logo
२०८१ बैशाख १३ बिहीवार



माथि माथि सैलुङ्गेमा ‘गोठ स्टे’

शनिवार |


माथि माथि सैलुङ्गेमा ‘गोठ स्टे’


 नारायण तुम्बापो

माथि माथि सैलुङ्गे अर्थात् उच्च लेकमा घरगाउँ हुँदैनन् । हुन्छन् त चौँरीका गोठ मात्रै । सैलुङ्गेतिर घुमफिर गर्न जाँदा गोठमा बास बस्ने चलन पुरानै हो । पछिल्लो समय यही संस्कृतिलाई ‘गोठ स्टे’ का रूपमा विकास गर्न थालिएको छ । यसलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत बनाउन थालिएको छ । यो अभ्यास पाँचथर, इलामका गोठहरुमा सुरु गरिएको छ । पहिले पहिले गोठमा बास बस्दा सामान्य पाहुनाका रूपमा आश्रय पाइन्थ्यो । गोठ स्टेमा विशिष्ट अतिथिको रूपमा यहाँ स्वागत गरिन्छ ।
इलामको सन्दकपुर, पाँचथरको फालोट, ताप्लेजुङको तिम्बुपोखरी क्षेत्रमा कञ्चनजङ्घा जाने पर्यटकीय पदमार्ग पर्छ । पदमार्ग क्षेत्रकै सेरोफेरो ताप्लेजुङ सिदिङ्वा गाउँपालिकाको तिम्बुपोखरी क्षेत्रको इवानागी तावानागीमा चालीस गोठ छन् । पाँचथर याङ्वरकको चिवा, लामपोखरी र फालेलुङको फालोटमा तीन दर्जन छन् । इलामको सन्दकपुरमा पनि छन् । यी गोठ तीन हजार ५०० देखि चार हजार ४०० मिटरको उचाइमा छन् । यस क्षेत्रमा सिजनमा बाक्लो हिउँ पर्छ । फालोट र सन्दकपुर क्षेत्रमा २१ वटा गोठ स्टे बनाइएका छन् । फालोट र सन्दकपुरबाट हिमाल र सूर्योदयको दृश्य हेर्न पाइन्छ । चौँरीको बथानले हिमालको दृश्य अझ मनमोहक बनाइदिन्छ । त्यसैले जापान, चीन, भुटान, बङ्गलादेश, भारत, युरोपका पर्यटक फालोट र सन्दकपुर घुम्न धेरै आउँछन् । यिनै पर्यटकलाई छुट्टै ससम्मान आवास सेवा दिन गोठ स्टे सेवा ल्याइएको हो । परम्परागत घरमा होम स्टे व्यवस्था गरे जस्तै चौँरी बस्ने गोठलाई गोठ स्टे बनाइएको हो । दीपज्योति युवा क्लब पाँचथर र रेडपाण्डा नेटवर्कले यसमा सहयोग गरेको छ । आफू मात्रै बस्ने गरेको गोठमा पर्यटक बसाउन गोठाला पनि लागेका छन् ।
गोठ स्टेमा बस्नुको मज्जा नै बेग्लै छ । गोठ प्रायः काठैकाठको हुन्छ । बार, छाना, झ्याल, ढोका ठेङ्ग्रे सल्लाको काठबाट बनेको हुन्छ । भुइँमा समेत यही काठ बिछ्याइएको हुन्छ । ठेङ्ग्रे काठ तापको धेरै कुचालक मानिन्छ । यसले भित्रको तातो बाहिर जान र बाहिरको चिसो भित्र छिर्न दिँदैन । भुइँको चिसो पनि माथि आउन दिँदैन । गोठलाई थप न्यानो पार्न भित्र चौबीसै घण्टा ठूला मुढाको आगो बालिन्छ । यसरी न्यानो पारिएको गोठभित्र बस्दा छुट्टै आनन्द मिल्छ । छानामा भेन्टिलेसन राखिएको हुन्छ । जहाँबाट अनौठो लाग्ने गरी उज्यालो भित्र र धुवाँ बाहिर छिरिरहेको हुन्छ । बस्ने, खाने, पकाउने, सुत्ने कोठा एउटै हुनु गोठ स्टेको अर्को विशेषता हो ।
गोठ स्टेमा बस्दा चौँरीले घाँटीमा लगाएको घण्टी बज्दा, भोटे कुकुर भुक्दा र गोठालोको कहानी सुन्दा हिमाली जीवन ख्याल रोमाञ्चक लाग्दैन । चौँरी गोठालोको गन्थनले आनन्दित मानिरहेको थकित तनमनसँगै आँखा निदाएको पत्तै हुँदैन । खुला मौसममा यहाँका गोठस्टेबाट सुन्दर हिमाली शृङ्खला हेरिरहुँ झैँ लाग्छ । कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, सगरमाथालगायत हिमाल यहाँबाट देख्न सकिन्छ ।
गोठस्टेमा चाँैरी दुहुन मन गर्नेले यो रहर पनि पूरा गर्ने अवसर पाउँछन् । सँगसँगै आफँै तताएर दूध पिउन मन लाग्यो भने यो मौका पनि दिइन्छ । यसका साथै चांँरीको घिउ, छुर्पी, चाख्न र यही परिकार बनाउने काइदा पनि सिक्न पाइन्छ । पोलेको मासु, भुटेको मकै, उसिनेको आलु, टिमुरको अचार, गहुँको रोटीसँग गुन्द्रुकको सुप र खाना खान पाइन्छ । ठण्डी र लेक काट्नका लागि सेन्तेरेम (जडीबुटीयुक्त लोकल रक्सी ) समेत उपलब्ध हुन्छ । गोठ स्टेका खान्की सादा तर स्वादिष्टसहितको अर्गानिक हुन्छ । गोठ स्टेमा रहँदा गोठालो शैलीमा रम्न पाउँदा समय कटेको पत्तै हुँदैन ।
नयाँ शैलीले पर्यटक लोभ्याउन सैलुङ्गे केन्द्रित गोठ स्टे योजना बनाइएको रेडपाण्डा नेटवर्क परियोजना संयोजक दावा तेन्जी यल्मो बत(ाउनुहुन्छ । गोठ स्टेबाट सीमाक्षेत्रमा घुमफिर गर्न निस्कँदा भारतको पहाडी बस्ती हेर्ने अवसरसमेत मिल्छ । मौसम बदली भइरहने फालोट, सन्दकपुरमा आपत् पर्दा पर्यटकका लागि गोठ स्टे शरण लिने ठाउँ पनि बन्ने गरेको छ ।
गोठको सरसफाइमा गोठालाले विशेष ध्यान दिन थालेका छन् । दुई वर्ष अगाडिबाट सुरु भएको गोठ स्टे सेवा चैतदेखि असोजसम्म सञ्चालन हुन्छ । हिउँ पर्ने मौसममा चौँरीगोठ सैलुङ्गेबाट औल झारिन्छ । यसकारण कात्तिकदेखि फागुनसम्मको पाँच महिना गोठ स्टे बन्द हुन्छ । विभिन्न जातका गुराँस, जडीबुटी, रेडपाण्डासमेत फालोट र सन्दकपुरमा पाइन्छ । फालोट सिधै फिदिमबाट गाडीमा एकै दिनमा पनि पुगिन्छ । इलामको पशुपतिनगरबाट भारततर्फको मानेभन्ज्याङ, सन्दकपुर हुँदै पनि पुगिन्छ । आन्तरिक पर्यटक मात्र गोठ स्टेका ग्राहक हुन् । त्यसैले नेपालतर्फबाट पर्यटक भिœयाउन र बाटो बनाउन पहल गर्नुपर्ने देखिन्छ । अनि मात्र अधिकतम लाभ लिन सक्ने गरी गोठ स्टेको दिगो सञ्चालन हुन सक्छ । यसमा सरकारले सघाउनुपर्ने दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा राईको भनाइ छ ।

लेखक गोरखापत्र दैनिकका पाँचथर समाचारदाता हुनुहुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?