logo
२०८० चैत्र १६ शुक्रवार



लघुकथा: बाध्यता

शनिवार |


लघुकथा: बाध्यता



 योगेन्द्र तिमिल्सिना

दुई वर्षअघिको पुस महिनामा कुमार घलेकी आमा बित्नुभयो । कुमारका बा वृद्ध भइसक्नुभएको थियो । एक वर्षकी सानी छोरी, छोरीकी आमा आसरा र वृद्ध बालाई घरमा छोडी रोजगारीका लागि कुमार मलेसिया हिँडे ।
मलेसियाको एक निर्माण कम्पनीमा उनी काम गर्थे । समय–समयमा केही पैसा घर पठाउँथे । काम कठिन भए पनि कुमार खुसी नै थिए । घर पनि सुख–दुःख चलेकै थियो ।
कुमारले घर छाडेको झन्डै एक वर्षपछि एक दिन छिमेकी काकीले उसलाई भाइबरबाट फोन गरिन् । ‘तिम्रा बा सिकिस्त बिमारी छन् । आज हो कि भोलि भन्ने अवस्थामा छन् । बाको मुख हेर्ने भए तुरुन्त आऊ, नत्र पछि पश्चात्ताप गर्नुपर्ला ।’
कम्पनीले तीन महिनादेखि कुमारलाई तलब दिएको थिएन । अपर्झट घर जानुपर्ने भएकाले उसले कम्पनीको मालिकसँग पैसा माग्यो । तलब त के कम्पनीले बिदासम्म पनि दिएन । उल्टै जागिरबाट निकाल्ने भन्दै झपारेर पठायो ।
कुमार डेरामा फक्र्यो । उसले साथीभाइसँग गुहा¥यो तर साथीभाइको अवस्था पनि उस्तै थियो । बाबुको अवस्था सम्झी दिग्दार मानेर ऊ बसिरहेका थिए । राति उनै काकीको फोन आयो, ‘कुमार, तिम्रो बाबा त बित्नुभयो ।’
उसले राति नै काकीको मेसेन्जरमा आफ्नो मृत बालाई श्रद्धाञ्जलि पठाए, ‘बा, हजुरको आत्मालाई स्वर्गमा बास मिलोस् । माफी चाहन्छु बा, मैले आफ्नो संस्कार र जिम्मेवारी पूरा गर्न सकिनँ । अनन्तसम्म हजुरको आत्माले शान्ति पाओस् ।’
त्यसपछि काकीलाई लेखे, ‘छुट्टी मिलेन काकी, म आउन सकिनँ । ऋणपान गरेर क्रियाकर्म गराइदिनुहोला । कम्पनीले तलब दिएपछि म पैसा पठाइदिन्छु ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?