logo
२०७७ मंसिर १५ सोमवार

सारङ्गी हराएका गन्धर्व

शनिवार |


2020-02-08-8378


प्रा.डा. कुसुमाकर न्यौपाने

नेपाली घर–आँगनमा लोकसङ्गीत प्रस्तुत गर्ने जातिका रूपमा चिनिन्छ गन्धर्व । गायन पेसाबाट नै जीविकोपार्जन गर्दै आइरहेको यो जाति गान्धारी, गायक, मिजारलगायत नामबाट पनि चिनिन्छ । अधिकारी, कालापौडेल, बुढाथोकी, कायस्थ, गोपालनायक, कालाकौशिक, ठकुरी, समुद्री, वशिष्ठ, ब्रह्मबैकार, जोगीबैकार, लमलीबैकार, तुर्कीबैकार, सेतीचन, गोपालनायक आदि विभिन्न थर यस जातिका छन् । ब्रह्मा, विष्णु, महेश्वर, लक्ष्मी, सरस्वती, पार्वती, दुर्गालगायत देवीदेवताको आराधना गर्छन् । यस्तै कृष्णजन्माष्टमी, दसैँ, तिहार, एकादशी, औँसी, पूर्णिमाजस्ता चाडपर्व विधिपूर्वक मनाउँछन् । यस जातिको जन्मदेखि मृत्युसम्मका संस्कार भने हिन्दु धर्ममा आधारित छन् ।
लोकबाजा, लोकगीत, लोकगाथा तथा लोकनाचको साझा नाम लोकसङ्गीत हो । जीविकोपार्जनको माध्यमबाटै गन्धर्व जातिले पनि आफ्नो परम्परागत लोकसङ्गीत जोगाइराखेका थिए । तिनलाई यहाँ गन्धर्व लोकसङ्गीतका नाममा चर्चा गरिन्छ ।

लोकबाजा
गन्धर्वको परिचायक लोकबाजा दुईवटा छन् । अर्बाजो र सारङ्गी । गन्धर्वले बजाउने गरेको अर्बाजो तार, काठ र छाला प्रयोग गरेर बनाइएको हुन्छ । धोद्रो स्वर निस्कने हुँदा यसलाई गन्धर्वले भाले बाजा भन्छन् । यस्तै सारङ्गी पनि तार, काठ र छाला प्रयोग गरेर नै बनाइएको हुन्छ । सारङ्गीबाट मधुरो र मीठो स्वर निस्कने हुँदा यसलाई यस जातिले पोथी बाजा भन्छन् । यी दुवै बाजा गन्धर्वले बजाउँदै आएकाले यिनलाई गन्धर्व जातिका लोकबाजा भनेर चिन्ने चिनाउने गरिएको छ ।

लोकगीत
गन्धर्व जातिका लोकसङ्गीतमध्ये एउटा भेद लोकगीत हो । लोकगीतअन्तर्गत राग गीत, मङ्गल गीत, झ्याउरे गीत, हँस्यौली गीत, मालसिरी गीत, सेवा लाउँदाको गीत, निर्गुण गीत, बाह्रमासा गीत आदि पर्छन् । राग गीत लोकसङ्गीतका विभिन्न रागमा आधारित हुन्छन् । बेलावल राग, धनसिरी राग, रामकली राग, सारङ्गा राग, आरती राग, मालुवा राग, मालसिरी रागमा आधारित भएर बिहानदेखि बेलुकासम्म फरक–फरक लयका गीत गाइन्छ । बिहानको समयमा बेलावल राग र धनसिरी रागमा आधारित भई विभिन्नप्रकारका गीत गाइन्छ । दिउँसोको समयमा रामकली राग र सारङ्गा रागमा आधारित भई फरक–फरक गीत गाइन्छ । साँझ र रातिको आरती राग र मालुवा रागमा आधारित भई भक्तिपूर्वक गाइन्छ ।
विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य र शुभसाइतका अवसरमा गन्धर्व जातिका पुरुषले मङ्गल गीत गाउँछन् । यस जातिले गाउने त्यस्ता गीत धेरै प्रकारका छन् । जस्तै ओमकारको मङ्गल, गणेशको मङ्गल, सरस्वतीको मङ्गल, ब्रह्माविष्णुमहेश्वरको मङ्गल, गोरखनाथको मङ्गल, अकला माईको मङ्गल, कृष्णगङ्गाको मङ्गल आदि । यस्ता मङ्गल गीतमा देवदेवी, तीर्थस्थल तथा धार्मिक स्थलको वर्णन गरिएको हुन्छ । गन्धर्वले चलनचल्तीका गीतलाई झ्याउरे गीत भन्छन् । त्यस्ता झ्याउरे गीत अहिलेका गन्धर्वले प्रशस्त मात्रामा गाउने गरेका छन् । श्रोतालाई हँसाउने उद्देश्य राखेर गन्धर्वले गाइने गीत हँस्यौली गीत हो । यस्ता गीत पनि अहिले यत्रतत्र सुन्न पाइन्छ । दसैँका अवसरमा मालसिरी गीत गाइन्छ । दसैँ तथा तिहारकै अवसरमा सेवा लाउँदाको गीत गाइन्छ । तिहारमा श्रवणकुमारको भैलो, कालको भैलो, भैलोको आशिकसमेतका गीत गाएर तिहारको सुन्दर वातावरणलाई सङ्गीतमय बनाइन्छ । जीवनबोध गराउने उद्देश्यले निर्गुण गीत गाइन्छ । यस्तै बाह्रै महिनाको प्राकृतिक अवस्थामा नायकको प्रतीक्षामा व्याकुल बनेकी सुन्दरी नायिकाको जीवन अवस्थालाई समेट्दै गाइने गीत बाह्रमास गीत हो ।
लोकगाथा
गन्धर्वले लोकगीतका साथै लोकगाथा पनि गाउने गर्छन् । कथायुक्त गीत लोकगाथा हो । गन्धर्वले गाउने गरेका कथायुक्त त्यस्ता लोकगाथा पनि धेरै छन् । जस्तै कर्खा, घटना, रामायण, कृष्णचरित्र, स्वस्थानी आदि । वीरहरूको वीरताको वर्णन भएको लोकगाथा कर्खा हो । यस्ता कर्खामा द्रव्य शाहको कर्खा, पृथ्वीनारायण शाहको कर्खा, मदनकीर्ति शाहको कर्खा, अमरसिंहको कर्खा, बलभद्रको कर्खा, जुद्धशमशेरको कर्खा, चन्द्रशमशेरको कर्खा, जङ्गबहादुरको कर्खा, बमबहादुरको कर्खा, त्रिभुवनको कर्खा, नवलसिंह बानियाको कर्खा, जनकलालको कर्खा, बुद्धिबल रानाको कर्खा, होमबहादुर काजीको कर्खा, कुमाल जलाहारीको कर्खा, पद्मा गुरुङसेनीको कर्खा आदि धेरै छन् ।
मारपिट, दुर्घटना, हत्या आदिलाई विषय बनाएर गाइने लोकगाथालाई घटना भनिन्छ । यस्ता लोकगाथा कौतुहलपूर्ण र कारुणिक हुन्छन् । चर्चामा आएका यस्ता घटना धेरै छन् । जस्तै ः छोरीले आमा मारेको घटना, बाउले छोरी मारेको घटना, विष्णुमाया ठकुर्नीले छोराछोरी मारेको घटना, मामाले भान्जी मारेको घटना आदि । यस्ता घटना गाएर समाजमा हत्या, हिंसा तथा बलात्कार रोक्नुपर्ने सन्देश दिइन्छ । धार्मिक व्यक्तिहरूका घरमा पुगेर रामायण, कृष्णचरित्र गाइन्छ भने स्वस्थानी पूजाका अवसरमा स्वस्थानी गाएर भक्तिभाव पनि जागृत गराइन्छ । यसरी यस जातिले ऐतिहासिक, धार्मिक र सामाजिक विषयमा आधारित भएर लोकगाथा गाउने गरेको भेटिन्छ ।
गाउने कामलाई यस जातिले बढी अँगालेका छन् । गीत तथा गाथा गाउँदा प्रायः नृत्य गर्दैनन् । सारङ्गी तथा अर्बाजो बजाउँदै गाउने कार्यमा पनि दुई–चारजना भन्दा बढी व्यक्तिको सहभागिता हुँदैन । त्यसैले गायनमा जस्तो परिचय यस जातिको नृत्यमा छैन । यस्तो स्थिति भएर पनि गन्धर्व जातिकै भनेर चिनिएका नृत्य दुईवटा मात्र छन् । तरबारे नृत्य र जैमलपत्ता नृत्य ।
तरबार नचाउँदै नाच्ने नृत्य तरबारे नृत्य हो । यो नृत्य गन्धर्व जातिको विवाह तथा व्रतबन्ध गर्दा नाचिन्छ । नृत्य गर्दा सारङ्गी, अर्बाजो, मादल तथा मजुरा बजाइन्छ । नृत्य गर्दा गाउने गीतलाई पनि तरबारे गीत भन्ने चलन छ । युद्धको अभिनयका साथ तरबार नचाउँदै नाचिन्छ । यस्तै, जैमलपत्ता नृत्य यस जातिका पुरुषले प्रत्येक वर्ष कृष्णजन्माष्टमीका दिन ऐतिहासिक वीरतापूर्ण गाथा गाउँदै नाच्छन् । नृत्य गर्दा सारङ्गी, अर्बाजो, मादल र मजुरा बजाउँछन् । नृत्यमा वीरताको हाउभाउ प्रदर्शन गरिएको हुन्छ । यी लोकनाचबाहेक अन्य नाच पनि गन्धर्व जातिका पुरुषस्त्रीले प्रस्तुत गरेको भेटिन्छ तर ती नाच तिनका परिचायक भने होइनन् ।

अवस्था लोपोन्मुख
गन्धर्व जाति चिनाउने लोकसङ्गीतहरू लोप हुने अवस्थामा पुगेका छन् । यदि भविष्यमा लोप भएरै गए भने नेपाल लोकसङ्गीतका दृष्टिले मरुभूमिमा परिणत हुनेछ ।
पहिले–पहिले गन्धर्वले आफ्नो परिचायक अर्बाजो बाजा अनिवार्य रूपमा लिएर गाउँबस्ती हिँड्थे । दुईजना गन्धर्व भएर एउटाले सारङ्गी अनि अर्कोले अर्बाजो बजाउँदै लोकगीत तथा लोकगाथा गाउँथे । अर्बाजोबाटै मादलको ताल दिन्थे । सारङ्गीको मृदुस्वर र अर्बाजोको धोद्रो स्वर मिलाएर गीत तथा गाथा गाउँदा श्रोताको भीड लाग्थ्यो । अहिलेका गन्धर्वले अर्बाजो भिरेर हिँडेको देखिँदैन । अर्बाजो बजाएको पनि देख्न पाइँदैन । पहिल्यै–पहिल्यैजस्तो गाउँदै हिँड्ने गन्धर्वहरूको जनसङख्या पनि घट्दो छ । अन्य जातिले जस्तै पेसा व्यवसाय गर्न थालेको हुँदा सारङ्गीमात्र बजाउने र गाउने गन्धर्वको सङ्ख्या पनि घट्दो छ । यसरी हेर्दा गन्धर्वको अर्बाजो लोपोन्मुख अवस्थामा छ भने सारङ्गी बजाउँदै जीवन गुजारा गर्ने गन्धर्व पनि दुर्लभ हुने स्थितिमा छन् ।
अर्को सम्झने पाटो लोकगीत हो । गन्धर्वले मात्रै गाउने गरेका लोकगीतको सङ्ख्या पनि धेरै छ । त्यस्ता लोकगीतमा माथि उल्लेख गरिएका राग गाउने गन्धर्व भेटिन दुर्लभ हुन थाल्यो । यी राग इतिहास हुन थाले । यस्ता गीत गाउने गन्धर्व भेट्न पनि गाह्रो भइसकेको छ । मालसिरी गीत र सेवा लाउने गीत गाउने फाट्टफुट्ट फेलापर्छन् । श्रवणकुमारको भैलो, कालको भैलो, भैलोको आशिकको पाठ पूर्ण रूपमा गाउने पाइनै छाडे । नायिकाको विरक्ति बोकेको बाह्रमास गीत गाउने गन्धर्व जाति जति खोज्दा पनि पाइएका छैनन् ।
वीरहरूको वीरताको वर्णन भएको कर्खा लोकगाथा गाउने गन्धर्व अब छैनन् भन्दा पनि हुने अवस्था छ । कर्खा गाथाका रूपमा चिनिएका द्रव्य शाह, पृथ्वीनारायण शाह, मदनकीर्ति शाह, अमरसिंह, बलभद्र, जुद्धशमशेर, चन्द्रशमशेर, जङ्गबहादुर, बमबहादुर, त्रिभुवन, नवलसिंह बानिया, जनकलाल, बुद्धिबल राना, होमबहादुर काजी, कुमाल जलाहारी, पद्मा गुरुङसेनीको मौखिक इतिहास लोप भइसकेका छन् । मारपिट, दुर्घटना, हत्या आदिलाई विषय बनाएर गाउँदा श्रोताहरू पनि धरधरी रुन्थे । आज घटना गाउने त्यस्ता कला र गला भएका कता छन् भनेर खोज्न पर्ने स्थिति छ । रामभक्तका घरमा पुगी रामायणका सातवटै काण्ड गाएर चकित पार्ने हराइसके । कास्की, तनहुँ, गोरखा, लमजुङ, गुल्मी, पाल्पाका केही गन्धर्वले बाउबाजेले गाएका रामायणका एक÷दुई काण्ड अहिले पनि सुनाउने गर्छन् । कृष्णभक्त अर्थात् निम्बार्की वैष्णवका घरमा पुगेर सम्पूर्ण कृष्णचरित्र गाउने पाइएको छैन । माघ महिनामा स्वस्थानी व्रत बसेका घरमा पुगेर व्रतालुहरूलाई स्वस्थानी कथा गाउँदै मोहित बनाउने अहिले पनि केही फेला पर्छन् । यसरी हेर्दै जाँदा नेपालमा गन्धर्वले जोगाइराखेका लोकगीत र लोकगाथा धेरैभन्दा धेरै भेद लोप हुने अवस्थामा छन् ।
नाच्दै हिँड्ने पेसा नभए पनि आफ्नो जातिको परिचायक नृत्यलाई केही वर्ष पहिलेसम्म गन्धर्वले जोगाइराखेका थिए । अब सम्बन्धित् बस्तीमा विधिपूर्वक नृत्य गर्ने पाइन छाडे । यी नृत्य गर्दा कस्ता गीत तथा गाथा गाइन्छ, अनि कसरी नृत्य गरिन्छ भन्ने उत्तर दिन सक्ने पनि भेटिन छाडे ।
गायनलाई मुख्य पेसा बनाएर नेपाली लोकसङ्गीतलाई सबल तुल्याउने गन्धर्व जातिको मौलिक लोकसङ्गीत हराउने अवस्थामा छ । यस पेसाबाट जीविकोपार्जन गर्न गाह्रो भएकाले अन्य पेसा अपनाउन गन्धर्व जाति बाध्य छन् । यसले गर्दा गन्धर्व जातिले जोगाइराखेको नेपाली लोकसङ्गीत केही लोप भइसकेको र धेरैजसो लोप हुने अवस्थामा छटपटाइरहेका छन् । राज्य तहबाट संरक्षणको प्रयास भएन भने केही वर्षभित्रै गन्धर्व लोकसङ्गीत लोप भएर जाने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?