logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाली चलचित्रका महिला निर्देशक

शनिवार |


नेपाली चलचित्रका महिला निर्देशक


 गीता अधिकारी

पछिल्लो समय नेपाली सिने उद्योगमा केही फरकखालका चलचित्र देखापरे पनि हिरो र हिरोइनविनाको चलचित्र कल्पना गरिएको छैन । एक विशेष पुरुष पात्र, जो सबैलाई परास्त गर्छ र अर्को एक महिला पात्र, जो उसको निकै नजिक हुन्छ । यसैको सेरोफेरोमा अन्य अवयवलाई लिएर नेपाली चलचित्र बन्ने ‘टे«न्ड’ नै बसेको छ ।
नेपाली चलचित्रले पाँच दशकको यात्रा पूरा गर्दा धेरै खोला, नाला र भङ्गालाहरू तरेको छ । बर्सेनि सयौँको सङ्ख्यामा नेपाली चलचित्र बन्ने भए पनि केही औँलामा गन्न सकिने चलचित्रले मात्रै सफलताको स्वाद चाख्न पाएका छन् । सीमित चलचित्रले मात्रै व्यावसायिक सफलता प्राप्त गर्न सफल भएको देखिन्छ । नेपाली चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्न नसक्नुमा उत्कृष्ट कथावस्तु, उच्चतम प्रविधि र यसका जनशक्ति नहुनु नै हो तर केही राम्रा भनिएका चलचित्रले पनि लगानी उठाउन नसकेका उदाहरण थुपै्र छन् ।
यसै प्रसङ्गमा नेपाली चलचित्रको क्षेत्र व्यापाक र विस्तार हुँदै जाँदा महिला निर्देशक पनि सशक्त रूपमा देखापरेका छन् । त्यसो त यतिबेला चलचित्र निर्देशक समाजको अध्यक्ष नै सुचित्रा श्रेष्ठ रहनुभएको छ । उहाँ नेपालकै पहिलो महिला निर्देशक पनि हुनुहुन्छ । अहिलेसम्मको सार्वाधिक सफल चलचित्र ‘छक्कापञ्जा’, ‘छक्कापञ्जा–२’ र ‘छक्कापञ्जा–३’ लाई दीपाश्री निरौलाले निर्देशन गर्नुभएको हो । उहाँले ‘तीतोसत्य’ हस्यव्यङ्ग्य टेलिशृङ्खलाको सहायक निर्देशन पनि गर्नुभएको थियो ।
यो क्षेत्रमा महिला निर्देशक बढ्दै गइरहेको छ । पहिलेका महिला निर्देशकहरूले निर्देशन गरेका चलचित्रले खासै चर्चा कमाउन सकेका थिएनन् । सावित्री खत्री र सम्झना उपे्रतीले निर्देशन गर्नुभएको चलचित्र ‘काफल पाक्यो’ र ‘फगु’ले राम्रै चर्चा कमाएका थिए । भलै यी चलचित्रले व्यावसायिक सफलता भने त्यति प्राप्त गर्न सकेनन् । सम्झना उप्रेतीबाट निर्देशित ‘फागु’ उहाँको दोस्रो चलचित्र हो । योभन्दा पहिले उहाँले ‘मेघा’ चलचित्र निर्देशन गर्नुभएको थियो ।
नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठको पहिलो चलचित्र ‘प्रेमयुद्व’ हो । उहाँले योङ एसिया टेलिभिजनका लागि थुप्रै डकुमेन्ट्री निर्माण गर्नुभएको छ । त्यस्तै उहाँले ‘सहारा’, ‘समर्पण’, ‘सङ्कल्प’, ‘सम्बन्ध’ जस्ता टेलिशृङ्खलाको लेखन र निर्देशन पनि गर्नुभएको छ । अहिले बलिउड चलचित्रको निर्देशनको तयारीमा रहेको उहाँले बताउनुभयो । त्यसो त नेपाली चलचित्रमा एक्लै चलचित्र चलाउने हिम्मत र क्षमता राख्ने रेखा थापाले पनि चलचित्र ‘हिम्मतवाली’ निर्देशन गर्नुभयो । यो चलचित्रले राम्रै चर्चा पनि पायो । रेखाले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘मालिका’ हो ।
चलचित्र ‘तँ, म र ऊ’ लाई लक्षु गौतमले निर्देशन गर्नुभएको थियो । चलचित्र राम्रै भए पनि उहाँको पहिलो निर्देशन ‘तँ, म र ऊ’ले भने खासै व्यावसायिक सफलता पाउन सकेन । ‘मैले चलचित्र राम्रै बनाएकी थिएँ तर व्यावसायिक सफलता पाउन भने सकेन,’ उहाँ बताउनुहुन्छ । सबै राम्रा चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्छन् नै भन्ने छैन लक्षु भन्नुहुन्छ । उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘ब्ल्याक इयर’ हो ।
नेपालकै महिला सिनेमेटोग्राफर भएर चर्चा कमाउन सफल सवनम मुखिया पनि चलचित्र निर्देशनमा हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘जुविनाइल’ हो । ‘निर्देशनको काममा महिला पुरुष भन्ने नै हुँदैन हामीले कथावस्तु र स्क्रिप्टलाई कत्तिको न्याय गर्न सकेका छौँ भन्ने हो,’ सवनम भन्नुहुन्छ । उहाँ यतिबेला चलचित्र ‘लखपति माग्ने’को निर्देशनमा व्यस्त हुनुहुन्छ । त्यस्तै नेपाली चलचित्रमा महिला निर्देशका रूपमा सशक्त अर्को नाम हो– दीपा बस्नेत । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘अन्तराल’ हो । निर्देशन गरेका पहिलो चलचित्रबाट नै उहाँ अवार्ड हात पार्न सफल हुनुभयो । उहाँ चलचित्र अन्तरालबाटै ‘बेस्ट फिल्म डाइरेक्टर’, नवनिर्देशक र जुरी अवार्ड पाउन सफल हुनुभएको थियो । तराई टीभीमा दृश्य सम्पादन, विभिन्न म्युजिक भिडियोमा स्क्रिप्ट राइटर, निर्देशन र सम्पादनको कार्य उहाँले गर्दै आउनुभएको छ । उहाँबाट निर्देशित चलचित्र ‘श्री ५ अम्बरे’ले पनि धेरैतिरबाट तारिफ बटुल्न सफल भएको थियो ।
लामो समय नेपाली सिनेमामा काम गर्नुभएकी चर्चित अभिनेत्री झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर–२’ ले पनि राम्रै चर्चा बटुल्न सफल भयो । ‘ए मेरो हजुर–२’ले धेरै विधामा अवार्ड हात पार्न सफल भएको थियो । नेपाली महिला चलचित्र निर्देशकमा अर्को नाम हो– रक्षा सिंह । उहाँले १८ वर्षको उमेरदेखि सम्पादनको कार्य गर्दै आउनुभएको थियो । लामो समयसम्म सम्पादनको काम गरेपछि उहाँले निर्देशनमा हात हाल्नुभएको हो । जुन बेला उहाँले सम्पादनको कार्य गर्नुहुन्थ्यो, त्यो समयमा यो क्षेत्रमा अन्य महिला थिएनन् । सम्पादन गर्ने उहाँ एक्ली महिला हुनुहुन्थ्यो । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘द गेम’ हो । प्रदर्शनअघि निकै हल्ला भए पनि ‘द गेम’ ले व्यापारिक नतिजा भने राम्रो दिन सकेको थिएन ।
त्यस्तै निर्देशक नीलु डोमा शेर्पाले निर्देशन गर्नुभएको चलचित्र हो– ‘हाउ फन्नी’ । त्यसैगरी समुन्द्र भट्टले पनि निर्देशन गर्नुभएको छ । सब्बु सुवेदी र अनिला खड्काले निर्देशन गरेको चलचित्र हो– ‘चलेछ बतास सुस्तरी’ ।
केही नायिकाहरूले चलचित्र निर्देशन गर्ने भनेर समाचार सार्वजनिक भए पनि अहिलेसम्म उनीहरूले कुनै चलचित्र निर्देशन गरेका छैनन् । एउटा सफल चलचित्रका लागि निर्देशकको भूमिका महŒवपूर्ण हुन्छ । निर्देशक चलचित्रको ‘टिम क्याप्टेन’ हो । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकले निर्देशन गरेका चलचित्रले व्यावसायिक सफलता पाउँदै गएका छन्, जुन आफैँमा एउटा सकारात्मक विषय हो ।

(लेखक चलचित्र पत्रकार सङ्घ, नेपालकी उपाध्यक्ष हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?