logo
२०८१ बैशाख १३ बिहीवार



पुरुष मनका महिला कथा

शनिवार |


पुरुष मनका महिला कथा



प्रा.डा. लक्ष्मणप्रसाद गौतमको समालोचकीय व्यक्तित्वले अरू विधालाई खर्लप्पै निलेको अवस्थामा कथासङ्ग्रह निस्कनु औधि खुसीको कुरो हो । उहाँको समालोचकीय पाटो केही क्षणका लागि निकाल्ने हो भने नेपाली साहित्य नै अपुरो हुन्छ । यस्तो अवस्थामा नेपाली साहित्य तथा साहित्य सर्जकलाई सजग गराउने उहाँ आफैँचाहिँ कस्तो सिर्जना गर्नुहुन्छ होला भन्ने कौतुहलता हुन्छ नै । यही कौतुहलतालाई मेटाउनका लागि उहाँ बेला बेलामा कथा, कविताका पुस्तकहरू प्रकाशन गरिरहनुहुन्छ । त्यसैको निरन्तरता हो कथासङ्ग्रह ऊहापोह । ऊहापोह भन्नाले मनमा उठ्ने अनेक प्रकारका तर्क वितर्क वा सोच विचार भन्ने बुझिन्छ । ऊहापोह कथासङ्ग्रहभित्रका चौध कथामा पनि अनेक तर्क वितर्कलाई माझेर खारेर टिलिक्क टल्काउनुभएको छ गौतमले ।
कथामा नारी मनका कुरा उहाँले कसरी लेख्नुभएको होला भन्ने कौतुहलता भइरहन्छ । जसरी कथामा लेखकले पात्रहरूलाई मजाले ऊहापोह गराएर पाठकलाई मनोरञ्जन गराउनुभएको छ, त्यसरी नै कथा पढिसकेपछि पाठकलाई पनि पात्र र लेखकका बारेमा ऊहापोह भइरहन्छ । अर्थात् कौतुहलता उर्लिरहन्छ । जे होस् गौतम मजाले नारीमनभित्र पसेर उनीहरूका भावनालाई कथामार्फत व्यक्त गर्न सफल हुनुभएको छ । गुलाफको आतङ्क, पफ्र्युम यात्रा, ऊ, म अनि त्यो साँझ, उपहार औडाह, नाइट बल्बको उज्यालो १, नाइट बल्बको उज्यालो २, उत्तर आधुनिक प्रेम, एउटा दैनन्दिनमा बाँचेको ऊ, निस्सिम प्रेम, खोजेको कथा, संवेदनाको सफ्टकपी, डायरी पढेपछि, म दर्शक वेबक्याम्प र हाइब्रिड गरी चौधवटा यी कथा नेपाली साहित्यका मानक कथा हुन् । गौतमको कथा लेखनशैली बडो रोचक छ । उहाँ लेखक र पात्र बीचमा भएका संवाद निर्धक्क सुनिरहनुहुन्छ । दिमागमा रेकर्ड गर्नहुन्छ । कहिले खुशी हुनुहुन्छ, कहिले दुःखी । लेखकले पात्रलाई न्याय दिन नसकेकोमा आफैँ यसो गर भनौँ जस्तो पनि लाग्छ उहाँलाई । तर उहाँ बोल्नुहुन्न । उनीहरूका हर्कत भने हेरिरहनुहुन्छ । कथा अन्त्य हुन्छ । कौतुहल बढिरहन्छ र अन्त्यमा राज खोल्नुहुन्छ । त्यो हेरिरहने मान्छे नभएर वेब क्यामरा हुन्छ । वर्तमान समयको उपज हो, प्रविधिको सम्मान पनि हो । यस्ता कुरा आम मान्छेले सोच्नै सक्दैन । साहित्यिक रचनाका सिद्धान्त प्रतिपादन गर्ने उहाँ आफ्नै सिर्जनामा चुनौती भने देख्नुहुन्छ तर चुनौतीको सामना गरेर नेपाली साहित्यमा अब्बल कथाहरू पस्कनुभएको छ, ऊहापोह मार्फत ।
कथाका पात्र फरक शैलीमै उहाँले चयन गर्नुभएको छ । एउटी महिला सरकारी उच्च तहमा जागिरे छे, उसका श्रीमान् छन्, छोराछोरी छन् । भनौँ ऊ सम्पन्न छे, तैपनि श्रीमान् सुतेपछि रातभर च्याटमा परपुरुषसँग कुरा गर्छे । अधबैँसै उमेरको त्यो रोमाञ्चकताले उसलाई कहाँ प¥ुयाउला भन्ने डर पनि छ । तर ऊ आफ्नो लत छोड्दिन । एउटी महिलाले प्रविधिको दुरूपयोग गरेकी हो या रमाइलोका लागि गरेकी हो त्यो पाठकले सोचिरहनुपर्छ, कथा सकिएपछि । त्यसैले यी कथालाई बुढ्यौलीमा बैँसका सोच ताजा भएर दौडाइरहेका मनका भावना भन्दा पनि हुन्छ । अर्को कुरा एउटा पुरुषले महिलाको मनोविज्ञान कसरी चोर्न सकेको होला ? कथाको शक्ति भनेकै यही हो ।
चोखो मायाप्रेमभन्दा पनि सम्पत्तिमा आँखा गाडेका केही प्रेमिलका कथा ऊहापोहमा भेटिन्छन् । लेखक पनि यही समाजमा बसोवास गर्ने आम मान्छे नै भएकाले समाजका हरेक गतिविधि उहाँलाई पक्कैै थाह छ, फरक यति हो कि लेखकले ती गतिविधिलाई लेखेर लौ हेरौँ है हाम्रो समाजको सङ्गति विसङ्गति भनेर सिर्जनामार्फत सजग गराउँछ । आम मान्छेमा त्यो खुबी हुँदैन, त्यसैले एउटा लेखक समाजलाई हेर्ने दुरबिन जस्तै हो भन्ने ठान्छु म । त्यो दुरबिनले हेरेर समाजका हरेक घटनालाई छर्लङ्ग बनाउने क्रममा कथाकार गौतम लाग्नुभएको छ र सत्यतथ्य लेख्नुभएको छ । समालोचक पनि भएका हुनाले आम सर्जकभन्दा पृथक् सिर्जना गर्न सक्नुपर्छ भन्ने मान्यता उहाँमा विद्यमान छ र मनोविज्ञान प्रस्तुतिमा उहाँ सफल देखिनुहुन्छ– ऊहापोहमार्फत । पफ्र्युम यात्राकथामा एउटा कथाको पात्र बसमा यात्रा गर्छ, बसमा भीड हुन्छ । पात्रसँग एउटी महिला भीडमा हुन्छे, त्यहाँ महिलाले हालेको पफ्र्युमले पात्रले लगाएको लुगा पनि बास्नादार बनाइदिन्छ । घरमा पुग्दा श्रीमतीले के भन्ने होली भनेर चिन्तित हुन्छ । तर उसलाई पफ्र्युमको बास्ना रहिरहोस् भन्नका लागि अनेक जुक्ति लगाउँछ । तर श्रीमतीले पनि आफूलाई पनि यस्तो बास्नादार पफ्र्युम ल्य(ाइदिन आग्रह गर्छे अनि ऊ ढुक्क हुन्छ । यसरी कहिले पात्रसँग कथाकार सँगै यात्रा गर्छन्, कहिले कथाकारसँग पात्र । अझै रोचक त के छ भने कथाकार र पात्रलाई नियन्त्रण गर्ने अर्को पात्र उभिन्छ, अनि कथाको रोचकता देखिन्छ । यसरी उहाँका कथा जुन कोणबाट हेर्दा पनि समानता, कौतुहलता र मनोविज्ञानका दृष्टिकोणले सफल मानिन्छन् ।
प्रयोगवादी कथाका रूपमा केही कथा निकै नै उत्कृष्ट लाग्छन् । पुस्तकको अन्तिम कथा हाइब्रिड कथा यसको उदाहरण हो । एउटा संवेदनशील विषयलाई पनि मिहिन तरिकाबाट प्रस्तुत गर्न सक्नु लेखकको आफैँमा एउटा वैशिष्ट्य हो ।
विषय र परिवेश यही समाजका नै हुन् । विकृति विसङ्गति पनि हाम्रै समाजका हुन् । प्रविधिको प्रयोग वर्तमान समयको माग पनि हो । तर त्यसको प्रयोग कसरी गर्नुपर्छ भन्ने तत्वज्ञान हामीमा कम भइरहेको अवस्थामा ऊहापोहका कथाले त्यसको प्रयोग र उपयोगिताको बारेमा कथामार्पmत मजाले झटारो हानेका छन् । पुरुषप्रति महिलाले हेर्ने दृष्टिकोण र समाजमा महिलाले भोग्नुपरेका अनेकन समस्याका पोका उनीहरूको मनोविज्ञानलाई ऊहापोहभित्रका कथाले न्याय गरेका पक्कै छन् । सबै पुरुषलाई एउटै कित्तामा राखेर जोख्न नहुने दृष्टिकोण पनि कथामा भेटिन्छन् । अन्त्यमा भन्नैपर्दा ऊहापोह एउटा पुरुष मनले महिलाका मनोविज्ञानलाई सुन्दर ढङ्गमा लेखिएका सुन्दर कथा हुन् ।

 छविरमण सिलवाल  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?