logo
२०८० चैत्र १६ शुक्रवार



तल्लो कमिटीको एकता छिट्टै टुङ्गिन्छ : प्रचण्ड

मुख्य समाचार |


तल्लो कमिटीको एकता छिट्टै टुङ्गिन्छ :  प्रचण्ड


होमराज रानाभाट

देवचुली (नवलपरासी) माघ १० गते । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको राष्ट्रिय अनुकुलतालाई सर्वोपरी हितमा राखेर मात्रै एमसीसी सम्झौता हुनु पर्नेमा जोड दिनुभएकोछ ।

दाहालले एमसीसी सम्झौताबारे अमेरिकासँग पुनः संवाद र व्यापक छलफल गरी त्यसलाई परिमार्जन गरेर मात्र सम्झौता अगाडि बढाउन सकिने स्पष्ट पार्नुभएको छ । नेकपा जिल्ला कमिटी पूर्वी नवलपरासीले नवलपुरको देवचुलीमा गरेको नेकपाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदैं प्रचण्डले पाटी एकता प्रक्रिया केही ढिला भए पनि मुलभुत रूपमा एकता प्रक्रिया टुङ्गिएको बताउनुभयो । अध्यक्ष प्रचण्डले सुस्ता र कालापानी लगायतका सिमा विवाद बारे दुई देशबीच छलफल भईरहेको बताउदै विवाद समाधानका लागि सरकार लागिपरेको समेत बताउनुभयो ।

उहाँले वर्तमान सरकार दुई तिहाईको सरकार त्यो पनि वामपन्थीको सरकार भएकाले जनताका पक्षमा सरकार संवेदनशील भएर लागिपरेको र जनताले देख्ने गरि काम गर्ने र त्यसका लागि समय चाहिने भएकाले पनि सरकार एकचित्त भएर नेपालको चरम विकासमा लागेको बताउनुभयो । उहाँले परिणाम चाँडै निस्कने भन्दा पनि विकासको नयाँ मोडलका साथ अघि बढेको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढेको र सरकारका राम्रा कामको प्रचारप्रसार गर्न कार्यकर्ता चुक्न नहुनेमा जोड दिनुभयो ।

अमेरिकी सरकारले नेपालका लागि अघि सारेको एमसिसी प्रस्ताव परिमार्जन गरि लागु गरिनेमा पनि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभएको छ । अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनिती अघि सारेकाले विवाद भएको भन्दै नेपालमा विवादित अवस्था नआउने प्रचण्डले कार्यकर्तालाइ विश्वस्त पार्नुभयो । अमेरिकी सरकारबाट १० बुँदे स्पष्टिकरण आएको बताउदै अध्यक्ष प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अधि बढ्ने बताउनुभएको छ ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले माघ १५ गते बस्ने केन्द्रीय समितिको बैठकले नेकपाको तल्लो स्तर सम्मका सबै एकता टुङ्ग्याउने दावी गर्नुभयो । एकता पश्चात् नेकपाले नयाँ अभियान सहित देशब्यापी प्रशिक्षण अभियान शुरु गर्ने समेत प्रष्ट पार्नुभएको छ । हिजो मात्रै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले सोचे अनुरुपको शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।
भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेर प्रकाशित गरेको नक्साले नयाँ विवाद सिर्जना गरेको बताउदै नवलपरासीको सुस्ता र नेपालको विरपुर्खाले हाँसिल गरेको कालापानि क्षेत्रको बिवादलाई दुवै देशले जटिल विवादको रुपमा स्विकारेको बताउनुभयो । देशको भुमि फिर्ता ल्याउन सम्पूण राजनितिक दल, नागरिक समाज, बौद्धिक ब्यक्तित्व एकिकृत भएको प्रति धन्यवाद ज्ञापन गर्दै नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेश जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाको अध्यक्षता रहेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । त्यस्तै शुक्रबारनै नवलपुरको भिमसेन आर्दश माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समेत अध्यक्ष प्रचण्डले समुद्घाटन गर्दै विद्यालयको चौतर्फी विकासका लागि आफ्नो सदैव सहयोग रहने प्रचण्डले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?