logo
२०८१ बैशाख ७ शुक्रवार



शर्मालीगढी घुमेर हेर्दा...

शनिवार |


शर्मालीगढी घुमेर हेर्दा...



गोकर्ण दयाल

नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न निर्माण भएको किल्ला शर्मालीगढी हो । यो किल्ला बैतडीको शिवनाथ गाउँपालिका–२ मा छ । समुद्री सतहबाट १४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेल्धुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
चारैतिर रानी सल्लाको घना जङ्गलले घेरिएको शर्मालीगढी किल्लामा पर्ने जङ्गल क्षेत्र सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सामुदायिक वन हो । रानी सल्लाको यो जङ्गललाई अहिले अमरगढी सामुदायिक वन नामकरण गरिएको छ । ४९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो र धनी सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कले देखाउँछ । यही जङ्गलको बीचमा शर्मालीगढी किल्ला छ । यो ऐतिहासिक किल्लामा पुग्न बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको ३४ किलोमिटर सडक यात्रा पार गरेपछि शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान पुगिन्छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानबाट पञ्चेश्वर जाने सडकबाट बायाँतर्फको शर्माली जाने ११ किलोमिटर ग्रामीण सडक ओर्लेपछि शर्मालीगढी पुगिन्छ । त्यहाँ पुगेपछि कच्ची सडकबाट १० मिनेट उकालो चढेर शर्मालीगढी किल्ला अवलोकन गर्न सकिन्छ । रानी सल्लाको घना जङ्गलबीचबाट बहने मन्द शीतल हावाले उकालो चढ्दा बगेको पसिना छिनमै सुकाउँछ । यहाँबाट डडेल्धुराको अमरगढी किल्ला र नालापानी किल्ला जाने बाटोमा पर्ने भारतको पिथौरागढ जिल्ला प्रष्ट देखिन्छ ।
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महìवका हिसाबले डडेल्धुराको अमरगढी किल्ला र बैतडीको शर्मालीमा रहेको शर्मालीगढी किल्ला महìवपूर्ण किल्ला हुन् । अङ्ग्रेजसँगको लडाइँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी किल्ला हुँदै तत्कालीन सेना नालापानी गएकोे भनाइ छ । नेपाल–अङ्ग्रेजसँगको लडाइँमा अमरसिंह थापा लडाइँको मोर्चा सम्हाल्ने कमाण्डर थिए । उहाँकै नामबाट यो शर्मालीगढी किल्लालाई अमरगढी किल्लाका नामले चिनिने गरेको छ ।
शर्मालीगढी नजिकै रहेको नागार्जुन माध्यमिक विद्यालयको मैदानमा त्यतिबेला सेनाको कवाजस्थल भएकोले त्यो ठाउँलाई अहिले पनि खलङ्गा भनिन्छ । अहिले त्यहाँ विद्यालयको खेलमैदान रहेको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह साउदले जानकारी दिनुभयो । ऐतिहासिक शर्मालीगढीको संरक्षण हुन नसक्दा महìवपूर्ण हातहतियार हराइसकेका छन् । पुर्खाले कति दुःख गरेर नेपाल जोगाएका रहेछन् भन्ने कुरा आँखै अगाडि देख्न सकिने किल्ला हामीले जोगाउन नसक्दा दुःख लागेको पनि उहाँले बताउनुभयो । शर्मालीगढीको बारेमा स्थानीय शिक्षक शिवराज कलौनीले स्थानीय बुढापाका व्यक्तिको श्रुति सङ्कलन गरेर ‘लुकेको शर्मालीगढी’ नामक पुस्तक लेख्नुभयो । यसबारे पुस्तक लेखिए पनि हातहतियार भने भेटाउन सकिएको छैन । किल्लामा गोर्खालीले लेखेका ढुङ्गाहरू रहेको सुने पनि गएर हेर्दा केही फेला पार्न सकिँदैन । यसका लागि थप खोज गर्नुपर्नेे कलौनीको भनाइ छ ।
शर्मालीगढी किल्ला जोगाउन गाउँपालिकाको प्रयासले मात्र नपुग्ने भएकोले प्रदेश सरकार र सङ्घीय सरकारले पुरातत्व विभागमार्फत संरक्षणको पहल चाल्नुपर्ने शिवनाथ गाउँपालिकाको भनाइ छ ।
किल्लामा बाँकी रहेका केही ढाल र तरबार डडेल्धुराको अमरगढी किल्लामा सारिए पनि केही तरबार अझै पनि गाउँमा हुनसक्ने शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउद बताउनुहुन्छ । किल्लाभित्रको हतियार राख्ने ठाउँ जीर्ण बनेर भत्केपछि किल्लासमेत हराउने अवस्थामा पुगेको छ । किल्ला भत्केर ढुङ्गा छरपस्ट देखिन्छन् । किल्लाभित्र रहेको कोतखाना भत्केपछि त्यहाँ अहिले गोठालो जाने बालबालिका खेल्ने ठाउँ बनेको छ । जीर्ण बनेको शर्मालीगढी किल्ला संरक्षणका लागि गाउँपालिकाले ११ लाख रुपियाँ खर्च गरेर बार लगाउने काम गरिरहेको छ । गाउँमा भएका ढाल र तरबार खोजी गर्ने काम भने हुन सकेको छैन । त्यति बेलाका सेनाले गाउँमा पानी खान बनाएको ‘गोर्खाली न्वालो’ कुवाको समेत संरक्षण गर्न स्थानीय सरकार जागरुक बन्नुपर्ने बेला आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?