logo
२०८१ बैशाख ८ शनिवार

 घर नहुनेलाई घर बनाउँदै सरकार 



बैतडी, बझाङ र दार्चुलामा ६८८ घर बने, ४८६ निर्माण हुँदै

पढ्नै पर्ने |


बैतडी, बझाङ र दार्चुलामा ६८८ घर बने, ४८६ निर्माण हुँदै


गोकर्ण दयाल

बैतडी, मङ्सिर २० गते । घर नभएर खुला आकाशमुनी बस्दै आईरहेका विपन्न परिवारलाई छानोमुनी ल्याउन सरकारले जनता आवास कार्यक्रम सुरु गरेको छ । कार्यक्रमले बैतडी, दार्चुला र बझाङ्मा ६८८ घर निर्माण गरेको छ भने ४८६ घर निर्माणधीन अवस्था रहेका छन् ।

नेपाल सरकारले १७ करोड रुपियाँ खर्च गरेर बैतडीमा ४८१, दार्चुलामा १०९ र बझाङमा ९८ घर गरि ६८८ घर निर्माण सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा १० करोड रुपियाँ खर्च गरेर थप ४८८ घर निर्माण भईरहेको भवन डिभिजन कार्यालय  बैतडीले जानकारी दिएको छ ।

चालु आर्थिक वर्ष २०७६/२०७७ मा बैतडी, दार्चुला र बझाङमा थप ४८६ घर निर्माण भईरहेका भवन डिभिजन कार्यालय बैतडीका निमित्त प्रमुख ईन्जिनियर लालबहादुर बिष्टले जानकारी दिनुभयो ।

निर्माण भईरहेका थप घर मध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङ्मा २०० थप घर निर्माण भईरहेको निमित्त प्रमुख बिष्टले जानकारी दिनुभयो ।

निर्माण भईरहेका घर आउँदो असारभित्र सम्पन्न हुने गरि काम भईरहेको र दोश्रो किस्ता समेत निकासा भईसकेको भवन डिभिजन कार्यालयका लेखापाल प्रेमराज अवस्थीले बताउनुभयो । जनता आवास कार्यक्रम अन्तरगत प्रति घरका लागि तीन लाख ५० हजार रुपियाँ बजेट आएको लेखापाल अवस्थीले बताउनुभयो ।

घर नभएर त्रिपालमुनी आश्रय लिएर बसिरहनु भएका दशरथ चन्द नगरपालिका–६, का गंगाराम टमटा सरकारले घर बनाउन रकम दिएपछि मख्ख पर्नुभएको छ ।

मुहार उज्यालो पार्दै टमटा भन्नुहुन्छ–‘सरकारले घर बनाउन तीन लाख ३२ हजार रुपियाँ दिएपछि निकै खुशी लागेको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको थिए । आफैले घर बनाउन सक्ने अवस्था थिएन । मेरा लागि त सरकार भगवान जस्तै बनेर गाउँमा प्रकट भए जस्तो लागेको छ । घर निर्माण गर्न रकम आएपछि घर निर्माणको काम आधा सकिएको छ । अब छिट्टै आफ्नै घरमा सर्ने तयारी छ ।’

घर निर्माणका लागि भवन डिभिजन कार्यालय बैतडीले सोझैं व्यक्तिको खातामा रकम दिने गरेको छ । कामको अनुगमन र निरीक्षणका लागि गाउँगाउँमा प्राविधिक खटिएका छन् । २० फिट नौ ईन्च लम्बाई र १४ फिट ११ इर्एन्च चौडाईको बडरण्डा सहित दुई कोठा र शौचालय भएको भूईतले घर निर्माण भईरहेको भवन डिभिजन कार्यालयका फिल्ड प्राविधिक दिपिका जोशीले बताउनुभयो ।

जनता आवास कार्यक्रम ल्याएर सरकारले घर बनाईदिएकोमा मेलौली नगरपालिका–८, का लक्षीराम लोहार, दशरथ चन्द नगरपालिका–८, सिमल्लेकका जयराम महर, दशरथचन्द नगरपालिका–४, ववेतकी देवकी वडले सरकारले घर बनाई दिएकोमा खुशी व्यक्त गरेका छन् ।
जनता आवास कार्यक्रमले बनाईदिएको घरमा परिवार सर्न पाउँदा निकै खुशी लागेको मेलौली नगरपालिका–८, का लक्षीराम लोहारले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?