logo
२०८० चैत्र १६ शुक्रवार



चलचित्रमा दशैँका प्रसङ्ग

शनिवार |


चलचित्रमा दशैँका प्रसङ्ग



 विजयरत्न तुलाधर

अहिले एउटा नयाँ चलचित्रमा दशैँको प्रसङ्गका कारण चर्चाको विषय बनिरहेको छ । त्यसरी चर्चामा रहेको चलचित्र हो ‘रातो टीका निधारमा ।’ निर्देशक अशोक शर्माले निर्माण गरेको यो चलचित्रमा उहाँले आफ्नै छोरो अङ्कित शर्मालाई नायकको रूपमा प्रस्तुत गर्नुभएको छ भने यसमा अहिले नेपाली चलचित्रजगत्की सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीका रूपमा चर्चित साम्राज्ञी राज्यलक्ष्मी शाहलगायतका कलाकारको अभिनय छ । शीर्षकले नै यो चलचित्र नेपालीको महान् चाड दशैँसँग सम्बन्धित छ भनेर देखाउँछ । वास्तवमा ‘रातो टीका निधारमा’ वाक्यांश अशोक शर्माले धेरै पहिला निर्माण र निर्देशन गरेको चलचित्र ‘अल्लारे’को एउटा गीतबाट लिइएको हो । यही शीर्षकलाई नयाँ चलचित्रमा वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजिएको छ । दशैँको अवसरमा दुर्गा भवानीको पूजा–आराधना गरिएको पुरानै चलचित्र ‘अल्लारे’को गीत राखिएको छ ।
यस दृष्टिले चलचित्रमा आधुनिक जमाना अनुसारका दृश्य हुनुपर्ने हो तर यसमा दशैँ गीत राखिएको कुरा प्रकाशमा आएपछि चलचित्र चर्चाको विषय बनेको हो । दशैँं नेपालीहको महान् चाड हो । जमरा दशैंँको विशेष प्रसाद मानिन्छ । जुनसुकै देशमा पनि आफ्नो धर्म, संस्कृति र विशेष पर्वलाई महŒवपूर्ण स्थान दिइएको हुन्छ । हलिउडका चलचित्रमा क्रिसमस अनि बलिउडका चलचित्रमा ईद, होली, दपिावली, रक्षाबन्धन जस्ता भारतका चाडपर्वले विशेष स्थान पाएको हुन्छ । तर नेपाली चलचित्रमा दशैंँले त्यस्तो स्थान पाउन सकेको छैन । कलाकारको शिरमा जमराले ठाउँ लिन सकेको छैन । जब कि दशैंँमा आफ्नो चलचित्र रिलिज गर्न घम्साघम्सी नै गर्छन् । यसपालि यस्तो घम्साघम्सी निर्देशक अशोक शर्माको ‘रातो टीका निधारमा’, विगतका दशैंँमा ‘छक्का–पञ्जा’ सिक्वेल रिलिज गरेर सफलताको शिखर चुमेका दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले यसपालि निर्देशक दीपेन्द्र लामालाई लिएर बनाएको ‘छ माया छपक्कै’ बीच हुने कुरा थियो तर अशोक शर्माले दशैँको घटस्थापना अगावै आफ्नो चलचित्र प्रदर्शनमा ल्याए भने अब विजयादशमीको टीकापछि ‘छ माया छपक्कै’ प्रदर्शनमा आउँदैछ ।
चलचित्रहरूमा दशैँको प्रसङ्ग राख्दै नराखिएको भने पटक्कै होइन । विशेषगरी ‘रातो टीका निधारमा’ जस्तै वैदेशिक रोजगारसम्बन्धी कथा बोकेका चलचित्रमा दशैँको प्रसङ्गलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको पाइन्छ । निर्देशक शम्भु प्रधानको ‘नेपाल प्यारो छ’ नरेन्द्र थापाको ‘देशदेखि विदेश’ किरण प्रधानको ‘कस्तुरी’ र शिव रेग्मीको ‘मुग्लान’ सुरेश दर्पण पोखरेलको ‘मिस यु’जस्ता धेरै चलचित्रमा विदेशमा बसेका नेपालीले दशैँ मनाएको र दशैँको बेला नेपाल सम्झेका प्रसङ्गहरू समेटिएको छ ।
ठूलो पर्दाका चलचित्रमा जस्तै टेलि चलचित्रमा पनि दशैँलाई ठूलै महŒव दिएका उदाहरण छन् । प्रसिद्ध कलाकर्मीद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘दशैँ’ शीर्षकको एउटा टेलि चलचित्रमार्फत दशैंँको मर्म उजागर गरेका थिए भने सन्तोष पन्तले ‘हिजोआजका कुरा’ नामक टेलिभिजन कार्यक्रममा दशैँसम्बन्धी रोचक र मर्मस्पर्शी प्रसङ्ग धेरैपटक नै प्रसारण गरेका थिए । त्यस्तैगरी अति नै लोकप्रिय कार्यक्रम ‘तीतो सत्य’मा पनि दशैँ बारेमा प्रसङ्ग समेटिएका थिए ।
चलचित्रको कुरा गर्दा परिवारमा दशैँको बेला पारिवारिक सदस्यको विछोड वा अभाव हुँदाका मर्मस्पर्शी दृश्य यदाकदा हेर्न पाइने गर्दछ । “यसपालि दशैंँमा पनि छोरो घर आएन” वा यस्तै खालका संवाद सुन्न पाइन्थ्यो । चलचित्रमा निर्देशक श्याम राईको “आँखा लोभी मन पापी” चलचित्रमा विदेशमा काम गर्न गएका सन्तान दशैँजस्तो महान् चाडमा पनि व्यस्तताको कारणले आफ्ना अभिभावकको हातबाट टीका थाप्न नआउने प्रसङ्ग राखिएको छ भने ‘जीवन रेखा’मा अभिभावकसँग छुट्टिएर गएका छोरा दशैंँमा घर नआएको तर घरमै सँगै बस्दै आएका छोराले अभिभावकको मन बहलाउन खोजेको अत्यन्त हृदयविदारक दृश्यका रूपमा चर्चित भएको थियो । ‘जीवन रेखा’मा सीमान्त उदासले अभिभावकबाट नीर शाह र शकुन्तला शर्मासँग दशैंँको टीका र आशीर्वाद थापेको दृश्य राखिएको छ ।
निर्देशक तुलसी घिमिरेको एउटा चलचित्र ‘लहना’मा भारतीय भूमिमा बस्दैआएका नेपालीले मनाउँदै गरेको दशैंँको दृश्य समेटिएको थियो । तुलसी घिमिरे यसलाई अभूतपूर्व संयोग मान्नुहुन्छ । कालिङपोङ, दार्जिलिङतिर सुटिङ भइरहेकै बेला दशैैँं परेकोले संयोगवश भारतीय भूमिमा बस्दैआएका नेपालीले मनाउँदै गरेको दशैँको दृश्य समेटिन गएको कुरा निर्देशक तुलसी घिमिरेले बताउनुभएको छ । यी चलचित्रबाहेक अरू केही चलचित्रमा पनि दशैंँको वातावरण चित्रण गरिएको पनि पाइन्छ । जस्तो नारायण पुरीको ‘महादेवी’मा दुर्गास्तोत्र ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी’ राखिएको छ । यही स्तोत्र निर्देशक नीर शाहको ‘वसन्ती’मा पनि छ । स्व. लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’मा आधारित चलचित्रमा ‘ओखलमा चिउरा कुट्दा दशैँको बास आउँदो हो’ भनी उल्लेख गरिएको छ भने ‘मुगलान’को एउटा गीतमा ‘कोदो फुल्यो बारीमा.... कति राम्री देखिन्छौ जमरा र रातो टीकैमा’ भनी उल्लेख गरिएको छ । निर्देशक अशोक शर्माको ‘अल्लारे’को एउटा गीत ‘रातो टीका निधारमा टलक्कै टल्कियो’ पनि लोकप्रिय भएको गीत हो । यसरी नेपाली चलचित्रमा दशैंँलाई भिन्नभिन्न रूपमा प्रस्तुत गरिएको भेटिए तापनि दशैंलाई नै चलचित्रको कथामा प्रत्यक्षरूपमा समेटेर पर्दामा उतारिएका चलचित्रहरू भने हेर्न पाइएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?