logo
२०७६ माघ १२ आईतवार

नाटक घर भरिभराउ

शनिवार |


2020-01-11-6913



सुकृत नेपाल

चलचित्रभन्दा नाटकप्रति दर्शकको मोह बढ्न थालेको छ । अर्थात् चलचित्र भवनमा भन्दा रङ्गमञ्चमा दर्शकको भीड बढ्दो छ । यो भीडले रङ्गमञ्चलाई चलायमान पनि बनाएको छ । प्रायः थिएटरमा नाटकका साथसाथै साहित्य, सङ्गीत र कलाजस्ता विषयमा विचार विमर्शका कार्यक्रम भइरहेका हुन्छन् । अहिले दर्शकले नाटक बुझेर हेर्न थालेका छन् । पहिला नाटक मनोरञ्जनका लागि मात्र हेरिन्थ्यो भने अहिले नाटकलाई केलाउन थालिएको छ । राजधानीका विभिन्न थिएटर (मण्डला थिएटर, शिल्पी थिएटर, शैली थिएटर, सर्वनाम थिएटर)मा चलिरहेका फरक स्वादका नाटक लगभग हाउसफुलमै मञ्चन भइरहेका छन् ।
‘झोला हराएको मान्छे’, ‘बुद्ध एन्ड बुलेट’, ‘विवाहको प्रस्ताव’ र ‘जामुनको रूख’लगायतका थुप्रै नाटक अहिले मञ्चन भइरहेका छन् । त्यस्तै घिमिरे युवराज निर्देशित ‘कुमारी’ र प्रदीपकुमार चौधरी (पीके) निर्देशित ‘झिम्के’ मञ्चनको तयारीमा छन् ।

रुद्रप्रसादको हराएको झोला
‘झोला हराएको मान्छे’ मा बिदेसिन बाध्य युवा पुस्ताको मनोदशा उजागर गर्न खोजिएको छ । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर आएको रुद्रप्रसाद पोखरेलको काठमाडौँ झरेपछि झोला हराउँछ । त्यही झोला खोज्नेक्रममा के–कस्ता समस्या आइपर्छन् भन्ने कुरालाई नाटकमा देखाइएको छ । कथाले झोलामा सपना बोकेर आफ्नो घर, गाउँ, देश छोडेर बिदेसिन बाध्य युवाको बाध्यतालाई उजागर गर्ने प्रयास गर्छ । विद्यमान देशको परिस्थिति हेर्दा हरेक दिन सयौँ युवा वैदेशिक रोजगारीका क्रममा झोलामा सपना बोकेर बिदेसिन बाध्य छन् । तिनै युवाको कथा हो
‘झोला हराएको मान्छे’ ।
क्याप मोसन पिक्चर्स र एम्प्टी स्टम्याक क्रियसनको संयुक्त प्रस्तुति रहेको नाटकलाई स्लिम जीवनले लेख्नुभएको हो । दीपेन्द्र शाहीको निर्देशन रहेको नाटकमा सुनिसा बजगाईं, चन्द्र नेपाली, विकास लामा, सञ्जीतप्रताप मल्ल, नवीनचन्द्र अर्याल, गणेश पौडेल (ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशालश्री, आनन्द महत, मोहन राई, सबिना थापा, अरुणसिंह पौडेल, सञ्जीप योगी, मणि पौडेलको अभिनय छ ।

संवादरहित नाटक
परम्परागत शिक्षा पद्धति र त्यसले पार्ने प्रभावबारे ‘बुलेट एन्ड द बुद्ध’ मा देखाउने प्रयास गरिएको छ । मानव जातिमा एउटै समयमा पनि दुई स्वभाव र विचारले असर गरिरहेको हुन्छ । प्रेम–घृणा, विवेक–मूर्खता, दया–क्रूरता अनि शान्ति एवम् हिंसाको भावना एकै समयमा पनि पालैपालो आउन सक्छन् । विवेकसम्मत एवम् प्राकृतिक रूपमा शिक्षित मानव आफ्ना भाव र विचारलाई नियन्त्रण गरी बोधिसत्व प्राप्त बुद्ध हुन सक्छ भने विपरीत भएमा बुलेट अर्थात् विनाशकारी वस्तुमा रूपान्तरित पनि हुन सक्छ । संवादरहित यस नाटकमा यी र यस्तै कुरालाई केलाउन खोजिएको छ ।
सधैँ नयाँ प्रयोग गर्न रुचाउने रङ्गकर्मी तथा निर्देशक आशान्त शर्माले यस नाटकमा पनि केही नयाँ विषय पस्कन खोज्नुभएको छ । कहिलेकाहीँ मनमा अनेक कुरा आउँछन् । मान्छेलाई एउटै कुरामा अडिन धेरै गाह्रो हुन्छ । यसलाई नै ध्यान दिएर निर्देशक शर्माले नाटक तयार पार्नुभएको हो ।
निर्देशक शर्मा भन्नुहुन्छ, ‘एक त म सिकारु नै छु जस्तो लाग्छ, त्यसमाथि नाटकलाई परीक्षण गरी छिटोभन्दा छिटो दर्शकमाझ ल्याउने हतारो ममाथि थियो । नाटक कस्तो बन्योभन्दा पनि नाटकबाट कस्तो प्रतिक्रिया आयो भन्ने कुरा ठूलो हो ।’ नाटक संवादरहित छ । धेरैलाई नाटक मन नपर्न पनि सक्छ । संवादरहित भए पनि नाटकले आफ्नो गति मन्द रूपमा लिएको छ । नाटकमा छ महिला र एक पुरुषले अभिनय गरेका छन् । अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । आशान्त शर्माको गीत र सगुन लिम्बूको गायनले नाटकलाई अझ मनमोहक बन(ाइदिएको छ । निर्मल साउद र सञ्जीव राईले गरेको लाइट डिजाइन मध्यमस्तरको भए पनि नाटकलाई सुहाएको छ । कलाकाहरू छिरिङ शेर्पा, रेनुका सिंह, रञ्जना कार्की, दिव्या मगर, सङ्गीता नेपाली, गोपिनी सेढाईं र मेलिना बर्देवाको अभिनयले नाटक मन छुने बनेको छ ।

दुईजिब्रे स्वभावमाथि व्यङ्ग्य
रूसी साहित्यकार एन्तोन चेखभको एकाङ्की नाटक ‘द म्यारिज प्रपोजल’ को नेपाली अनुवाद हो नाटक ‘विवाहको प्रस्ताव’ हो । एन्तोन चेखभको यो कृतिलाई सविन न्यौपानेले नेपालीमा अनुवाद र नवराज बुढाथोकीले निर्देशन गर्नुभएको हो । एक वृद्ध, उनको छोरी र छिमेकीसँग नाटक केन्द्रित छ । नाटकको पहिलो दृश्यबाटै नेताहरू कसरी सरकार र प्रतिपक्षको नकाव भिरेर जनताको अधिकार पचाउँछन् भन्ने देखाइएको छ । नाटकमा जनताको भोट लिएर देश हाँक्न खोज्ने उच्चपदमा पुगेका नेतालाई दरिलो व्यङ्ग्य प्रहार गरिएको छ ।
चेखभको यस नाटकले विवाहसँग जोडिएको सरल कथावस्तुलाई हास्यास्पद अवस्था सिर्जना गरी सामाजिक चाल–चलनलाई व्यङ्ग्य गरेको छ । नाटकमा मुख्य कलाकारका रूपमा शशाङ्क बोहरा, स्नेहा पौडेल र सुवास सुवेदी रहेका छन् । यी तीन कलाकारको अभिनयले नाटकमा दर्शक यति मग्न हुन्छन् कि एक घण्टा दस मिनेट बितेको पत्तो नै पाउँदैनन् ।
अन्य कलाकारमा रोविन तामाङ, सदिन लुइँटेल, दीप्ति पौडेल, विशाल घिमिरे, भारती रिजालको अभिनय पनि राम्रै छ । नारायण न्यौपानेको गीतमा देवेन्द्र बब्लुको स्वर र सङ्गीतले नाटकलाई झन् बुलन्द बनाइदिएको छ । नाटक रातोपुलस्थित शैली थिएटरमा माघ १० गतेसम्म मञ्चन हुनेछ ।

राजनीतिक अवस्थाको सपाट कथा
सरकारी सचिवालय अगाडि बूढो जामुनको रूख ढलेर एक आममान्छेलाई थिचेपछि ‘जामुनको रूख’ नाटक सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाउँदै एकपछि अर्को जिम्मेवारी पन्छाउँदै नाटक अगाडि बढ्छ । अझै थिचिएको मान्छेप्रति भन्दा ढलेको बूढो जामुनको रूखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयता प्रदर्शनसमेत हुन्छ ।
‘जामुनको रूख’ वर्तमान जटिल र विसङ्गत सामाजिक–राजनीतिक अवस्थाको सपाट कथा हो । पद र शक्तिमा रहेकाको अनिर्णय, अनियमिता, अकर्मन्यता, अव्यवस्था, असंवेदना, अमानवीयतालगायत कथा पनि हो । समग्रमा यो नाटक हाम्रो खोक्रिँदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो । यसर्थ, यो नाटक हामीले बाँचिरहेको समयको ‘लाजविहीन अश्लीलता’ हो ।
नाटक उर्दू र हिन्दी भाषाका साहित्यकार कृष्ण चन्दरको कथामा आधारित छ । हाँस्यव्यङ्ग्य शैलीको नाटकलाई केदार श्रेष्ठले निर्देशन गर्नुभएको हो । ७० मिनेट लामो नाटकमा नेपालको सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तरिकालाई दृश्यात्मक शैलीमा प्रस्तुत गरेर सर्वसाधारणले भोग्नुपरेका पीडालाई देखाइएको छ ।
शङ्कर भण्डारी, कञ्चन सङ्ग्रौला, मनीष ब्याञ्जू, शक्ति पाख्रिन, हीरा महर्जन, स्नेहा रसाइली, रोशन केसी र सरोज राईलगायत कलाकारले नाटकमा अभिनय गरेका छन् । नाटक आगामी माघ ४ गतेसम्म मञ्चन हुनेछ ।

मञ्चनको तयारी
कुमारी एक जीवित देवी हुन् । जीवित देवी सामान्य अवस्थामा फर्केपछि उनले विवाह गर्न हुन्छ कि हुँदैन । यदि विवाह गरेमा केटालाई केही न केही अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा कायम छ । कुमारीले प्रेम गर्दा के हुन्छ र प्रेम गर्न हुन्छ कि हुँदैन ? यिनै प्रश्नको जवाफसहित नाटक ‘कुमारी द डान्स ड्रामा’ मञ्चनको तयारीमा छ ।
राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा अहिले एक दर्जनभन्दा बढी कलाकार यसैको तयारीमा जुटेका छन् । कथाअनुसार श्वेतकाली र श्वेतभैरवीकी पुत्री यस लोकमा आउँछिन् । यसपछि के हुन्छ भन्ने कुरा नाटकले नृत्यमार्फत बताउन खोजेको छ । सुदनमान मुनिकार, ट्रिना कुलु, योहाङ राई, रश्मि महर्जन, सृष्टि शाक्य, भाग्यरथी शाही, नानुमाया महर्जनलगायतका कलाकारको नाटकमा अभिनय छ । नाटकलाई घिमिरे युवराजले निर्देशन गर्नुभएको हो । लेखन तथा परिकल्पनाकार चन्द्रमान मुनिकार हुनुहुन्छ । नाटक यही आज शनिबारदेखि मङ्गलबारसम्म मञ्चन हुनेछ ।
यसैगरी ‘झिम्के मामा’ चरित्रप्रधान नाटक हो, नाटकमा पात्रहरूको माध्यमबाट एउटा समाजको चित्रण गर्न खोजिएको छ । देउराली भन्ने पहाडी क्षेत्रको काल्पनिक गाउँ छ । देउरालीको छेउछाउका सात गाउँसम्म फैलिएका बस्तीमा बाहुन समुदायको बाहुल्य रहेको हुन्छ । पोखरेल टोल, खड्का टोल, कट्टेल टोल आदि । यी सबै गाउँको प्रमुख केन्द्रका रूपमा देउराली रहेको छ । नाटक यिनै विषयमा केन्द्रित छ ।
झिम्के मामा सामाजिक यथार्थवादी नाटक हो । समाजमा जकडिएर रहेको जातीय विभेदले मानवतालाई कसरी पतन गरिरहेको छ भन्ने विम्ब नाटकमा पस्कन खोजिएको छ । एक व्यक्ति किन अर्को समुदायमा अटाउन सक्दैन भने सामाजिक व्यङ्ग्य पनि यसमा छ । सामाजिक संरचनाले सिर्जना गरेको सामाजिक विभेद र त्यसले समाजमा निम्त्याएको परिणामको झल्को हो, नाटक झिम्के मामा ।
प्रदीपकुमार चौधरीको निर्देशन रहने नाटक माघ ३ गते बाट माघ २६ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ । अङ्कित खड्का, अनुप न्यौपाने, संयोग गुरागाईं, सागर खाती कामी, रीता श्रेष्ठ, उमेश श्रेष्ठ, काव्य बराल, सुशील पाण्डे, विकास पन्तलगायतका कलाकाको नाटकमा अभिनय छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?