logo
२०८० चैत्र १५ बिहीवार



लाप्चा लेकबाट कैलाशको दर्शन

शनिवार |


लाप्चा लेकबाट कैलाशको दर्शन


राजन रावत

भगवान् शिव भन्नासाथ मानसरोवर कैलाशको नाम जोडिन्छ । मानसरोवर कैलाश चीनमा पर्छ । हुम्लाको दुईवटा क्षेत्रबाट मानसरोवर कैलाशको यात्रा गर्न सकिन्छ । एउटा यतिखेर सबैले यात्रा गरिरहेको हिल्सा नाकाबाट बुराङ काउन्टीको ताक्लाकोट हुँदै र अर्को नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा लेकबाट । तल्लो हुम्लाको स्थानीयले भने लाप्चा लेकबाट मानसरोवर कैलाशको पैदल नै यात्रा गर्दै आएका छन् । पछिल्लो समय लाप्चा नाकाबाट जान चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको छ । यो नाका चिनियाँ व्यापारीहरूले हिमालपारिका गाउँका बासिन्दालाई असोज र कात्तिकमा खाद्यान्न तथा लत्ताकपडा बिक्री गर्न प्रयोग गर्दै आएका छन् । यहीँबाट लिमीका बासिन्दाले पनि आफ्नो सामानको जोहो गर्दै आएका छन् ।
बूढापाका भन्थे– नेपाली भूमि लाप्चा लेकबाट पनि मानसरोवर कैलाशको दर्शन गर्न सकिन्छ । तर, मनमा भने यो ठाउँ कहिले जान सकिएला भनेर खुल्दुली भइरहेको थियो । लिमी उपत्यका यात्रा गर्ने अवसर २०६५ सालमा मिलेको थियो । त्यतिखेर कामको व्यस्तताले लाप्चा लेक गएर मानसरोवर कैलाशको दर्शन गर्ने चाहना अपूरै रह्यो । २०७३ सालमा भने त्यो रहर पूरा भयो । अनि २०७५ सालमा हेलिकोप्टरबाट लाप्चा लेकमाथि फन्को मारेर मानसरोवर कैलाशको दर्शन गर्ने सौभाग्य मिल्यो । यसपालि पनि यहाँ जाने अवसर फेरि मिल्यो । लिमी जानका लागि दुईवटा मार्ग छन् । एउटा सिमकोट–हिल्सा हुँदै र अर्को सिमकोट–सल्ली हुँदै करिब पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर । दुईवटै मार्गबाट जाँदा बाटोमा देखिने रमणीय दृश्य, जङ्गली जनावर, बास्नादार जडीबुटी, डाँफे, कालिज तथा च्याखुराजस्ता पक्षीले उच्च हिमाली क्षेत्रको यात्रालाई रोमाञ्चक बनाउँछ ।

यात्रा गर्ने उपयुक्त समय
बाह्रै महिना लाप्चा जान सकिँदैन । त्यसमाथि मङ्सिरदेखि जेठसम्म जान असम्भव । यो समयमा हिउँ जमिरहेको हुन्छ । असारदेखि कात्तिकसम्म लाप्चा लेकबाट मानसरोवर कैलाशको दर्शन गर्ने उपयुक्त समय हो । तर, साउन र भदौ महिना वर्षाका कारण बाक्लो कुहिरो र बादल लाग्ने भएका कारण कैलाश पर्वत र मानसरोवर ताल नदेखिने सम्भावना हुन्छ । त्यसैले भदौ, असोज र कात्तिक महिना उपयुक्त समय हो । कात्तिकमा चिसो भने निक्कै बढेको हुन्छ ।

यात्रा कति दिनको ?
उच्च पाटनमा हिँड्नुपर्ने भएकाले १२ देखि १४ दिनको यात्रा उपयुक्त हुन्छ । सडक सञ्जाल पूर्ण रूपमा नभएकाले पैदल मार्गबाट चार दिनमा लाप्चा लेकमा पुग्न सकिन्छ । पहिलो दिन सिमकोटबाट केर्मीसम्मको यात्रा गर्नुपर्ने हुन्छ । दोस्रो दिन छुँसासम्म जान सकिन्छ । तेस्रो दिन टाक्ची र चौथो दिन लाप्चा लेक पुगिन्छ । कच्ची सडक निर्माण भइसकेको र माथि लेकमा पाटनमात्र भएका कारण लिमीका स्थानीयको ट्रकबाट पनि यात्रा गर्न सकिन्छ । लाप्चा लेकमा एक दिन बिताउनु उपयुक्त हुन्छ । यहाँबाट मानसरोवर कैलाशको दर्शनका साथै विभिन्न दृश्य अवलोकन गर्न सकिन्छ ।
छुँसा, सेलिवाङ, ताक्ची र लाप्चाभन्दा अगाडि केही स्थानमा चौंँरीका खर्क भेटिन्छन् । मानिसको बाक्लो आवतजावत नभएका कारण व्यवस्थित बास बस्न भने पाइँदैन । आफैँ टेन्टको व्यवस्था गरेर जान पनि सकिन्छ तर माइनस तापक्रम धान्ने किसिमका ओढ्ने, ओछ्याउने, लुगा, जुत्ता आदि व्यवस्था गर्नु जरुरी हुन्छ । सदरमुकाम सिमकोटबाट हिँड्नेबित्तिकै कर्णाली करिडोरमै पर्ने च्याछरा झरनाको दृश्यावलोकन पहिलो दिनमै गर्न सकिन्छ । त्यसपछि सोही दिन तातोपानीमा नुहाउन पाइन्छ । सल्लीबाट भित्र प्रवेश गरेपछि डाँफे, कालिज, च्याखुरा देख्न पाइन्छ । केही माथि छुँसा पुगेपछि चौँरीका खर्कमा चौँरी गाई र खर्कालुसँग भेट हुन थाल्छ । बास पनि उनीहरूसँगै बस्ने हो । यसबीचमा ‘रक क्लाइम्बिङ’ गर्न सकिन चट्टानहरू पनि भेटिन्छन् । ठाउँ–ठाउँमा झरना र सिलाजित भएका चट्टान पनि देख्न सकिन्छ । त्यसैगरी न्यालु लेक प्रवेश गरिसकेपछि जङ्गली याक, घोडा, वनकुकुर, नाउरजस्ता जङ्गली जनावर देख्न पाइन्छ । लाप्चास्थित नेपाली भू–भागबाट चिनियाँ भूमिमा रहेको मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्न सकिन्छ । यो ठाउँबाट आकाश खुला रहेको बेला अति नै मनोरम दृश्य देखिन्छ । यो दृश्य हेर्नका लागि पनि एक दिन यहाँ बस्नु उपयुक्त हुन्छ ।

पैदलको विकल्प
कुनै बेला सिमकोटबाटै गाडीमै सररर जान सकिएला तर हाललाई त्यो सम्भब छैन । गाडी (ट्रक) मा लिमीकै तुम्लिङबाट जान सकिन्छ । गाडीमा जाँदा यहाँबाट साढे तीन घन्टा लाग्छ । साना गाडी लिमीमा आइसकेका छैनन् । लिमीका स्थानीय केही व्यवसायीले ताक्लाकोटबाट लाप्चा हुँदै लिमीका दुई गाउँ जाङ र हल्जीका लागि छ महिना पुग्ने खाद्यान्न तथा अन्य लत्ताकपडा र बन्दोबस्तीका सामान ल्याउन गाडी ल्याएका हुन् । योसँगै लिमीमा घोडापालन पनि गरिएको छ । घोडामा पनि सवार हुन सकिन्छ ।
करिब पाँच हजार मिटर अग्लो क्षेत्रको यात्रा गर्नुपर्ने भएकाले एक्लैभन्दा समूह बनाएर जान उपयुक्त हुन्छ । आठदेखि दसजनासम्मको समूह बनाएर गए झनै राम्रो । पैदल यात्राका क्रममा कुराकानी पनि गर्न पाइने । पदमार्गको स्पष्ट रूप नभएकाले समूहमा जानु सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुन्छ । प्रचार–प्रसार नै छैन
नेपाली भूमिबाट पवित्र धार्मिक स्थलको अवलोकन गर्न सकिने अवस्था हुँदाहुँदै यसको खासै प्रचार–प्रसार हुन सकेको छैन । गत वर्ष नाम्खा गाउँपालिकाले लिमी महोत्सव गरेर केही प्रचार गर्ने प्रयत्न ग¥यो तर त्यो आफैँमा पूर्ण होइन । अर्को वृत्तचित्र निर्माणका काम पनि हुन सकेको छैन ।

राज्यसँग अपेक्षा
लाप्चा आफैँमा पर्यटकीय, व्यापारिक र ऐतिहासिक महŒवको ठाउँ हो । त्यसैले यस ठाउँको विकासका लागि राज्यले विशेष महŒव दिनुपर्छ । पूर्वाधारको कुरा गर्नुपर्दा सिमकोट–हिल्सा सडक आयोजनाले प्रारम्भिक ट्र्याक खुलाएर काम गरिरहेको छ । सल्लीबाट लाप्चासम्म सडक मर्मतपछि ट्रकहरू गुड्ने गरेका छन् ।
अब यसलाई चाँडो स्तरोन्नति गरेर कालोपत्रे गर्नु पहिलो आवश्यकता हो । यो काम स्थानीय सरकारले गर्न सक्दैन । अर्को लाप्चामा ‘भ्युटावर’ बनाउनुपर्छ ।
‘भ्युटावर’ बनेपछि यहाँबाट मानसरोवर कैलाशको
दूरदर्शन गर्न सकिन्छ । त्यसैगरी सल्लीबाटै लाप्चासम्म बास बस्ने व्यवस्था नभएको हुँदा ‘होमस्टे’ वा सामुदायिक भवनको व्यवस्था गर्नुपर्छ । यी आधारभूत कुराको व्यवस्था गर्न सके बर्सेनि लाप्चाले मानसरोवर कैलाशको दूरदर्शन गर्ने हजारौँ आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सक्छ ।
हिमालपारिको गाउँका रूपमा चिनिएको लिमीमा लाप्चामात्र होइन, ११औँ शताब्दीमा निर्माण भएको हल्जी गुम्बा, लिमीको स्थानीय भेषभूषा, रीतिरिवाज, चालचलन, ठिमा प्रथा, बहुपति प्रथा, वर्षमा एकमात्र पाक्ने बाली नाफल (उवा) पनि नजिकबाट नियाल्न सकिन्छ ।

 

वस्तु विनिमयको केन्द्र

विष्णुबहादुर लामा,
अध्यक्ष, नाम्खा गाउँपालिका

लिमी लाप्चा साबिकको लिमी गाउँ विकास समिति र हाल नाम्खा गाउँपालिकामा पर्छ । यो क्षेत्र परापूर्वकालदेखि चीन र नेपालका जनताको वस्तु विनिमयको केन्द्र हो । तत्कालीन समयमा खुला सिमाना भएका कारण मानसरोवर र कैलाश पर्वत दर्शन गर्न तीथार्लुहरू यही नाकाबाट हिँडेर जाने गर्थे । केही वर्षअघिबाट सिमानामा आवतजावतमा कडाइ हुँदा बन्द भएको हो । हुम्ला, मुगु र बाजुरा जिल्लाका जनताले यही स्थानमा गएर नुन, ऊन र कपडासँग चिनियाँलाई अन्नपात र फलफूल दिने गर्थे । अर्को तत्कालीन समयमा लिमी क्षेत्रका पशुको चरन लाप्चा पार गरेर मानसरोवरवरपर गरिन्थ्यो । यो सम्झौता पनि दुई देशका स्थानीय अधिकारीबीच हुँदै आएको थियो । केही वर्ष अगाडिसम्म सीमावार्तामा यो कुरा उठ्ने गरेको थियो । तत्कालीन राजा वीरेन्द्रको पालामा पनि यस्तो सम्झौता भएको थियो । केही वर्षपछि रद्द गरियो । चरन क्षेत्र नभएपछि यहाँ पशुपालन व्यवसाय कम हुँदै आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?