१५ हजारमा बिक्छन् गन्धर्वका सारङ्गी

पढ्नै पर्ने |


2019-11-14-4165


प्रकाशचन्द्र भट्टराई

दमौली, कार्तिक २८ गते । आधुनिक बाजाको बढ्दो प्रयोग र प्रविधिको विकाससँगै लोकप्रिय पुरानो बाजा सारङ्गी लोप हुने अवस्थामा पुगेपछि तनहुँको भानु नगरपालिका वडा नम्बर १ नयाँबस्ती गन्धर्व टोलका गान्धारीहरु सारङ्गीको संरक्षणमा जुटेका हुन् । केही पहिला सम्म घर–घर तथा सवारी साधनमा सारङ्गी बजाउँदै पैसा उठाउँदै हिड्ने गन्धर्वहरु अहिले भने सारङ्गी बनाएर त्यसलाई विक्री गरि आर्थिक उपार्जन समेत गर्न थालेका छन् ।

नयाँ बस्तीका १५ भन्दा बढि गन्धर्व परिवारले अहिले घरमै बसेर सारङ्गी बनाउँछन् । यो उनीहरुको मुख्य पेशा नै बनेको छ । स्थानीय कृष्ण गान्धारीले सारङ्गी उत्पादन गर्न घरेलु उद्योग नै स्थापना गर्नु भएको छ । सो उद्योगबाट मासिक २ सय ३० वटा सारङ्गी उत्पादन हुने र त्यसको बिक्रीबाट मासिक २ लाख ५० हजार आम्दानी हुने उहाँले बताउनुभयो । उद्योगबाट उत्पादित सारङ्गी पोखरा, काठमाडौं, चितवनको सौराहा तथा अन्य पर्यटकीय बजारहरुमा बिक्री हुन्छ । न्युनतम सात सय देखी १५ हजार रुपैयाँ सम्मको सारङ्गी उत्पादन गरिएको कृष्ण गान्धारीले बताउनुभयो ।

कृषी, पशुपालन तथा अन्य पेशा व्यवसाय गर्न प्रसस्त जग्गा जमिन तथा पुँजी नभएपछि सारङ्गी उत्पादन गर्ने आफ्नै परम्परागत पेशा अङ्गालिएको ४८ बर्षीय रामकृष्ण गन्धर्वले बताउनुभयो । सबै गन्धर्व घर परिवारले सारङ्गी बनाउने र बिक्री गर्ने उहाँले बताउनुभयो । यसरी बिक्रि गर्दा मासिक ४० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सारङ्गीबाट आम्दानी पनि हुने र पेशा तथा लोपोन्मुख बाजाको पनि संरक्षण हुने हुँदा यही पेशालाई अङ्गालेको सुनिल गान्धारीले बताउनुभयो ।

आफ्नै घरमा बसी पुख्र्यौली पेशालाई नै व्यवसायिक रुपमा अगाडि बढाउँदा रोजगारीको खोजीमा अन्यत्र जानु नपरेको र पैसा पनि कमाईएको उहाँले बताउनुभयो । सामुहिक रुपमा सारङ्गी उत्पादन गर्ने तनहुँको यही गन्धर्व बस्ती मात्र रहेको उहाँले भन्नुभयो । अहिले धेरै जिल्लाबाट सारङ्गी बनाएको हेर्न आउने तथा खरिद गरेर लैजाने क्रम बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार कुनै महिना त माग अनुसारको उत्पादन गर्न नसकिएको उहाँले बताउनुभयो ।

स्थानीय बारीमा पाईने बकाइनो, दबदबे, छतिवन, पड्के, खिर्रो, बाहुन पाते लगायतका कुकाठबाट सारङ्गी निर्माण गरिन्छ । तर आधुनिक प्रविधि र उपकरण नहुँदा उत्पादनमा लागत र समय धेरै लाग्ने गरेको रामकृष्ण गन्धर्वको भनाई छ । स्थानीय तहले समन्वय गरेर आधुकि प्रविधि र उपकरणको व्यवस्था गरिदिने हो भने आवश्यक मात्रामा सारङ्गी बनाउन सक्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?