logo
२०८१ बैशाख ६ बिहीवार



विपन्न परिवारलाई प्रदेश सरकारले बनाईदियो घर

राष्ट्रिय |


विपन्न परिवारलाई प्रदेश सरकारले बनाईदियो घर


सुरेन्द्र खत्री

रुकुम (पूर्व), कात्तिक २७ गते । रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षाैँदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट पाँचवटा घर निर्माण भैसकेको र चालु आर्थिक वर्षमा थप ४६ नयाँ घर बन्ने भएका हुन् ।

गत आर्थिक बर्षको बजेटबाट जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका –१२ कोलका रामप्रसाद कामीको नयाँ घर बनेपछि उहाँले खुसी व्यक्त गर्नुभयो । आर्थिक अभावका कारण घर बनाउन नसकेको उहाँको भनाइ छ ।

‘विगत वर्षदेखि छिमेकीको घरमा शरण लिएर बस्न बाध्य थियौँ ।’ उहाँले भन्नुभयो, ‘त्यसभन्दा अगाडि पुख्र्यौली घरमा बस्दै आएकोमा उक्त घर पुरानो भएर भत्केपछि समस्या भएको थियो ।’ उहाँ जस्तै सोही ठाउँकी धनपुरा सुनारले पनि आफ्नै घरबास नभएका कारणले धेरै दुःख कष्टका साथ जीवनयापन गर्दै आएको सुनाउनुभयो । शरण लिएर बस्दा सानो ठाउँमा कोचकाच भएर बस्नुपर्ने र अन्नदाना लगायत घरायसी सामाग्री एकै ठाउँमा राख्नु परेको र पाहुना आएका बेलामा ठाउँ अपुग हुने समस्या झेल्दै आएको उहाँले जानकारी दिनुभयो । अब भने सरकारले नयाँ घर बनाइदिएपछि पहिले जस्तो दुःख नरहेको उनीहरुको भनाइ छ । कामी र सुनार जस्तै कोलका पाँच विपन्न दलित परिवारलाई नयाँ घर निर्माण गरिएको छ ।

गत आर्थिक बर्षको जनता आवास कार्यक्रम अन्तर्गत रुकुम पूर्वमा प्रदेश ५ सरकारले पाँच विपन्न दलित परिवारका लागि नयाँ घर बनाइदिएको हो । आफ्नै लगानीमा घर बनाउन नसक्नेहरूलाई घर बनाइदिने प्रदेशको योजना अनुसार कोलका पाँच विपन्न दलित परिवार छनोट परेकानुसार नयाँ घर बनाइदिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताउनुभयो ।

जनता आवास कार्यक्रम अन्तर्गत रुकुम पूर्व प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा गत वर्षको बजेटमा पाँच वटा घर निर्माण गरिएको जानकारी दिनुभयो ।

घरनिर्माण गर्न प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रतिघर तीन लाख ३३ हजार रुपियाँका दरले रकम आएको हो । यो कार्यक्रम सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले कार्यान्वयन गरिरहेको छ । पुथाउत्तरगंगा गाउँपालिका –१२ वडा कार्यालयका लेखा तथा प्रशासन सहायक बहादुर बिकका अनुसार पाँच घर नै निर्माण भइसकेकोमा अब प्रदेश सरकारले उहाँहरूलाई हस्तान्तरण गर्न मात्र बाँकी रहेको छ ।

गत गत आर्थिक बर्षमा विपन्न दलित परिवारले नयाँ घर पाउनेहरू कोलका मानबहादुर दमाई, धनपुरा सुनार, तिरमाला कामी, रामप्रसाद कामी र तिलपुरी दमाई रहनुभएको छ । उहाँहरूको आफ्नै जग्गामा घर बनिरहेको वडा कार्यालयका लेखा तथा प्रशासन सहायक बिकले बताउनुभयो । उहाँका अनुसार पक्की हरियो जस्तापाताले छाएको बरन्डासहितका दुई कोठे घर निर्माण गरिएका छन् । सरकारले नयाँ घर बनाइ दिएपछि विपन्न दलित परिवार हर्षित भएका छन् ।

यो बर्षमा ४६ घर बन्दै

प्रदेश सांसद् तेजबहादुर ओलीका अनुसार प्रदेश ५ सरकारको निरन्तर जनता आवास कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा रुकुमपूर्वमा ४६ वटा घर निर्माणका लागि बजेट विनियोजन भएको छ । जसमा भूमे गाउँपालिकामा १, २ र ९ वडा, सिस्ने गाउँपालिकाको ८ र ४ र पुथा उत्तरगंगा गाउँपालिकाको १, २, ३, ४, र ८ वडाका विपन्न घर परिवारको सर्वेक्षण गर्ने आ–आफ्नो गाउँपालिकामा जिम्मेवारी दिइएको छ । उक्त सर्वेक्षणको प्रतिवेदन अनुसार योजना छनोटको मापदण्डका आधारमा ४६ घर परिवारलाई छनोट गरी नयाँ घर निर्माण हुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?