गाउँघरको दशैँ

शनिवार |


2019-10-05-2293


 रमेशचन्द्र घिमिरे

वर्षभरि हामी विभिन्न चाडपर्वहरू मनाएर रमाइलो गर्दछौँ । नयाँ वर्षदेखि सुरु भएर चैतेदशैँमा गई समापन हुने चाडपर्वको शृङ्खलामध्ये प्रायःजसो पर्वहरू धार्मिक प्रयोजनसँग सम्बन्धित छन् । यी चाडपर्व मनाउनुका विभिन्न उद्देश्यहरू छन् । मूलतः धर्मकर्मसँग गाँसिएका चाडपर्वले धर्मसँगै संस्कृतिलाई हुर्काउँछ । संस्कृतिले सद्भाव जन्माउँछ । सद्भावले सामाजिकतालाई निम्त्याउँछ । सामाजिकताले एकतालाई समेट्छ र सामाजिक एकताले मनोरञ्जनलाई भिœयाउँछ । यस्तै–यस्तै मनोरञ्जनात्मक सबल पक्षले संस्कृतिलाई जोगाइराख्न पनि मद्दत पु¥याउँछ । त्यसै भएर चाडपर्व सँगसँगै जोडिने अर्को सकारात्मक र साझा पक्षका रूपमा मनोरञ्जन पनि रहेको छ । वर्षभरि मनाइने विभिन्न चाडपर्वहरूमध्ये दशैँ चाड साँस्कृतिक, सामाजिक एकता र मनोरञ्जनका पक्षमा केन्द्रित छ ।
पौराणिक कथनअनुसार दैत्यराज शुम्भ–निशुम्भको वध भई देवता गणले विजय प्राप्त गरेको सन्दर्भमा दशैँ पर्व मनाउँदै आइएको भन्ने प्रचलित आहान छ । देवताले विजय प्राप्त गरेको दसौँ दिन अर्थात् विजयादशमीको अपभ्रंशित रूप नै दशैँ हो । दशैँ पर्वको उत्पत्ति हुनुमा धार्मिक सन्दर्भ गाँसिए पनि यो धार्मिक प्रयोजनसँग मात्र सम्बद्ध नभई ऐतिहासिक, साँस्कृतिक, सामाजिक र रमाइलो गर्ने चाडपर्व तथा पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि सम्बन्धित छ । घर–आँगनमा दशैँ भित्रिनुअघि पुरुषहरू खसी खोज्न गाउँगाउँ डुल्ने, महिलाहरू रातो माटो र कमेरोको खोजीमा जङ्गल पस्ने पूर्वसङ्केतमै सामाजिक पक्ष अन्तर्निहित हुन्छ । गाउँका तन्नेरी बूढापाकाहरू काँधमा छाता अड्काएर गाउँगाउँमा गई खसी छान्ने, मोलमोलाई गर्ने एउटा रमाइलो पक्षले सामाजिकताको सङ्केत गर्दछ । खसी धनीले आफ्नो खसीको मूल्य दरो पार्न धेरै तौलको भनेर ठोकुवा गरे तापनि क्रेता समूहमध्येबाट धेरै तौल नभएको भन्दाभन्दै बीचमा गई कुरा मिलाउने, नजोखीकन अड्कलकै भरमा प्रचलित दरअनुसार खसी किनबेच सम्पन्न हुँदै जान्छ । यसरी क्रेता समूहका सबै सदस्यका लागि खसीको बन्दोबस्त भइसकेपछि खसी डो¥याएर घर फर्किनेक्रममा बाटोमा हेर्ने, तौल अड्कल्ने र मूल्य मिले–नमिलेको अनुमान गर्नेको पनि रमाइलै भीड हुन्छ । फलानाले त खसी मिलाएर ल्याएछ, अलि चर्को मूल्य हालेछजस्ता कुराहरू खसी घरमा भिœयाएपछिका अन्य सामाजिक प्रसङ्ग पनि रोचक नै हुन्छन् ।
रातो माटो पोतेर र कमेरो छ्यापेर घरलाई चिरिच्याँट्ट सफा पारी दशैँ आएको सङ्केत गराउन महिला दिदीबहिनी, छोरीबुहारी र आमाहरूको भूमिकामा पनि सामाजिकता छिपेको पाइन्छ । रातो माटो र कमेरो खोज्दा हाँस्दै, रमाउँदै र गफ गर्दै महिलाहरू एकजुट भएर डोको, थुन्से, डालो, बोरा, कुटो लिएर जाने गर्दछन् र फर्कंदा पनि गरुङ्गोपनलाई बिर्साउन रमाइलो गफ गर्दै मन हलुङ्गो पार्दछन् ।
जब घटस्थापनाको दिन आउँछ, त्यसपछि घर–आँगनमा दशैँ भित्रिन थाल्दछ । त्यसपछि ढिकी भएमा सामूहिक रूपमा चिउरा कुट्ने अर्को सामाजिक प्रचलन छ । प्रायः महिलाद्वारा गरिने यस कार्यका लागि बढीमा तीन रातसम्म तातोपानीमा भिजाइरहेका धानलाई सर्वप्रथम तै¥याउने काम गरिन्छ । तैरिसकेको उक्त धानलाई कुनै महिलाले हाँडीमा भुट्न थाल्दछन् । बढीमा दुईजना महिला ढिकीका पुछारमा उभिएर भर्खरैमात्र भुट्दाभुट्दैको धानलाई कुट्ने गर्दछन् र एकथरी महिलाले घान लगाउँछन् र भुसैसहितको चिउरालाई नाङ्लामा खन्याई अर्काथरीले निफन्ने गर्दछन् । यसरी नेपाली पहाडी क्षेत्रको दशैँमा चिउरा कुट्ने कार्यमा पनि सामाजिकता भेटिन्छ ।
दशैँमा रमाइलो गर्न गाउँघरतिर पिङ हाल्ने प्रचलन छ । एकातिर घरघरै घुर्रेपिङ, लट्ठेपिङ आदि राखिन्छ भने गाउँका केन्द्र, चोक, बजार, भञ्ज्याङ, कोट आदिमा रोटेपिङ, लिङ्गेपिङ, जाँतेपिङ आदि हाल्ने परम्परा पनि छ । तिनीहरूमध्ये रोटेपिङको पनि आफ्नै महŒव छ । रोटेपिङ पनि चारपिर्के र आठपिर्के गरी दुईप्रकारका हुन्छन् तर आठपिर्के पिङभन्दा चारपिर्के रोटेपिङ समाजमा बढी प्रचलित छ । एक–दुईजनाको प्रयासको मात्र सम्भव नहुने भएकाले रोटेपिङका लागि समाजका धेरै सदस्यहरूको सहभागिता हुनैपर्दछ । रोटेपिङका लागि आवश्यक पर्ने उपकरणहरू (खाँबा, मादल, बाहाँ, पखेटा, डाँडी, घुर्रा, पिर्का, ठेडी आदि)को निर्माणमा सबल र सामूहिक जनशक्तिको आवश्यकता पर्दछ । बलिया व्यक्तिहरू खाँबा बोकेर आउँछन् । एउटा खाँबा बोक्नका लागि मात्रै १०÷१२ जना बलिया मान्छेको आवश्यकता पर्दछ । कुशल सिकर्मीहरूले घुर्रा, पिर्का आदिको निर्माण गर्दछन् । अन्य कामको साह्रै मेसो नजान्नेहरू हातमा आँसी लिएर कोही डाँडी तास्छन् त कोही ठेडी तिखार्नतिर लाग्छन् । विभिन्न सामुदायिक वन उपभोक्ता समूहले रोटेपिङका लागि काठको सहयोग गर्ने गरेको उदाहरण पनि गाउँघरमा प्रशस्तै भेटिन्छ । यो पनि एउटा उदाहरणीय सामाजिक पक्ष हो । पिङ तयार भइसकेपछि एउटा पिर्कामा बढीमा दुईजना बसेर खेल्छन् । पिङ खेलेर मनोरञ्जन गर्नेभन्दा पनि कोही दुईतिर बसेर पखेटामा टेक्दै मच्चाएर आनन्द लिने पनि हुन्छन् । पिङ नखेल्ने वा खेल्न डराउने युवकयुवतीहरू पिङमा मच्चिने र फर्कनेहरूको रमाइलो हेर्नका लागि मात्रै पनि भीड बनाएर बस्छन् ।
रोटेपिङसँगै अर्को समूहले लिङ्गेपिङ पनि हाल्ने गर्दछन् । लिङ्गेपिङमा चारवटा साल वा बाँसका लिङ्गासहित डाँडी, लट्ठा र कात्रीको पनि आवश्यकता पर्दछ । रोटेपिङको तुलनामा यसको निर्माण प्रक्रिया सजिलो भए पनि सामूहिक एकताविना एक÷दुईजनाको बलले मात्रै यो पनि सम्भव देखिँदैन । फूलपातीको साँझसम्म तयार हुने पिङ निर्माणका लागि जुट्ने दाजुभाइको सम्मानका लागि अचेलका आमा समूह र विभिन्न महिला, दिदीबहिनीहरूले खाजा खुवाएर सम्मान गर्ने र सँगै रमाइलो नाचगान गर्ने चलन पनि छ । खाजाका लागि महिलाहरूले रोटी–तरकारी खुवाउने गर्दछन् र साथमा इच्छाअनुसारका पेय पदार्थ पनि सेवन गर्दछन् तर सीमाभन्दा बढी सेवन गर्दा विकृति भित्रिने भएकाले खानपानमा अत्यन्तै सतर्क भएर सद्भावका साथ यो काम सम्पन्न गर्दछन् । महाअष्टमी पर्वमा खसी मारकाट गर्ने निकै पुरानो परम्परा रहिआएको छ । खसी मार हान्ने मान्छे सीमित हुने भएकाले कतिपय त घरघरै गई खसी मार हान्ने मान्छेको पछि लागेर पनि रमाइलो मान्दछन् । पहाडी क्षेत्रमा हुने नेवार जातिका गुठियारहरूले यस दिनमा सामूहिक रूपमै राँगोको वध गर्दछन् र आफ्ना बन्धुबान्धव एउटै थलोमा बसेर काटमारमा सहभागी हुने गर्दछन् । यसले साँस्कृतिक मात्र नभई, सामाजिकताको पनि परिचय दिन्छ । नवमीमा हुने पूजा–अर्चना तथा देवीभागवत् पाठमा पनि सामाजिकता झल्किन्छ । सबै गाउँले मिलेर देवीथानमा नौरथाभरि सामूहिक पाठ लगाउने, जमरा राख्ने प्रचलन पनि धेरैतिर हुँदै आएको छ । दशमीको दिन देवीघरमा देवी विर्सजन गरेर टीका लगाएपछि मात्रै घर–घरमा टीका लगाउने गरिन्छ । यसमा गाउँको एकता र सद्भाव झल्किएको हुन्छ ।
यस्तै गरेर विजयादशमी अर्थात् बडादशैँका दिनमा एकातिर पारिवारिक सदस्यहरूबीच टीकाटालो गरिन्छ भने घरमा टीका लगाइसकेपछि समाजकै ज्येष्ठ सदस्यसँग टीका, जमरा र आशिर्वाद ग्रहण गर्न पनि मानिस लाम लाग्दछन् । “अर्को वर्ष बूढापाका तलमाथि पो भइहाल्छन् कि ?” भन्दै खासै नाता–सम्बन्ध नहुँदा–नहुँदै पनि ज्येष्ठ सदस्यका हातबाट टीका लगाउने उल्लेख्य साँस्कृतिक प्रचलन पनि दशैँको एउटा सकारात्मक सामाजिक पाटो हो । साथै टीका लगाउन जाने र टीका लगाएर फर्कनेको रमाइलो लस्कर पनि दशैँमा देखिन्छ । अरू दिन जे भए पनि दशैँको दिनमा त धर्ती छोड्नुपर्छ भन्ने मान्यताले पुनः पिङमा झुम्ने परम्परा पनि छ । निधारभरि रातो अछेता, टोपी वा कानमा पहेँला जमरा सिउरिएका बालबालिका, युवकयुवती र वृद्धवृद्धाहरूको रहरलाग्दो ताँती यतिखेर हेरिरहुँझैँ देखिन्छ ।
जिम्मेवार अभिभावकहरू छोराछोरीलाई मीठो मसिनो खुवाउन आँगनमा घोर्ले खसी बाँध्नु, जहान परिवारका सदस्यलाई राम्रा कपडा किनिदिएर चिरिच्याँट्ट पार्न आफ्नो कर्तव्य सम्झन्छन् । ढोल बजाएर आउने दशैँले ऋण बोकाएर जाने चिन्ता मनको एउटा कुनामा हुँदाहुँदै पनि परिवारको खुसीमा चित्त बुझाउन यिनीहरू विवश हुन्छन् । दशैँमा हुने पारिवारिक पुनर्मिलन, धार्मिक सद्भाव, साँस्कृतिक जागरणसँगसँगै सामाजिक एकताजस्ता सकारात्मक पाटो हुँदाहुँदै पनि चाडको निहुँमा जाँड–रक्सी खाएर बिग्रने, पिङ खेल्न जाँदा लडाइँ–झगडा गर्ने, राम्रा कपडा किन्ने निहुँमा अनावश्यक खर्च गर्ने, समाजमा आफ्नो हैसियत उच्च राख्ने बहानामा अरूको भन्दा ठूलो खसी किनेर ल्याउनैपर्ने, आशिर्वादलाई भन्दा पनि दक्षिणालाई बढी जोड दिएर नचाहिँदो रूपमा खर्च गर्नेजस्ता सामाजिक विकृति पनि यसैमा मिसिन्छन् । यी विकृति भनेका कसैले कर लगाएर नभई, आफैँले रहर गरेर भित्रिने विकृति हुन् तर यत्रो दशैँजस्तो ठूलो चाडमा केटाकेटीको मन किन रुवाउनु भनेर खसी खोज्नैपर्ने, पैसा नहुँदानहुँदै पनि जहान–छोराछोरीलाई चित्त बुझाउन नयाँ कपडा किन्नैपर्ने, अन्तबाट टीका लगाउन आएका छोरीचेलीलाई फुको हात नफर्काउन दक्षिणा दिनैपर्नेजस्ता चलन बाध्यात्मक विकृति हुन् । कतिलाई त हदैसम्मको मितव्ययिताले पनि दशैँ धान्न गाह्रोगाह्रो नै पर्दछ । समाजका निम्नवर्गीय सदस्यका लागि दशैँ यसरी अभिशापजस्तो पनि बन्न पुगेको छ ।
यसरी दशैँ पर्वको सामाजिक सन्दर्भमा एकाध दुर्बल पक्ष देखिए पनि अधिकांश रूपमा सबल पक्ष नै देखिन्छ । घाँटी हेरी हाड निल्न जान्यो भने, झगडा गर्नुको साटो सामाजिक सद्भाव कायम राख्न सकियो भने अनि वस्त्र र आभूषण प्रदर्शनको सट्टामा प्रेम, सत्कार, माया र सद्भाव बाँड्न सकियो भने दशैँ दशा होइन, दशैँ नै बन्न सक्छ । त्यसैले मितव्ययी बनौँ, खुसी भएर मनाऔँ अनि साँस्कृतिक संरक्षणमा एकजुट भएर लाग्न सकौँ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?