बेइजिङमा पत्रकार हराएको सूचना

शनिवार |


2019-11-02-3580


 नारद गौतम

विक्रम संवत् २०७६ असोजको अन्तिम साता जनगणतन्त्र चीनको सप्ताहव्यापी अध्ययन भ्रमण गर्ने मौका मिल्यो । गोरखापत्रका निमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठलाई मेरो राहदानी र व्यक्तिगत विवरण उपलब्ध गराएको केही दिनपछि नै सूचनाको संसारमा चीनसँग जोडिन पुगियो । अनेक विवरण किस्ताबन्दीमा मागियो । त्यसमा पनि ‘तुरुन्तै अनि आजै’ जस्ता शब्द राखेर जवाफ पठाइएको हुन्थ्यो । जवाफ दिँदै गएपछि हवाई टिकट र निमन्त्रणापत्र उपलब्ध भयो । सामूहिक इमेल आएकाले को–को साथी रहेछन् भनेर खोजी गर्दा १४ जना पत्रकार रहेछन् टोलीमा । तर, सबैसँग तत्कालै सम्पर्क हुन सकेन केही साथीसँग सम्पर्क भयो ।
चीनको राजधानी बेइजिङमा रहेको गरिबी निवारण कोषबाट इमेल आउने र नेपालस्थित चिनियाँ राजदूतावासका सम्पर्क अधिकारीले तपाईंले मेल पाउनुभयो भनी पटक–पटक फोन गरेर नयाँ सूचना प्रवाह गर्दै रहे । यसले जुन साथीले इमेल खोल्न पाएका थिएनन्, उनीहरूलाई यो जानकारी फलदायी नै रह्यो । बीचमा नेपालीहरूको बडादशैँ बिदा परेकाले विजयदशमीको भोलिपल्ट मात्रै भिसाका लागि हात्तिसारस्थित चीनको कन्सुलर कार्यालयमा सम्पर्क भयो । बिहान ९ देखि ११ बजेसम्म मात्रै भिसाको काम हुने हुँदा कतिपय पत्रकारले तुरुन्तै अतिरिक्त शुल्क तिरेर भिसाका लागि आवेदन दिनुप¥यो । ढिला गर्नेले करिब दुई हजार रुपियाँमा हुने काम पाँच हजारभन्दा बढी तिर्नुप¥यो । पत्रकार भएर पनि समयमै सही सूचना लिएर छिटो काम नगर्दाको परिणाम थियो यो ।
‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने उखान सानैदेखि सुनेको र माध्यमिक शिक्षा अध्ययन गर्नेक्रममा चीनको राजधानी बेइजिङ भन्ने पढेका थियौँ । जीवनको भोगाइमा चाहिँ चीन भनेको खासा र ल्हासा भन्नेमात्रै थियो । बेइजिङ जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेर हत्तु हैरान भएपछि बल्ल अध्यागमन कार्यालयले अनुमति दियो । एकजना पत्रकारको सुरक्षा जाँच गर्दा झोला, ल्यापटप, पेटी, मोबाइल, घडी खोलेर प्लास्टिकको भाँडामा राखेर मेसिनबाट जाँच गरेर पठाउँदा पनि उनी भित्र बस्दा ठूलो स्वरले मेसिन करायो । सुरक्षाकर्मीले कोट र जुत्तासमेत खोल्न लगाए । तर पनि उनी भित्र छिर्दा मेसिन कराइरह्यो । सुरक्षाकर्मीले फेरि उनलाई बाहिर फर्कन भनेपछि उनी तीनछक परे । यति ठक्कर खाएपछि बल्ल उनलाई याद आयो, लामो यात्रामा ढाड दुख्छ भनेर लगाएको सुरक्षा बेल्ट खोल्न बिर्सेछन् । त्यो खोलेपछि मेसिन बजेन र उनलाई सुरक्षा जाँचबाट मुक्ति मिल्यो । कात्तिक २६ गते नै चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण गरी स्वदेश फर्केकाले त्यहाँको हवाई जामले उडानमा ढिलाइ भयो । जसको परिणाम एक घन्टा ढिला अर्थात् रातको साढे ११ बजेतिर मात्रै हाम्रो चीन यात्रा सुरु भयो । त्यहाँ पनि सबै साथीको भेट भई सामूहिक परिचय हुन सकेन, धेरैसँग चिनजान भयो ।
विमानका कर्मचारीले सुरुमै ह्वीस्की, बियर, वाइन, जुस र पानी ल्याएर दिएपछि इच्छाअनुसार सबैका मुख रसाए । त्यसपछि खानाको पाकेट पनि आयो । त्यसमा कुखुरा र सुँगुरको मासु (पोर्क) को परिकार बढी रहेछ । शाकाहारीलाई खासै खाने कुरा थिएन । जेनतेन बाँच्ने उपाय भयो । बिहान साढे पाँच बजेतिर चीनको व्यापारिक केन्द्र गोन्जाओ विमानस्थल पुग्दा त्यहाँ देखियो चीनको समृद्धिको चमक । विमानले भुइँमा टेकेको झन्डै २० मिनेटपछि मात्रै आफ्नो स्ट्यान्डमा विमान पुग्यो, । त्यहाँ विमानको सङ्ख्या देख्दा लाग्यो संसारका धेरै विमान त्यहीँ छन् । विमानबाट निस्केर आन्तरिक उडानबाट बेइजिङ जानु थियो ।
त्यहीँबाट पत्रकार हराउने क्रम सुरु भयो । विशाल विमानस्थल, हजारौँ यात्री, दर्जनौँको सङ्ख्यामा काउन्टर, भाषाको समस्याका साथै सञ्चारको सङ्कट देखियो । कनीकुथी अङ्ग्रेजी बोल्ने क्षमता सबै नेपाली पत्रकारमा थियो तर ‘बुझ्नेले कुरा नबुझेपछि....’ भन्ने भनाइ त्यहाँ चरितार्थ भयो । एकजना पत्रकार कता गएछन् पत्तै भएन । औँठाछापसहितको सुरक्षा जाँचपछि आन्तरिक उडानको विमानमा हतार–हतार बसियो । त्यो एयरबस निकै ठूलो थियो, काठमाडौँको टुँडिखेलजत्रो ठाउँ त त्यसलाई पार्किङस्थल नै चाहिने रहेछ । दुईजना पत्रकार त अन्तर्राष्ट्रिय उडान हुने टर्मिलनतर्फ गएछन् । तिनीहरू चलाख नै भएकाले सोधेर तत्कालै आन्तरिक उडानतर्फ आए । कतिपयले आफ्नो मोबाइल र घडीको समय मिलाउनेतर्फ ध्यान नदिँदा झन्डै छुटेका थिए । नेपालको समयभन्दा चीनको समय करिब दुई घन्टा छिटो छ । समय छँदै छ भनेर यताउता हेर्न थालेछन् ।
हतारमै विमान चढ्नुपर्ने थियो, किनकि नेपालबाटै ढिला भइसकेको थियो । एउटै लहरमा १० जना बस्न मिल्ने फराकिलो त्यो एयरबस निर्धारित समयमै बेइजिङतर्फ हुइँकियो । अति व्यस्त बेइजिङको विमानस्थलमा उत्रेपछि अरू पत्रकार पनि हराउन थाले । सम्पर्क सूत्र थिएन । दुई दर्जनभन्दा बढी काउन्टरबाट जाँच गरेर बाहिर जान मिल्ने भएकाले पनि हराउनेक्रम सुरु भयो । विमानबाट आएको सामान कहाँबाट लिने भन्ने समस्या पनि छँदै थियो । १४ जना पत्रकार र दुईजना अन्य गरी १६ जना नै चीन भ्रमणमा गएको पहिलोपटक थियो । उनीहरूबीच समन्वयको अभाव त छँदै थियो, त्यसमा पनि एक से एक सबै जान्ने । विदेश यात्रामा अनुभवी र सम्पर्क सूत्र बनाउन जान्नेले तत्काल चीनको मोबाइल सिम लिए । त्यसले सम्पर्क कायम गर्न निकै सहज भयो ।
गैरसरकारी संस्थाका रूपमा स्थापना भएको चीनको गरिबी निवारण कोष (चाइना फाउन्डेसन फर पोभर्टी एलिभियसन) का अन्तर्राष्ट्रिय विकास समितिका सहायक निर्देशक एवम् सो कोषको नेपाल कार्यालयका सम्पर्क निर्देशक चौ च् छियाङ (नेपाली नाम चौ दिदी) गाडी लिएर बाहिर लिन आए पनि सम्पर्क गर्न सबैलाई कठिन भयो । मोबाइल फोन नचल्दा सञ्चारको संसारबाट हराइयो । कोही कता कोही कता ? नेपालको गरिबी निवारण कोषबाट गएका दुई कर्मचारी पनि त्यत्तिकै अन्योलमा देखिए । उनीहरूको पछि लाग्दा पत्रकार पनि हराए । बल्ल एक चिनियाँ सहयोगीको सम्पर्कले एउटा समूहसँग चौ दिदीको सम्पर्क भयो र अरू अर्को समूहसँग जोडियो । चौ दिदीको रिसको पारो बढेकै थियो । पत्रकार पनि यसरी हराउँछन् भनेर । चौ दिदीले पोखेको रिस जायज पनि थियो । पत्रकारहरूको टाउको गन्दा एकजना त अझै हराएका रहेछन् । उनलाई कसरी छोड्ने ? उनीसँग मोबाइल भएर पनि चल्दैन थियो । को हरायो त्यो पनि छुट्याउन गाह्रो । ठाउँ–ठाउँमा खिचेका तस्बिरबाट छुटेका साथीको तस्बिर देखाएपछि एकजना पत्रकार र चौ दिदीको प्रयासले उनी भेटिए । उनी हराउनको मुख्य कारण अरू सबै पत्रकार एयरबसको तल्लो तलामा र उनी माथिल्लो तलामा एक्लै परेछन् । विमानबाट झर्ने बेलामा फरक प¥यो, भेट हुन सकेन । फेरि झोला लिन उनलाई हम्मे परेछ । सम्पर्क गर्ने तरिका नजान्दा त्यो समस्या सबैलाई आउँछ ।
पत्रकार हराउँदा विमानस्थलबाट हिँड्न निकै ढिला भयो । विमानमा हुँदा मांशाहारी पत्रकारमध्ये इच्छाअनुसार कतिपयले सुँगुरको मःमःदेखि ब्रेडसम्म खाएका थिए तर शाकाहारीले त एउटा बे्रडमै चित्त बुझाउनुपरेको थियो । भोकले सबैका ओठ मुख कलेटी परेका थिए । पत्रकार हराउँदा पहिलो दिनको घुमघाम गर्ने तालिका नै परिवर्तन भयो र त्यस ठाउँमा पछि पनि जान सकिएन । दिउँसो ३ बजेतिर दिउँसोको खाना होटलमा मगाइयो । मांशाहारीलाई जे–जे खाए पनि अघाउने नै थियो । शाकाहारीलाई त बन्दाकोबी काटेर ल्याएको रहेछ, त्यो पनि काँच्चै । अलिकति आलुको फेन्चफ्राइ रहेछ । चिनी रोग अर्थात् सुगर भएकाले कसरी खाने ? नखाए के खाने त ? नयाँ ठाउँको नयाँ खानासँग परिचित नहुँदा र नेपालमा दालभातमात्रै खाँदाको परिणाम थियो यो ।
खानापछि २५ तलाको होटलको कोठामा जानेक्रम सुरु भयो । आराम गरियो । साँझ साढे पाँच बजे जम्मा हुने भनिएको थियो । तर, एकजना पत्रकार फेरि हराए । कोठामा फोन गरेको उठेन । नयाँ सञ्चार सम्पर्कका लागि बनेको विच्याटमा सन्देश पठाइयो तर सम्पर्क भएन । हाम्रो यात्रा सुरु भयो सि फुड खाना अर्थात् समुद्री जीव र घाँसपात खानका लागि । कसैले मीठो मानेर अनि कसैले ज्यान बचाउन फलफूल, बन्दाकोबी, केरा, स्याउ र अन्तिममा जाउलो खाएर पहिलो दिन तीतो अनुभूति र मीठो स्वादमा बित्यो ।
साथीहरूमा खुसी नै छायो तर चौ दिदीले एक हजार चिनियाँ येन जरिवाना माग गरिन्, हराएका पत्रकारको ओठ मुख सुक्यो । तर पनि उनी हाँसेर बसे । त्यसपछि विभिन्न थरीका खानाको झोला चौ दिदीले दिँदै यो खाना यहाँ (भुइँमा) बसेर सबैका अगाडि खानैपर्छ भनेपछि उनी झन् अलमलमा परे । चौ दिदीले प्रेमपूर्वक उनलाई कोठामा गएर खाना खान र भोलिदेखि सबैजना तोकिएकै समयमा उपस्थित हुन भनिन् । विच्याटमार्फत सञ्चारको नयाँ संरचना बन्यो । चाइना रेडियो इन्टरनेसनलमा कार्यरत पत्रकार चिनियाँ नागरिक राधिका (नेपाली नाम) र लक्ष्मी लम्सालको सहयोगले भाषाको समस्या समाधान भएपछि धेरै सहज अनुभव भयो । भोलिपल्ट बिहान इच्छाअनुसारको नास्ता खाएर टन्न भएपछि चीनको गरिबी निवारण कोषले गरेका कार्यको स्थलगत अध्ययन भ्रमण सुरु भयो । सुरुको दिनदेखि विमानस्थलसम्म पुगेर सहयोग गर्ने गौरीको नेपाली भाषामा दक्षता देखेर हामी निकै प्रभावित भयौँ । उनले चार वर्ष नेपाली भाषा पढेर चाइना रेडियो इन्टरनेसनलमा पत्रकारिता गर्दै आएको जानकारी मिल्यो । पैसा साट्न जाँदा यहाँको विनिमय दर राम्रो छैन, यो चीनको वाणिज्य भवन हो, शौचालय त्यतातिर छ भनेर शुद्ध नेपाली भाषा बोलेको देख्दा हामी निकै प्रभावित भयौँ ।
त्यसमा पनि चीनको पूर्वाधार विकास र हरियाली देखेर सबै चकित भए । दुई सय किलोमिटरको यात्रा गर्दा एक ठाउँमा पनि खाल्टो नभेटिनु, कहीँ कतै गाडी
‘क्रस’ गर्नलाई रोकिनु नपर्ने र सडककिनारमा लगाएका फूल, पाकेका फल, हरियाली, नदीमा सफा पानी त्यसमा माछापालन गरेको देखेपछि नेपाली पत्रकार तीनछक परे । सुनेको चीन र देखेको चीनमा आकाश जमिनको फरक देखियो । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०२२ सम्म चीनको गरिबीलाई पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेका छन् ।
भ्रमणकै क्रममा सन् १९४१ अक्टोबर ३ मा स्थापना भएको चाइना रेडियो इन्टरनेसनलको कार्यालय घुम्ने अवसर जुट्यो । नेपाली पत्रकारको टोलीलाई स्वागत गर्न त्यहाँ कार्यरत चेतनाथ आचार्य र लक्ष्मी लम्साल गाडीमै स्वागत गर्न आएपछि हाम्रो भाउ पनि अलि बढेजस्तो लाग्यो । चाइना रेडियोले हाल ७२ वटा भाषामा समाचार प्रसारण गर्दै आएको छ । दैनिक ३० हजार घन्टा यसले विभिन्न भाषामा समाचार प्रसारण गर्ने र हाल ४० हजार कर्मचारी कार्यरत रहेका छन् । अब यो समाचार संस्था चाइना मिडिया ग्रुपमा रहने प्रक्रियामा अगाडि बढेको छ । दुई सयभन्दा बढी देशमा प्रसारण सुन्न सकिन्छ । धेरै भाषामा समाचार प्रसारण गर्नुको प्रमुख उद्देश्य नै चीनको सफलताको गाथा संसारभर पैmलाउने रहेको छ । दक्षिण एसिया केन्द्रका प्रमुख चुन चिङ लीले केन्द्रको मुख्य काम भनेको चीनको राम्रो छवि विश्वलाई दिनु हो भन्नुभयो ।
त्यहाँ पुग्दा थाहा भयो, नेपाली पत्रकार बेइजिङमा हराउनेक्रम यो पहिलो होइन रहेनछ । चेतनाथ आचार्यले दिएको जानकारीअनुसार, यसअघि पनि चीन भ्रमणमा आएका पत्रकार हराएर हैरान पारेका रहेछन् । हाल चर्चामै रहेको एउटा अनलाइनका पत्रकार हराएर स्थानीय सञ्चार संयन्त्रबाट सूचना नै जारी गर्नुपरेको इतिहास रहेछ । धन्न यसपटक पत्रकार हराउँदा राजदूतावाससम्म मात्रै खबर पुग्यो तर सूचना नै जारी गर्नुपरेन । बेइजिङमा रहँदा नेपाली राजदूतावासको निम्तो मान्ने अवसर मिल्यो भने सन् २०२० मा हुने नेपाल भ्रमण वर्षमा चीनका नागरिकलाई नेपाल भ्रमण गराउने प्रयासमा राजदूत लीलामणि पौडेलको प्रयास पनि प्रशंसायोग्य रहेको जानकारी त्यहाँ रहेका नेपालीले दिए ।
सातदिने भ्रमण सकेर बेइजिङ विमानस्थल जान सबै गाडीमा बसे तर एकजना पत्रकार फेरि बेपत्ता भए । चौ दिदीले भन्नुभयो, ‘‘अब एक मिनेटमा नआए हामी जाऊँ, ऊसँग राम्रै पैसा छ, ऊ ट्याक्सीमा आउँछ ।’’ नभन्दै उनी देखापरे र सँगै काठमाडौँ फर्कने मौका मिल्यो ।

(लेखक गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?