logo
२०८१ बैशाख १३ बिहीवार



साहित्यकारलाई ओलीको आतिथ्य

शनिवार |


साहित्यकारलाई ओलीको आतिथ्य


त्रिभुवनचन्द्र वाग्ले

नेपाली साहित्यकारमाझ विशिष्ट भेटघाट हुन्छ हरेक महिनाको पहिलो बिहीबार । कसैले कसैलाई निम्ता दिँदैन । कसैले कसैलाई सुविधाका लागि उक्त दिन सम्झाउनसम्म सक्छ । आफैँ–आफैँ बिहीबारे कार्यक्रमबारे सूचना प्रवाह हुन्छ । कार्यक्रमबारे न समाचार बन्छ न त्यस्तो उद्देश्य नै राखिन्छ । कार्यक्रमको जन्म र न्वारन वरिष्ठ साहित्य साधक नगेन्द्रराज शर्मा (अभिव्यक्ति द्वैमासिकका सम्पादक÷प्रकाशक)ले गर्नुभयो, ‘अभिव्यक्ति मासिक भेटघाट ।’
‘उन्नाईस वर्ष भयो भेटघाटको शृङ्खला’ राप्रउ (रामप्रसाद उपाध्याय) पोखरेल अभिव्यक्ति भेटघाटबारे स्मरण गर्दै भन्नुहुन्छ । कार्की किचन चाबहिल, २०५८ असोज ४ गते र त्यसका सञ्चालक मदनकुमार कार्की । शर्माले यस्तो नियमित भेटघाट र अनौपचारिक मञ्चका लागि साहित्यिक प्रतिभा कार्कीसँग आग्रह गर्नुभयो । आफ्नो रेष्टुरेन्टमा साहित्यकारहरूको भेटघाट होस् र सकेसम्म सहुलियतमा खाना उपलब्ध गराएर व्यवसायसँगै साहित्यको प्रवद्र्धन र साहित्यकारको सम्मान गर्न कार्की इच्छुक हुनुभयो । त्यहीँबाट सुरु भयो अभिव्यक्ति भेटघाट । सहभागी र सङ्ख्याबारे शर्मा भन्नुहुन्छ,
‘मदनमणिदेखि क्षेत्रप्रताप, ५०–६० देखि एकजनासम्म ।’ दशैँको अष्टमीको बिहीबार म आफूमात्रै पनि भएको सम्झना गर्दै शर्मा सुनाउनुहुन्छ, ‘होटल हो, आउने खाने, जाने आफ्नो पैसा आफैँले तिर्ने । यो अभियान वा संस्था होइन । कहीँकतै दर्ता छैन । विशेष घोषित उद्देश्य पनि छैन ।’ यस्तो कार्यक्रमको आवश्यकता किन त ? यसमा शर्मा सर्जकलाई सामान्य मानिस देख्नुहुन्छ । उसको व्यक्तिगत जीवन हुन्छ । ऊ मेसिन होइन, सधँै सिर्जना गर्न सकोस् । सर्जकलाई सामान्य मानिस हुन, मात्तिन, अलि–अलि त छाडा हुन पनि, रमाइलो गर्न, विगत सम्झन र आफैँलाई बिर्सन यस्ता कार्यक्रम आवश्यक हुन्छ । यहाँ मूलतः सिर्जना, गम्भीर बहस, वाचन, समीक्षा हुँदैन यो अनौपचारिक भेटघाट हो, औचपारिक कार्यक्रम होइन ।
वरिष्ठ साहित्य साधक रचना द्व्रैमासिकका सम्पादक÷प्रकाशक रोचक घिमिरे भेटघाटमा कथाजस्तो सत्य सुनाउनुुहुन्छ, ‘भवानी घिमिरेले घरमा आएर ६८ घोगा मकै खाइदिनुभयो ।’ सत्य लाग्दैन । घिमिरेसँग भवानीको स्वीकारोक्ति ‘वाइट’ छ । समजीको भित्रिया छोराबारे नगेन्द्र दाइको लामो जानकारी छ । नेपाली साहित्यकारका अनगिन्ती संस्मरण र जानकारी छ उहाँसँग । उहाँ भन्नुहुन्छ, ‘सबै भनिदिने हो भने कतिको घरबारै बिग्रन्छ ।’ भेटघाटमा दर्जनौँ स्मरण प्रसङ्गवश आउँछन् । ‘भारतीका आठ दिन’ नरेन्द्र दाइले लेख लेख्नुभयो । वर्षमा बाबुआमाको श्राद्ध र अन्य एक÷दुई दिनबाहेक उपन्यासकार शङ्कर भारतीले दारु छाड्नुहुन्न । भोड्का भारती नामै रह्यो । विष्णुबहादुर सिंहको नाम स्कच सिंह नै स्थापित छ– भेटघाटेबीच । त्यसो त बियर बुढाथोकी भनेपछि वियोगी भनिरहनुपर्दैन । यी नामकरण र प्रचलनलाई नगेन्द्र दाइको स्नेह मानिन्छ । यस्तै नाम छ– जोनी वाकर अर्थात् ज्ञानु वाकर पौडेलको । अनौपचारिक फोरम भएकाले भेटघाटमा ‘साहित्यकारका भित्रीपाटा जान्न पाइन्छ’ विधान आचार्यको अनुभव छ । यही फोरम र अन्य ठाउँमा लेखेर महाकवि देवकोटा गरिब थिए भन्ने पूर्वस्थापित सत्यलाई असत्य प्रमाणित गरिदिनुभएको छ नगेन्द्र र रोचक दाइले । उहाँहरूको निष्कर्ष छ– ‘नेपाली लेखक समालोचक हाहामा लेख्छन् । सुनेको भरमा बर्बराउँछन् । काउली किनेर गाईलाई खुवाउने, घट्टेकुलोमा त्यतिको जग्गा भएका, भात पकाउने दुईजना बाहुनी राख्ने, क्याम्पस र ट्युसन पढाउने, अहिलेको मारुती कारजस्तो हैसियत राख्ने साइकल उसबेला चढ्ने व्यक्ति गरिब
हुन्छ ? सम्पादकद्वय शर्मा र घिमिरे एउटै स्वरमा भन्नुहन्छ– देवकोटा गरिब होइनन्, अव्यवस्थित हुन् । राप्रउ पोखरेल घिमिरेलाई समर्थन गर्दै भेटघाटमा भन्नुहुन्छ, ‘जुँगेमुठे कथाकार देविका तिमिल्सनालाई लेखक÷समालोचक भनाउँदाले ‘सशक्त महिला’ कथाकार बनाइसके । देवकोटा त पुरानो कुरा भइहाले नि !’
कविता र नेता । साहित्य र राजनीति । कार्की किचन र हुँदै ग्रीन पार्कसम्मका भेटघाटमा दारु चढ्दै गएपछि अनेक संस्मण आउँछन्, बीपीदेखि केपीसम्मका । खासगरी सम्पादकद्वय शर्मा र घिमिरेबाट साहित्यकारका भेज तथा ननभेज संस्मरण सुनाउनुहुन्छ । यसैबीच एउटा बिहीबार मस्तीको हाँसो उठ्यो खासगरी नयाँ पुस्ताका सर्जकमा । केपी ओलीले साहित्य लेख्ने त्यो पनि कविता ? खतरा
‘जोक्स’ मा नारायणगोपाल चोकस्थित ग्रीनपार्क रेष्टुरेन्ट गुञ्जन्छ । पवन आलोक र किशोर पहाडी मुखामुख गर्नुहुन्छ । कुन प्रकारको जोक्स र हाँसो आयो ?
‘हैन, हैन केपी शर्माको कविता र साहित्यकारसँगको भेटघाटबारे अभिव्यक्तिमा केही पढेको छु,’ शान्त स्वर र शैलीमा पवन आलोक बोल्नुहुन्छ र समर्थनमा नगेन्द्र दाइतिर फर्कनुहुन्छ । धेरैले स्मरण गर्छन्– हिमवत् साहित्य सम्मेलनका दौरान चन्द्रागिरिमा प्रधानमन्त्री केपी ओलीले लेख्नुभएको कविता । त्यो कविता ? त्यो त पात्रले नभएर पदले लेखेको हो, कुनै सहभागी निष्कर्षमा पुग्छ । ब्ल्याक लेबलको पेग थप्दै नगेन्द्र दाइ भन्नुहुन्छ, ‘आलोकको स्मरण सही हो ।’ दारुले रक्तिम पवन मुहार उज्यालो हुन्छ । शर्मा वर्तमान प्रधानमन्त्री त्यतिखेरका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको साहित्यकारसँगको भेटघाट र साहित्यिक संवादबारे सुनाउनुहुन्छ र थप्नुहुन्छ, ‘उहाँको कविता मैले छापेको छु अभिव्यक्तिमा ।’
जोक्स अब आश्चर्यमय बन्छ । रोचकजी कहिले अरे केपीजीले हामीलाई बोलाउनुभएको ? शर्माको प्रश्नमा, ‘२०७३ पुस २०’ सधैँझैँ मन्द मुस्कानसहित रोचक दाइ उत्तर दिनुहुन्छ । ‘अँ घरमा बसिरहेको थिएँ फोन आयो– पूर्वप्रधानमन्त्रीज्यूले साहित्यकारसँग भेटघाट गर्ने हुनुभएको छ, तपाईं पनि आउनुहोला’ ओली र साहित्यबारे नगेन्द्र दाइ ‘भेटघाट’मा साविती बयान दिनुहुन्छ । त्यसबेला उहाँलाई विश्वास लागेन, कतै अप्रिल फुल त होइन भन्ने भयो ? पूर्वप्रधानमन्त्री ओलीका पीएलाई तत्कालै सोध्नुभयो, ‘ए बाबु, तपाईं झुक्किनुभयो ! मसँग ओलीजीको भेटघाट, चिनापर्ची, उठबस केही छैन, तपार्इं झुक्किनुभयो क्यार, तपाईंले फोन गरेका पात्र म होइन कि !’
‘अभिव्यक्तिको सम्पादक नगेन्द्र शर्मालाई नै निम्ता दिएको हो,’ ओलीका पीए इन्द्र भण्डारीले विश्वास दिलाउनुभयो ।
त्यसै त जान हुँदैन, म निम्त्याइएको हो वा होइन । नगेन्द्र दाइको मनमा हुटहुटी भयो । रोचक दाइलाई फोनमा सोध्नुभयो । पूर्वप्रधानमन्त्री केपीजीको निम्ताबारे । रोचक दाइले थप आश्वस्त बनाउनुभयो– मलाई पनि निम्तो छ । बल्ल नगेन्द्र शर्मा ढुक्क हुनुभयो ।
कुरो सामान्य भेटघाट र भलाकुसारी हो । ठूलो संस्मरण छैन । पूर्वप्रधानमन्त्री ओलीले सामान्य मानिसका रूपमा हामीलाई विशिष्ट आतिथ्य प्रदान गर्नुभयो । सामान्य तर घरायसी वातावरणमा गफ भए ।
त्यतिबेलाको सम्झना गर्दै उहाँले भन्नुभयो, ‘काँल्दाइसँग सल्लाह गरेर कार्यक्रम राखेको हुँ केपीले भन्नुभयो ।’ कुरो नबुझेपछि काँल्दाइ (वैरागी काँइलाले) हात हल्लाउनुभयो । केपीले थप्नुभयो, ‘है काँल्दाइ तपाईंसँग सल्लाह गरेर कार्यक्रम राखेको हुँ नि ।’ खै के–के त भन्नुभएको थियो, पूर्वप्रधानमन्त्रीले राम्रै कुरा गर्नुभएको होला भनेर टाउको हल्लाइदिएँ काँल्दाइले भन्नुहुँदा ओलीनिवास बालकोट हाँसोले गुञ्जियो । रामेशसँग ओलीले श्रीमती ओली (राधिका शाक्य) लाई परिचय गराउँदा श्रीमती ओलीले भन्नुभयो– तपार्इंभन्दा अघि रामेश दाइसँग परिचय भएको थियो । फेरि ओली निवासमा हाँसोको पर्रा छुट्यो– अभिव्यक्ति २०७३ पुस–माघ अङ्कमा शर्माको सम्पादकीय बोल्छ । खानाका पारखी शर्मा भन्नुहुन्छ– पूर्वप्रधानमन्त्रीको घरको खाना मीठो भइहाल्छ तर त्यो खानामा नुन, तेल, मरमसलामात्र मिसिएको थिएन, आत्मीयता पनि मिसिएको थियो । केपीजी, राधिकाजी, केपीजीका साला र सहयोगी भएर आफैँ धोइपखाली गरेर बनाइएको रहेछ खाना ।
‘हामी आफैँले खाना तयार गरेका हौँ भन्दै पूर्वप्रधानमन्त्रीले पनि सर्भिस गर्नुभयो । खाना थपिदिनदेखि अन्य व्यवस्थामा उहाँ आफैँ जुट्नुभयो । सँगै केही खानु पनि भयो । श्रीमती राधिका पनि खाना थप्न आउनुभयो । यसरी पो खाना मीठो भयो । पहारिलो घाम, फराकिलो छत, हाँसो र गुञ्जनका साथ बालकोटको त्यो दिनको खानाले नेपाल बन्दको सास्ती खाँदै झन्डै एक घण्टा हिँडेर सोध्दैखोज्दै ओलीनिवास पुगेको थकाइको अनुभव नै भएन’ शर्मा स्मरण गर्नुहुन्छ ।
प्रत्येक अतिथिका बारेमा पूर्वप्रधानमन्त्रीले जानकारी लिनुभएको शर्माको अनुभव छ । मेरो र अभिव्यक्तिबारे उहाँ पूर्ण जानकार हुनुहुँदोरहेछ । ‘पढ्छु अभिव्यक्ति’ उहाँले झन्डै ११ वर्षअघि अभिव्यक्तिमा छापिएको आफ्नो कविताबारे स्मरण गर्नुभयो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, गोपीरमण उपाध्याय, रामेश, डीपी अधिकारी, आनन्ददेव भट्ट, यादव खरेल, मञ्जु काँचुलीलगायतको उपस्थितबीच उहाँका सहयोगीले सानो झोलाबाट के बाँड्दै थिए, लोगोजस्तो । कानेखुसी चल्न थाल्यो ‘पार्टीको लोगो त के लगाउनु ?’ ओलीजी आफँैले राष्ट्रकवि घिमिरेको कोटमा लोगो लगाइदिनुभयो । त्यसैक्रममा थाहा पायौँ, पार्टीको नभएर राष्ट्रिय झन्डा रहेछ त्यो । सबैले गर्व महसुस गरेका मैले अनुभव गरेँ, शर्मा संस्मरण सुनाउनुहुन्छ ।
घाम ढल्कँदै गयो । केही सर्जक बिदा हुनुभयो । हामी केहीलाई केपीजीले बस्न अनुरोध गर्दै एक घण्टाजति कामविशेषले बाहिर जानुभयो । फर्केर आएपछि पुनः चल्यो भलाकुसारीको शृङ्खला । वातावरण गम्भीर भयो । नेपाली राजनीति र साहित्यको वर्तमान अवस्थाबारे समीक्षा हुँदा । दुवै विधाका सङ्कटपूर्ण विगत । नेपाली साहित्यकार र साहित्यले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएका विशिष्ट योगदानको संस्मरण र सम्मान गर्नुभयो पूर्वप्रधानमन्त्री ओलीजीले । जेलजीवनमा धेरै नेपाली कृति पढेको बताउँदै समय मिल्दा अहिले पनि साहित्य पढ्ने सोख रहेछ उहाँको ।
समय पूरै ढल्किएपछि हामी हिँड्ने तर्खरमा पुग्यौँ । तल बरन्डामा पुगेपछि ओलीजीले राष्ट्रकविलाई आकर्षक ओभरकोट आफैँले लगाइदिनुभयो । हामी सबै हर्षित भयौँ । यस्तो लाग्यो कि यो हामी सबै सर्जकलाई गरिएको प्रतीकात्मक सम्मान थियो ।
वर्तमान प्रधानमन्त्री भएकाले संस्मरणमा ‘अलि रङ र उदारता’ मिसिएको छ कि भन्ने प्रश्नमा शर्मा टक्क अडिनुहुन्छ । गहिरा आँखाले हेर्नुहुन्छ । हातमा पेग उचाल्नुहुन्छ, केही प्रतिनिधि दन्तसहितको मुस्कानमा भन्नुहुन्छ– २०६२ सालमा केपीजी प्रधानमन्त्री हुनुहुन्छ भनेर मैले कविता छापेको होइन, न त अहिले कुनै पुरस्कार दिनुहुन्छ भनेर तपार्इंसँग संस्मरण व्यक्त गरेको हुँ । म कुनै दलको न नारा घोकेको न झन्डा बोकेको व्यक्ति हुँ । यो उमेरमा मलाई कसैको आलोचना वा प्रशंसा गर्नु छैन । सत्य बोल्दा कसैको प्रशंसा वा आलोचना हुन्छ भने म कारण हुँदिनँ, घटना जिम्मेवार हुन्छ । एक लेखक भएकाले मेरा लागि सत्य नै बाँच्ने स्रोत हो, साधना हो, जो म गर्छु, गरिरहन्छु !
अरू नेतासँगको संस्मरण पनि छन् शर्मासँग । बीपीदेखि किसुनजी सबैसँगका । ‘तर, को कस्ता थिए भनेर व्यक्तिबीच तुलना हुन सक्दैन,’ उहाँ भन्नुहुन्छ । दुईपटक मुटुको अपरेसन गरेको छ । कालो देखिँदैन माघको तुसारोजस्तै छ कपाल । चिन्ता, शोक, खिन्नता कुनै पनि हरफ देखिँदैनन् शर्माको अनुहारमा । प्रत्येक महिना उपत्यकाबाहिर जानुहुन्छ । हिउँद न बर्खा तर महिनाको पहिलो बिहीबार उहाँ जसरी पनि काठमाडौँ आइपुग्नुहुन्छ । नाति पुस्तासँग पनि सखाजस्तै हाँसखेल रमाइलो गर्ने ८३ वर्षीय शर्मा ‘बाँच्ने कला’का धनी नै मानिनुहुन्छ ।
व्यक्तिगत भेटघाटमा नेपालका नेताले साहित्य र साहित्यकारप्रति गहिरो सम्मान राख्ने गरेका अनुभव छ उहाँसँग । ‘प्रजातान्त्रिक आन्दोलनमा साहित्यकार, लेखक, पत्रकारले पु¥याएका योगदानको नेताहरूले मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ तर साहित्यिक पत्रकारिता तथा समग्र साहित्यिक क्षेत्रमा उहाँहरूले दिनुपर्ने संस्थागत ध्यान पुगेको छैन’ शर्मा बताउनु हुन्छ ‘आज पनि सूचना विभाग र प्रेस काउन्सिलमा साहित्यिक पत्रिकाको सहयोगका लागि रोइकराइ गर्नुपर्छ ।’ पत्रिकामा विज्ञापन छैन । कागज मसी पे्रसको खर्च कसरी जोर्ने ? त्यसमाथि साहित्यिक पत्रिकालाई पनि न्यूनतम पारिश्रमिकका कुरा गरिन्छ । यो कसरी सम्भव हुन्छ ? मलिन र गम्भीर शर्मा
टक्क अडिनुहुन्छ ।

मेरो जून हरायो

 केपी शर्मा ओली
आज मेरो आफ्नै आकाशमा
मेरो प्यारो जून हरायो !

आकाशको बार्दलीमा निस्किएर मुस्कान दिने
सौम्य, शान्तपाराले अँगालो मार्ने
प्यारो मधुर प्रकाश दिने
मेरो प्यारो जून हरायो ।

कोही भन्छन् कृष्णपक्ष हो
अब पालो रातको आयो
कोही भन्दछन् बादल छायो
सदाका लागि अब कालो छायो ।

कोही भन्दछन् ग्रहणले खायो
तर, यी सब हुन् क्षणका लागि
हैन, हैन जुन फेरि छाउँछ
प्यारो जून फेरि उदाउँछ ।

कृष्णपक्ष भए शुक्ल आउँछ
बादल, ग्रहण भए फेरि हट्छ
मेरो आकाश फेरि खुल्छ
प्यारो जून फेरि उदाउँछ ।।

कविता साभारः अभिव्यक्ति, वैशाख २०६२

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?