logo
२०८१ बैशाख ५ बुधवार



सत्यमोहनको कविरूप

शनिवार |


सत्यमोहनको कविरूप


विमल भौकाजी

सामान्यतया आजको युगमा मान्छेको जीवनले सय वर्षको आयु छिचोल्नु भनेको चानचुने कुरो होइन । अझ सक्रिय जीवनको त हामीले कल्पना पनि गर्न सक्दैनौँ तर हाम्रो सामुको यथार्थ जो सत्यमोहन जोशीका रूपमा खडा छ, अन्यत्र कुनै विज्ञानविकसित देशमा भए यो विषय अपवाद र आश्चर्य मानेर खोजअनुसन्धानको विषय बन्थ्यो । उहाँलाई एउटा ‘प्रयोगशाला’को रूपमा नै राज्यले घोषणा गरिसक्थ्यो ।
त्यसो त उमेरका हिसाबले सत्यमोहन जोशीलाई यहाँ ‘शताब्दीपुरुष’को उपमा त दिइएकै छ । सामान्यतः यो केवल स्वाभाविक छ तर अर्को शताब्दीपुरुष सँगसँगै ‘वाङ्मय’को विशेषण जोडिनु भनेको चाहिँ निकै महìवपूर्ण विषय हो । यो शब्द सत्यमोहनको नामसँग यत्तिकै जोडिएको होइन । उहाँको व्यक्तित्व, चरित्र र कर्र्म–कृतिको ओजले पक्कै पनि त्यो क्षमता राख्छ ।
मूलतः सत्यमोहन जोशी संस्कृतिविद् हुनुहुन्छ । सानै उमेरदखि नै कला, संस्कृति र सङ्गीतका पारखी एवं मर्मज्ञ जोशीले राष्ट्रका लागि निकै ठूलो योगदान दिनुभएको छ, आजकै मितिसम्म पनि तत्सम्बन्धी खोजअनुसन्धानका कार्यमा उहाँ उत्तिकै तल्लीन हुनुहुन्छ । वाङ्मयअन्तर्गतका कला, संस्कृति र सङ्गीत मात्रै नभई साहित्यिक क्षेत्रमा समेत सत्यमोहन जोशी उही अनुपातमा लागिपरेका तथ्य कसैको आँकलनमा लुक्ने कुरो होइन । विभिन्न विधाका उहाँका निकै थान पुस्तक प्रकाशित छन् । स्मरणीय छ, जोशीले तीन पटक मदन पुरस्कारको विजयश्री–माला पहिरिसक्नुभएको छ । शायद यो तथ्य भने सर्वविदित नहुन सक्छ कि हामीलाई अक्षर चिनाउन÷लेखाउन सिकाउने गुरु उहाँद्वारा लिखित÷निर्मित ‘ठूलो वर्णमाला’ हो ।
साहित्यिक विधामा खास गरेर नाटकमा उहाँको विशेष मोह देखिन्छ । कथालेखनमा पनि उहाँको कलम चलेको पाइन्छ । यसका अतिरिक्त कवितामा समेत उहाँको आकर्षण रहेको तथ्य अग्रज व्यक्तिहरूबाट भनिएको– ‘उहाँ विभिन्न कविगोष्ठीमा कविता पाठ गर्ने गर्नुहुन्थ्यो’ भन्ने भनाइबाट पुष्टि हुन्छ । त्यसो त २०३० सालमै हेमन्तराज जोशी प्रकाशक रहेको सत्यमोहन जोशीकृत कवितासङ्ग्रह ‘क्रान्तिका लहरहरू’ प्रकाशित भइसकेको छ ।
किताबको नाममा क्रान्ति– शब्द रहेको भए पनि किताबभित्र रहेका कुनै पनि कवितामा क्रान्ति झल्कने शब्दको प्रयोग भएको पाइँदैन, त्यसको सङ्केतसम्म पनि पाइँदैन । ‘यस्तो
किन ?’ प्रश्न उठाउँदा उहाँ स्वयंको भनाइ छ– ‘क्रान्ति भनेको तपाईंले सोचेजस्तो राजनीतिक क्रान्ति होइन, यो आत्मिक क्रान्तिको कुरो हो । मैले मेरा कवितामा आध्यात्मिक क्रान्तिको कुरो गरेको हुँ ।’ कवितासङ्ग्रहभित्रको ‘मुजुरको फुल’ शीर्षकको कविताको एक अंश–
न फुट्छ, न पग्लन्छ त्यो फूल
हजार सूर्य चम्के पनि,
त्यो त जम्छ, फुट्छ स्वयम्
केवल भित्र न्यानो भुमरी पार्छ,
त्यो त मुजुर नै भएर निस्कन्छ
सृष्टिको क्रम जोडी
त्यो त कराउँछ, नाच्छ,
उड्छ नौरङ्गे पङ्ख फिँजाई ।
कवितामा मान्छेको जीवनलाई मुजुरको फुलको रूपमा हेरिएको छ, जो गर्भभित्र रहेकै अवस्थामा पनि आनन्दमा बाँच्छ । बाहिरी दुनियाँमा आइसकेपछि प्राकृतरूपमा पूर्ण मुजुर भएर उत्सवी जीवन बाँच्छ । यही आध्यात्मिक दृष्टिकोणबाट कवि जोशी आत्मपरक प्रश्न उठाउनुहुन्छ– स्वयं म ‘आपूm’ पनि मुजुरको त्यो विचित्र सिङ्गो फुल नै होइन र ?
जीवनदर्शन यो र यिनै कविताहरूको मूल विषयवस्तु हो । अधबैँसे उमेरमा आइसकेपछि उहाँलाई बाल्यकालको खेलको सम्झना आउँछ । त्यहाँ हातमाथि हात राखेर खेलिएको खेलमा प्रश्न हुन्छ– ‘केको ढोका ?’ र, खेलमै जवाफ मिल्छ– ‘सुनको ढोका ।’ वास्तवमा त्यो सुनको ढोका के थियो ? एउटा दार्शनिक प्रश्न । सुनको ढोका केवल ढोका मात्रै होइन, त्यसले विशेष सङ्केत गरेको छ । कविताको मर्मअनुसार बुझ्न सकिन्छ– जीवनमा यस्ता धेरै ढोका पार गर्नुपर्छ । अर्थात् आइपर्ने समस्याहरू पार गर्दै जानुपर्छ । जसले समस्याहरूको समाधान गर्दै सहज जीवन बाँच्न जान्दछ उसले सुनको ढोका पार गरेको ठहर्छ ।
‘अलबम पल्टाउँदा’ शीर्षकमा उहाँ लेख्नुहुन्छ–
मेरा सपनाहरूको अलबम
मेरो सङ्ग्रहालयको अमूल्य सङ्कलन ।...
पाएँ तर अब मैले
यो मेरो पुच्छ«ेतारे जीवनमा
अलबमभित्रका मेरा सङ्कलित सपनाहरू
केवल नियमित र अनियमित आकस्मिकताका
ठक्करहरू मात्र रहेछन् ।
यसरी जीवनलाई कवि जोशी अत्यन्तै सूक्ष्म र गम्भीर तवरले हेर्नुहुन्छ । गण्डकी र कोशीका गर्जनाहरू पनि उहाँलाई चैत–वैशाखका चट्याङभैmँ आफ्नै मनका प्रतिध्वनित हुन् कि भन्ने लाग्छ । मूलतः यो उहाँको सोचाइ बुढेसकालको कल्पना हो । बुढ्यौलीलाई उहाँ धूवाँ सल्किरहेको चुरोटको ठुटोसँग दाँज्नुहुन्छ । आफ्नो मनलाई जथाभावी अल्झिरहने माकुरोको जालो सम्झनुहुन्छ ।
समष्टिमा कवितामा प्रयुक्त भाषा विम्बात्मक छन् । कविले भनेभैmँ यी कविता आध्यात्मिक दृष्टिकोणले लेखिएका छन् । ‘यताउता’, ‘अलबम पल्टाउँदा’, ‘मेरो बुढेसकालको आवाज’, ‘आत्ममूर्तिको कथा’, ‘सारङ्गीको आत्मकथा’, ‘परालको त्यान्द्रो’लगायत शीर्षकका कविता यसका उदाहरण हुन् । यिनै कविताको लहरमा ‘प्रश्नै प्रश्न’ शीर्षकको कविताको गहिराइ अझ ओजपूर्ण छ–
... पछि चाल पाउँछ ऊ
हँसिया उसको, उसकै कम्मरमा नै
प्रश्नचिन्ह बनेर
खुरुखुरु ऊसँगै हिँडिरहेको ।
‘अभियान’ शीर्षकको कविता सरसर्ती पढ्दा कुनै कथाशैलीको विषय जस्तो लाग्छ । जमिन र पानीको द्वन्द्वमा त्यहाँ मूल पात्र कमलको बोट देखिएसँगै हिलो आई उसलाई म्वाइँ खाएर प्रेम जताउँछ । नभन्दै कमल पैmलिँदै जान्छ, फक्रिँदै जान्छ; उसमा जवानी भरिँदै जान्छ । जब ऊ संसार बुझ्ने हुन्छ तब हिलोको वास्तविक रूप उसले थाहा पाउँदछ र तत्क्षण हिलोको सङ्गतबाट टाढिन खोज्छ । हिलो उसलाई पछ्याउँदै जान्छ । अनेक तरहले कमललाई हिलोले आफ्नो वशमा राख्न खोजिरहन्छ । तर हिलाम्मे परिवेशलाई पन्छाएर पानीको प्रदेशमा प्रवेश गर्दछ कमल, जहाँ पानीले उसलाई सहर्ष स्वागत गर्दछ । समयक्रममा कमलले पानी पनि धमिलो भएको पाउँछ, त्यसैले त्यहाँबाट पनि अलग्गिन खोज्छ तर अनेक तत्वले उसलाई रोक्न खोज्छ । ठीक यही समयमा त्यहाँ आँधी आउँछ, पानी छचल्किन्छ । यसरी सबै प्रकारका अवरोधबाट मुक्त भएर अन्ततः पानी खुला वातावरणमा आइपुग्छ तर त्यहाँ पनि उसले सुख पाउँदैन, कतैबाट भमरा भुनभुनाउँदै उसमाथि बस्न आइपुग्छ । कमललाई भमराको भुनभुनाइ मन पर्दैन । कमलको रात जसरीतसरी बित्छ । जब बिहान हुन्छ, सूर्यको शुभ्र किरणमा स्वतन्त्र भएर बल्ल कमलले नयाँ जीवन सुरू भएको अनुभूति गर्छ । जसै मुसुक्क मुस्कुराउँछ कमल, सूर्यबाट सिञ्चित आपूmभित्रको प्रज्वलित ज्योति विश्वव्यापी भएको पाउँछ ।
क्रान्तिका लहरहरूभित्रका कविताहरूको अर्को पाटो पनि छ, त्यो हो– कविको प्रखर राष्ट्रप्रेम । राष्ट्रप्रेममा आधारित रहेर नेपाली भूमिको गुनगान गर्नु कवि जोशीको कविताको मूल विशेषता देखिन्छ । आफ्नै कवितालाई पनि उहाँ डाँफेचरीभैmँ हिमालयको फेदीमा नचाउन खोज्नुहुन्छ तर कविताभित्रै देशभक्तिसँगै जोडिएर आउने राजाको प्रसङ्गले वर्तमान परिवेशमा कविको व्यक्तित्वप्रति केही नकारात्मक भाव जाग्न सक्ने जोखिम भने देखिन्छ । अन्यथा सामान्य रूपले शाब्दिक अर्थमा मात्रै हेर्ने हो भने सबै कविताको उच्चता निकै माथिल्लो शिखरमा पाइन्छ । स्वयं कवितासङ्ग्रहको भूमिकामा वासु रिमाल ‘यात्री’ले लेख्नुभएको छ– “... नाटकीय पारामा मात्र र वार्तालापसमेत प्रस्तुत गरी कविले दर्शनका गहिरा कुरालाई उद्घाटन गर्न निकै सीप देखाएका छन्... यो कुराचाहिँ निर्धक्कसँग भन्न सकिन्छ– कविमा दर्शन र कलाको सन्तुलनको सीप छ र यसमा कविको सफलता लुकेको छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?