logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्ख्या बढ्दै विधा मर्दै

शनिवार |





कमल सुवेदी

छोटा कथालाई लघुकथा भनिए भैmँ छोटा चलचित्रलाई लघुचलचित्र अर्थात् ‘सर्ट मुभी’ भनिन्छ । यस्ता चलचित्र केही मिनेटदेखि आधा घण्टासम्मका हुन्छन् । थोरै समय र लगानीमा निर्माण गर्न सकिने विधा भएकाले लघुचलचित्रको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । सन् १९१० मा अमेरिकाबाट सुरु भएको लघुचलचित्र पहिलो चरणमा प्रहसनमूलक प्रस्तुतिबाट विकास हुँदै आएको हो । चार्ली च्याप्लिनको आगमनपछि लघुचलचित्रले विश्वमा नै चर्चाको शिखर बटुलेको पाइन्छ । विश्वविख्यात ओस्कार पुरस्कारको विधामा लघुचलचित्रलाई पनि राखिएकाले यसको महìव प्रष्ट हुन्छ । थोरै लगानी, स्वतन्त्र निर्माताद्वारा निर्माण, सानो चलचित्र युनिट र छोटो समयमा नै बनाउन सकिने भएकाले यसको विधागत मूल्य त छँदैछ ।
नेपालमा केही वर्ष अघिदेखि सामाजिक सञ्जाल प्रयोगको बढोत्तरीसँगै ठूलो सङ्ख्यामा लघुचलचित्र बनेको पाइन्छ । सामाजिक सञ्जालका दर्शक यतिखेर ठूलो सङ्ख्यामा छन् । लघुचलचित्र निर्माणले पनि तीव्रता पाएको छ । हजाराँैको सङ्ख्यामा युट्युब च्यानलमा भाइरल भइरहेका यस्ता लघुचलचित्रले यसको उद्देश्यसित मेल खाइरहेका छन् त भन्ने प्रश्न आज टड्कारो रूपमा उठेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका लघुचलचित्रलाई हेर्दा यिनले अङ्ग्रेजीको ‘सर्ट मुभी’ भन्ने विधाको दोहोलो नै काढेका छन् । तिनलाई नियमन गर्नुपर्दैन भन्ने अहं प्रश्न यहाँ उठ्छ । यसका लागि राज्यको कुनै निकायमा त्यस्ता चलचित्रका निर्माताले रेकर्ड दर्ता गर्नु गराउनु पर्दैन ? लघुचलचित्रका नाममा कलङ्कयुक्त प्रस्तुतिले हाम्रा सामाजिक सञ्जालका भित्ता हेर्न पनि नसकिने भएका छन् ।
तीन किसिमका लघुचलचित्र नेपालमा बन्ने गरेको पाइन्छ । एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सवका लागि भनेर स्वच्छ र सार्थक विषयमा बन्छन् । यिनले लघुचलचित्र विधाको सम्मान बढाउँछन् । ‘प्रजातन्त्रको रङ्ग’ यस्तै सार्थक एउटा लघुचलचित्रको नाम हो । दीपक रौनियारको ‘थ्रेसहोल्ड’, पूजा गुरुङ र विभूषण बस्नेतको ‘अम्बरे द डेन्ड्राइड’, राजेश खत्रीको ‘जालुङ्गो तथा जालोडी’, अविनाशविक्रम शाहको ‘म खुशी छु’, विनोद पौडेलको
‘अवेकन साइज’ सेनाङ ग्याम्जो तामाङको ‘झाले तथा सुपरमङ्क’ आदि लघुचलचित्रमा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय गराउने मानक प्रस्तुतिहरू हुन् ।
दोस्रोथरी लघुचलचित्र सामाजिक सतर्कताका लागि भनेर बन्ने गरेका हुन्छन् तर दृश्य हाम्रो समाजिक–सांस्कृतिक परिवेश अनुसारको हुँदैन, छाडा नै हुन्छन् । यस्ता चलचित्रका निर्देशक र केही कलाकारको नाम त दिइएको हुन्छ तर ती नाम वास्तविक हुन्् या होइनन्, त्यो रहस्यकै गर्भमा हुन्छ ।
तेस्रोथरीका लघुचलचित्र भने पूरै अश्लील प्रकृतिका छन् । एकातिर चलचित्रजन्य सामग्रीको नियामक संस्था चलचित्र विकास बोर्ड यस्ता अश्लील चलचित्रप्रति मौन रहेको पाइन्छ । अर्कोतिर सस्तो एसएलआर क्यामराको प्रगोग गरी पाँच÷छ हजार रुपियाँको लागतमा एकै दिनमा चलचित्र बनाउन सकिने भएकाले यस्ता चलचित्र बनाउने गिरोहहरू हौसिएका पाइन्छ । कुनै मध्यमस्तरको कोठा वा कुनै एकान्त ठाउँमा केही घण्टामा नै छायाङ्कन सकिने यस्ता चलचित्रले सामाजिक सञ्जाललाई प्रदूषित गरिरहेका छन् । काठमाडौँका बालाजु, रत्नपार्क, गोदावरी, नगरकोट, सूर्यविनायक तथा दक्षिणकालीका जङ्गललाई यस्ता गिरोहले छायाङ्कनको लोकेशन बनाएका हुन्छन् । केही दशक अगाडि भारतमा बन्ने ‘सी ग्रेड’का हरर सिनेमाका नाममा बनेका चलचित्रहरू नेपालका हाइभिजन हलमा निर्बाध देखाइन्थे भने अहिले हरेकको मोबाइलमा यस्ता चलचित्र नेपाली भाषामा नै सहजै उपलब्ध छ । कुनै पूर्व निर्धारित कथा बिना छायाङ्कन स्थलमा नै आशुकविले झँै आशु स्क्रिप्ट तयार पार्ने क्षमता राख्ने यस्ता चलचित्रका निर्देशकले एकैपटक थुप्रै शीर्षकमा सिनेमा बनाउने हैसियत राख्छन् । यसो गर्नुको कारण यो कार्य उनीहरूले गैरकानुनी रूपमा गरेकाले नै हो । विना पारिश्रमिक बल्लबल्ल पाइएका नायकनायिकाबाट एकैपटक धेरै काम लिनुपर्ने भएकाले नै उनीहरूले यस्तो गरेका हुन् । केहीलाई हजार÷पाँच सय रुपियाँ दिए पनि अधिकांश कलाकारलाई उनीहरूले सित्तैँमा काम लगाएका हुन्छन् । युट्युब च्यानलका लागि भनेर कार्यालय खोलेका कतिपय एजेन्सीले आफ्नो कार्यालयलाई पनि इन्डोर छायाङ्कन स्थल बनाएका हुन्छन् ।
अश्लील नाम राख्नु उनीहरूको दर्शक बढाउने उपाय हो भने पैसाको लोभ र पछि मूलधारका चलचित्रमा अभिनय गर्न पाइने झुटो आश्वासन यस्ता सिनेमाका कलाकारहरूको नियति हो । परालको आगो, दक्षिणा, लाहुरे तथा साइनो जस्ता चलचित्रका तुलनामा यस्ता चलचित्रको युट्युबमा दर्शकसङ्ख्या धेरै हुनु चाहिँ विडम्बना नै हो ।
चलचित्रजन्य सामग्रीको नियामक संस्थाहरूले यस्ता विसङ्गतिमाथि आजै खबरदारी गर्नु जरुरी छ । नत्र हाम्रो सांस्कृतिक अवस्था अधोगतितिर जानेछ । कान्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा ओस्कार चलचित्र महोत्सवमा पनि सहभागी भइरहेको यस्तो सार्थक विधाको हुर्मत लिई उछित्तो काढ्न आज जस्ता काम भइरहेका छन्, त्यो निकै चिन्तायोग्य विषय हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?