logo
२०७७ असार २३ मंगलवार

मुर्काटेमा ढुङ्गेनी भतेर

शनिवार |


2020-01-11-6915



युवराज नयाँघरे

‘मौरी पो भएँ म त !’ साँखदह फन्को मारेर उत्तरको पाखो उभिँदा कुरा खेले मनमा । चारैतिर पहेँलपुर तोरी फुलेको थियो । गरा माझमा टुप्लुक्क घरहरू ठडिएका थिए । पहेँलै तोरीले मन उचालियो । बिहानै मुसीकोटबाट साँख दहको बखान सुनेकोले यता आएथेँ म । रुकुमको साँखदह पनि नामी रहेछ ।
मास्तिर अजङ्गको पहाड पूर्व–पश्चिम पसारिएको थियो । फेदीमा टार देखिन्थ्यो । त्यहाँ पनि तोरीबारी, बाटा र टाँडे घरहरुले आँखा लठ्ठिन्थे । साँखदहबाट तेर्पे बाटो भएर माथि सडकसम्म पुगुञ्जेलमा दुई वली र एक बूढाले छोडेनन् । पूर्ण, मनराम अघिपछि हुन्थे । पूर्ण थिए अर्का रौसे बूढा । थरले बूढा भए पनि ती ज्यानले नि बुढ्यौलीतिर उक्लेथे ।
दक्षिणतिर लस्करै चुली थिए । केही टार र झुरुप्प बस्ती नि टुप्लुकिइरहेथे । हामी उत्तर ताकेर माथि सडक छेउमा पुग्दा पूर्ण बूढा मेराछेउ परिहाले ।
‘ऊ त्यो तिला गैरा !’ ‘भाटा लराउने चैँ त्यो !’
‘यताको चैंँ झिउसेली पाखा !’ पूर्णले औँल्याएतिर हेरेँ ।
मुस्काएर वरपरका सबै थुम्का, पाखा र टारहरु हेरेँ । पश्चिम रुकुमका यी मलिला पखेरा, गाउँ र बस्तीमा उज्यालो छरिएर मग्न भइरहेथेँ म । अनि मज्जैले पूर्व हुइँकिएर हामी पुगेथ्यौँ मसिना पाखा । यसै पाखाबाट असिनपसिन सुरु हुँदै थियो । यहीँबाट पसिनाका शब्द घोकेर वाक्य लेख्नुपर्ने थियो । अनि लामै समय पसिनाका आपट्टे–आपट्टे अनुच्छेदमा घोत्लिनुपर्ने थियो । ‘यो मसिना पाखा !’ ओपेन्द्रकुमारी बूढाले बाटो देखाउन थालिन् । ‘खोइ त बाटो ?’
मैले पहिरिइरहेको भीरमुनि लुकेर सोधेँ । मेरा वरिपरि अरू नि थिए । तिनका आँखामा पनि उस्तै खुल्दुली थियो– ‘साँच्चि, खोइ त बाटो हँ ?’ सत्तरी टेकेकी बूढी ठाडै भीर नाघेर माथि पुगिहालिन् । ‘आऊ–आऊ’ उनको बोली म तल बसेर सुनिरहेको छु ।
‘हत्तेरिका, हाम्रो फोक्से ज्यान !’
बिस्तारै भीर चढेँ । अरूहरु नि हुलमा मिसिए । ओपेन्द्रले निकै पर पुगेर मेरा पाइला चलाइ हेरिरहिन् । भीरमा आफैँ बाटो बनाएर हिँड्नुपथ्र्यो । पोथ्रापोथ्री क¥याककुरुक पार्दै, लहराबाट जोगिँदै म लम्किरहेको थिएँ । मसिना गिर्खे ढुङ्गा औधि कडा थिए ।
‘यी काँडा हुन् कि ढुङ्गा ?’ ‘हावापानीले ताछिएका ढुङ्गा ।’मनराम बोले । घसेरा, दाउरा र गुवालाले चिरेका सुरिला डोब र खिरिला गोरेटाले वनमा अल्मलिन्थे आँखा । कता पो लाग्ने होला ! बाटोमा अइरी, ऐँसेलु, कुकुरडाइनो, टिम्मुर, चोथ्रा, करेली घँगारु, खस्रु, रइस, डिमुरका लहरा र बिरुवा चिनिरहेथेँ म । निकै तेर्सो हिँडेपछि माथि फराकिलो ठाउँमा थेच्चिएँ म । मलाई गिरिप्रसाद, मनराम र पूर्ण वलीले छोडेका छैनन् । ओपेन्द्रको अनुहार त के हराइसकेको छ छायाँसम्म ।
‘तेरो जोस सिद्धिएछ केटा !’
उकालीमा दम फुलेपछि मैले गनगन गरेँ ।
गोठालेपानीमा पुगेर ज्यान छोडेर थेच्चिएँ म । साह्रै लल्याकलुलुकिएका थिए खुट्टा । दक्षिणतिर खोँच, टार, पखेराले झकिझकाउ देखिन्थ्यो । त्यसलाई अर्को ठूलो लमतन्ने डाँडाले छेकारो मारेर अँगालो हालेको लाग्थ्यो । ‘ऊ त्यो नौ बैनीको लेक !’ मनरामले नागबेली परेर गएको पहाड देखाए । पहाडका अनेक चुचुरा अग्लिने र थेप्चिने क्रममा देखिन्थे । हरियो वनले पहाडका टाकुरा लोभलाग्दा लाग्थे ।
तल बेगिएर पूर्व गएको धुलाम्मे बाटोले रोल्पा भएर बाग्लुङ निस्कने छाँटकाँट छ भन्थे वली र बूढा । ती दुवै अनेक तर्क तेस्र्याएर बाटोले छुने पहाड, लेक र नदीबारे बताइरहेथे ।जङ्गल बाक्लिँदैछ । उकालो पनि दोब्रिई–दोब्रिई सामु परिरहेको छ । पसिनै छुटायो बाटोले । निकै माथि पुगेपछि घाम पछाडि प¥यो । जङ्गलमा अग्ला–अग्ला बोटहरु भेटिए ।
बाटो दक्षिण लाग्नै लाग्दा साथीहरु भेटिए । थकाइ मारेर बस्नेहरू कोही अकास पढिरहेथे, कोही धर्तीकै जपनाले थिचिएथे । ओपेन्द्र र सिर्जनाले पालैपालो पानी खाए । जङ्गलको सिमपानी खान आँट गरिनँ मैले । टोपी डुबाएर पानी झिकेँ । त्यसको सिको अघिकाबाट गरेथेँ मैले । उकालो लाग्दा पूर्ण बूढाले भने– ‘साउने पानी यो । अन्त सुके नि याँ रसाइरहन्छ ।’ फेरि तर्पाया र तेर्सोमा हाम्रो हुल पुग्यो । वन पातलिएर अनौठो छायाँ वरपर आयो । आँखाले अब के देखिएला– के देखिएला भनिरहेका थिए ।
‘ओहो, यस्तो पो !’
हामी त स्वाट्टै ठूलो चौरमा पुगेछौँ । वरिपरि घनघोर जङ्गल छ । माझमा ठूला–ठूला चौर । बीचमा थोरै सुकेको अनि पूर्व र पश्चिमी कुनामा बेस्सरी फुकेको चौरलाई ठूलीदह भनिँदोरहेछ । ‘दहमा पानी खोइ त ?’ ‘तलैबाट ल्याएकी छु !’
बोली भुइँमा खस्न नपाउँदै ओपेन्द्रले प्लास्टिककै पानी बोतल थमाइन् हातमा । मैले एक थोपो पानी नरही सुकेको लमतन्ने रह हेर्दै हर्हराएको आँत मेटेँ । दह पूरै सुकेको थियो । ‘द्वन्द्वका बेला यीँ त तालिम गर्थे !’
बूढाले इतिहास सम्झिए । ‘सुरक्षित फेरि त्यत्तिकै । सेना–प्रहरी कसैले नदेख्ने !’ वलीले थपे । हुन पनि लड्दैपड्दै डेढ घण्टाको उकालीपछि हामी आइपुगेथ्यौँ । ब्यारेक र थानाको सरकारी शक्ति सजिलै के आइपुग्थ्यो होला र यो ठाउँमा ! निशानाबाट जोगिएर ठूलीदह पुग्न सजिलो काँ पो थियो होला र ? ‘तपाईंहरूलाई यहाँ सिगारुँ, टप्पा, मयुर नाचहरु देखाउने रे । मैले तपाईंहरूसँग त्यो लोप भएको नाच नदेखाई भो त !’ बूढाको अनुहारमा चमक थियो । पश्चिमबाट ठूलै हूल हामी भएतिरै आइरहेथ्यो । हामीले झोला, पन्तुरा रुखमुनि बिसायौँ । फेरि उत्तरतिर लाग्यौँ हामी ।
पूर्णबहादुर अघि लागे । बाटोमा डिमुर खुवाए । डिमुर मधेशमा फल्ने जस्तै स्वादिलो थियो । उकाली निकै अप्ठ्यारो थियो । ढुङ्गाका पत्रे खात पानी र लेकाली हावाको प्रहारले एकदमै धारिला थिए । हत्केला पर्नासाथ कोत्रिइहाल्थे । ‘हत्तेरिका, गलियो पो !’ सँगै गएका साथीहरू माथि पुगेर हल्लीखल्ली गरिरहेथे । लट्ठीको टेकोमा अडिएर म दिक्क भइरहेथेँ ।
रुकुमभरि तालैताल रहेछन् । ताल र टाकुराले गर्दा प्रसिद्धि कमाएको रहेछ रुकुमले । जताततै ताल र टाकुरा देख्न पाइन्थ्यो । ‘मैले जानेका तालको नाम भन्छु है त !’सिर्जनाले भट्याउन थालिन्– ‘स्यार्पुताल, ठूलो गुप्तादह, कमलदह, गुप्तीदह, सुनदह, तोड्क्या ताल, साँख ठूलीदह, पुपाल ताल, तिलाचन ताल, दहनेटा, साँखदह, बिर्गुम खानी, जुम्लीपोखरी दह ।’ उकालीमा मेरा छेउमा थिए पूर्ण वली । त्यसपछि अरू तालका नाम थपे वलीले– ‘रोलखोला दह, नम्छैंगो ताल, शीतलपोखरी, पोखरी लेक, काँडादह, मार्वीताल, मिँ हिमताल, सानो गुप्तादह, मुसीउ हिमताल, पार्वी हिमताल, खागर हिमताल, पाटन हिमताल, बुकी हिमताल ।’
पश्चिमी पाखो भएर हामी उकालो उक्लिइरहेका थियौँ । एउटा ढुङ्गेनी चुली सकिएपछि चुचुरोमा पुगिएला भन्ने लागेथ्यो । हिउँले ताछेर बेस्सरी पाकेका ढुङ्गे परिकार लाग्थे । अर्थात् भतेर । गुजुज्ज उम्लिँदा पानी फोका जमेजस्ता— ढुङ्गा पाक्दा त्यसमा फोका सरक्क जमेका देखिन्थे जताततै ।
स्वाँ स्वाँ... ! स्वाँ स्वाँ... !! कति धेरै भयो–भयो ।
खुट्टा पनि पो बाउँडिए । पाँसुला पनि थल्लिए । हावाले बेला–बेला फुइँकी मार्दै थियो । म पूर्वतिरको फेर समातेर उकालीतिर लम्केँ । माथि पुगेर साथीहरू कराइरहेथे, रमाइरहेथे, चम्किरहेथे । बिस्तारै मास्तिर लागेँ । हावा पनि बढ्दै गयो । उसको वेगलाई साथी नमानी करै थिएन । थपक्क माथि चुलीमा पुगेपछि मेरो बोली हरायो । म निःशब्द रहेँ । अकल्पनीय संसारमा म पुगेको थिएँ । मेरा अघिल्तिर एउटा विचित्रको हिउँचुली गजधुम्म थियो । वरिपरि अनेक चुली थिए । तर त्यो अग्लो चुलीको आधा भाग सेतै हिउँ बोकेर अनि आधा भाग पहेँला–काला चट्टानले सिँगारिएर बसेको देखिन्थ्यो । कचौराको दहीको बीचमा हत्केलाले अर्ध चन्द्राकार शैलीले स्वाट्ट छिनाले जस्तो रूप देखिन्थ्यो सिस्ने हिमालको । द्वन्द्वकालभरि मैले खुबै सुनेँ– सिस्ने हिमालको नाम । युद्ध, लडाइँ, मारकाट, लास, हमला, कोलाहलका बीचमा सिस्नेको नाम पटक–पटक आइरहन्थ्यो ।ओहो कति मोहक, कति सौम्य, कति भद्र ! हिजो किन यसको सेतोलाई आलो रातोमा बदलियो ? मैले बाघखोरबाट पारिको सिस्ने हिमाल हेरिरहँदा मनभरि अनेक कुरा फत्काएँ । सिस्ने हिमालको पुरानो नाम रहेछ– मुर्काटे हिमाल ।‘किन यस्तो नाम ?’ ‘यो र अलिक परको हिमाल बीच मामा–भाञ्जाको नाता छ । मामाभन्दा यो भाञ्जाको टाउको अग्लो भएकोले यसको ‘मुर’ काटियो । अनि यसलाई मुर्काटे हिमाल नि भन्छन् ।’ पूर्ण बूढाले फलाके ।
उनले पारि हिमालमुनिका गाउँ पुमागार, चिर्दी पाटन, बुगी पाटन, त्रिवेणीसम्म देखाए । बुमा, भाटीको लेकसम्म चिनाए । ‘बाली छँदा धेरै हिउँ देखिन्छ । हाम्रो खेतमा बाली नहुने हो भने मुर्काटेमा हिउँ थोरै देखिन्छ ।’ बूढा बोलिरहेथे ।
हावा बेस्सरी हुइँकियो । हावाको फुइँकीले लडाउला जत्तिकै ग¥यो । चिसो स्याँठले आँखाभरि आँसु नै उमा¥यो । ओठ पटपटी फुटुँला झैँ भयो ।
सिस्ने हिमाल हेरिरहेका मेरा आँखामा जाडो, भोक र थकाइ आएन । लुकेर हृदयको कुनामा बसिरहे ।
‘अब झरौँ !’ बूढालाई मैले हतारो देखाएँ । उनी अरू हिमालका कथा, सौन्दर्य र आकारबारे बखान गर्ने रहरमै थिए तर मेरो अत्यासले उनी ओर्लिन बाध्य भए ओराली । अघि गएभन्दा निकै परको तर्पायाँ भएर हामी तल ठूलीदह आयौँ । त्यहाँ नाच, खानपान र सत्कार भइरहेको थियो । दह नाघेर उत्तरतिरको किनारमा पुग्दा बूढा देखाइरहेथे– देउताले बनाएको घर ।
‘देउताले बनाएको घर भएकैले यो नडुबेको !’
घरका केही ढुङ्गा, गारा थिए । ओडार आकारका घर पुरातात्विक हिसाबले मूल्यवानै थिए । त्यसलाई हेर्ने, नियालेर पर्गेल्ने चासो पो कसलाई । कुनै समयमा त्यसकै कुइनेटो राखेर निशाना ताकेकै हुँदा हुन् । अब त्यै कुन्दा चलाउने समूह देश हाँकिरहेकै छँदा– तिनले यस्ता नडुबेका घरको इतिहास खोतले जाती नै हुन्थ्यो ।
अघि टप्पामा गाएथे बूढाले–
‘राजैको दरबारमा नबोल्ने लाटो
माया पठाइदेऊ साई रिडीको बाटो
टोपी भो मैलो, पगरी देऊ राजा ।’
जङ्गलैजङ्गलको ओराली नाघेर तल साँख पुग्दासम्म मलाई सबैले छोडिसकेथे । साँख पुग्दा झमक्क साँझ परेको थियो । खलङ्गा निकै पर थियो ।
मेरा आँखाले खुसी भएर भने– ‘नरिसाऊ है, मैले मह ल्याएको छु नि ।’ सिस्ने, ठूली दह र साँखको मह चाख्नुस् है !  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?