logo
२०८० चैत्र १६ शुक्रवार



इन्जिनियरिङ शिक्षाको अभिलेख

शनिवार |


इन्जिनियरिङ शिक्षाको अभिलेख



काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक डा. भोला थापाको ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक बजारमा आएको छ । काठमाडौँ विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रम र त्यस कार्यक्रमलाई सघाउने नर्वेली प्राध्यापक इन्गे योहान्सनलाई आधार बनाएर नेपालमा इन्जिनियरिङ शिक्षाको प्रारम्भ र हालसम्मको विकासक्रमको रोचक विवरण यसमा प्रस्तुत गरिएको छ ।
लेखक डा. थापा प्राज्ञिक क्षेत्रको लामो यात्राका क्रममा विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक उपकुलपति हुनुभएका अनुभवी व्यक्तित्व हुनुहुन्छ । उहाँले पुस्तकको भूमिकामा लेख्नुभएको छ– ‘इन्जिनियरिङ कार्र्यक्रमका स्वप्नदर्शीहरूले कस्तो सपना देख्नुभएको थियो ? त्यसको नक्सा कसले कस्तो कोर्नुभयो ? त्यसलाई मूर्तरूप दिने वा निर्माण गर्न कोको आउनुभयो र जानुभयो ? साँच्चै काठमाडौँ विश्वविद्यालयको ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ को हुनुहुन्छ होला ? उहाँको योगदान भविष्यको पुस्ताले सम्झला कि नसम्झला ? विश्वविद्यालय विकासका इतिहासक्रम र दस्तावेज भविष्यका पुस्ताले हेर्न पाउलान् कि नपाउलान् ? त्यसैले विश्व बैङ्क, एसियाली विकास बैङ्क र पूरै सरकार लाग्दा पनि सुरु नभएको इन्जिनियरिङको शैक्षिक कार्यक्रम काठमाडौँ विश्वविद्यालयमा सुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महìवपूर्ण हुनसक्छ भनेर यो पुस्तक तयार गरेको हुँ ।’
लेखकको यही भनाइअनुसार नै यस पुस्तकमा नर्वेबाट नेपालमा आएर नेपालको ऊर्जा एवं औद्योगिक क्षेत्रको विकासका लागि बुटवल टेक्निकल इन्स्टिच्युट र विभिन्न जलविद्युत् आयोजनाको स्थापना गर्ने इन्जिनियर अड हफ्टनमार्पmत नर्वेको इन्जिनियरिङ शिक्षालाई उच्च स्थानमा पु¥याउनुभएका प्रा. इन्गे योहान्सनलाई नेपालमा ल्याइएको र योहान्सनले काठमाडौँ विश्वविद्यालयलाई सघाएको वृत्तान्त सविस्तार वर्णन गरिएको छ । ‘इनर्जाइज नेपाल’ को कार्यक्रम, प्राज्ञिक संस्था र औद्योगिक क्षेत्रलाई जोड्ने संस्था ‘सिन्टेफ’ सितको सहकार्य, ‘नर्वे हिमाल मिसन’ र ‘नोराड’ को प्राज्ञिक र आर्थिक सहयोग आदिको जानकारीका साथै ती कार्यमा प्रा. इन्गे योहान्सनका साथमा आफ्नो पनि सहभागिता रहेका सन्दर्भहरू पुस्तकमा वर्णित छन् । टर्बाइन टेस्टिङ ल्याबको स्थापना गर्ने र नेपालीलाई नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) सँग संलग्न गराउने विवरण पनि यस पुस्तकमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालयमा इन्जिनियरिङतर्फको स्नातक तहको जग कसरी बसालियो, स्नातकोत्तर तहको इलेक्ट्रिकल पावर इन्जिनियरिङ पाठ्यक्रम कसरी प्रारम्भ गरियो, त्यस पाठ्यक्रममा सुरुदेखि नै दक्षिण–पूर्वी एसियादेखि अफ्रिकासम्मका विकासोन्मुख देशका विद्यार्थीलाई कसरी समेटियो, विभागको विकास कसरी गरियो, अनुसन्धानात्मक अनुभव कसरी बढाइयो, त्यो विवरण पनि यस पुस्तकमा पढ्न पाइन्छ ।
पुस्तक काठमाडौँ विश्वविद्यालयमा नर्वेजियन सहकार्यको प्रसङ्गबाट प्रारम्भ हुन्छ र नेपालीले बिर्सन लागेका नर्वेजियन समाजसेवी अड हफ्टनका कारण एनटीएनयूसँग काठमाडौँ विश्वविद्यालयको स्वर्णिम सम्बन्धको सुरुवात भएको प्रसङ्ग आउँछ । काठमाडौँ विश्वविद्यालयमा ‘अन्डरग्राजुएट’ इन्जिनियरिङ कार्यक्रमको विकासक्रममा स्नातकोत्तर कार्यक्रममा पनि फड्को, नेपाल–नर्वे शैक्षिक सहकार्य, इन्जिनियरिङ शिक्षामा नौलो शैक्षिक अध्यापन पद्धति, प्रयोगशालाको निर्माण, कावि–हिमाल पार्टनर (एनएचएएम) बीचको सहकार्य, इन्जिनियरिङ प्रणालीको सामाजिक प्रभाव, जलविद्युत्मा नेपाल–नर्वे सहकार्य जस्ता विषयमा पनि यस पुस्तकमा जानकारी गराइएको छ । प्रा. इन्गे योहान्सनको योगदानको कदर गर्दै काठमाडौँ विश्वविद्यालयले आफ्नो इन्जिनियरिङ भवनलाई कसरी उहाँको नाम दियो भन्ने प्रश्नको उत्तर पनि यस पुस्तकबाट पाउन सकिन्छ । पुस्तकको अन्त्यमा प्रा. इन्गे योहान्सनको सङ्क्षिप्त परिचय प्रस्तुत गरिएको छ । पुस्तक काठमाडौँ विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवात, विकास, विस्तार, सुदृढीकरण र यसमा प्रमुख भूमिका खेलेका संस्थापक, शिक्षक, इन्जिनियर र प्रा. इन्गे योहान्सनको अभिलेख हो । यसका लागि लेखक प्रा. डा. भोला थापा बधाईका पात्र हुनुहुन्छ । इन्जिनियरिङ शिक्षासँग सम्बन्धित व्यक्तिका लागि पुस्तक पठनीय बनेको छ ।

 हरि मञ्जुश्री  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?