लघुकथा : छोरीको चिन्ता

शनिवार |


2019-10-05-2291


 हरिप्रसाद भण्डारी

म उठेर बाहिर निस्किँदा बुहारी आँगनमा सङ्गीतको तालमा जगिङ गर्दै थिइन् । उनका कानमा एयरफोन थियो । पसिनाले अनुहार रातो भएको र शरीर निथ्रुक्क भिजेको थियो ।
मलाई देख्नासाथ कानबाट तार बाहिर निकाल्दै उनले भनिन्– ‘गुडमर्निङ बुबा !’
‘गुडमर्निङ’, मैले भनेँ ।
खुशी हुँदै उनले थपिन्– ‘बुबा, म एक महिनामा पाँच किलो घटेँ नि । टोटल दश केजी घटाउने मेरो टारगेट हो, हेरौँ के हुन्छ ।’
नजिकै श्रीमती थिइन् । उनले बुहारीलाई भनिन्– ‘बिहान पानी, दिउँसो आधापेट खाना अनि बेलुकी कन्दमूल मात्रै खाएपछि दश त के बीस किलो नै घटिन्छ नि । बिरामी परौली ख्याल गर्नु ।’
‘त्यसो होइन आमा । पहिले ख्याल गरिएन । अनावश्यक मासु थुप्रियो । बढी भएको मासुलाई मात्रै घटाउन लागेकी हुँ ।” बुहारीले भनिन् ।
तीज नजिक आइरहेको थियो । छोरीलाई माइत लैजाने भन्दै सम्धिनी आउनुभयो ।
घरभित्र पस्दैगर्दाकी हँसिली सम्धिनी छोरीलाई देखेपछि लोडसेडिङको साँझजस्ती हुनुभयो । केही समयपछि मसँग खुसुक्क भन्नुभयो– ‘सम्धीज्यू, दुःखमा नपरेकी र साह्रै माया गरेर पालेकी छोरी हुन् । दुब्लाएर आधा भइछिन् ! हजुरको आज्ञा पाए अलि दिन उतै राखेर स्याहार गर्ने थिएँ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?