logo
२०८१ बैशाख १२ बुधवार



कथा : दृष्टिभ्रम

शनिवार |


कथा : दृष्टिभ्रम


 शान्ति शर्मा

दस दिनसम्म भुङ्ग्रे ज्वरो आएपछि मनकली महतोको लोग्ने धनीरामको मृत्यु भएको हो । उसले झारफुक, देवीदेवता भाक्ने सबै काम गरेकै हो । आफ्नो औकातले भेटेसम्म डाक्टरी औषधि पनि गरी । तैपनि कुनै उपाय लागेन । आखिर हुने हार दैव नटार भनेझैँ धनीरामले संसार छाडेर गयो । अनि उसकी प्रिय मनकलीलाई पनि छाड्यो । कठै ! छोराछोरी स–साना भन्ट्याङभुन्टुङ थिए । धनीराम कमाएर ल्याउँथ्यो, मनकली पकाएर खुवाउँथी । लोग्नेले काम गर्न नसकेको दिन अँगेनामा आगो बल्दैनथ्यो । त्यही लोग्ने पनि असमयमै परलोक पुग्यो । मनकली असहाय भई । अब यी चिचिलालाई कसरी हुर्काउने भन्ने पीरले उसलाई डढेलोले वन सल्काएझैँ भित्रभित्रै जलाउँदै लग्यो ।
धनीराम मरेको दिन त सारा गाउँले आएर सम्झाए, “ओई मनकली किन पीर गरिराछेस् ? हामी यसै गाउँमा छौँ नि । हामी गर्छौं तेरो रेखदेख ।” यी सबै कुरा ....... न्यानो भनेझैँ एकै छिनलाई मात्र भए । धनीराम मरेको एक महिनापछि सबैले छिःछिः र दुरदुरको भावमा उपेक्षा गर्न लागे । कसैको घरबाट एकछाक तिउनको सहयोग पनि पाइन उनले । बरू उल्टै अपमान र तिरस्काररूपी आगाको लप्का सहँदै जानुप¥यो । जे–जस्तो भए नि छोराछोरीको मुख हेरेर उसले जीवन चलाउँदै गई । जीवन एक यात्रा न हो, यसमा कति भेटिन्छन् कति छुटिन्छन् । धनीराम पनि त्यस्तै ऊसँग दोबाटोमा भेटिएको यात्री न थियो, जो एकैछिन सँगै हिँड्यो । अनि कता बिलायो, कता बिलायो ।
धनीरामले धनियाँको चट्नी एकदमै मन पराउँथ्यो । आफ्नै नामसँग मिल्दोजुल्दो भएर नै होला धनियाँसँग निकै प्रेम बसेको थियो । ऊ कहिलेकाहीँ मनकलीसँग जिस्किँदै भन्थ्यो, ‘‘ओई मनकली मलाई त तेरोभन्दा धनियाँको धेरै माया लाग्छ । उसलाई भेटेँ भने त एकै गाँसमा कुप्लुक्क निलुँझैँ हुन्छ । कति मायालु छे धनियाँ । म चाहन्छु मैले खानेबेलामा ऊ सधैँ टुप्लुक्क आइदियोस् । तर, बिचरी कता लुक्छे कता लुक्छे ।’’ यति सारोसँग आफ्नो लोग्नेले परस्त्रीलाई मन पराएको सुनेर मनकलीभित्र आगो निलेजस्तो औडाह हुन्थ्यो । ऊ केहीबेर नबोली ठुस्स परेर बस्थी । धनीरामले स्त्री मनोविज्ञान बुझ्थ्यो । उसलाई एकछिन छुट्टैखालको मज्जा आउँथ्यो ।
तँ किन रिसाएकी मनकली मैले कहाँ रामलखनकी जोई धनियालाई भनेको हो त । ऊ असाध्यै राम्री र मायालु स्वभावकी भए पनि मैले त अचार खाने धनियाँ पो भनेको त । तँलाई थाहै छ नि म धनियाँको अचार कति मन पराउँछु भनेर । ऊ त के–के पो सोच्दिरहिछ । ऊ राम्ररी नमाझिएका पित्तले रङका दाँत देखाएर खिस्स हाँस्थी । धनीराम त्यसैमा मख्ख पथ्र्यो । धनीराम र मनकली खोले नै खानुपरे नि आनन्दित थिए ।
मनकली आज साह्रै जिउ दुखेछ, अलिकति तेल लगाइदे न । धनीराम कामले थाकेर आएका दिन भन्थ्यो । मनकली धनीरामले भो नभनिन्जेल जिउ माडिरहन्थी । अलि वर आइज न मनकली कति पर बसेकी मोरी । धनीरामका हात सकसकाउन खोज्थे । छ्या, भो नचल क्या । तँसँग नचले धनियासँग चल्न जाऊँ त अब । धनीराम घुक्र्याउँथ्यो अनि मनकली कहिलेकाहीँ चुप भइदिन्थी त कहिले “सधैँ त दिक्क लाग्छ नि धनीराम” भन्दै काँचो केराझैँ टर्री र रूखी हुन्थी । त्यही कठोरतामा पनि धनीराम फूलझैँ नरम भाव देख्थ्यो ।
मनकली कतै म मरिहालेँ भने तँ क्यार्छेस् नि ?
“छि ! धनीराम यस्तो अशुभ नबोल न । हामी त सँगै बाँच्ने सँगै मर्ने हो नि !” सँगै बाच्ने सँगै मर्ने त हो नि भनेर मनकलीले भने पनि धनीरामसँगको त्यो महायात्रामा मनकली काँ सँगै जान सकी र । आखिर उसले आँगनको डिलबाट अश्रुधारा बगाउँदै धनीरामलाई एक्लै बिदा गरेकी हो नि । धनीराम मरेको केही दिनसम्म त फाट्टफुट्ट मान्छे उसको घरमा आउने–जाने गर्दै थिए । बिस्तारै घाउ पुरानो हुँदै गयो । आफन्त छरछिमेकी आदि पनि आउनै छाडे । कसैले उसको दुःखलाई टुलुक्क पनि हेरेनन् । बरू उसैलाई अनेक–अनेक तरहका कुरा काट्न थाले ।
श्रीमती राम्री र मायालु भए पनि त्यसै गाउँको रामलखन भने पत्नीमोहबाट टाढिएको थियो । पल्लो गाउँको हरिकृष्णेले उसकी जोईलाई थाहै नपाई उछिट्यायो । कति उजुरबाजुर गरे पनि उसकी स्वास्नी मरे आउन मानिनँ । नमानेपछि जेसुक्कै होस् भन्ने रिसले उसले केटाकेटी स्याहारेर एक्लै बस्यो । बाटो आउँदा–जाँदा ऊ मनकलीसँग के–कस्तो छ भनी सोध्थ्यो । उसको अभ्यन्तरमा मनकलीसँगको प्रेमभाव थियो या थिएन त्यो उसैले जानोस् मनकलीले बुझेकी थिइन् । किन्तु एकै वचन बोलिदिँदा पनि उसलाई खडेरीमा एकझर पानीले दिने शीतलताजस्तो भने अवश्य भएको थियो । हिजोआज गर्दागर्दै गाउँलेहरूले मनकलीको नाम रामलखनसँग जोड्न लागे । यो कुरा एक कान दुई कान मैदान हुँदै गाउँभरि फैलन लाग्यो । मनकली हेर्दा त्यति राम्री नभए पनि मनकी सफा थिई । चिप्लो घसेर मीठो बोल्थी । बोल्दा पैसा तिर्नुपर्दैन क्यारे क्यार्न नमीठो बोल्ने हो र भन्ने उसको भनाइ थियो ।एक रात करिब बाह्र बजेको हुँदो हो, मनकलीको घरको छानाबाट कालो ढाडेबिरालो पल्लोघरको छानोमा जोडसित हामफाल्यो । के रहेछ भन्दै घरका सबै मान्छे उठे । लौ न नि कालो बिरालो मनकलीको घरको छानाबाट आयो भन्दै चिच्याउन थाले । भोलिपल्ट भुसमा आगो सल्किएझैँ गाउँभरि यो हल्ला सल्कियो । सबैले नानाभाँतीका शङ्काउपशङ्काका बीउ छर्न लागे ।
त्यसको एक महिनापछि गाउँमा महामारी फैलियो । सबैका घरमा एक÷दुईजना गरेर बिरामी हुन थाले । कसैले भने देवीदेवता रिसाएर यस्तो भयो । सबै मिलेर गाउँमा जान्ने बसाए । जान्नेले थरथर काँप्दै गर्जन थाल्यो । अनेक–अनेक कुरा उसलाई टकार्न पर्ने भयो । कुखुराको भाले, चार बोतल रक्सी, भनेजति पैसा सबै टकारे । वरिपरिका सबैजना जम्मा भए । मनकलीले सोची बच्चाहरू यत्तिकै छाडेर यो रातिमा कता जानू फेरि बालबच्चा डराए भने ।
जान्नेले बक्न थाल्यो । हेर्......हेर्... हेर् मनुवा तिमीहरूको गाउँमा एउटा बोक्सी छ । त्यसलाई यहाँ घिसार्दै ल्यायो । नत्र त्यसले गाउँका बालबच्चा सबै खान्छे । उसको लोग्ने नभएकाले गाउँका लोग्नेमान्छेलाई पनि त्यसले बिगार्छे । लौ–लौ चाँडो ल्यायो नत्र तिमीहरूको सर्वनाश हुनेछ । गाउँलेहरू सबै अक्क न बक्क भए । जान्नेले कसलाई भन्न खोजेको हो भन्ने कुरा स्पष्टै भए पनि कसैले मनकली नै हो भनेर बोल्नचाहिँ सकेनन् ।
जान्ने फेरि कराउन थाल्यो । रामलखनले नम्र भएर सोध्यो । गुरुबा हजुरको मुखबाटै भन्दिनुप¥यो खासमा त्यो आइमाई को हो ?
मैले भनेँ नि गाउँमा भर्खरै विधवा भएकी को छ, त्यसैलाई ल्यायो । रामलखनको आङ सिरिङ्ग भयो । सबैले उसैको मुखमा हेर्न थाले । लौ हाम्रो गाउँमा विधवा उही मनकली हो, क्यारे अब उसैलाई ल्याउनुपर्छ । सबैले एकै स्वर उराले । यो हुनै सक्दैन । रामलखन बेस्सरी चिच्यायो । विचरी ! गाउँकी असहाय एकल महिलालाई जे भने पनि हुन्छ भनेर बोक्सीको आरोप लगाउने । ऊ बोक्सी हो भन्ने के आधार छ ? विनाप्रमाण अर्कालाई त्यसो भन्न पाइन्छ ? उसको कोही छैन भनेर त्यसरी मनपर्दी अभियोग लगाउन पाइँदैन । ऊ बेस्सरी चिच्यायो ।
प्रमाण छ, एक महिनाअगाडि उसको घरको छानाबाट कालो बिरालो मेरो घरको छानामा हामफालेको थियोे । फेरि उसको घरमा मध्यरातमा बत्ती पनि बल्छ । उसको हेराइ पनि एकोहोरो किसिमको छ । घरछेवैको छिमेकी जोडले करायो ।
कालो बिरालो एउटा जन्तु हो । त्यो जसको घरमा पनि आउन र बस्न सक्छ । भोलि तपाईंको घरबाट राति बाह्र बजे निस्किएला । के भन्ने हो, त्यतिबेला ? घरमा स–साना बच्चा छन्, दिसापिसाब लाग्यो होला अनि बत्ती बाली होला । यस्तो गलत विषयलाई आधार बनाएर उसलाई सजाय दिन खोज्दै हुनुहुन्छ ? यति के भन्न पाएको थिएन, उसलाई तुरुन्तै दुईजनाले च्याप्प पाखुरामा समातेर गल्लीभित्र छिराए ।
रामलखनसँग होमा हो मिलाउने कोही भएन । सबैजना मनकलीकै विरुद्धमा पानीमा तेल उत्रेझैँ उत्रेका थिए । एक्लो वृहस्पति झुटा भनेझैँ रामलखनका कुरा कसैले सुनेनन् र सुन्न पनि चाहेनन् । बरू उसलाई उल्टै अनेक तरहका लाञ्छना लाउन थालिएपछि रामलखन मौन रह्यो ।
रातको त्यस्तै एघार बजेको हुँदो हो । एक हुल स्वास्नीमान्छे र साथमा केही लोग्नेमान्छे पनि एक्कासि मनकलीको घरको टहरो खोल्दै पसे । उसले भर्खर केटाकेटीलाई सुताएर आँखा झिमिक्क पनि गर्न भ्याएकी थिइनँ । ए मनकली ......मनकली कता छेस् ? बाहिर निस्की । मनकली नराम्ररी झस्की । ऊ के भो भन्दै हडबडाउँदै निस्की ।
के भो अब उहीँ गएपछि थाहा पाउँछेस् । हिँड् खुरुक्क । घरभित्र पसेका एकजनले भने । मनकली अलमल्लमा परी । आखिर के गर्न खोज्दै छन् सारा गाउँले मिलेर भन्ने अन्दाजै गर्न सकिन उसले । तपाईंहरूले के भन्न खोज्नुभएको ? यहीँ भनिहाल्नुहोस् न । म त यस्तो राति केटाकेटी छाडेर जान्नँ ।
तँ आफैँ जान्छेस् कि चुल्ठोमा तानेर घिसारौँ ? अर्कोले भन्यो ।
त्यसै घिसार्न पाइन्छ अर्कालाई ? मैले के अपराध गरेँ र ? पहिले मेरो गल्ती त भन ।मनकली भित्र पसी अनि खै के हो सिरानीमुनिबाट सुटुक्क निकालेर पटुकीभित्र घुसारी । निदाइरहेका तीनजना छोराछोरीलाई थुम्थुम्याएर बाहिर निस्की ।
“हिँड्नुस् काँ जाने हो ।”
मनकली त्यसै भीडको पछि लागेर खुरुखरु गई । थुप्रै गाउँले वरिपरि सेलरोटीजस्तै गोलो परेर बसेका थिए । बीचमा झाँक्री आफ्ना कपालका झ्याम्टा हल्लाउँदै भ्यागुतो उफ्रेझैँ उफ्रिरहेको थियो । के हुँदै छ यहाँ, उनले केही पत्तो पाउनै सकिनँ । उसले झाँक्रीलाई एकटकले हेरी । त्यो झाँक्री त्यही थियो, जसले उसलाई मकैबारीमा घाँस काट्न जाँदा जिस्क्याएको थियो । जिस्क्याएरमात्र कहाँ छोड्यो र उसले, आफ्नो मनोमानी गर्न खोजेको थियो । उसले हँसिया देखाएर हेर मलाई छोइस् भने यसैले तँलाई मार्छु भनेर चिच्याएपछि बल्ल छाडेको थियो । “हेर गाउँलेहरू मैले भनेको बोक्सी यही हो । यसलाई अब राख्नुहुन्न । यसले त गाउँ नै सखाप पार्छे । तिमीहरूले यसलाई बाँकी नराख ।”
त्यो सुनेपछि ऊ बेस्सरी कराई ।
“यो झाँक्री होइन । यसले जबरजस्ती मेरो इज्जत लुट्न खोज्दा मैले हँसिया देखाएपछि बल्ल यो भागेको हो । यो गुन्डा हो । मेरो इज्जत लुट्न नपाएर रन्थनिएपछि मलाई जबरजस्ती अभियोग लगाउन खोज्दै छ ।”
“अझ गुन्डा भन्छेस् झाँक्रीलाई । ल आइज अब हामी तेरो चर्तिकला देखाउँछौँ । तैँले गाउँलाई दुःख दिने हैन ? झाँक्रीले भनेको साँचो हो । तँ बोक्सी नै होस् । तैँले गाउँका केटाकेटी र लोग्नेमान्छेलाई खान लागिस् । अब तँलाई हामी बाँकी राख्दैनौँ । ल गुहार कसलाई गुहार्ने हो । रामलखनलाई ? बिचरा ! उसले त अन्तिमपटक तेरो मुख पनि हेर्न पाउने छैन । उसलाई त हामीले थुनेर राखेका छौँ । अब भन कसलाई गुर्हाछेस् ?”
ऊ बेस्सरी कराएर रुन थाली । उसको पक्षमा बोल्ने रामलखनबाहेक अरू कोही थिएनन् । उसलाई पनि कोठामा थुनेर ताल्चा मारेका थिए । बाँकी सबै उसकोविरुद्धमा कुर्लिरहेका थिए । “ए केटा हो, मट्टीतेल र झिँगटी तयार पार छिटो । यो बोक्सीलाई आज यहीँ भष्मखरानी पार्नुपर्छ ।”
गाउँलेहरूले फटाफट सुकेको पराल, मसिना झिँगटी अनि केही दाउरा ठिक्क पारेर मनकलीलाई लछारपछार पार्न लागेका थिए, उसले धनीरामका नासो आफ्नो मुटुका टुक्राहरूलाई झलझली सम्झी । आज म आफ्ना सन्तानको रक्षार्थ यी नरपिचासहरूलाई जितेर नै छाड्छु । उसले पटुकीभित्रबाट चमचमाउँदो खुकुरी निकाली र बेस्सरी नचाई । जसरी दुर्गाले दैत्यहरूको नाश गर्न हातमा खुँडा लिएर नाचेकी थिइन् । झाँक्री भनाउँदो त्यहाँबाट कुलेलम ठोक्यो । गाउँलेहरू पनि एक÷दुई गरेर भाग्दै आ–आफ्नो बासस्थानतर्फ लागे । एकैछिनमा प्रहरी चौकीमा खबर पुगेछ । साइरन बजाउँदै पुलिसको गाडी त्यस ठाउँमा आइपुग्यो । डरले सबै लाखापाखा लागे । प्रहरी इन्स्पेक्टर राम चौधरीले मनकलीलाई स्याबासी दिँदै घरसम्म पु¥याइदियो । भोलिपल्ट उज्यालो हुँदा नहुँदै त्यस झाँक्रीलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्रेर ल्यायो । गाउँले सबै डरले थुरथुर काँप्दै मनकलीसँग क्षमायाचना गर्न थाले । कस्तो अचम्म मनकली गाउँभरिमा एक्ली भएकी थिई । तर, एउटी नारी आफ्ना सन्तानको रक्षार्थ सयौँ पुरुषभन्दा शक्तिशाली हुन्छे भनेको साँच्चै रहेछ । यतिबेला मनकलीलाई स्वतःस्फूर्त रूपमा कहाँबाट त्यतिसारो बल र साहस आएको थियो भन्ने कुरा ऊ आफैँले पत्तो पाउन सकेकी थिइनँ ।
भोलिपल्ट गाउँलेहरू उसका आँगनमा जम्मा भए । उपस्थित कसैको पनि शिर ठाडो भएन । सबै लाजले भुतुक्क भए । सबैलाई आफ्नो दुष्कर्मप्रति आत्मग्लानि भयो । गाउँको नाइके जुरुक्क उठेर भन्यो, “मनकली हामी अपराधी हौँ । हामीभित्र दृष्टिभ्रमको जालो फिँजिएको रहेछ । हामी त्यस झाँक्रीको पछि लागेर तँमाथि जाइलाग्यौँ । अब आइन्दा हामी तँलाई सधैँ सहयोग र न्याय गर्नेछौँ । यसपटकलाई भने माफी गरिदे ।”
रामलखन टुप्लुक्क उसको घरमा आयो । मनकली मन खोलेर रोई ऊसँग । आखिर एउटै सहारा त थियो मनकलीको ऊ । मनकलीलाई स्याबासी दिँदै उसले भन्यो, “मनकली तिमीलाई थाहा छ ? त्यस दिन प्रहरीलाई मैले नै सुटुक्क फोन गरेको थिएँ । मलाई थाहा थियो ती क्रूर गाउँलेहरूले अब तिमीलाई बाँकी राख्दैनन् । त्यत्तिका गाउँलेका बीचमा तिमी एक्ली हुँदा मलाई कम्ता पीडा भएको थिएन तर तिमी बहादुर रहिछ्यौ मनकली । साधुवाद छ, तिमीलाई । अब कसैले हेप्न सक्दैनन् तिमीलाई । अब म लिन्छु तिम्रो र तिम्रा बालबच्चाको पालनपोषणको जिम्मा । तिमीलाई एकल महिला देखेर त हो नि यति साह्रो हेपेका यिनीहरूले ।”“मलाई माफ गर रामलखन । म जीवनभर धनीरामकै सतमा रहेर उसका सन्तानलाई हुर्काउनेछु । मेरो भाग्यमा जस्तो लेखेको छ, त्यस्तै बेहोर्न मञ्जुर छु । यस्तो कुरा नगर अब ।”
मनकली साँच्चैकी बहादुर नारी रहिछ । अहिले भने रामलखनलगायत सारा गाउँलेले उसलाई राम्रैसँग चिने । हिजोआज त्यस गाउँका कसैले पनि सिधा अनुहार पारेर उसलाई हेर्न सक्दैनन् । यदि हेरिहाले भने पनि मनकली ठाडै झम्टन पुग्छे । कसैले बोक्सी भन्ने शब्द उच्चारणसमेत गर्ने हिम्मत गरेका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?