logo
२०८१ बैशाख १२ बुधवार



किसानका पत्रकार

शनिवार |


किसानका पत्रकार


गोविन्द भट्टराई

विनयकुमार कसजू विकास पत्रकारिता, बालसाहित्य र फिचर लेखनका एक सिद्धहस्त व्यक्तित्व । यो व्यक्तित्व निर्माणमा कसजूले २०२९ सालमै अधिवक्ता कमल मलेगो र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व प्रमुख मनमोहन श्रेष्ठसँग मिलेर तानसेनबाट ‘श्रीनगर’ त्रैमासिक पत्रिका प्रकाशन गरेर जग हाल्नुभएको थियो । यो पत्रिकाको मूल्य १ रुपियाँ थियो । २५ अङ्क प्रकाशित भयो ।
कसजूको लेखनशक्ति बेजोडको थियो । यही गुणका कारण तपाईं सञ्चार क्षेत्रमा लाग्नुपर्छ भनेर सहकर्मीहरूले प्रेरित गरेबाट उहाँ यस क्षेत्रमा आकर्षित हुनुभयो । २०३० सालमा उहाँले कुमार प्रेस सञ्चालन गर्नुभयो । तानसेनमा पहिलो कम्प्युटर, पहिलो फ्याक्स र पहिलो अफसेट प्रेस भिœयाउन पनि उहाँको योगदान रहेको बताइन्छ । तानसेनबाट प्रकाशन हुने भित्तेपत्रिका, हवाई पत्रिका लगायतमा उहाँ सक्रिय हुनुभयो । हरेक विधामा पहिलो प्रयोग गर्नु उहाँको शोख नै थियो ।
भित्तेपत्रिका र ‘गाउँले देउराली’ साप्ताहिकमार्फत उहाँले विकास पत्रकारिताको उदाहरण प्रस्तुत गर्नुभयो । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध शालीन ढङ्गले समाचार पस्कनुभयो । सम्पादकीय लेख्नुभयो । अनि जनजिब्रोको शब्दलाई टपक्क टिपेर अब्बल लघुकथा सिर्जना गर्नुभयो । उहाँका पञ्चतन्त्र, थोपाथोपा, लिस्नो लगायतका लघुकथा सङ्ग्रह प्रकाशित छन् ।
मूलधारको पत्रकारितामा लाग्नेहरूमध्ये धेरैले उहाँबाट फिचर लेखनबारे प्रत्यक्ष तालिम वा प्रेरणा लिएको पाइन्छ । उहाँले जीवनका पूर्वार्धमा रिडीबाट तानसेन झरेपछि तानसेन ठाडो गल्लीमा किराना पसल र केही समयपछि साझा प्रकाशनको डिलर तथा स्टेशनरी सामग्रीको पसल चलाउनुभयो । ठाडोगल्लीको कुमार प्रेस, पछि भगवतीटोलस्थित कुँडुलेघर परिसरमा रहेको कसजू निवासमा उहाँलाई भेट्न हितैषीहरू पुग्ने गर्थे ।
औपचारिक कार्यक्रममा उहालाई पटक्कै हिँडेको देखिँदैनथ्यो । कहिलेकाहीँ साथीहरूसँग विभिन्न गाउँमा पुग्नुहुन्थ्यो । सूचना शक्ति हो भन्ने कुरा नागरिकलाई बुझाउनुपर्छ भनेर उहाँले जोड दिनुभयो । उहाँले सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्तको रूपमा काम गरेर यसलाई कार्यान्वयन गर्न जोड दनुभयोे ।
कसजूको जन्म तानसेन भगवतीटोलमा २००४ साल असार २० गते भएको थियो । २०७६ मङ्सिर १० गते उहाँको निधन भयो । उहाँका योगदान भने लोकले सम्झिरहनेछन् । सम्झनु आवश्यक पनि छ । औपचारिक शिक्षाको कुरा गर्दा उहाँले स्नातक गर्नुभएको थियो । स्वाध्ययनले उहाँ खारिनुभएको थियो । उहाँको भाषाशैली सरल थियो । लेखनमा मिठास थियो ।
विकास पत्रकारिता र बालसाहित्यमा विशिष्ट स्थान ओगट्न सफल कसजूले विविध विषयमा कलम चलाउनुभएको थियो । कुनैबेला रुरु गाउँ पञ्चायत, रिडीको प्रधानपञ्चको रूपमा उहाँले जनसेवा गर्नुभएको थियो । त्यसबेला उमेरले कान्छा प्रधानपञ्च कसजूको रूप र व्यक्तित्वसँग राजा महेन्द्र प्रभावित हुनुभएको थियो । पाल्पाको राजनीतिमा माक्र्सवादी धार नजिक रहेका कसजूसँग जोडिएका अनेक प्रसङ्ग छन् । तीबारे अलग्गै चर्चा गर्दा सान्दर्भिक होला ।
सरल, मिजासिलो स्वभाव, झट्ट नरिसाउने र सोचेर बोल्ने कसजूका अनुकरणयोग्य बानी हुन् । त्यसो त उहाँका पनि कमीकमजोरी थिए होलान् तर यो बेला उहाँका असल कर्म स्मरण गर्ने बेला हो । उसबेला तानसेन (पछिल्लो समय काठमाडौँ) निवासी कसजूले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदा दुईपटक जेल पर्नुभएको थियो । २०४० देखि २०५० सालसम्म पाल्पाबाट प्रकाशित सत्य समाचार साप्ताहिकको सम्पादकको रूपमा उहाँले काम गर्नुभयो । यस पत्रिकामा रहेको साँचो कुरा स्तम्भले धेरैको मस्तिष्कमा अमिट छाप छोडेको थियो । २०५० साल पुसबाट परीक्षण र २०५१ साल वैशाखबाट नियमित प्रकाशन भएको दक्षिण एसियाको पहिलो विकास पत्रिका ‘गाउँले देउराली’ साप्ताहिकको उहाँ संस्थापक सम्पादक हुनुभयो । यस अवधिमा उहाँले पाल्पाका अन्य पत्रिका प्रकाशनमा सहयोग गर्नुका साथै बुधवार साप्ताहिक, हिमाल खबर पत्रिकालगायत राजधानीबाट प्रकाशित पत्रपत्रिकामा समेत स्तम्भ लेख्नुभएको थियो । नेपाल पत्रकार महासङ्घ पाल्पाको स्थापनामा पनि उहाँको योगदान उत्तिकै छ । पछिल्लो समय बालसाहित्यमा उहाँ क्रियाशील हुनुहुन्थ्यो । उहाँका १२ दर्जन जति बालसाहित्यका पुस्तक प्रकाशित छन् । उहाँले बालकथा लेखनबारे तालिम पनि दिनुहुन्थ्यो । समुदायमा सूचना प्रवाहका क्रममा अडियो टावरको उपयोग, तानसेन पाल्प(ामा स्थानीय टिभी रत्न केबुल सञ्चालन, सामुदायिक रेडियो मदनपोखरा स्थापना तथा सञ्चालन र ‘गाउँले देउराली’ साप्ताहिकको प्रकाशन आरम्भमा उहाँको योगदान अतुलनीय छ । गाउँले देउराली साप्ताहिकमा २०५३ साल चैत १५ सम्म उहाँ सम्पादक रहनुभएको थियो ।
विकास पत्रकारिताको मोडल अब फेरिनुपर्छ, ग्रामीण परिवेश र प्रविधि सुहाउँदो पत्रकारितामा जोड दिन सकिएन भने बजारमा टिक्न सकिँदैन भन्नुहुन्थ्यो कजसू । पत्रकारितामार्फत उहाँले ग्रामीण विकासका लागि लगाउनु भएको गुन अमूल्य छ । गाउँमा पाइला पाइलामा समाचार छ भनेर कृषि र पशुपालन पेशामा लागेकाहरूको मनोबल उकास्ने गरी उहाँले विकास पत्रकारिताको उपयोग गर्न सिकाउनुभएको कुरा उहाँसँग तालिम लिने धेरैलाई स्मरण हुनुपर्छ ।
सूचना आयोगको संस्थापक प्रमुख आयुक्त भएपछि ग्रामीण विकास पाल्पाको अध्यक्ष पदबाट उहाँले २०६५ जेठ ५ बाट राजीनामा दिनुभएको थियो । विगतमा प्रेस काउन्सिल नेपाल, मानव अधिकार आयोगको सल्लाहकारको रूपमा समेत उहाँले सेवा गर्नुभएको थियो । राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्यको रूपमा पनि उहाँले काम गर्नुभयो । विगतमा शिक्षण र मानव अधिकर क्षेत्रमा संलग्न उहाँकी जीवनसाथी गङ्गा कसजू पनि बालसाहित्यमा नै क्रियाशील हुनुहुन्छ ।
उहाँले दक्षिण एसियाको पहिलो विकास पत्रिका ‘गाउँले देउराली’ साप्ताहिकको संस्थापक सम्पादकको रूपमा काम गरेर गाउँको गतिविधि, किसानका कर्मले पनि पत्रपत्रिकामा स्थान पाउन सक्छ भन्ने तथ्य स्थापित गराउनुभयो । यही योगदानलाई सम्झेर अहिले पनि पाल्पा सेरोफेरोमा उहाँलाई किसानका पत्रकार भनेर चिनिन्छ । श्रद्धाले उहाँको नाम लिइन्छ । उहाँको अगुवाइमा ग्रामीण विकास पाल्पाले देशब्यापी रूपमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको थियो । त्यसबेला तालिम लिने दर्जनौँ पत्रकार मूलधारको पत्रकारितामा यतिबेला स्थापित छन् । ग्रामीण विकासका लागि सूचनाको महìवपूर्ण स्थान रहन्छ भनेर बोध गराउन सफल कसजू सादा जीवन उच्च विचारका पक्षपाती हुनुहुन्थ्यो । स्वर्गीय कसजूप्रति हार्दिक श्रद्धाञ्जलि !

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?