logo
२०७७ श्रावण ३१ शनिवार

मौन (कथा)

शनिवार |


2020-01-04-6562



मानसी

“केही त बोल ! तिम्रो मौनताले साह्रै पीडा दिन्छ मलाई !” “तिम्रो मौनताले नराम्रोसँग चिथोरिएकी छु म । यो मौनता कुनै पनि अवस्थामा स्वीकार्य छैन मलाई । केही त बोल । प्लिज..”
“शून्यता पटक्कै मन पर्दैन मलाई, भयङ्कर आँधीको पूर्वसङ्केत हो यो । मेरो मनमा आँधी नल्याऊ । मेरो भरोसा ढल्न नदेऊ । आखिर तिमीले नै बनाएको विश्वासको जग र भरोसाको आधारस्तम्भ आफैँ कसरी ढाल्छौ ?” “विश्वास, भरोसा र आस्थाको जग हल्लिन थालिसक्यो । केही त बोल ।” “यो आँसुको भेल रोक न यार ! वेदनाको चाप थाम !”
“शान्त, सौम्य र करुणायुक्त तिम्रो शालीनता यतिविघ्न कठोर र निस्पृह कसरी हुनसक्छ ?”
“हाँसो, खुसी र आनन्दले सबैलाई विश्वास गर्छ तर आँसुले आश्रय खोज्छ । मन फुकाएर रुन पनि विश्वासिलो काख चाहिन्छ । आँसु थाप्ने अँजुली चाहिँदोरहेछ । कैयौँपटक रोएकी छु म तिम्रो साथमा । सम्झना छ तिमीलाई ? झर्न नसकेका आँसुका ढिका भल बनेर बगेका थिए । पीडाले उकुसमुकुस भएको मेरो हृदयलाई तिम्रो आत्मीय अनुभूतिले राहत दिएको थियो । तिमीसँग निर्धक्क आँसु झार्न सक्थेँ म । तिम्रो सामीप्यको अनुभूतिले मात्रै पनि सारा पीडा भुलाउँथेँ ।” “स्वार्थी दुनियाँबारे अनभिज्ञ त तिमी पनि छैनौ— आँसुलाई कमजोरी ठान्ने, हाँसोलाई प्रतिस्पर्धी । त्यही भएर त प्रहार गर्छ दुवै अवस्थामा आफ्ना शस्त्रास्त्रहरु ।”
०००
निकैबेर भएको थियो म ढोकामा उभिएको । ऊ मोबाइल हेर्दै फुसफुसाइरही । हैट ! विज्ञानप्रतिको डरलाग्दो आसक्ति देखेँ । सम्भावित दुर्घटनाले शरीर काँप्न थाल्यो के भकी यो केटी ? कुनै व्यक्तिविशेषप्रति यति साह्रै आसक्त हुनु अस्वाभाविक होइन ?
मोबाइलको स्क्रिनबाट आँसुका थोपा हटाई उसले । तर मूल रसाएपछि खोलामा बाँध बाँध्नुको अर्थै के रह्यो र ? “जति सिटी बजाए पनि ‘नो पार्किङ’ मा रोक्न छाड्दैनन् अनि के गर्नु त लाइसेन्स नलिएर ?” एक ट्राफिक मित्रको फेसबुकमा पोखिएको दिक्दारी ।
‘प्रतिक्रिया’ को प्रतीक्षामा इनबक्समा केन्द्रित उसको नजर ‘नो पार्किङ’ मा रोकिएको सेतो माइक्रोसँगै चोरऔँला देखाएर उभिएको ट्राफिकको फोटोमा अडियो । तर न फोटोमा खास आकर्षण थियो, न त स्ट्याटस नै उति मन छुने । यात्राको क्रममा यस्ता दृश्य र घटना कैयौँ देखेकी छ उसले तर आज उसका औँला मानेनन् कर्सर सार्न । अडिइरह्यो फेसबुकको वाल । हेरिरही त्यो तस्बिरसहितको स्ट्याटस— ‘जति सिटी बजाए पनि...’ पटक पटक पढी उसले । माइक्रो बस सबै उस्तै हुन् । ट्राफिकको कामै त्यही तर सिटी ??? सिटीसँग उसको प्रेम जोडिएको छ सायद ! सिटीसँग उसको स्वाभिमान पनि जोडिएको छ । सिटीसँग उसको आत्मविश्वास जोडिएको छ । सिटीबाट अभूतपूर्व अनुभूति बटुलेकी थिई उसले..... अनि त्यही सिटी, जसले उसलाई जीवन्त पीडा दिएको छ । चोट पु¥याएको छ ।
फोटो होइन, स्ट्याटसको एउटै शब्द ‘सिटी’ ले नमीठो क्षण स्मरणको सञ्चार ग¥यो उसको दिमागमा । नचाहेरै पनि स्मरण गरी उसले सिटी बजाएको त्यो क्षण । आनन्द र पीडा एकसाथ । सुन्दा र भन्दा सामान्य तर साह्रै चुनौतीपूर्ण अवस्था ।
०००
प्रदर्शनीमार्ग अगाडिको चोक । सँगैको कफी सप । कलेजमा पिरियड खाली भएको बेला कफीको चुस्की लिने ठाउँ । चियानास्ता गरेर फर्कंदै गरेका केटाहरूको हुल । फाल्गुनीले जोडसँग सिटी बजाई । त्यो पनि दुई औँला ओठले बेस्सरी च्यापेर । केटाले जसरी ।
म छक्क परेँ एकछिन उसका क्रियाकलाप देखेर । हुलले पछाडि फर्केर हे¥यो । उसले मुसुक्क हाँस्तै देब्रे आँखा झिम्क्याई ।
“ओई, के गरेको तैँले ? केटी भएर सिटी बजाउँदै केटाहरु जिस्क्याउने ?”“मज्जा लिएको नि । चोकमा बसेर सिटी बजाउँदै केटाहरू जिस्क्याउन मन लागिरहेथ्यो । कस्तो मज्जा आयो ! निकै दिनदेखिको इच्छा पूरा भयो आज । देखिनस् केटाहरू भुतुक्कै भका ?” खित्का छाडेर थपी— “एउटोले त कस्तो लाज मानेको । मोरो केटी जस्तो ।” उसको अनुहारभरि प्रफुल्लता पोखियो छताछुल्ल । वर्षौंदेखि अल्झिरहेको काम फत्ते भएपछि सफलताको चुचुरो चुमे जस्तो उसको अनुहारमा पोतिएको लालित्य अवर्णनीय लाग्यो ।
“तैँले कसरी सोचिस् यस्तो उटपट्याङ ?”
“केटाले केटी जिस्क्याउन हुने, केटीले केटा जिस्क्याउन नहुने ? मलाई जिस्क्याउँदाको आनन्द महसुस गर्न मन लाग्यो । त्यही अनुभव बटुल्ने मनको चाह ल्याएँ प्रयोगमा । बस् ! ....यसमा यतिविघ्न गम्भीर हुनुपर्ने कुरै के छ र !” उन्मत्त मुस्कानका रेखा कोरिए अनुहारभरि । “परम्परादेखि चल्दै आएको रीति, संस्कार, पद्धति परिवर्तन गर्न सक्छेस् ?” मैले अनुशासनको घेराभित्र ल्याउने चेष्टा गरेँ । “तर सिटी बजाएर केटा जिस्क्याउनचाहिँ सक्दिरहेछु । बुझिस् ? डेमो त देखिस् नि । हँ ?” ओठ बङ्ग्याएर दुवै परेली तन्काई उसले ।
“केका लागि ?”
“आनन्द प्राप्ति । सन्तुष्टि । बराबरी । आफैँले आफैँसँग प्रमाण खोज्थेँ म केटाजत्तिकै सक्षमताको । व्यवहारमा उतारेँ । बस् ।” “जिस्क्याउन सक्नु मात्रै सक्षमताको कसी होइन ।” “हेर्दै जा । सबै प्रकारका कसीमा खरो उत्रिन्छु म ।” म मौन भएँ । हाम्रो कुराकानी यतिमै सकिएको थियो त्यो दिन । सिटी बजाउने क्रम चलिरह्यो । पढ्न कलेज गए जस्तै अर्को काम थपिएको थियो हाम्रो— खाली पिरियडमा कफी सप पुग्ने । बिरालोले मुसो ढुकेजसरी ढुकेर बस्ने । अनि जब केटाहरूको हुल अगाडि बढ्थ्यो, सिटी बजाउने ।
उसको चाहना, हिम्मत वा अरू केही ।
सिटी बजाउने पद्धतिको तगारो बनेरै पनि ती क्रियाकलापका साक्षी बनिरहेँ म । ऊ त्यतिबेला सिटी बजाउँथी, जतिबेला केटाहरूको हुल प्रदर्शनीमार्गको चोक हुँदै अगाडि बढ्थ्यो । एउटै प्रकृतिका अनुहार, त्यही समय अनि उस्तै प्रकृतिको सिटीबजाइ ।
त्यो परिवेश, त्यो हुल अनि उसको सिटीले केही समय कलेजमा खुब हल्ला पिटायो । कलेजले पनि ‘सिटी बजाउने केटी’ को नाममै चिन्न थाले नयाँ, पुराना र साथी सर्कलमाझ । उसको हरकत बढ्दै गएको थियो ।
भ्यालेन्टाइन डे । कलेज आएको नयाँ केटोलाई उसले कार्ड दिएर प्रस्ताव मात्रै गरिन, च्याप्प अँगालो हालेर चुम्बन नै गरी ।
“ओई, के गरेको ? खुस्किस् ? के भन्छन् यार अरूले ? हद भयो यो त ।” हातै समातेर तानेँ मैले उसलाई । “वर्षौंदेखि केटाहरूले हामीलाई यस्तै गर्दै आए, अहिले पनि गरिरहेछन् । केटीले गर्दा हद ? अब जिस्क्याउने पालो हाम्रो । यतिन्जेल हाम्रा दिदीहरू, आन्टीहरू, आमाहरू आपूmलाई ‘मर्द’ भन्नेहरूका हरेक हर्कतमा मौन बसे । अब मौनता साध्न बाध्य हुने पालो यिनीहरुको । घाँस, दाउरा जाँदा बिनासित्ति सुसेल्ने, स्कुल जाने बेला बाटो ढुकेरै ‘मास्टर्नी’ भन्ने अनि कुटानी, पिसानी जाँदा जिस्क्याएको बिर्सिस् तैँले ? अलिकति राम्रो बनेर कतै निस्कन लाग्यो ‘....काले काले मुखडे पे.... गाएर सिटी मार्ने । तिनले मात्रै बजाउने सिटी ? तर हामीले बजाउन खोज्दा तँ आफैँ मलाई केटीको क्षेत्राधिकारमाथि सीमा कोर्छेस् ?” सम्पूर्णतामा बदला लिने मनस्थितिमा मैदानमै उत्रिएकी थिई ऊ ।
“ती सबै पात्र फरक हुन् । एउटाले गरेको गल्तीको सजाय अर्कोले पाउनु न्यायसङ्गत कसरी हुन्छ ? तँलाई थाहा छ ? तैँले चाटेको मान्छे को हो ? त्यति साह्रो आक्रामक नबन् भन्ने मात्रै हो मेरो सुझाव । आज पनि प्रिन्सिपलले बोलायो भने तेस्रोपटक हुन्छ । रेस्टिकेट पक्का ! एनी आइडिया ?”
“मार गोली । त्यो नयाँ स्टुडेन्ट हो । हिम्मत पनि हुनुप¥यो नि मेरो कम्प्लेन गर्ने ?” मेरै सामुन्ने उसले त्यो हर्कत गरी । म लगलग काँप्न थालेँ तर उसको आत्मविश्वासले सगरमाथा चुम्यो ।
चुम्बनवाला घटना एकैछिनमा कलेजभरि फैलियो । उचाल्नेहरूले उसलाई बुईमै बोके । उसको व्यवहार चित्त नबुझ्नेहरूको गुनासो, शुभेच्छा र दिक्दारी मेरै अगाडि छरपस्ट भयो । भोलिपल्ट प्रिन्सिपलकहाँ बोलाइयो उसलाई । मेरो सातो उड्यो । गाउँ सम्झेँ । काकाकाकीको सपना आगोमा मुस्लिएर आकाशमा उडिरहेको देखेँ । आँसु आँखाकै डिलमा अड्किए । प्रतिशोधको आगोले जलाएर खाग बनाएको थियो उसको सुनौलो भविष्य । डाको छोडेर रुन मन लाग्यो डाँडाकाँडा थर्किने गरी । तर यो त सहर हो । यसले न मेरो आँसु देख्छ, न त मेरा पीडा र वेदनालाई आत्मसात् गरेर विचलित भरोसालाई ढाडस दिन्छ । सम्भावित नतिजाबाट म भयभीत थिएँ । फाल्गुनीले भने हिम्मत गुमाएकी थिइन पटक्कै ।
“साला हिरो भयो मेरो कारणले !” मुठी कस्तै प्रिन्सिपलको कोठाबाट बाहिरिई फाल्गुनी ।
विज्ञानले फाल्गुनीलाई ‘एक्सक्युज’ गरेछ ।
“कति केटाले कति केटीलाई जिस्क्याए । कतिले घाँसको डोकोसहित कान्लामुनि लडाए । कतिले सुसेले अनि कतिले.... । उफ् ! मुखियाबाले कहिलेकाहीँ यसबारे बहस चलाए ? तर सबै मौन बसे । आजसम्म पनि उनीहरुको मौनता तोडिएको छैन ।” प्रतिशोधको लडाइँ फाल्गुनी एक्लैले गर्नुपर्ने थियो र ? मैले नबुझेको कुरा । अनेक असन्तुष्टि फलाकिरही उसले । फाल्गुनी सामान्य केटीभन्दा भिन्न थिई । उसका हरेक क्रियाकलाप भिन्न थिए । सरले पढाइरहेका बेला भन्थी— “रुखको चरालाई गुलेली हानेर भुइँमा झारे जस्तै बोर्डमा लेख्तै गरेको बेला ठ्याक्कै हातैमा लाग्ने गरी गुलेली हान्यो भने के गर्छ होला है यो सरले ?”
यस्ता उटपट्याङ त कति आउँथे कति उसलाई— साथीहरूलाई पुच्छर लाइदिने, प्रेम दिवसमा साथीहरुदेखि सर, म्याडमलाई समेत फेक नाममा रोज र ग्रिटिङ कार्ड पठाउने । अनि त्यसबाट आउने प्रतिक्रियाबाट आनन्द लिने । गजब थियो उसको आनन्द लिने तरिका । ती सबैमा उसको आत्मविश्वास देख्दा म आफैँ दङ्ग पर्थें । फाल्गुनीलाई एक्सक्युज दिएपछि विज्ञान अस्वाभाविक रूपमा हिरो बन्दै गयो कलेजमा । उसको शालीनता, भद्रता र नरम मिजासबाट प्रभावित नहुने सायदै थिए कोही । म त उसको फ्यानै थिएँ । फाल्गुनी भने धेरै दिन आक्रोशित भइरही । विज्ञानले एक दिन क्यान्टिनमा फाल्गुनीसँग निकै लामो कुरा ग¥यो । सायद फाल्गुनीलाई फकाउने कोशिसमा थियो कि ! अन्ततः आक्रोश र प्रतिशोधबीच उसका अगाडिका अभियानमा सहकार्य गर्न आइपुग्योे विज्ञान । साँच्चै फाल्गुनीको सिटी सफलता थियो वा सक्षमताको विजय ?
नरम मिजास । सहयोगी भावना । विज्ञानको बोलीमा जादु नै थियो । बोली मात्रै सुन्नका लागि भुतुक्कै हुन्थे केटीहरु । सानो गल्तीमा पनि क्षमा मागिहाल्ने उसको महानता साँच्चै अनुकरणीय थियो । ठूलो गल्तीलाई पनि तर्कले जित्न खोज्ने फाल्गुनी र ससानो त्रुटिमा पनि माफी मागिहाल्ने विज्ञानबीच कसरी सामीप्य बढ्यो ? सँगै भएर पनि ठम्याउन सकिरहेकी थिइनँ म । पछिल्ला दिन फाल्गुनी स्वयं भन्न थालेकी थिई— “हिजोआज रातभर च्याट हुन्छ यार । ऊसँग कुरा नगरी बस्नै सक्तिनँ । एकछिन मात्रै अनलाइन देखिनँ भने पूरै मुटु काँप्न थाल्छ ।” विज्ञानसँगको सामीप्य कलेजभरि चर्चा हुन थाल्यो, जसरी सिटीको चलेको थियो । उसको चुम्बनको चर्चा गरिएको थियो । यी दुईको प्रेम भिन्न परिवेशबाट सुरु भएको थियो । हाम्रो समाजमा सामान्यतः देखिने शैलीभन्दा बिल्कुल भिन्न । के युवतीको चाहना र कामनाले सफलता पाएको थियो ? सायद !
अक्सर केटाले केटीलाई प्रस्ताव गर्ने अनि केटीले मौन स्वीकृति जनाउने प्रकृतिको प्रेम मौलाएको हाम्रो समाजमा उनीहरू फरक धारमा थिए । अझ भनौँ उनीहरूको प्रेम भिन्न पृष्ठभूमिमा बीजारोपण भएको थियो । फाल्गुनी र विज्ञानको सम्बन्धलाई लिएर कलेजमा धेरै किसिमका टिप्पणी हुन थाले । कोही भन्थे— ‘विज्ञान विवाहित हो । बालबच्चासहित श्रीमती गाउँमा बस्छिन् । ऊ उच्चशिक्षाका लागि राजधानी आएको ।’ कोही उसलाई ‘अनाथ’ भन्थे तर फाल्गुनीले कुनै कुरामा उति चासो दिइन ।
भन्थी— “मैले थोडी ऊसँग बिहे गर्ने हो र तीनपुस्ते खोज्नलाई ? उसको बिहे, बच्चाबच्चीसँग के मतलब मलाई ? जस्ट फ्रेन्ड यार । लत प्रेमको मात्रै होइन, साथीको पनि बस्छ क्या । खै कुरा बुझेको ? उसलाई प्रेम गरेको भ्रम छर्ने गरी कुरा गर्दा क्या मज्जा आउँछ । एक्चुअल मैले उसलाई एक दिन जिस्काइनँ भने कस्तो कस्तो हुन्छ क्या !” ‘घृणा गर्दागर्दै तैँले प्रेम गर्न थालिस्’ भन्थेँ म उसलाई । तर ऊ स्वीकार्न तयार हुन्(नथी— “मैले ऊसँग लभ गर्ने ? हुनै सक्दैन । हैट !” मजाकमा उडाउने गर्थी ऊ । “उसो भए रातभरको निद्रा किन उसका लागि ?” “मन छुने गरी जिस्काउन साह्रै आनन्द आउँछ यार मलाई ।”
“तेरो मनले उसको मन छुँदा उसको मनले तेरो मनमा पनि त जाल बिछ्याउँदो हो नि ?”“इम्पोसिबल । मेरो मनको लगाम मसँगै हुन्छ ।”
“कुनै दिन तेरो मन उसको मनको कैदी नबनोस् । मेरो कामना !” म हरदम उसलाई सम्झाउन प्रयत्नशील हुन्थेँ तर ऊ पटक्कै सुन्दिनथी ।
‘प्रतिशोध र जवानीको खहरेले कुनै मोडमा उसलाई नदुखाओस् ।’ सिर्पm कामना मात्र गर्न सक्थेँ म उसका लागि ।
अन्तिम सेमेस्टर सुरु हुन दुई हप्ता मात्रै बाँकी थियो । विज्ञान अचानक कलेज आउन छोड्यो । फाल्गुनीले निकै खोजी गरी तर पत्तो लागेन ।सम्पर्क सूत्र सामाजिक सञ्जालबाहेक अर्को थिएन । कलेज आउन छोडेको तीन हप्तापछि फाल्गुनीका तीन सय प्रश्न अनि गुनासाको एउटै उत्तर दिएको थियो उसले म्यासेन्जरमा— ‘जिन्दगी अनि समय चुर्लुम्म, झ्वाम्म !’ भयभीत भई ऊ । के भयो ? मनमस्तिष्कमा अनेक विचार मडारिए— बिरामी भयो कि ? गम्भीर दुर्घटनामा प¥यो कि ? परिवारभित्रै कुनै विपत्ति आइलाग्यो कि ? पाँचवटा शब्दको त्यो एउटा वाक्यले बिस्मात मात्रै ल्यायो । अनलाइन पोर्टल, टेलिभिजन, दैनिक पत्रिकामा आँखा दौडाउनु अनि रेडियो सुन्नु उसको दिनचर्या नै बन्यो । कहीँ, केही समाचार नै पो आइहाल्छ कि भन्ने उसको आशा पनि तीन महिना पुगिसकेको थियो तर विज्ञानबारे कुनै जानकारी पाइन ।
ख्यालख्यालमै उसको प्रेम यति गाढा बनिसकेछ कि साँच्चै आज ऊ आफैँलाई सम्हाल्न सकिरहेकी छैन । पत्तै नपाई प्रेममा डुबिछ ऊ विज्ञानसँग तर आज त्यो आकृति साथमा थिएन । समयले उसलाई ठग्यो वा भविष्यले एक्ल्यायो । ठम्याउन सक्ने अवस्थै थिएन ।
०००
“ठीक छ, धोका दिएको होइन, तिमी हा¥यौ मसँग । त्यसै जबर्जस्ती टाढियौ मलाई रुवाएर ।” “मैले अब हरेक पीडा र अप्ठ्यारा एक्लै सामना गर्नुपर्नेछ । त्यही पीडा र चोटले आपूmलाई थप मजबुत बनाउनेछु । अब मैले त्यही स्वरूपमा आपूmलाई बदल्नुपर्छ । म फुट्नुहुन्न, टुट्नुहुन्न र पग्लिनुहुन्न । जो, जुन स्वरूपमा ममा ठोक्किन आउँछ । समय, परिवेश, अवस्था र व्यक्ति...., स्वयं ऊ टुक्रिनेछ । म चट्टान हुनुपर्छ ।” अविरल बगेका आँसु पुछ्तै दृढ सङ्कल्प गरी फाल्गुनीले ।
नीलो सर्ट, खैरो प्यान्ट, कालो चस्मा अनि जुल्फीवाला कपाल ! मोबाइलको डिस्प्लेमा चम्किरहेथ्यो विज्ञानको फोटो ।
म ढोकामा उभिएको ठ्याक्कै एक घण्टा भइसक्यो । उसका नजर फोटोमा यसरी अडिएका थिए कि मानौँ म जिउँदो मान्छे होइन, मूर्ति हो ।
उसको एकाग्रतादेखि डराएँ म ।
“फाल्गुनी !” नजिकै गएर बोलाएँ र झस्किएको उसको शरीरलाई पछाडिबाट चपक्क समाएँ । आत्तिएर टाउको मोडी र हतारहतार आँसु पुछी । आसुको वर्षा अस्वाभाविक रूपमा तुरुन्तै रोकियो ।
हाँस्दै जोडले सिटी बजाई दुवै औँला ओठले बेस्सरी च्यापेर, जसरी कफी सपअगाडि केटाहरूको हुललाई जिस्क्याउँदा बज(ाउँथी । अनि उही शैलीमा देब्रे आँखा झिम्क्याई ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?