logo
२०८१ बैशाख ८ शनिवार



हुलाक टिकटमा गुराँस

शनिवार |


हुलाक टिकटमा गुराँस


प्राडा रमेश श्रेष्ठ

गुराँस फूल पहाडी भेगमा पाइन्छ । यसको पात लाम्चो, मोटो र खस्रो हुन्छ । धेरैजसो रातो र कतै सेतो पनि यो फूल फुल्छ । रातो फुल्ने लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

गुराँस (Rhododendron ) 
गुराँस एरिक्यासी परिवारमा पर्छ । हालसम्म विश्वमा यसको एक हजार २४ प्रजाति पहिचान गरिएको छ । यो फूल एसियामा बढी पाइन्छ भने उत्तर अमेरिकामा पनि पाइएको छ । प्रायः जाडो महिनापछि गृष्मयाम सुरु हुनु अघिसम्म यो फूल फुल्ने गर्छ । प्रजाति अनुसार यसको सानो, मझौला र ठूलो रूख हुन्छ । पातको आकार पनि प्रजाति अनुसार फरक फरक हुन्छ । जुन एकदेखि ५० सेन्टिमिटर सम्मको हुन्छ । यो फुल्दा आकर्षक फूलका गुच्छा देखिन्छन् । उच्च भू–भागमा पाइने गुराँसको फूल तथा पात सानो हुन्छ । नेपालमा हालसम्म ३२ प्रजातिका गुराँस पाइएका छन् । जुन विश्वमा प्राप्त सबै गुराँसको लगभग तीन प्रतिशत जति हो ।

लालीगुराँस (Rhodedendron arboretum)


लालीगुराँस सानो मझौला खालको रूखमा उम्रने रातो फूल हो तर यसको रूख २० मिटरसम्म अग्लो भएको पनि पाइएको छ । लालीगुराँस वसन्त ऋतुमा घण्टी जस्तो देखिने १५ देखि २० वटा फूलका झुप्पा भई फुल्छ । प्रत्येक फूल लगभग तीनदेखि पाँच सेन्टिमिटर जति लामो हुन्छ । लालीगुराँसको पात अलि चौडा, बाक्लो, कालो, हरियो रङको सातदेखि १५ सेन्टिमिटर लामो हुन्छ ।

जुँगे चिमाल (Rhodedendron ciliatum)


नेपालको पूर्वी भागका सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा जुँगे चिमाल गुराँस पाइन्छ । करिब दुई हजार सात सयदेखि तीन हजार नौ सय मिटरको उचाइसम्म पाइने यो गुराँसको उचाइ ०.३ देखि दुई मिटरसम्मको हुन्छ । पात अलि बाक्लो हुन्छ । जुन तीनदेखि आठ सेन्टिमिटर लामो र १.६ देखि ३.७ सेन्टिमिटर चौडा हुन्छ । पातको छेउमा ससाना रौँजस्तो हुन्छ । तल्लो भागमा कत्ला हुन्छ । सेतोमा रातो मिसिएको यसको फूल वैशाखदेखि असारसम्म फुल्छ । फूल ३.५ देखि पाँच सेन्टिमिटर लामो हुन्छ । उच्च भागको सल्ला र गुराँसको वनमा जुँगे चिमाल पाइन्छ ।

लहरे चिमाल (Rhododendron dalhousiae)
नेपाल र छिमेकी देशमा पाइने लहरे चिमाल गुराँस एक हजार आठ सयदेखि दुई हजार सात सय मिटरको उचाइमा पाइन्छ । नेपालमा यो पर्वत, कास्की, धादिङ, काठमाडौँ, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ र इलाममा पाइन्छ । झाडीको रूपमा देखापर्ने यो गुराँस एकदेखि नौ मिटरसम्मको अग्लो हुन्छ । पातको तल्लो भाग अलि पहेँलो र ससानो थोप्ला हुन्छ । वैशाखदेखि असारसम्म फुल्ने यसको फूल सेतो रङको हुन्छ । तर कुनै कुनैमा हल्का रातो मिसिएको पनि हुन्छ । यो फूल बास्नादार र सातदेखि १० सेन्टिमिटर लामो र चौडा हुन्छ । झ्याउले ढाकिएको रूखमा उम्रने यो गुराँस परजीवी हुन्छ । साथै झ्याउले ढाकिएको चट्टानमा पनि उम्रने गर्छ ।

चिमाल (Rhododendron fulgens)
चिमाल गुराँस पूर्वी नेपालको सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा तीन हजार तीन सयदेखि चार हजार दुई सय मिटरको उचाइमा पाइएको छ । यसको रुख १.५ मिटरको अग्लो हुन्छ । पात बाक्लो हुन्छ । जुन ५.५ देखि १२ सेन्टिमिटर लामो र तीनदेखि सात सेन्टिमिटर चौडा हुन्छ । पातको तल्लो भागमा खैरो, रातो, बाक्लो रौँ जस्तो हुन्छ । यसको फूल रातो हुन्छ । वैशाखदेखि असारसम्म फुल्छ । १० देखि १५ वटाको गुच्छामा देखापर्ने यी फूल दुईदेखि ३.५ सेन्टिमिटर लामो र करिब ४ सेन्टिमिटर चौडा हुन्छन् । चिमाल उच्च भूभागको धुपी तथा गुराँसको जङ्गलमा देखिन्छ ।

ठेकीझार (Rhododendron glaucophyllum)
ठेकीझार गुराँस पूर्वी नेपालको सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ जिल्लामा पाइन्छ । करिब दुई हजार सात सयदेखि तीन हजार छ सय मिटरको उचाइसम्म पाइने यो गुराँस ०.३ देखि १.२ मिटर सम्मको अग्लो हुन्छ । यसको पात बाक्लो हुन्छ । तीनदेखि आठ सेन्टिमिटर लामो र एकदेखि २.६ सेन्टिमिटर चौडा हुन्छ । पातको तल्लो भागमा कत्ला हुन्छ । फूल अलि रातो वा गुलाफ जस्तो रातो वा रातोमा मिसिएको सेतो रङको हुन्छ । चारदेखि पाँचवटा झुप्पामा फुल्ने गर्छ । यो फूल वैसाखदेखि जेठसम्म फुल्छ । करिब १.४ देखि २.६ सेन्टिमिटर लामो र दुईदेखि तीन सेन्टिमिटर चौडा हुने यो फूल छोटो आकारको हुन्छ । यो गुराँस चट्टानका खुला ठाउँ तथा सल्ला र गुराँसको जङ्गल छेउछाउ देखिन्छ ।

हुलाक टिकटमा गुराँस
नेपाल सरकारको हुलाक सेवा विभागले अहिलेसम्म प्रकाशित गरेको हुलाक टिकट तथा हुलाक वस्तुमा जम्मा पाँच प्रकारका गुराँस छन् । विभागले २०२५ सालबाट गुराँस फूललाई महत्वका साथ थुप्रै हुलाक टिकटमा प्रकाशन गर्दै आएको छ । नेपालको राष्ट्रिय फूल भएको कारण लालीगुराँस धेरै पटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । गुराँस फूल अङ्कित अहिलेसम्म प्रकाशित हुलाक टिकटमा राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा २०२५ साल फागुन ७ गते १५ पैसाको, फूल टिकटमाला अन्तर्गत २०२६ साल असोज ५ गते २५ पैसाको छ । यस्तै हिमाल पहाड टिकटमाला अन्तर्गत २०३९ साल मङ्सिर ३ गते नेपालको राष्ट्रिय चिन्हसहित लालीगुराँस फूलको सुन्दर चित्र, राजा वीरेन्द्रको ४९औँ जन्मोत्सवका अवसरमा २०४६ पुस १४ गते राजा वीरेन्द्रको चित्रसहित २ रुपियाँको छ ।२०४६ साल पुस १७ गते लालीगुराँस फूलसहित रारा राष्ट्रिय निकुञ्जको चित्रको ४ रुपियाँको, २०५१ साल असार २३ गते लालीगुराँस फूलसहित सगरमाथाको चित्र अङ्कित १ रुपियाँको टिकट र २०६५ साल साउन १७ गते नेपालको राष्ट्रिय चिन्हमा लालीगुराँस फूलसहितको १५ पैसाको टिकट प्रकाशित भएको छ । लालीगुराँस फूलको प्रमुख ढाँचासहित हालसम्म तीन प्रकारका रजिष्टरी हुलाक वस्तुमा प्रकाशन भइसकेका छन् । २०३७ साल वैशाख १ गते दुई रुपियाँ पचास पैसाको, २०४१ सालमा चार रुपियाँ पचास पैसाको र २०५१ असोज २४ गते सात रुपियाँ पचास पैसाको प्रकाशित भएको छ ।लालीगुराँस बाहेक अन्य अति आकर्षक चार प्रजातिका गुराँस समावेश गरी २०७३ पुस १३ गते गुराँस टिकट माला प्रकाशित भएका छन् । प्राकृतिक विज्ञान सङ्ग्रहालयको लोगोसहित यी गुराँससम्बन्धी टिकट प्रकाशित भएका छन् । प्रत्येक टिकटको मूल्य २० रुपियाँ छ ।
नेपाल तथा विदेशस्थित हुलाक टिकट सङ्कलकमा यस प्रकारका हुलाक टिकट निकै लोकप्रिय छ । आगामी दिनमा नेपालका अन्य प्रकारका गुराँस अङ्कित हुलाक टिकट पनि प्रकाशन हुँदै जानु राम्रो हुनेछ ।

(लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?