logo
२०८१ बैशाख ८ शनिवार



नाटक : मञ्चमा कुमारी कथा

शनिवार |


नाटक  : मञ्चमा कुमारी कथा



मोहनप्रकाश

नेपाल मण्डल त्यो बेला ठूलो ताल थियो । रमणीय दृश्य, शान्त र सुन्दर वातावरणले जो कोही पनि मोहित हुन्थे । ऋषिमुनिदेखि देवतासम्म पनि यहाँ आएर ध्यान गर्थे । आँखाको मोहनी र तालको सुन्दरताको मिलनले यहाँ नयाँ सृष्टिको अनुभूति दिन्थ्यो ।
भर्खरै बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भएको ‘कुमारी’ नाटक कथाको पृष्ठभूमि हो माथिको वर्णन । काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो शास्त्रीय नृत्यचर्याको माध्यमले प्रस्तुत गरिएको नृत्य नाटक हो ‘कुमारी’ । थोरै संवाद भए पनि कथा भन्ने शैली भने कला र नृत्य नै हो । सायद रङ्गमञ्चमा मानवीय भावना पोख्न शब्दजाल नै अपरिहार्य पनि होइन होला । नाटक हेर्दै गर्दा यस्तै अनुभूति हुन्छ । ध्वनि अर्थात् सङ्गीत, प्रकाश प्रक्षेपण, भेषभूषा, मञ्च, कारियोग्राफी, नाटकमा प्रयोग हुने ‘प्रप्स’हरूको सुन्दर प्रयोगले मात्र पनि विषयवस्तुलाई उठान गर्न पर्याप्त बल दिएको छ । शिल्पी थिएटरमा पुस २६, २७ र २८ गतेसम्म नियमित मञ्चन भएको यो नाटक काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुला डबलीमा पनि जाने तयारी भइरहेको नाटकका परिकल्पनाकार तथा बज्र कला कुञ्जका अध्यक्ष चन्द्रमान मुनिकार बत(ाउनुहुन्छ । भिजिट नेपालको अवसरमा उपत्यकाको मिथकीय कथालाई चर्याका माध्यमले जनमानसमा पु¥याउने उहाँको उद्द्ेश्य छ । मल्लकालमै निर्माण भएका काठमाडौँका चार सहरका खुला आकाशमुनिका डबलीलाई मञ्चको रूपमा प्रयोग गर्न आतुर छन् नाटक निर्देशक घिमिरे युवराज पनि । उहाँको विचारमा नाटक मञ्चनमा मञ्च अपरिहार्य छ तर सजिसजाउ मञ्चमात्र ठूलो कुरा होइन । गाउँघरका खेतका गह्रा र घरका आँगन पनि मञ्च बन्न सक्छन् । उहाँ यस्तै ध्याउन्नमा हुनुहुन्छ । साँझको समयलाई प्रकाशको सहायताले काठमाडौँ सेरोफेरोका यस्तै खुला डबलीमा कुमारी कथा पस्किन उहाँ लालायित हुनुहुन्छ । परम्परागत रङ्गघरको पर्खाल भत्काएर सर्वसाधारणसम्म कसरी रङ्मञ्च पु¥याउन सकिन्छ भन्ने सोचमा हुनुहुन्छ उहाँ ।
“यो सपना हो कि विपना हो । आफ्नै प्रेमिकाबाट यस्तो घात ? मलाई विश्वास भइरहेको छैन ।” नाटकमा दैत्यको उक्त संवादमा कुमारीको संवाद चल्छ, “म आफैँलाई विश्वास लागिरहेको छैन
प्रिय ! मानौँ म पनि सपनामै छु । सपनाबाट ब्युझिँदा यस्तो अनर्थ केही भएको नहोस् । मैले आफ्नै प्रेमीको हत्या गरेको नहोस् ।”
परापूर्वकालमा छलकपट गर्न माहिर देवतादेखि दैत्यहरू मात्र होइन, वर्तमानमा पनि मानवीय सत्ता नै छलकपटमा लिप्त देखिन्छ । माथि उल्लेखित कुमारी दैत्यसंवाद त्यसैको विम्ब जस्तो पनि लाग्छ । काठमाडौँ उपत्यका निर्माणको विविध मिथकका आयाम र कथाहरू छन् । यसमध्ये कुमारी नाटकमा मञ्जुश्रीको मिथकीय मियोलाई समातिएको छ । काठमाडौँ उपत्यका बस्ती बस्न योग्य भइसकेपछि नेमुनिदेखि महिषपाल, गोपाल, किराँत, लिच्छवि हँुदै मल्लकालसम्म आइपुग्दा बाग्मतीबाट धेरै पानी बगिसकेको थियो । लिच्छविहरूले कलाको जग बसालेर गएको तत्कालीन नेपाल मण्डलमा मल्लहरूले निरन्तरता दिए । मल्लहरू तन्त्रमा विश्वास गर्थे । यो उपत्यकाको बस्तीलाई सुरक्षित राख्न उनीहरूले खड्ग आकारमा अष्टमातृकाका रूपमा देवीका शक्तिपीठहरू स्थापना गरे । तिनै अष्टमातृकाको चर्यानृत्य, कुमारी कथा र शक्तिपीठको सङ्गम हो कुमारी नाटक ।
नेवारहरूकी परमपूज्य पवित्र देवी कुमारी नाटकको केन्द्रीय चरित्रमा छिन् । हिन्दू धर्ममा प्रत्येक कुमारी पवित्र देवीका रूपमा पुजिन्छ । यसो भन्दैमा उनीहरू मानवभन्दा बाहिर हुन्नन् । उनीहरूको हृदयमा पनि प्रेम पलाउँछ । पुरुषको आलिङ्गनमा बाँधिन चाहन्छन् तर दैत्यले छल गरेर कुमारीमाथि आफ्नो अभीष्ट पूरा गर्न खोज्दा प्रेमले प्रताडित कुमारीको क्रोधले दैत्यको हत्या उनकै हातबाट हुन्छ र कुमारीको हृदयबाट प्रस्फुटित हुन्छ कुमारित्वको प्रसव वेदनायुक्त संवाद, “मेरो दोब्बर शक्ति कुमारित्वको कारणले भएको हैन । बरु मेरो निष्ठाको कारणले भएको हो । हरेक पुरुषले के बुझ्नु भने कुनै पनि नारीको कुमारित्व पुरुषले हरण गर्न सक्दैनन् । कुमारित्व नारीको मनमा हुन्छ । हरेक पटकको सहवासपछि हरेक नारी फेरि आफ्नो कुमारित्वमा फर्कन सक्छे उसमा निष्ठा छ भने । उसले कसैलाई धोका दिइरहेकी छैन भने । मेरा लागि त हरेक नगरवधू एउटी कुमारी हो । किनभने उसले हरेक पुरुषलाई आफ्नो जीवनको प्रथम पुरुष झैँ ठानेर निष्ठाले सेवा गर्छे । तिमीले प्रेमीको आवरण मात्रै धारण गर्न खोज्यौ तर तिमीमा त एउटी नगरवधूमा जति पनि निष्ठा रहेनछ । तिम्रै कारणले कैयौँ प्रेमिकाले आफ्ना प्रेमीहरूलाई सन्देह गर्नेछन् ।”
बज्र कलाकुञ्जको प्रस्तुति रहेको यो नाटकको कोरियोग्राफीमा त्रिना कुलुले धेरै मेहनत गर्नुभएको छ । त्यस्तै सङ्गीत संयोजनमा निरज शाक्यले आकर्षण थप्नुभएको छ । ईंगीहोपो कोइँच सुनुवारले प्रकाशमा सुन्दर काम गर्नुभएको छ । त्यस्तै भेषभूषामा उद्रीसा चौधरी, मञ्च परिकल्पनामा झकेन्द्र बी.सी., ध्वनि पचिालनमा कुन्दन थारू रहनुभएको छ । रश्मि महर्जन, नानुमैया महर्जन, सिर्जना शर्मा, अनिशा श्रेष्ठ, सृष्टि शाक्य, रचना महर्जन, सृष्टिना मुनिकार, त्रिना कुलु, भागीरथी शाही, ऋतु दर्शनधारी, सुदनमान मुनिकार, योहांग राईले अभिनय गर्नुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?