logo
२०७८ श्रावण २० बुधवार

दैनिक अध्यावधिक

image
2448

सङ्क्रमित

image
1994

निको भएका

image
24

मृत्यु भएका

मिति:श्रावण १९, २०७८ (१७:३८)
स्राेत:https://covid19.mohp.gov.np/



पर्यटकीय गन्तव्यमा भौगर्भिक सम्पदा

शनिवार |


पर्यटकीय गन्तव्यमा भौगर्भिक सम्पदा


प्रा.डा. तारानिधि भट्टराई

नेपाल भ्रमण वर्ष–२०२० सुरु हुन दुई हप्ता पनि बाँकी छैन । यो अभियानलाई सफल बनाउन थुप्रै कार्यक्रमको आयोजना भइरहेका छन् । पर्यटकले रुचाएका ठाउँलाई अझ सुविधासम्पन्न बनाउने काम पनि धमाधम चलिरहेको छ । त्यस्तै विभिन्न ठाउँका चलनचल्तीमा रहेका पदमार्गको स्याहारसम्भार गर्नेदेखि नयाँ पदमार्गको खोजी गर्नेसम्मको काम पनि तीव्र गतिमा भइरहेको छ । तर पर्यटकलाई खान, बस्न र हिँड्न चाहिने सुविधा मात्र उपलब्ध गराउनाले हाम्रो उद्देश्यको एउटा अंशमात्र पूरा हुन्छ । अर्थात् नेपाललाई एउटा ‘उत्कृष्ट पर्यटकीय गन्तव्य’को रूपमा विश्वसामु चिनाउने हाम्रो अभिलाषा अधुरो हुन्छ । पर्यटन क्षेत्रमा उत्साहजनक परिवर्तन ल्याउन हामीले गर्नुपर्ने काममध्ये पर्यटकको बसाइ लम्ब्याउने, निश्चित उद्देश्यका साथ आउने विशिष्ट र धनाढ्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य स्थलको विकास गर्नु पनि हो । यसै सन्दर्भमा यो लेख भौगर्भिक दृष्टिकोणले महìवपूर्ण मानिएका स्थललाई कसरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छ ।
भौगौलिक दृष्टिकोणले तराई, पहाड, र हिमालमा छुट्याए जस्तै भौगर्भिक दृष्टिकोणले नेपाललाई मुख्य रूपमा पूर्व–पश्चिम फैलिएका ठूलाठूला पाँच खण्डमा विभाजन गरिन्छ । दक्षिणबाट क्रमैसँगै भन्ने हो भने ती खण्डको नाम तराई, सिवालिक अथवा चुरे पहाड, लेसर हिमालय, उच्च हिमालय र तिबेटन टेथिस हिमालय हो । यी पाँचवटा खण्डमा बेग्लाबेग्लै खालको भूबनोट, इतिहास र भौगर्भिक विशेषता छन् जसलाई पर्यटकीय दृष्टिकोणले व्याख्या गर्न र अवलोकन स्थलको पहिचान गर्न जरुरी छ ।
यी पाँचवटा खण्डलाई पूर्व–पश्चिम लम्बिएका ‘फल्ट’हरूले छुट्याएको छ । भूगर्भशास्त्रमा फल्ट भनेको पृथ्वीको सतहमा भएका त्यस्ता चिरा हुन् जहाँ विगतमा हलचल भएको थियो । अर्थात् चिराको माथि वा तल रहेको भूभाग विभिन्न समयमा एक आपसमा चिप्लिएका थिए । तराई र चुरेलाई छुट्याउने फल्टलाई ‘हिमालयन फ्रन्ट्रल थ्रस्ट’ भनिन्छ । त्यसैगरी ‘मेन बाउन्ड्री थ्रस्ट’ले चुरे र लेसर हिमालयलाई छुट्याउँछ भने ‘मेन सेन्ट्रल थ्रस्ट’ले लेसर हिमालय र उच्च हिमालयल(ाई छुट्याउँछ । उच्च हिमालय र टेथिस हिमालयको बीचमा ‘साउथ तिबेटन डिट्याचमेन्ट’ नाम भएको फल्ट छ । यी फल्ट ‘इन्डियन प्लेट’ र ‘युरेसियन प्लेट’ लगभग पाँच करोड वर्ष अगाडि एक आपसमा ठोक्किँदा परेको बल थाम्न नसकी चट्टान वा जमिन विभिन्न समयमा चिरिँदा वा भाचिँदा बनेका हुन् । मेन सेन्ट्रल थ्रस्ट र साउथ तिबेटन डिट्याचमेन्ट आजभन्दा लगभग दुई करोड वर्ष अगाडि बनेका हुन् । त्यसपछि क्रमैसँग मेन बाउन्ड्री थ्रस्ट (लगभग १.१ करोड वर्ष पहिले) र हिमालयन फ्रन्ट्रल थ्रस्ट (लगभग १० लाख वर्ष पहिले) बनेका हुन् । हिमालयको भौगर्भिक बनावट बुझ्न, माथि उल्लेख गरिएका फल्टको अवलोकन गर्न, प्लेट एक आपसमा ठोक्किएर बनेका अरू भौगर्भिक संरचना र त्यस्तो ठाउँमा पाइने खनिज पदार्थको अवलोकन गर्न हाम्रो देश आफैँमा एउटा विश्वविख्यात प्राकृतिक सङ्ग्रहालय हो । तर हामीले यो तथ्यलाई पर्यटकीय दृष्टिकोणले उजागर गर्न बाँकी नै छ ।
माथि उल्लेख गरिएका तथ्यलाई केन्द्रमा राखेर भौगर्भिक पर्यटकीय पदमार्गको विकास गर्नु जरुरी छ । त्यसका लागि, बुटवल–पोखरा–बेनी–जोमसोम–कागबेनी–मुक्तिनाथ एउटा उपयुक्त पर्यटकीय मार्ग हो । यो मार्गमा नेपालमा पाइने धेरै प्रकारका चट्टान, खनिज, माथि उल्लेख गरिएका प्रमुख चारवटा फल्ट, भौगर्भिक इतिहास बुझाउने विभिन्न तथ्य सजिलैसँग अवलोकन गर्न सकिन्छ । कालीगण्डकीले बनाएको संसारको सबैभन्दा गहिरो खोंच पनि यही पर्यटकीय मार्गको बेनी–जोमसोम खण्डमा पर्छ भने हिन्दु धर्मावलम्बीहरूले विष्णुको रूपमा पूजा गर्ने शालिग्राम भएको चट्टानको तह पनि कागबेनी–मुक्तिनाथ खण्डमा नै भेटिन्छ । यस्ता ठाउँ अन्यत्र पनि छन्, जसलाई क्रमैसँग पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्नुपर्छ ।
हाम्रो देशमा पानी प्रशस्त पर्छ । तर केही यस्ता ठाउँ पनि छन् जहाँ पानी अत्यन्त न्यून पर्छ । त्यस्ता ठाउँमध्ये माथिल्लो मुस्ताङ एउटा हो । कालीगण्डकीको वरिपरिको यो क्षेत्रमा बर्सेनि लगभग ५० मि.मि. मात्र पानी पर्छ । त्यसैले निश्चित जातका पोथ्रा र झारपातबाहेक यो क्षेत्रमा वनस्पति खासै हँुदैन । माटोमा चिसोपन नभएको हुनाले माटोका कण एक आपसमा टाँसिएका हुँदैनन् । फलस्वरूप माटोलाई हावाले सजिलै उडाउँछ । अत्यन्त बेगिलो हावा यहाँ चल्ने भएकाले, यो क्षेत्रमा हावाको उद्घर्षणका कारणले बनेका सुन्दर भू–दृश्य जतासुकै देख्न पाइन्छ । कालीगण्डकी नदीको कागबेनी–लोमानथाङ खण्ड यस्तो भू–दृश्य हेर्नका लागि एकदम नै उपयुक्त ठाउँ हो । त्यो बाहेक कालीगण्डकीले बनाएको खोँच (झण्डैझण्डै अमेरिकाको ‘ग्राण्ड क्यानयोन’को झझल्को देखाउने), हिमनदीले थुपारेको माटोले बनेका पहाड, नुनखानी र लगभग सातौँ शताब्दीतिर मानिसले आफू बस्न बनाएका गुफाको अध्ययन, अनुसन्धान र अवलोकन गर्न यो ठाउँ अत्यन्त उपयुक्त छ । तर हामीले यसलाई पर्यटकीय दृष्टिकोणले प्रचार–प्रसार गर्न नै बाँकी छ ।
हाम्रो देशका विभिन्न भागमा प्राकृतिक गुफा छन् । तीमध्ये कतिपय गुफा सर्वसाधारणले हेर्न मिल्ने गरी व्यवस्थित गरिएका छन् भने कतिपय ठाउँमा हाम्रो ध्यान पुग्न नै बाँकी छ । जे जति व्यवस्थित छन्, तिनीहरू कुनै न कुनै प्रकारले सांस्कृतिक र धार्मिक आस्थासँग गाँसिएका छन् । सोही अनुरूप तिनीहरूको देखभाल भइरहेको छ । तर प्राकृतिक गुफाहरूलाई हामीले बहुआयामिक प्राकृतिक सम्पदाको रूपमा विकास गर्नुपर्नेमा त्यसो भइरहेको छैन । गुफा आफैँमा भू–विज्ञान बुझ्ने एउटा सुन्दर प्राकृतिक सङ्ग्रहालय भएको हुनाले यसको व्यवस्थापन शैक्षिक पर्यटकीय दृष्टिकोणले पनि गरिनुपर्छ । यी गुफा कुनै एउटा कालखण्डमा त्यो ठाउँमा भएको भौगर्भिक वातावरणका ठूला प्रमाण हुन् । गुफाहरू प्रायः चुनढुङ्गा भएको ठाउँमा बनेका हुन्छन् । चुनढुङ्गामा ‘क्याल्साइट’ नाम गरेको खनिज हुन्छ, जो अम्लीय पानीमा बिस्तारै घुल्छ र पानीसँगै बगेर जान्छ । यसरी चुनढुङ्गाको सानो अंशलाई पानीले (खासगरेर भूमिगत जलले) आफैँसँग विलीन बनाएर लाँदा त्यहाँ बिस्तारै खाल्टो पर्न थाल्छ । यो क्रम लाखौँ–करोडौँ वर्ष चलेपछि त्यहाँ गुफा बन्छ । भूमिगत जल बग्ने बाटोमा बन्ने हुनाले गुफा पनि बगेको खोलाको एउटा भाग जस्तो देखिन्छ । कतिपय ठाउँमा अहिले पनि गुफाको सिलिङबाट भूमिगत जलका थोपा झरिरहेका भेटिन्छन् । नियालेर हेर्ने हो भने त्यो पानीको थोपा जहाँ खस्छ त्यहाँ भर्खर उम्रिएको बाँसको तामा जस्तो टुसो पलाएको देखिन्छ । पानीको थोपा चुहिने सिलिङको ठाउँलाई नियालेर हे¥यो भने गाईको थुन आकारको आकृति झुण्डिरहेको देखिन्छ । पानीको थोपा कतै गाईको दूध मिसिएको जस्तो सेतो हुन्छ भने कतिपय ठाउँमा कञ्चन हुन्छ । भूमिगत जलले ‘क्याल्साइट’लाई आफूमा घोलेर ल्याउँदा पानी दूध मिसिएको जस्तो सेतो देखिएको हो । यो बाहेक, गुफामा अहिले पनि अरू भौगर्भिक प्रक्रिया चलिरहेका हुनसक्छन् या विगतमा क्रियाशील भएका प्रक्रियाले बनाएका आकर्षक आकृति हुन सक्छन् । त्यसैले विज्ञानका अध्येताका लागि र बालबालिकालाई विज्ञानमा चासो बढाउनका लागि गुफा निकै आकर्षणको विषय हो । तर हामीले गुफालाई अहिलेसम्म पनि वैज्ञानिक सम्पदाका रूपमा व्यवस्थापन गरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने सोच बनाएका नै छैनाँै । यो काम गर्न अब ढिलो गर्नुहँुदैन ।
नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने उपायमध्ये एउटा महìवपूर्ण काम भनेको पर्यटकीय स्थल छान्दा माथि उल्लेख गरिएका जस्ता भौगर्भिक महìवका ठाउँलाई पनि समावेश गराउनु हो । त्यसपछि भूगर्भशास्त्री या भौगर्भिक इन्जिनियरको सल्लाह र प्रत्यक्ष रेखदेखमा अवलोकन–स्थलको विकास गर्नुपर्छ । उसैको परामर्शमा प्रचार–प्रसार सामग्री पनि तयार पार्नु वाञ्छनीय हुन्छ । यस स्थानलाई वैज्ञानिक सम्पदाका रूपमा स्याहारसम्भार गर्ने नीतिगत निर्णय पनि गर्नुपर्छ । नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा प्रत्येक स्थानीय निकायले आ–आफ्नो क्षेत्रमा कम्तीमा एउटा भौगर्भिक महìवका दृष्टिकोणले उपयुक्त पर्यटकीय स्थल निर्माण गर्न सके एकातिर रोजगारीको अवसर खुल्थ्यो भने अर्कातिर स्थानीय निकायका लागि आय आर्जनको आधार पनि बन्थ्यो । यस्तो राम्रो मौका गुम्न दिनुहुँदैन ।
(लेखक भूगर्भशास्त्रका अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?