लघुकथा: विश्वास

शनिवार |


2019-11-02-3581


ममता श्रेष्ठ

गोपालसँग बिहे भएको दुई वर्षपछि प्रमिलाले छोरी जन्माइन् । सबै खुसी भए । त्यसपछि दुईवटी छोरी जन्मिए । कोही खुसी भएनन् । छोरा जन्माउन सक्दिनस् भन्ने श्रीमान्को अपशब्दले कायल थिइन् । भगवान् पनि कति निर्दयी । सधैँ पूजा गरेकै छु । प्रमिला मनमनै भन्छिन् ।
प्रमिलाकी साथी बेचनीले छठ मातासँग भाकल गर्दा छोरा जन्मने बताइन् । प्रमिलाले छोरा जन्मे पाँच वर्ष व्रत लिन्छु भनेर भाकल गरिन् । छठ मातामा सबैको अपार विश्वास छ । प्रमिला पुनः गर्भवती भइन् । देउरानी जेठानीले खिसी गर्न थाले । प्रमिला छोरी जन्माउने कारखाना हो समेत भने । रहरले छोरी जन्मेका थिएनन् तैपनि प्रमिला यसपालि खुसी छिन् । छठ माताले छोरा दिनुहुन्छ । नभन्दै छोरा नै जन्मियो । गोपाल दङ्ग परे । कुरा काट्ने सबैको मुखमा ताला झुन्डियो । उनले पाँच वर्षसम्म लगातार व्रत बसेर भाकल पूरा गरिन् ।
छठ माताको महिमा अपार छ । श्रद्धा र विश्वास धेरै छ । गोपालले छोरीहरूलाई सरकारी विद्यालयमा पढाए । छोरालाई महँगो अङ्ग्रेजी विद्यालयमा पढाए । छोराले राम्रो अङ्क ल्याएर बाह्र पास ग¥यो ।
दुईटी छोरीको राम्रो घरमा बिहे भयो । ज्वाईंहरू सुशील छन् । छोरा इन्जिनियर पढ्न थाल्यो । छोराको सफलतामा प्रमिला र गोपाल खुसी छन् । ढिलो जन्मेको भए पनि बुढेसकालमा हेरचाह गर्छ भन्ने भकारीभरिको विश्वास लत्याएर उच्च शिक्षा हासिल गर्छु भनी छोरा अमेरिका गयो । पढाइ सकेर घर आउँछु भन्ने विश्वास पनि दिलायो ।
तीनवटी छोरीको घर टाढा छैन । कहिलेकाहीँ भेट्न आउँछन् । औधी माया गर्छन् । छोरा अमेरिका गएको सात वर्ष बित्यो, आएन । प्रमिलाले दिक्क मान्दै गोपाललाई भनिन् । छोरा घर आउन मान्दैन म छठ माताको व्रत बसुँ भनेर सोधिन् ।
साठी वर्ष पुगेकी प्रमिला फेरि छठ माताको व्रत बसिन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई जल चढाएर भनिन्– छठ बुढेसकालको सहारालाई नेपाल फर्काइदिनुस् भनेर आग्रह गरिन् । छठ माताको विश्वासमा उनी धेरै वर्षदेखि छोराको प्रतीक्षामा छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?