाँका खेल टेलिभिजन र युट्युबका च्यानलमा प्रख्यात हुन थाले । उहाँको खेलको ‘डिमान्ड’ बढ्न थाल्यो । उहाँको खेल राम्रो हुँदै गयो । रेस्लिङ खेल खेल्नु एउटा जोखिम पनि हो । साँच्चै कुटाकुट हुन्छ । शरीरमा चोट लाग्छ । जुरेली आफैँले पनि रिङमा कैयौँपटक रगत बगाउनुपरेको छ । तर, जोखिमसँगै विश्वमा नाम कमाउने खेल पनि हो ।
नेपालमा महिला रेस्लरको जनसङ्ख्या धेरै छैन । ३०–३५ जना जति छन् । केहीलाई जुरेलीले पनि प्रशिक्षण दिइरहनुभएको छ । तर, यो सङ्ख्यामा वृद्धि गराउनुपर्ने उहाँको ठम्याइ छ । राष्ट्रिय खेलकुद परिषद्लगायत आधिकारिक निकायले रेस्लिङलाई प्राथमिकतामा राख्न उहाँ आग्रह गर्नुहुन्छ । ‘हरेक खेलका सम्भावना हुन्छन् । जसरी क्रिकेट बढ्यो, त्यसरी रेस्लिङ पनि बढ्न सक्छ । तर, राज्यले यसमा लगानी र खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । जुरेलीको आफ्नै पनि एउटा रहर छ । नेपालमा बिसुरालमात्र डब्लुडब्लुएफको रिङमा पुगेका रेस्लर हुन् । अब महिला रेस्लर पनि डब्लुडब्लुईको रिङमा उत्रिन अभ्यासमा लाग्नुपर्ने जुरेलीको भनाइ छ ।
‘त्यसका लागि म अभ्यास गर्न तयार छु । त्यो मेरो सपनाको रिङ पनि हुनेछ,’ उहाँ भन्नुहुन्छ, ‘विश्वका कैयौँ देशका महिला त्यहाँ पुगेका छन्, म पनि पुग्न सक्छु भन्ने आत्मविश्वास छ ।’ अझ रेस्लिङमा नेपालको नाम स्थापित गर्ने रहर पनि उहाँसँग छ, विश्वप्रख्यात रेस्लर रोमन रेन्जसँगको सहकार्य । आफ्नो भित्री चाहनालाई खुलाउँदै जुरेली भन्नुहुन्छ, ‘रोमन रेन्जको प्रेमिकाका रूपमा रिङमा उत्रिने मन छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?