logo
२०८१ बैशाख १२ बुधवार



शोकको धुन

शनिवार |


शोकको धुन



गीता अधिकारी

नेपाली चलचित्र क्षेत्रले गएको हप्ता आफ्ना होनहार प्रतिभा गुमाउनुप¥यो । कलाकारहरू आनन्द थापा, केशव भट्टराई र दीपक क्षेत्रीको असामयिक निधन भएको खबरले सबैलाई दुःखी तुल्यायो ।
कलाकार आनन्द थापाको ८० वर्षको उमेरमा मङ्गलबार राति निधन भयो । उहाँलाई दुई वर्षदेखि पक्षघातको समस्या थियो । चलचित्र ‘मनको बाँध’बाट अभिनय यात्रा सुरु गुर्नभएका थापाले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रीति’, ‘अचानक’, ‘राज’, ‘प्लान’, ‘वरदान’लगायत दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ । गाईजात्रा महोत्सव, हास्यव्यङ्ग्य कार्यक्रम, नाटक, टेलिचलचित्र लेखन, निर्देशनसमेत उहाँले गर्नुभएको थियो । उहाँ गीत पनि गाउनुहुन्थ्यो । उहाँले गाएको ‘मेरो दस रुपियाँ किलोमा आलु बिकेन’ प्यारोडी गीत एक समय निकै चर्चामा थियो । त्यस्तै २०४१ सालमा आएको चलचित्र ‘कान्छी’मा समाविष्ट ‘फरियालाई भुइँमा लतारी...’ बोलको गीतले उहाँलाई थप चर्चा दिलाएको थियो । केही म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएका थापाले पछिल्लो समय कमेडी सिरियल ‘घ्याम्पोभित्रको खिचडी’ आफ्नै अभिनय, लेखन र निर्देशनमा तयार पार्नुभएको थियो । उहाँको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । जहाँ उहाँलाई श्रद्धाञ्जली दिन ठूलो सङ्ख्यामा कलाकार पुग्नुभएको थियो ।
यस्तै, शनिबार कलाकार दीपक क्षेत्री डिल्लीबजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिनुभयो भने आइतबार बेलुका केशव भट्टराई हामीमाझ रहनुभएन भन्ने खबरले अत्यन्त मर्माहत बनायो । ५४ वर्षीय भट्टराईको हृदयाघातका कारण मृत्यु भएको जनाइएको छ । पारिवारिक स्रोतका अनुसार भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ चलचित्र निर्माता पनि हुनुहुन्थ्यो । उहाँको निधनले चलचित्र क्षेत्रलाई ठूलो क्षति पुगेको छ । कहिल्यै नरिसाउने, कसैको कुभलो नचिताउने, आफ्नो सम्पूर्ण जीवन नेपाली चलचित्रका लागि उहाँले समर्पित गर्नुभएको थियो । तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट २०४५ सालमा भट्टराईले अभिनय यात्रा सुरु गर्नुभएको थियो । उहाँले चलचित्रको निर्देशन पनि गर्नुभएको थियो । जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्ष र चलचित्र निर्माता सङ्घका वरिष्ठ उपाध्यक्ष रहिसक्नुभएका भट्टराईले अभिनय गर्नुभएको चलचित्र पनि थुप्रै छन् । उहाँले निर्माण गरेको पछिल्लो चलचित्र हो– यात्रा । यो चलचित्र गतवर्षको अन्त्यतिर रिलिज भएको थियो ।
‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवरबाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ उहाँले निर्माण गर्नुभएको चर्चित चलचित्र हुन् । कलाकार हुँदै चलचित्र निर्माणमा होमिनुभएका भट्टराई २०७५ चैत ७ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । दुईवर्षे कार्यकालका लागि सरकारले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । दुई दशकदेखि नेपाल विद्युत् प्राधिकरणका जागिरे भट्टराई बोर्डमा नियुक्त भएपछि प्राधिकरणबाट अवकाश लिनुभएको थियो । दुई दिनअघि मात्र चलचित्र विकास बोर्डअन्तगर्तको ‘महिला चलचित्रकर्मी सशक्तीकरण’ समितिले निर्माण गरेको चलचित्र ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको थियो । भट्टराईकै सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको थियो । ‘मोफसलमा नेपाली चलचित्रको बजार विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि सोमबार हैटौँडा जाने कार्यक्रम उहाँको थियो । कार्यक्रम चलचित्र पत्रकार सङ्घ मकवानपुरले आयोजना गरेको थियो । तर, अब केशव भट्टराईसँगको साथ सदाका लागि छुटेको छ, विश्वास नै नलाग्नेगरी ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि भट्टराईले केही राम्रा कामको सुरुवात गर्नुभएको थियो । चलचित्र क्षेत्रले पनि भट्टराईमाथि निकै भरोसा गरेको थियो । अध्यक्षको कुर्सीमा आसिन भएपछि ‘मलाई अग्रजदेखि अहिलेका पुस्तासम्मले विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई म मर्न दिन्नँ,’ उहाँले भन्नुभएको थियो । तर उहाँले हामीलाई आफ्नो वाचा अधुरै छोडेर जानुभयो ।
यस्तै लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहनुभएका ५८ वर्षीय दीपक क्षेत्रीले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सिमाना’, ‘राज्जा रानी’, ‘झोला’ र ‘मसान’लगायतका चलचित्रमा उहाँको अभिनय छ । जन्मपछि मृत्यु सत्य हो, मृत्युमा पीडा अवश्य हुन्छ नै तर स्वाभाविक मृत्युभन्दा असामयिक निधनको पीडा अझ बढी हुने रहेछ । नेपाली रजतपटका कुशल यी कलाकर्मीको योगदान चलचित्र क्षेत्रले सधैँ सम्झनेछ । उहाँहरूको अन्तिम बिदाइमा ठूलो सङ्ख्यामा कलाकारहरू उपस्थित भएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?