logo
२०८० चैत्र १५ बिहीवार



आँसु (कथा)

शनिवार |


आँसु  (कथा)


अर्जुन थापा

‘तपाईंलाई के–के हुन्छ, नलुकाई सबै भन्नूस्,’ डाक्टर उसलाई हेर्दै भन्छन् । ‘खोइ डाक्टर के भएको छ भनँु । मलाई के भएको छ, म आफैँले बुझ्न सकेको छैन,’ आफ्नो अगाडि मेचमा बसेको डाक्टरलाई हेर्दै भन्छ ऊ ।
‘मकहाँ आउनुका कारण त पक्कै पनि केही भएर नै हो । त्यसैले कुनै डर, सङ्कोच नमानी खुलस्त भन्न सक्नुहुन्छ, आफ्नो मनको कुरा ।’ टेबलमा राखिएको पानीको गिलास उसको अगाडि सार्दै डाक्टर हँसिलो अनुहार पार्दै भन्छन् ।
निधारभरि पसिना हुन्छ उसको । मनमा धेरै वर्षदेखि थुप्रिरहेको कुरालाई एकैपटक ओकलुँजस्तो भइराखेको हुन्छ उसलाई । तर, सक्दैन । किनकि कसैसँग पनि खुलस्त हुन सकिरहेको छैन, केही वर्षदेखि ऊ । जसले गाली गरे पनि, हेपे पनि र आफू सही हुँ भन्ने थाहा हुँदाहुँदै पनि गलतको विरोध गर्न सक्दैन ऊ । त्यसैले त...। घाँटीमा केही अड्केकोजस्तो हुन्छ । अगाडि राखिएको गिलासको पानी एकै घुड्कोमा पिइदिन्छ ऊ ।
‘ठीक छ । यो तपाईंको पहिलो भिजिट हो । त्यसैले तपाईं खुल्न सक्नुभएन । तपाईंले यो सम्झिनुपर्छ कि तपाईंको अगाडि डाक्टर नभएर मन मिल्ने साथी बसिरहेको छ । अर्को शुक्रबार ३ बजे फेरि आउनुपर्छ मकहाँ ।’ उसको डराइरहेको आँखामा हेर्दै भन्छन् डाक्टर ।
बिस्तारै मेचबाट उठ्दै अगाडि ढोकातिर लाग्छ ऊ । उसको शरीरको हाउभाउलाई नियालिरहेका हुन्छन्, डाक्टर मेचमै बसेर । ढोकातिर पुग्नै लाग्दा फरक्क फर्किन्छ र भन्छ, ‘मलाई डरमात्र लागिरहन्छ । राति पटक्कै निद्रा लाग्दैन ।’ काँपिरहेको स्वरमा भन्दै बाहिर निस्कन्छ ऊ ।
विगत केही वर्षदेखि भित्रभित्रै छटपटिरहेको छ ऊ । न उसले कसैलाई मनको कुरा पोख्न सक्यो न कसैले उसलाई बुझ्ने नै कोसिस गरे । आफन्तबाट, साथीभाइबाट र छरछिमेकीबाट अब तर्सिन थालेको छ ऊ । उनीहरूको हेराइ र व्यवहारमा परिवर्तन देख्न थालेको छ उसले । कसैको सहानुभूति तथा दया खोजेको नभई, साथको आशा राखेको थियो ती सबसँग, जो उसका लागि प्रिय थिए । विगत केही वर्षदेखि उसले सबैलाई राम्ररी चिन्ने मौका पाएको छ । त्यसैले पनि होला सायद उसलाई मान्छेको माझमा भन्दा एक्लै रहनुमा बढी सुरक्षित अनुभूति हुन्छ । घरको सानो कोठामा थुनिएर बस्नमा हल्का हुन्छ उसलाई । दिनको उज्यालोभन्दा रातको अँध्यारोमा आफूलाई खुला पार्न खोज्छ । पूर्णिमाको रातभन्दा औँशीको रातमा यो डरलाग्दो काठमाडौँ सहर मस्त निद्रामा परेको हेर्न मन पराउँछ ऊ । किनकि ती मान्छेको डरलाग्दा आँखा र धारिलो शब्दका प्रहारबाट आफूलाई जोगिएको महसुस गर्छ, निष्पट्ट अन्धकारमय रातमा । कुनै समय यस्तो पनि थियो कि यही पूर्णिमाको रातका लागि भित्तामा झुन्ड्याइएको क्यालेन्डर धेरैपटक हेर्ने गथ्र्यो । घण्टौँसम्म जूनलाई हेरिबस्थ्यो । अनेकौँ सपनाहरू बनाउँथ्यो जूनलाई हेर्दै । भाग्यमानी व्यक्तिमध्ये एक ठान्थ्यो आफूलाई । तर, समयले उसलाई नराम्ररी झापड हानेको थियो । कैयौँ वर्षदेखि बनाएको सुन्दर सपनाको संसार तहसनहस हुन कतिबेर पनि लागेन । आफ्नै आँखा अगाडि चलचित्रको दृश्यजस्तै सबै घट्दै गए र चाहेर पनि केही गर्न नै
सकेन उसले ।
मान्छेसँग डराउन थालेको छ, अहिले ऊ । मान्छे–मान्छेबीचको सम्बन्धप्रति अब उसलाई शङ्का लाग्न थालेको छ । यही सम्बन्धको आडमा पटक–पटक घाइते हुन पुगेको छ । जसलाई आफूभन्दा बढी विश्वास गरेको थियो, उसैबाट मर्माहत भएको छ । केही मीठा तथा चिप्ला शब्दको जाल फ्याँकेर पछाडिबाट चक्कु रोप्नेहरूबाट बच्न चाहन्छ अब । मान्छेको अनुहार मान्छेको नभएर डरलाग्दो राक्षसका रूपमा देख्न थालेको छ उसले । बिहान सूर्य उदाएसँगै उसको छटपटी बढ्न थाल्छ । मनभित्र भएको छटपटी, डर, त्रास र पीडालाई कसैको अगाडि पोखुँ र मनलाई हल्का पारुँ भनेर कोसिस नगरेको होइन । तर, ती सब कुराको मजाक बनाएर उल्टै उसमा प्रहार गरे । भीडमा समय कटाउने माध्यम बनाए सबैले ।
‘केटा मान्छे सुतेको ओछ्यानको तन्ना के विधि भताभुङ्ग भएको ?’
‘केटा मान्छे भएर पनि सधैँ के अँध्यारो अनुहार बनाएर बस्छौ ?’ ‘केटा मान्छे भएर के गति बनाएर हिँड्छौ हो, आजकल ?’ ‘केटा मान्छे भएर त कहिल्यै आँखा...।’
केटा मान्छे भएपछि यो गर्नुहुन्छ, त्यो गर्नुहुँदैन । देख्ने मान्छेले लाक्षी भन्छन् किनकि तिमी भनेको पुरुष हौ जस्ता कुरा सुन्दासुन्दा उसको मनको कुरा मनमै सीमित रह्यो । मान्छे हाँसेको देखेर पनि उसलाई अचम्म लाग्न थालिसकेको छ । कतिपटक आफैँलाई प्रश्न पनि गर्छ ऊ कि ‘के ती हाँसो सबै भित्री मनैबाट आएको हो त’ भनेर । कारण उसले नहाँसेको धेरै भइसकेको थियो । ऐनाअगाडि बसेर कोसिस नगरेको होइन, हाँस्नलाई तर सकेन । यस्तो लाग्न थालिसकेको छ कि उसलाई अनुहारमा हाँसोभन्दा अँध्यारो नै भएको बढी सुहाउँछ भनेर ।
ऊ सुतेको ओछ्यानको तन्ना खुम्चिएको सबैले देखे । तर, रातभरि छटपटिएर निदाउन नसकेका कारण जान्न खोजेनन् । अँध्यारो अनुहार देखे तर कारण देखेनन् । नहाँस्नुका कारण बुझ्ने कोसिस गरेनन् । त्यसको सट्टा सबैले आ–आफ्नै हिसाबले उसलाई तौलिरहे ।
उसले आपूmलाई खुसी राख्न के–के मात्र गरेन । योगा ग¥यो, व्यायाम ग¥यो, बिहानै उठेर दौडिन गयो । व्यस्त भएमा दिमागमा कुरा खेल्न पाउँदैन भनेर कामै नभए पनि आफूलाई व्यस्त राख्यो । सकारात्मक कुरामात्र दिमागमा राख्ने कोसिस ग¥यो । युट्युबका ‘मोटिभेसनल’ भिडियो हे¥यो । राम्रा–राम्रा किताब पढ्यो । मनमा भएका पीडालाई कागजको पन्नाहरूमा उता¥यो । जाँड, रक्सी, चुरोटबाट टाढै बस्यो । सादा खानामा जोड दियो । बेलुका चाँडै सुत्यो र बिहान चाँडै उठ्यो । तर पनि खुसी हुन सकेन । मनको छटपटी अलिकति पनि कम भएन ।
प्रयास गर्दागर्दै पनि आफूलाई सुधार गर्न नसकेको देख्दा आत्महत्या गर्ने सोच कैयौँपटक दिमागमा नआएको पनि होइन । तर, सोच आएसँगसँगै गालाभरि चाउरी परेकी, बिमारले गलेकी बूढी आमाको अनुहार सम्झेर आँखावरिपरि घुम्न थाल्यो । अनि आत्महत्याको सोचलाई त्यागेको थियो ।
त्यसो भए अब अगाडि के हुन्छ त ?
शुक्रबार ३ बजे डाक्टरलाई भेट्ने कार्यक्रमअनुसार आफूलाई तयार पारेर निस्क्यो घरबाट । बाटोमा हिँड्दै गर्दा एउटा रातो कार उसको छेउमै आएर रोकिन्छ ।
‘के छ यार ? धेरै वर्ष पछि भेट भयो त ?’ गाडीको सिसा उघारेर उसको सानैदेखिको मिल्ने साथीले भन्छ ।
‘ओहो ! त्यही त । फेसबुकमा लिङ्क र कमेन्टमै सीमित भयौँ यार हामी त,’ हात मिलाउँदै भन्छ ऊ ।
‘कहाँ जान लागेको ? म छोडिदिन्छु,’ गाडीभित्र बस्न आग्रह गर्छ साथी । मन नलागीनलागी भित्र पस्छ ऊ । उसलाई यो पनि थाहा छ कि यो गाडीबाट बाहिर ननिस्कन्जेलसम्म साथीले आफ्नो श्रीमतीको रूपको बयान र पैसाको रवाफ लगाएको सुनिरहनुपर्छ भनेर । ‘अस्ति भर्खर किनेको यो चौथो गाडी हो । श्रीमतीलाई ज्योतिषीले रातो रङ राम्रो हुन्छ भनेको भएर गाडीसमेत रातो चाहियो
रे,’ लामो हाँसो हाँस्दै साथी भन्छ ।
‘बधाइ छ, चौथो गाडीका लागि,’ साथीको अनुहारमा हेर्दै भन्छ ऊ । ‘तिमी त साहित्यकार भएछौ । कहिलेकाहीँ पत्रपत्रिकामा तिम्रा लेख पढ्ने गर्छु । साँच्चिकै साहित्यकार भएछौ र देखिन्छौ पनि । तिम्रो ‘गेटअप’लाई देख्दा त साहित्यकार भन्न सुहाउने भएछौ तिमी,’ उसलाई हेर्दै भन्छ साथी । गाडी नरोकुन्जेलसम्म साथीले उसलाई पटकपटक नङ्ग्याउँदै गयो तर आफू पूरै नाङ्गिएको पत्तो नै पाएन । बीचबाटोमा नै ओर्लेर साथीलाई धन्यवाद दिँदै ऊ डाक्टरको क्लिनिकतिर लाग्छ ।
आफूलाई घिसार्दै क्लिनिकमा पु¥याउँछ । निधारमा अपमानको धर्सा लतपताएर आफ्नो पालो कुर्न थाल्छ । उसको दिमागमा अघिका दृश्य फन्फनी घुमिरहेका हुन्छन् । एक घण्टाको प्रतीक्षापछि बल्ल उसको पालो आउँछ र भित्र पस्छ । ‘बस्नुहोस् । तपाईंकै प्रतीक्षामा थिएँ म,’ हँसिलो अनुहार पार्दै भन्छन् डाक्टर ।
बितेको एक हप्तामा उसको गतिविधिबारे एक–एक गरेर सोध्न थाल्छन् डाक्टर । लगभग डाक्टरले उसको बारेमा बुझ्नुपर्ने कुरा सबै बुझिसकेपछि एउटा लामो सुत्न मिल्ने बेन्चमा पल्टिन आग्रह गर्छन् डाक्टर । कोठामा बलिरहेको बत्तीलाई निभाएर एउटा मधुरो बत्ती बाल्छन् ।
‘अब आँखा चिम्लिएर शरीरलाई हल्का पार्नुस् । सम्झनुस् कि तपाईं कुनै शान्त ठाउँमा हुनुहुन्छ । तपार्इंको वरिपरि कोही छैनन् । शान्त रूपमा बगिरहेको खोला । हरियो वातावरण जसमा चराको मधुर ध्वनिले वातावरणलाई सुन्दर बनाइरहेको छ,’ सानो स्वरमा डाक्टरले पल्टिरहेको उसलाई भन्छन् । डाक्टरले भनेअनुसार दिमागलाई त्यही ठाउँमा पु¥याउँछ ऊ ।
‘तपार्इंलाई देख्ने, सुन्ने कोही छैनन् यहाँ । त्यसैले तपाईंको मनमा गुम्सिएका हरेक कुरा भन्न सक्नुहुनेछ । यस शान्त हरियाली वातावरणमा धक फुकाएर भन्नुस् के कुराले तपाईंलाई पिरोलिराखेको छ ?’ डाक्टर भन्दै जान्छन् । ‘कति खुसी थिएँ म । नभएको कुरा केही थिएन मसँग । जहाँ गए पनि हाइहाइ थिएँ म । सबैबाट पाएको मायाले यस्तो लाग्थ्यो कि मजस्तो भाग्यमानी अरू कोही छैनन् । तर, २०७० सालको आगमन सँगसँगै .......।’ आँखाबाट आँसुका धारासँगै उसको हरेक कुरा बाहिर निस्कन थाल्यो । डाक्टरले अब राम्ररी बुझिसकेका थिए कि उसको समस्या के रहेछ भनेर ।
‘किन र केटा मान्छेमा पनि नरम पक्ष भन्ने हुँदैन र ? एक महिलामा जति कोमल पक्ष हुन्छ, त्यति नै पुरुषमा पनि हुन्छ । कसले भन्यो पुरुषको आँखामा आँसु आउन दिन हुँदैन भनेर ? रुनुस् जति तपाईंलाई मन लाग्छ । तपाईंको आँसुले ती सब पीडा पखालियोस्, जुन तपाईंभित्र छ,’ थप्दै जान्छन् डाक्टर ।
‘केटा मान्छे भएर कहिल्यै आँखामा आँसु ल्याउनुहुँदैन’ भन्ने कुरालाई बिर्सेर उसको आँखाबाट आँसुको वर्षा हुन थाल्छ । कैयौँ वर्षदेखि जमेर ताल बनेको आँसुको बाँध फुटेको छ उसको । एक बालकझैँ रुँदै भन्दै गर्छ मानौँ डाक्टर नै सबैथोक होस्, उसको अहिले । करिब तीन÷चार घण्टापछि उसको आँसु तथा बोली बन्द हुन्छ । ‘बिस्तारै आँखा खोल्दै जानूस् त,’ उसको कानको नजिकै गएर भन्छन् डाक्टर ।
‘कस्तो अनुभव भइरेहेको छ अहिले ?’ प्रश्न गर्छन् डाक्टर । साँच्चिकै सयौँ किलोको बोझ धेरै समयदेखि बोकिराखेको र अहिले ती सब बोझलाई बिसाएर शरीरलाई खुला मुद्रामा राखेकोजस्तो अनुभव भइरहेको थियो उसलाई । ‘डाक्टर ! साँच्चिकै दिमाग रित्तो भएको र शरीर हल्का भएको महसुस गरिराखेको छु । त्यस्तो के चमत्कार गरिदिनुभयो मलाई कि यस्तो खुला र आनन्दको अनुभव भइराखेको छ मलाई ?’ खुसी हुँदै भन्छ ऊ ।
‘सानो कुरामा अल्झिरहनुभएको थियो । त्यसलाई फुकाइदिएकोमात्र हुँ । अब बिस्तारै सबै ठीक हुँदै जानेछ,’ कागजमा केही लेख्दै भन्छन् डाक्टर ।
‘धन्यवाद डाक्टर । तपाईंले ठूलो गुन लगाउनुभएको छ मलाई ।’ डाक्टरको हात समाउँदै भन्छ ऊ ।
‘कतिपय कुरा हाम्रो वशमा हुँदैनन् । तर, त्यसो भन्दैमा हरेश खानुको सट्टा त्यससँग सामना गर्न सिक्नुपर्छ । अर्को कुरा खुसीमा रमाउनु र पीडामा दुःखी हुनु भनेको स्वाभाविकै कुरा हो । तर, पुरुषले रुनुहुँदैन भन्ने कहीँ कतै लेखेको छैन । त्यसैले सबैका अगाडि रुन नसके पनि एक्लै त पक्कै पनि रुन सक्नुहुनेछ । यसले तपाईंलाई तपाईंभित्र भएको नकारात्मक सोचलाई पखाल्न मद्दत गर्नेछ । कसले के भन्छ भन्दा पनि तपाईं कसरी र के गर्दा बढी आनन्दित हुनुहुन्छ । त्यही गर्न सिक्नुपर्छ,’ कागजको पन्ना दिँदै भन्छन् डाक्टर ।
धेरै पछि जीवनमा नयाँपन पाएको अनुभव गरिरहेको हुन्छ ऊ । बाहिर निस्कँदा पानी परिरहेको हुन्छ । उसलाई पानीमा रुझ्दै हिँड्न मन लागिराखेको हुन्छ । मान्छे यताउति ओत लाग्न थाल्छन् । तर, आकाशबाट बर्सिरहेको पानीको थोपाको अनुभव लिइरहन्छ ऊ । अघि आँसुले भिजेका शरीर आकाशको पानीले सबै चोख्याइदिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?