logo
२०८० चैत्र १६ शुक्रवार



बाक्लो हुस्सुसँगै बढेको चिसोले जनजीवन कष्टकर (फोटो सहित)

पढ्नै पर्ने |
प्रदेश |


बाक्लो हुस्सुसँगै बढेको चिसोले जनजीवन कष्टकर (फोटो सहित)


धीरेन्द्रप्रसाद साह

राजविराज, माघ १० गते । पछिल्लो तीन दिनदेखि बाक्लो हुस्सु कुहिरो र चिसो हावाले जनजीवन कष्टकर बनेको छ । सप्तरीको ग्रामिण भेगका गरिब, विपन्न एवम् दलित परिवारको जनजीवन सबैभन्दा बढी चिसोले कष्टकर बनेको हो ।

बिहानदेखि बेलुका दिनभर सबैभन्दा बढी चिसो हावा चल्ने, शीतलहर हुने, बाक्लो हुस्सु लाग्ने हुँदा अत्यधिक जाडो हुने गरेको मलेठका लक्ष्मण राम बताउँछन् । फुस संरचनाको टुटफुट घरमा बस्दै आएका उहाँले चिसोले कठ्याग्रिने र मृत्यु हुने प्रवल सम्भावना रहने भएकोले यसबाट जोगिन निकै मुस्किल भइरहेको बताउनुभयो ।

परालको ओछ्यान र परालको ओढ्नासँगै आगो तापेर चिसोसँग लडदै आएको अर्का लखन सदाले बताउनुभयो । दैनिक मजदुरी गरी छाक टार्ने उनीहरुलाई ठण्डीमा मजदुरी नपाउँदा हातमुख जोड्ने थप समस्या झेल्नु परेको बताउँछन । चिसोमा काम कम हुने भनेर धनीहरुले मजदुरी लगाउँदैनन उहाँले भन्नुभयो,- एकाबिहानै कामको खोजीमा घरबाट निस्किन्छु, चारैतिर भौतारिन्छु तर, काम भने पाउँदैनन । भरै रित्तै घर फर्किन्छु ।

चिसो हावासँगै बाक्लो हुस्सु लाग्ने र तीन दिनयता घाम नलागेका कारण जिल्लाको सहरी तथा ग्रामीण भेगका मानिसले जाडोको निकै महसुस गरेका छन् । जाडोे निकै बढेकोले शहर बजारमा हिँड्नेहरुले बाक्लो लुगा लगाएर हिँडनुपर्ने बाध्यता रहेको राजविराज–९ का प्रदिप झाले बताउनुभयो । जाडोबाट जोगिन घर–घरमा दाउरा तथा हिटर बालेर ताप्ने गरेको भन्दै उहाँले पढन जाने बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेको छ । कक्षाकोठा चिसिने हुँदा बालबालिका बढी प्रभावित हुने गरेको भन्दै अभिभावकहरु भन्नुहुन्छ–स्कूलको कक्षाकोठामा घाम जादैनन्, बेन्चडेस्क सबै चिसो हुन्छ, जति बाक्लो लुगा लगाएर नानुलाई पठाएपनि चिसो लागिहाल्छ ।

चिसो बढ्दै जाँदा रुघाखोकी, निमुनिया, कोल्ड डायरियाका बिरामी संख्या बढ्ने बढी संभावना रहेको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । चिसोले बालबालिका, बुद्धबृद्धा बढी प्रभावित हुने गरेको बताएको छ ।

मानिस मात्र होइन, चौपाया, पशपंक्षी समेत चिसोले प्रभावित भएको कृषकहरु बताउँछन । किसानले पालेका गाई गोरु, बाख्रा, कुखुरालाई चिसोमा जोगाउन हमेहम्मै हुने गरेको कृषक देवनारायण यादवले बताउनुभयो । गाईवस्तुलाई जुट बोराको ओढना बनाएर ओढाउने, घुर बालेर गोठलाई न्यान पार्ने गरेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?